५-११ जेठ २०७६ | 19-25 May 2019

मदन भण्डारीको २६औं स्मृति दिवस: नेकपाका ‘भाष्यकार’

Share:
  
- विष्णु रिजाल
निधनको २६ वर्ष बितिसक्दा पनि मदन भण्डारीलाई सम्झिरहने महत्वपूर्ण कारण भनेको जडताग्रस्त गुट र दिशाहीन कम्युनिष्ट आन्दोलनलाई जबजको नयाँ भाष्य मार्फत नयाँ दिशा दिने साहसिक वैचारिक हस्तक्षेप नै हो।

स्व. मदन भण्डारी । तस्वीरः चन्द्रशेखर कार्की
देशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शासन छ । अधिकांश निर्वाचित निकाय नेकपाकै नेता–कार्यकर्ताले भरिएका छन् । भुल्न नहुने र नसकिने तथ्य के हो भने शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिका माध्यमबाट नेकपाले आर्जन गरेको यस अभूतपूर्व जनविश्वासका पछाडि मदन भण्डारी हुनुहुन्छ ।

३ जेठ २०५०, चितवनको दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा तत्कालीन एमाले महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भयो । गत वर्ष ३ जेठमै मुलुकका दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र मिलेर नेकपा बन्यो ।

मदन भण्डारी अहिले पनि उत्तिकै सान्दर्भिक, आवश्यक र अनिवार्य नेताका रूपमा स्मरण भइरहनुभएको छ । किन पनि भने आजसम्म नेपालको कम्युनिष्ट आन्दोलनमा जति पनि बहस र छलफल हुन्छन्, ती मदनद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) कै पक्ष, विपक्षमा केन्द्रित हुन्छन् ।

सिद्धान्तको ऐंठन

सत्य हो आजको नेकपा सिद्धान्तको सन्दर्भमा ऐंठनमा छ । पार्टी मदनले देखाएको जनताको बहुदलीय जनवाद (जबज) कै पथमा हिंडिरहेको त छ तर खुलेर त्यही कुरा भन्न सकिरहेको छैन । यसो भन्दा पूर्व माओवादी पक्षले अप्ठेरो मान्लान् भन्ने संशय छ ।

वास्तवमा मदनको जबज कुनै एक वा अर्को विचार वा वादमा सीमित थिएन÷छैन न कुनै शब्दजाल नै हो, यो । यो त विश्वव्यापी कम्युनिष्ट आन्दोलनभित्रको बहसमा एउटा साहसिक हस्तक्षेप थियो ।

जनताका बीचमा राजनीति गर्ने र निर्वाचन मार्फत जनताद्वारा निर्धारित स्थानमा बस्ने जबजको घोषणा त्यो बेला कतिका लागि घोर ‘दक्षिणपन्थी’, ‘संशोधनवादी’ र ‘अवसरवादी’ पनि थियो । तर, त्यसलाई पर्वाह नगरी मदनले जुन हिम्मतका साथ नेपालको कम्युनिष्ट आन्दोलनलाई दिशा दिनुभयो, त्यसैको प्रतिफल हो आजको नेकपाले पाएको जनमत ।

सैद्धान्तिक रूपमा नेकपा, मदनका अवधारणाबाट टाढा छैन । गत वर्ष पार्टी एकता हुँदा तत्कालीन एमालेले अंगीकार गर्दै आएको जबज र तत्कालीन माओवादीले अंगीकार गर्दै आएको माओवाद तथा एक्काइसौं शताब्दीको जनवादलाई स्थगनमा राखे पनि सारतः मदनको विचारबाट पार्टी टाढा जान सक्ने अवस्था छैन ।

पार्टी एकताको घोषणापत्रमै उल्लेख छ— ‘नेकपा (एमाले) ले अवलम्बन गरिआएको जनताको बहुदलीय जनवाद र नेकपा (माओवादी केन्द्र) ले अवलम्बन गरिआएको एक्काइसौं शताब्दीमा जनवाद सम्बन्धी सैद्धान्तिक एवम् राजनीतिक मान्यतालाई परिवर्तित नयाँ सन्दर्भमा विकसित र परिमार्जन गरी समाजवाद उन्मुख जनताको जनवादका रूपमा अगाडि बढाइनेछ । यिनै वैचारिक मान्यता अनुरूप प्राप्त उपलब्धिहरूको रक्षा र विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गरी सामाजिक–आर्थिक रूपान्तरण मार्फत नेपालको संविधानमा उल्लिखित समाजवाद उन्मुख व्यवस्थाको प्राप्तिको दिशामा हामी अग्रसर रहनेछौं । साथै, नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्दादेखिको समाजवाद स्थापनाको महान् लक्ष्य पूरा गर्ने दिशामा अघि बढ्न हामीहरू दृढरूपले प्रतिबद्ध रहनेछौं ।’

जनताको बहुदलीय जनवादले अंगीकार गरेका सारभूत कुरालाई घोषणामा यसरी स्वीकार गरिएको छ— ‘शान्तिपूर्ण प्रतिस्पर्धा मार्फत श्रेष्ठता हासिल गर्ने, संविधानको सर्वोच्चता, विधिको शासन, स्वतन्त्र न्यायपालिका, मानवअधिकार एवम् मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धायुक्त आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिहरूद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्था लगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्य–मान्यतामा प्रतिबद्ध छ ।’

कम्युनिष्ट आन्दोलनका ‘पानीढलो’

मदनले लामो सार्वजनिक जीवन बिताउन पाउनुभएन । भूमिगत जीवन त्यागेर २०४७ सालको मध्यतिर सार्वजनिक हुनुभएका उहाँ साढे दुई वर्षमै रहस्यमय दुर्घटनामा पर्नुभयो । तर, यति छोटो अवधिमा कार्यकर्तादेखि आम मानिस र अन्तर्राष्ट्रिय समुदायमा समेत उहाँले जुनस्तरको छाप निर्माण गर्नुभयो, त्यो अपवाद थियो ।

मदन जम्माजम्मी एक पटक २०४८ सालमा संसद सदस्य निर्वाचित हुनुभयो । सार्वजनिक छवि निर्माणमा त्यही घटना नै ‘कोसेढुंगा’ सावित भयो । किनभने, आफ्नै पार्टी समेत संलग्न अन्तरिम सरकारका प्रधानमन्त्री र ठूलो दल नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईसँग चुनाव लड्ने उहाँले जोखिम मोल्नुभयो । काठमाडौंका दुवै क्षेत्रको सानदार विजयले उहाँलाई बेग्लै उँचाइमा पुर्‍याइदियो । मदन बरालिन लागेको कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय निर्वाचनको मार्गमा ल्याउने प्रमुख अभियन्ता मात्र सावित हुनुभएन, कम्युनिष्ट पार्टीलाई मुलुकको वैकल्पिक लोकतान्त्रिक शक्तिका रूपमा स्थापित गर्ने भाष्यकार समेत बन्नुभयो ।

नेपालको कम्युनिष्ट आन्दोलनमा मदन एक ‘पानीढलो’ मानकका रूपमा स्थापित हुनुभयो । पुष्पलालले २००६ सालमा स्थापना गरेको नेपाल कम्युनिष्ट पार्टीमा परिवर्तित परिस्थितिमा प्राण भरेर जनताबीच लैजाने काम निःसन्देह मदनले नै गर्नुभयो । पूर्वी यूरोपमा समाजवादले एकपछि अर्को धक्का खाइरहेको, विश्वव्यापी रूपमै प्रतिरक्षात्मक अवस्थामा पुगेको बेला नेपालमा समाजवाद बचाइराख्ने कुरा आफैंमा जोखिम थियो । त्यस्तो अवस्थामा कम्युनिष्ट पार्टीलाई ‘खोपीको देउता बनाइराख्ने कि खुल्ला प्रतिस्पर्धा जस्तो उच्च राजनीतिक प्रणालीलाई बुर्जुवाकै पोल्टामा एकलौटी छोडिदिने’ भन्ने ठूलो चुनौती थियो । यही मान्यताबाट प्रेरित मदनले संसद मार्फत नै समाजवादतर्फ उन्मुख हुने जोखिमपूर्ण कदम उठाउनुभयो ।

त्यसो त मदनले संसारमै कतै नभएको, बहस नै नभएको विचार अघि सार्नुभएको भने होइन । स्वयम् हाम्रो छिमेकी भारतको पश्चिम बंगालमा कम्युनिष्टहरूले निर्वाचन उपयोग गरेर सरकार बनाइसकेका थिए भने यूरोपेली मुलुकहरूमा पनि कम्युनिष्टहरूले संसदको उपयोग गर्न थालिसकेका थिए ।

तर, त्यसले नेपालमा केही फरक पर्नेवाला थिएन । किनभने, कम्युनिष्ट आन्दोलनमा बहसका नाममा प्रशस्त जडता कायम थिए । स्टालिनका कति प्रतिशत गल्ती थिए भन्नेबारे बहस हुन्थे ।

यस्तो बेलामा सशस्त्र संघर्ष र अवैधानिक बाटोको कार्यनीतिमा हिंडिरहेको कम्युनिष्ट आन्दोलनलाई जनताका बीच आफ्नो लोकप्रियता नाप्न लगाउने नेता मदन नै हुनुहुन्थ्यो । जबजलाई तात्कालिक कार्यक्रमका रूपमा सूत्रबद्ध नगरेको भए अरू कैयौं मुलुकमा झैं नेपालमा पनि कम्युनिष्ट आन्दोलन छिन्नभिन्न हुने खतरा थियो । जुन कार्यनीति उहाँले अघि सार्नुभयो, त्यसले २०४८ सालमा एमालेलाई प्रमुख प्रतिपक्ष अर्थात् वैकल्पिक शक्तिका रूपमा स्थापित गर्‍यो भने २०५१ सालमा सरकारको नेतृत्व नै गर्ने अवस्थामा पुर्‍यायो ।

तर, एकथरी कम्युनिष्ट धाराले मदनमाथि संशोधनवादीदेखि प्रतिक्रियावादीसम्मको आरोप लगाउन बाँकी राखेन । नेकपा (माओवादी) ले जबज ‘कुनै नीति, सिद्धान्त र विचार नभई कम्युनिष्ट आन्दोलनको पतनको दस्तावेज भएको’ निष्कर्ष निकालेर २०५२ सालमा ‘जनयुद्ध’ को थालनी गरेको थियो । तर, १० वर्ष सशस्त्र युद्धपछि संसदीय अभ्यासमा सहभागी हुँदा माओवादीसँग मदन भण्डारीबाहेक अर्को आदर्श थिएन ।

त्यसो त राज्यसत्ता प्रतिक्रियावादी भयो, राजनीतिक दलहरूमाथि प्रतिबन्ध लाग्यो, जनतालाई कुनै अधिकार दिइएन र कम्युनिष्ट पार्टीले वैधानिक बाटोबाट काम गर्न पाएन भने त्यस्तो अवस्थामा हतियार उठाउने कुरालाई मदनले पनि अस्वीकार गर्नुभएको थिएन । तर, माओवादी जनयुद्ध त्यस्तो बेलामा शुरू भएको थियो, जतिबेला नेपालमा कम्युनिष्ट आन्दोलनप्रति आकर्षण ठूलो थियो र संसदमा सबभन्दा ठूलो दलका रूपमा एमाले उपस्थित थियो । लोकप्रिय र जनमुखी काम गर्दागर्दै एमाले सरकारबाट हठात् हटाइएको थियो । तत्काल निर्वाचन भएमा एमालेले सहजताका साथ बहुमत ल्याउने पक्कापक्की भएपछि संविधानको अपव्याख्या गरेर तोकिएको निर्वाचन रोकिएको थियो । मुलुकमा सबैले आफ्ना विचार निर्वाध रूपमा राख्न पाउने, संघ–संगठन गर्न पाउने संवैधानिक व्यवस्थासहित बहुदलीय व्यवस्था स्थापना भएको पाँच वर्ष मात्रै भएको थियो । तर, आज नेकपा जहाँ छ, त्यसको बाटो मुलुकमा बहुदलीय व्यवस्था आउनुभन्दा अघि भदौ २०४६ मा आयोजित तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनमै मदनले खन्नुभएको थियो ।

जडता र विरोधाभास विरोधी

मदन आमजनको मनमनमा जीवित रहनुमा उहाँको प्रखर वक्तृत्वकला एक कारण हुनसक्छ तर अहम् कारण चाहिं उहाँले नेपालको कम्युनिष्ट आन्दोलनलाई दिशाहीनता र जडताबाट बाहिर निकालेकाले नै हो । चीनपन्थी कि रूसपन्थी भन्दै अनावश्यक विवादमा रुमल्लिन बानी परेका, दस्तावेजमा सीमित कम्युनिष्ट आन्दोलनलाई जनताको भरपर्दो शक्ति बनाउने कुरा यत्तिकै सम्भव थिएन । त्यसका लागि २४–२५ वर्ष उमेर समूहका युवाले खोलेको नेकपा (माले) मात्रै पर्याप्त थिएन ।

मदन कतिसम्म दूरदर्शी हुनुहुन्थ्यो भन्ने कुरा त नेकपा (माक्र्सवादी) सँगको एकीकरणले पनि बताउँछ । मालेसँग संगठन थियो तर सार्वजनिक छवि भएका नेता थिएनन्, अनि माक्र्सवादीसँग मनमोहन अधिकारी, साहना प्रधान, भरतमोहन अधिकारी जस्ता सार्वजनिक चिनारी बनाइसकेका नेता थिए, तर संगठन थिएन । कत्ति पनि अप्ठेरो नमानेर मदनले मनमोहन अधिकारीलाई आफ्नो नेता मात्र स्वीकार्नुभएन, कहिल्यै हामी फरक पार्टीबाट आएका हौं भन्ने अनुभूतिसम्म हुन दिनुभएन । फलस्वरूप पार्टी एकताको ऊर्जाले एमाले चाँडै आकर्षणको केन्द्र बन्यो ।

जनताका कान ठाडा हुने गरी मदन भण्डारीको तिक्खर आवाजमा गुञ्जिएको राष्ट्रियताको गुञ्जन शायदै कसैले भुल्न सक्ला । टनकपुर सम्झैताका नाममा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भारतसँग गरेको सन्धि विरुद्ध सम्झैताहीन रूपमा उभिएर मदनले नेपालीमा अभूतपूर्व राष्ट्रिय भावना जागृत गराउनुभएको थियो । विना हिच्किचाहट प्रष्ट बोल्ने स्वभाव नै उहाँप्रतिको विश्वास र आकर्षणको कारण थियो ।

उबेला कम्युनिष्ट आन्दोलनभित्र ‘संसदवाद’ वा ‘संसदमुखी’ भन्ने शब्दलाई नकारात्मक र ‘जातच्यूत’ अर्थमा बुझिन्थ्यो । एकपटक कुनै पत्रकारले उहाँलाई ‘तपाईं संसदमुखी हुनुभयो नि ?’ भनेर सोध्दा उहाँको जवाफ थियो, ‘हो हाम्रो मुख संसदतिर फर्केको छ । संसदबाट जनताको समस्या समाधान हुन्छन् भन्ने ठानेर हामी संसदमा गइरहेका छौं । अनि संसदतिर हिंड्दा मुख पछाडि फर्काउने कुरा त भएन ।’

आजका नेताहरू जे गरिरहेका छन्, के हिम्मतका साथ त्यसको प्रतिरक्षा गर्न सक्छन् ?

comments powered by Disqus

रमझम