५-११ जेठ २०७६ | 19-25 May 2019

जंगबहादुरसँग ब्रिटिश रेजिडेण्ट आगो !

Share:
  
- भैरव रिसाल
इष्ट इण्डिया कम्पनी सरकारका काठमाडौं प्रतिनिधिले नेपाल विरोधी गतिविधि गर्न खोजेपछि ब्रिटिश रेजिडेन्सीका व्यत्तिाmहरूलाई घुमफिरमा प्रतिबन्ध लगाइएछ।

बेलायतले इष्ट इण्डिया कम्पनी मार्फत भारतमा शासन गरेको बेला ब्रिटिश सरकारको प्रतिनिधि (रेजिडेण्ट) दलबल सहित नेपालमा बस्थे । ब्रिटिश रेजिडेन्सी लैन (हालको लैनचौर) मा थियो । त्यहाँ बस्ने अंग्रेजहरू काठमाडौं उपत्यकाको चारभञ्ज्याङभित्र स्वच्छन्दता साथ घुम्न पाउँथे । नेपालीहरूलाई पनि त्यहाँभित्र पसेर घाम ताप्न, सुस्ताउन छुट थियो ।

तर, प्रधानमन्त्री जंगबहादुर राणाले वि.सं. १९२१ असारदेखि रेजिडेन्सी अन्तर्गतका सम्पूर्ण व्यक्तिलाई स्वतन्त्र घुमफिरमा प्रतिबन्ध लगाए । नेपालीहरूलाई पनि रेजिडेन्सीभित्र जान रोक लगाइयो । ब्रिटिश रेजिडेण्ट कर्णेल जर्ज र्‍यामजेले नेपालीलाई नै गुप्तचर खटाएर नेपाल सरकार विरोधी काम गर्न खोजेको थाहा भएपछि श्री ३ जंगबहादुरले त्यस्तो कडाइ गरेका रहेछन् । र्‍यामजेले यस्तो गैरकूटनीतिक काम त्यसअघि पनि गरेका रहेछन् ।

खासमा नेपालभित्र विभिन्न चलखेल गर्न नै कूटनीतिक सम्बन्धको आवरणमा ब्रिटिश रेजिडेन्सी स्थापना गरिएको थियो । औपनिवेशिक शक्तिलाई कूटनीतिक मर्यादाको ख्याल के हुँदो हो ! रेजिडेन्सी मार्फत दरबारमा चलखेल गर्ने, विभिन्न व्यक्तिलाई उचाल्ने वा च्याप्ने, भोटबारे चासो राख्ने इष्ट इण्डिया कम्पनी सरकारको काम थियो । पुराना व्यापारी देवशंकरलाल श्रेष्ठ भन्ने गर्थे– ‘भोटसँग लडाइँ गराउन वा बीचैमा रोक्न अंग्रेज सरकारकै भूमिका हुन्थ्यो ।’

ब्रिटिश सत्ता नेपालबाट अर्को देशमा काम गर्दो रहेछ । एक पटक इष्ट इण्डिया कम्पनी सरकारले नेपाललाई भोटसँग लडाइँ गराउने निर्णय गरेछ । त्यसका लागि नेपाल सरकारले आवश्यक रसदपानीको बन्दोबस्त गरेछ । तर, अन्तिम घडीमा त्यो योजना ब्रिटिश सरकारले नै रद्द गराएछ ।

स्थानहद तोकेपछि असन्तुष्टि

काठमाडौंस्थित ब्रिटिश रेजिडेन्सीले विभिन्न परिदृश्य बुझ्न र रणनीति बनाउन धेरै ठाउँ घुम्नु उसको कामै थियो । त्यस्तो स्वच्छन्दता उपभोग गरिरहेको स्थितिमा जंगबहादुरले स्थानहद तोकेर रेजिडेन्सी क्षेत्र बाहिर जान प्रतिबन्ध लगाइदिएपछि रेजिडेण्ट र्‍यामजे क्रूद्ध हुने भइहाले । उनले नेपाल सरकारको उक्त कदमबारे ६ जुलाई १८६४ मा भारतको ब्रिटिश सरकारलाई लिखित गुनासो गरेछन्– ‘प्रधानमन्त्री जंगबहादुरले हाम्रो स्वतन्त्र विचरण गर्ने अधिकार खोसे ।’

रेजिडेन्सीका अंग्रेजहरू बेलाबेला विभिन्न निहुँ झिकिरहने गर्दा रहेछन् । उनीहरू बाटोमा हिंड्दा पनि बटुवाहरूले सलाम गरुन् भन्ने चाहँदा रहेछन् । बाटोमा नेपालीहरूले हामी अंग्रेजलाई स्यालुट गरेनन् भनी एक पटक रेजिडेन्सीले कम्पनी सरकारलाई रिपोर्ट गरेछ । यसबारे कम्पनी सरकारका भारतमा रहेका मूल व्यक्ति अर्थात् भायसरायले नेपाल सरकारसँग सोधखोज गरेछन् ।

यसको जवाफमा यहाँका श्री ३ ले हाम्रा मानिस सबै पढेलेखेका र जान्नेसुन्ने नभएको, बाटोमा हिंड्ने अधिकांश मान्छे मूर्ख भएकाले सलाम नगरेको भन्ने व्यहोरा जानकारी गराउन आग्रह गरे रे ! यताका शासक स्थिति सम्हालिने हदसम्म सकभर थामथुम नै पार्न खोज्थे ।

शुरूआतमा यहाँ वैदेशिक सम्बन्धको सिलसिलामा ब्रिटिश रेजिडेन्सी मात्र थियो । भोटसँग सम्बन्ध भए पनि बेलाबेलामा दुई पक्षबीच हेलमेल र बेमेल भइरहन्थ्यो । बेलाबेला भीषण लडाइँ नै पथ्र्यो । भोटसँग लडाइँ गर्नुपर्दा चीनले भोटलाई मद्दत गर्छ कि गर्दैन भन्ने बुझेर मात्र अघि बढ्थे, नेपाली शासक ।

चीनसँग पनि सम्बन्ध थियो । नेपाल सरकारका प्रतिनिधिहरू राजाका शुभ सन्देश र मूल्यवान उपहारहरू चीनका बादशाह र काजीहरूका लागि लैजान्थे । चीन सरकारका प्रतिनिधिहरू पनि त्यस्तै सौगात लिएर आउँथे । भोटको बाटो हुँदै महीनौं लगाएर आउजाउ गरिन्थ्यो ।

comments powered by Disqus

रमझम