५-११ जेठ २०७६ | 19-25 May 2019

एसीसीए: अवसरको ढोका

Share:
  
- मस्त केसी
१८० देशमा एउटै पाठ्यक्रम र अन्तर्राष्ट्रिय मान्यता पाइने कारणले मात्र होइन, अध्ययन पूरा गरेपछि राम्रो माग हुने भएकाले एसीसीए प्रोफेसनल कोर्सलाई अवसरको ढोका मानिन्छ।

सीड फाइनान्सियल एकेडेमी, काठमाडौं ।
सन् १९०४ मा बेलायतबाट शुरू भएको एशोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (एसीसीए) प्रोफेसनल कोर्स अहिले विश्वका १८० देशमा पठनपाठन भइरहेको छ । एसीसीए ग्लोबलका अनुसार अहिले विश्वभर ४ लाख ८६ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । आफ्ना दुई लाखभन्दा बढी सदस्य विभिन्न देशका झण्डै ७ हजार २०० कम्पनीमा आबद्ध रहेको एसीसीए ग्लोबलको भनाइ छ ।

नेपालमा एसीसीएको परीक्षा पहिलो पटक सन् १९७७ (२०३४ साल) मा भएको थियो । ब्रिटिश काउन्सिलले लिने यो परीक्षामा सहभागी हुने परीक्षार्थी त्यसबेला एक जना मात्रै थिए– सुरेशराज शर्मा । त्यसपछि करीब १५ वर्ष रोकिएर पुनः शुरू भए पनि नियमित हुन नसकेको एसीसीए परीक्षा सन् २००४ (२०६१ साल) देखि भने नियमित भइरहेको एसीसीएका नेपाल प्रमुख रविन कटवाल बताउँछन् ।

त्यसअघि एसीसीएका विद्यार्थीले स्व–अध्ययन गरेर परीक्षामा सामेल हुनुपथ्र्यो । अहिले नेशनल कलेज अफ एकाउन्टेन्सी (एनसीए) का साथै द ब्रिटिश कलेज, सीसीए स्कूल अफ एकाउन्टेन्सी, सिड फाइनान्सियल एकेडेमी लगायतका संस्थाहरूले एसीसीए पढाइरहेका छन् । ब्रिटिश काउन्सिलले भने कोर्स सञ्चालनको सहजीकरण गरिरहेको छ ।

बढ्दो आकर्षण

पाँच वर्षयताको तथ्याङ्कले नेपालमा एसीसीए पढ्ने विद्यार्थीको संख्या बढिरहेको देखाउँछ । आर्थिक वर्ष २०७१/७२ मा २३६ जना विद्यार्थी भर्ना भएका थिए भने २०७५/७६ मा यो संख्या ५३५ पुगेको एसीसीए ग्लोबलको तथ्यांक छ । विश्वभरि एउटै पाठ्यक्रम, परीक्षा प्रणाली, शिक्षण विधि र अन्तर्राष्ट्रिय मान्यता लगायतका कारणले एसीसीएप्रतिको आकर्षण बढिरहेको एसीसीएका नेपाल प्रमुख कटवाल बताउँछन् । “एसीसीएका सदस्यहरूले पाएको अवसर र ख्यातिकै कारण यसको माग बढ्दो छ”, उनी भन्छन् । एसीसीए ग्लोबल डिग्री भएका कारण यो कोर्स पढेका विद्यार्थी संसारभर कामका लागि योग्य हुन्छन् ।

आर्थिक गतिविधि व्यवस्थित सञ्चालनका लागि दक्ष जनशक्तिको माग दिनहुँ बढिरहेको छ । यस्तै, ब्याङ्क तथा वित्तीय र गैरसरकारी संस्थाहरूको बढ्दो संख्यासँगै यी संस्थाको आर्थिक कारोबार व्यवस्थापनका लागि पनि एसीसीएको माग बढ्दो छ । वित्तीय अनुशासन कमजोर भएका संस्थालाई चुस्त बनाउन र गतिशील वित्तीय प्रणालीको स्थापनामा एसीसीएको भूमिका महत्वपूर्ण हुने कटवाल बताउँछन् ।

पढ्दै गर्दा काम गर्न सकिने, पाठ्यक्रममै इन्टर्नसिप अनिवार्य गरिएको, पढाइ सकिएपछि खाली बस्नु नपर्ने, आकर्षक तलब र अन्तर्राष्ट्रिय बजारमा समेत बढ्दो मागका कारण एसीसीएप्रति विद्यार्थी आकर्षित भएको एसीसीए कलेज सञ्चालकहरू बताउँछन् । सिड फाइनान्सियल एकेडेमीका एकेडेमिक डाइरेक्टर अनन्त गौतमको भनाइमा देश–विदेशमा रोजगारीको राम्रो अवसर र प्रतिष्ठाका कारण विद्यार्थीको रोजाइमा एसीसीए पर्न थालेको हो । “व्यावहारिक पाठ्यक्रम र व्यावसायिक जीवनमा आवश्यक पर्ने ज्ञानका कारण यसतर्फ विद्यार्थीको झुकाव बढेको छ”, उनी भन्छन् ।

एसीसीए स्कूल अफ एकाउन्टेन्सीका प्रबन्ध निर्देशक गोविन्दराज पन्त व्यावहारिक पाठ्यक्रम भएकै कारण एसीसीएले व्यावसायिक जीवनमा सफल हुन उत्प्रेरकको भूमिका खेल्ने बताउँछन् । उनी भन्छन्, “एसीसीए पढेका विद्यार्थीको प्रगति देखेर पनि अन्यको आकर्षण बढेको छ ।”

व्यावहारिक पाठ्यक्रम

एसीसीए कोर्स अन्तर्गत अप्लाइड नलेज, अप्लाइड स्किल्स् र स्ट्राटेजिक प्रोफेसनल गरी तीन तह हुन्छन्, जुन पूरा गर्न तीन वर्ष लाग्छ । वर्षमा चार वटा परीक्षा हुने यो कोर्समा कुल १३ परीक्षा हुन्छन् । एउटा तह पार नगरी अर्कोमा जान पाइँदैन । विद्यार्थीको लगनशीलता र मिहिनेतले कोर्स पूरा गर्ने समयावधि फरक पर्ने कलेज सञ्चालकहरू बताउँछन् ।

अप्लाइड नलेज तहमा भर्ना हुन १२ कक्षा उत्तीर्ण गरेको हुनुपर्छ । सीधै स्किल्स्मा भर्ना हुन स्नातक तह उत्तीर्ण गरेको हुनुपर्छ । एसईई उत्तीर्ण विद्यार्थीले पनि एकवर्षे ‘फाउन्डेसन इन एकाउन्टेन्सी’ कोर्स पूरा गरेपछि एसीसीए पढ्न पाउने प्रावधान छ । तर, सञ्चालकहरू १२ कक्षा पूरा गरेर मात्रै एसीसीएमा भर्ना हुन सुझाव दिन्छन् ।

पढाउने संस्था अनुसार शुल्क फरक–फरक भए पनि रु.५ लाखदेखि रु.६ लाखको लागतमा एसीसीए कोर्स पूरा गर्न सकिने सञ्चालकहरूको भनाइ छ । सिड एकेडेमीका एकेडेमिक डाइरेक्टर अनन्त गौतम विद्यार्थीलाई एक पटकमा कति वटा विषयको परीक्षा दिने भन्ने छूट समेत रहेको बताउँछन् । उनका अनुसार विषय छनोट गरी परीक्षा दिन पाइने र सैद्धान्तिक भन्दा व्यावहारिक पाटो बढी भएकोले एसीसीए पढ्न सजिलो छ । “यसका साथै अनुत्तीर्ण विषयको मात्रै पुनः परीक्षा दिनुपर्ने भएकाले एसीसीए विद्यार्थी केन्द्रित कोर्स हो” उनी भन्छन् । समयसँगै एसीसीएले कोर्स पनि परिवर्तन गर्ने गरेको छ । समय सुहाउँदो र व्यावहारिक कोर्सको लागि अहिले ‘डिजिटल स्किल्स्’ लाई पनि प्राथमिकता दिइएको छ । भविष्यको बजार कस्तो बन्छ भन्ने विचार गरेर कोर्स परिवर्तन गरिने गरेको एसीसीएका नेपाल प्रमुख कटवाल बताउँछन् । कटवालको भनाइमा एसीसीएले पेपरमा आधारित परीक्षा प्रणाली पनि क्रमशः हटाउँदै लगेको छ ।

एसीसीए सदस्य बन्न तीन वर्षको पढाइ पूरा गरेर मात्रै हुँदैन । तीन वर्षको कामको अनुभव पनि हुनुपर्छ । विद्यार्थीले कोर्स पूरा गरेपछि काममा जान सक्छन् वा पढाइसँगै काम गरेर अनुभव हासिल गर्न सक्छन् । प्रतिस्पर्धा बढेका कारण एसीसीए पढाउने संस्थाहरूको संख्या पनि बढ्दो छ । हालै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) सँग सहकार्य सम्झैता भएपछि सम्भावना थप फराकिलो भएको एसीसीएका नेपाल प्रमुख कटवाल बताउँछन् ।

फराकिलो सम्भावना

अर्थ, व्यवस्थापन वा लेखा क्षेत्रमा काम गर्न चाहनेहरूका लागि एसीसीए कोर्सले व्यावहारिक दक्षता प्रदान गर्छ । त्यसैले ब्याङ्क, बीमा, होटल, कर्पोरेट हाउस, सरकारी निकाय, निजी कम्पनी आदिको व्यवस्थापकीय नेतृत्व र विज्ञका रूपमा एसीसीए कोर्स उत्तीर्ण गर्नेहरू प्राथमिकतामा पर्न थालेका छन् । “एसीसीए पढेको जनशक्तिले संस्थाको आर्थिक गतिविधि बलियो बनाउनेदेखि मुलुककै अर्थ–व्यवस्थालाई पनि चलायमान बनाउन सक्छ”, एसीसीएका नेपाल प्रमुख रविन कटवाल भन्छन् ।

विश्वव्यापी मान्यता प्राप्त कोर्स भएका कारण एसीसीएको कार्यक्षेत्र फराकिलो छ । विदेशमा आकर्षक तलब र सम्मान पाउने थोरै काममध्ये एसीसीए पनि पर्छ । विदेशमा मात्र होइन, पछिल्लो समय देशभित्रकै ब्याङ्क तथा वित्तीय संस्था, बहुराष्ट्रिय कम्पनी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले एसीसीए योग्यता खोज्ने गरेको एसीसीए स्कूल अफ एकाउन्टेन्सीका प्रबन्ध निर्देशक पन्त बताउँछन् । बजार आफैं सिर्जना गर्न पनि एसीसीएका सदस्यहरू सक्षम भएको उनको बुझाइ छ । “संस्थालाई गति दिन र आर्थिक प्रणाली सुधार्न एसीसीएको माग बढ्दो छ” उनी भन्छन्, “राम्रो बजार देखेर स्नातक तथा स्नातकोत्तर पूरा गरेपछि पनि एसीसीए पढ्नेहरूको संख्या उल्लेखनीय छ ।”

comments powered by Disqus

रमझम