उनी भारोत्तोलनमा लगातार १७ वर्ष अपराजित रहिन् । त्यति नै वर्ष ‘नेपालको सर्वाधिक बलियो महिला’ को ताज पहिरिइन् । नेपाली खेलकुदमा यो अनुपम सफलता हो । फलामको गह्रुँगो भार उचाल्नुपर्ने भारोत्तोलनलाई कठिन खेल मानिन्छ । तर उनले यतिका वर्षसम्म जीवनमा थकानलाई ठाउँ दिएकी छैनन् । बरु, खेलमै डटेर सफलता हासिल गर्ने यात्रा जारी राखेकी छिन् । गएको वैशाखमा नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा पुनः बलियो महिलाको ताज सहितको स्वर्ण जितिन्, तारादेवीले । जितपछि खेलमा अझ दृढ भएको बताउँदै सामाजिक सञ्जालमा लेखिन्— ‘अझै थाकेकी छैन ।’
तारादेवी भित्र यो दृढता यत्तिकै जागेको होइन । उनले जीवनमा यस्ता भारहरू बोकेकी छन्, जसको अगाडि भारोत्तोलनको भार मामुली हुन्छ । अभावले घेरेका यस्ता दिनहरू सामना गरेकी छन्, जसले उनलाई खेलकुदमा दिलोज्यानले डटिरहन बल दिएको छ ।
अभाव र अफापको विगत
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको दुर्गम बस्ती हिस्तानमा जन्मिएकी हुन्, तारादेवी । जसको विकटताबारे खुलाउँदै उनी ‘गाउँभित्रको पनि गाउँ’ भन्छिन् । उनको घर बेनी बजारबाट १० घण्टा पैदल हिंडेपछि पुगिन्छ ।
गोठ जस्तो घरमा जन्मिएकी उनको बाल्यकाल चरम अभावमा बित्यो । दुई दाजु र एक दिदी सहित उनको छाक टार्न अभिभावकलाई हम्मे पथ्र्यो । “भात त परको कुरा, खोले पनि हामी बाक्लो खान पाउँदैनथ्यौं । सबैलाई पुर्याउन पातलो बनाइएको हुन्थ्यो”, उनी ती दिन सम्झिन्छिन् । यस्तै, विद्यालय जान–आउन दुई–दुई घण्टा घना जंगलको बाटो छिचोल्नुपथ्र्यो ।
गरीबी आफ्नो ठाउँमा थियो, तारादेवीमा खेल कौशल भने सानैदेखि भरिएको थियो । विद्यालयमा भलिबलकी राम्रो लिफ्टर थिइन् । २०५४ सालको चौथो बृहत् राष्ट्रिय खेलकुदमा वडा, जिल्ला, क्षेत्रीय छनोटमा छानिंदै उनी पश्चिमाञ्चलको टीममा परेर खेल्न नेपालगञ्ज पुगिन् । पश्चिमाञ्चल टीमले भलिबलमा उपाधि नै उचाल्योे, उनले ‘बेस्ट लिफ्टर’ को उपाधि पाइन् ।
त्यो राष्ट्रिय खेलकुद नेपालमै हुने आठौं साफ गेम्सको छनोट प्रतियोगिता पनि थियो । त्यसमा तारादेवी छानिइन् । तर, उनी आफ्नो गाउँ फर्किसकेकी थिइन् । खोजी हुँदा उनको ठेगाना कसैले पत्ता लगाउन सकेन । उनी छनोटमा परेको चिठी बेनी बजारमा आएको रहेछ । तर, त्यसबारे उनले ढिलो खबर पाइन् । “मैले थाहा पाउँदासम्म आठौं साफ गेम्स नै सम्पन्न भइसकेको रहेछ”, विकटताले खोसेको अवसर सम्झँदै उनी भन्छिन् ।
आठौं साफ गेम्समा नेपाली महिला भलिबल टोलीले काँस्य जित्यो । खेलाडीहरूले तत्कालीन राजाबाट प्रतिष्ठित विभूषण ‘गोरखा दक्षिण बाहु’ पाएका थिए । त्यतिबेला १६ वर्षकी रहेकी उनी उक्त प्रतियोगिताबारे बेलैमा थाहा पाएको भए आफ्नो खेल जीवनले अर्कै मोड लिने ठान्छिन् ।
तर, ताराले हिम्मत हारिनन् । २०५८ सालमा पाँचौं राष्ट्रिय खेलकुदको लागि फेरि पश्चिमाञ्चलबाट छानिएर काठमाडौंमा खेल्न आइन् । तर बाटोमा आउँदै गर्दा प्रतियोगिताको अघिल्लो रात दरबार हत्याकाण्ड भयो । उनको खेल यात्रामा अर्को ब्रेक लाग्यो ।
भारोत्तोलनको यात्रा
कस्तो खेल, कसरी खेल्ने भन्ने थाहै नपाएकी उनी सुझाव अनुसार दशरथ रंगशाला पुगिछन् । लगातार पाँच दिनसम्म धाएपछि उनलाई भारोत्तोलनका प्रशिक्षक राजेन्द्र प्रधानले भेटे । प्रधानले उनको परीक्षा लिंदै २० किलोको रड उचाल्न लगाएछन् । “जोश थियो, सजिलै उचालें । त्यसपछि मलाई प्रशिक्षणमा बोलाइयो”, खेल जीवनमै मोड आएको २६ पुस २०५८ को दिन सम्झिन्छिन्, उनी ।
भारोत्तोलनमा खेलेको पहिलो प्रतियोगिता पनि ताराको सम्झनामा अमिट छ । सिक्न थालेको दुई महीनापछि उनलाई प्रतियोगिता खेल्न वीरगञ्ज लगियो । त्यहाँ प्रशिक्षक जगदीश प्रधानले ‘स्ट्रोङ्गेस्ट वुमेन’ को ट्रफी देखाउँदै उनलाई भनेछन्, “तिमीले राम्रो गर्यौं भने यो ताज र ट्रफी तिम्रो हुनेछ ।”
नभन्दै उनले स्वर्ण नै जितिन् र ताज पहिरिइन् । पुरस्कारबापत नगद रु.५ हजार पनि पाइन् । उनी खुशी साट्छिन्, “जीवनमा पहिलो पटक त्यति धेरै पैसा पाएकी थिएँ, त्यो रकम कति समयसम्म साँचेर राखें भनेर मलाई अझै पनि याद छ ।”
त्यसपछि तारा भारोत्तोलनमै समर्पित भइन् । हरेक प्रतियोगितामा उनले कीर्तिमान रच्दै गइन् । स्वर्ण मुनिका पदकमा नझरेकी उनले पाँचौंदेखि आठौं राष्ट्रिय खेलकुदसम्म खेल्दा कीर्तिमानकै ओइरो लगाइन् ।
‘ढिलो भइयो कि ।’
२०६० सालमा नेपाल प्रहरीमा जागिर पाएपछि ताराको काठमाडौं बसाइले आर्थिक भरथेग पायो । तर जीवनमा केही कुरा छुट्नुको पीडाले उनलाई बिझाइरहन्छ । आफू खेलकुदबाट राष्ट्रिय चर्चामा आएको खबर उनले बुबासँग कहिल्यै साट्न पाइनन् । कमाउन खाडी पसेका बुबा आठ वर्षपछि घर फर्केपछि उच्च रक्तचापका कारण बिते । यसमा तारा सधैं थक्थक् मान्छिन्, “मलाई खेलकुदमा लाग्न स्वतन्त्र छोड्ने बुबालाई आफ्नो सफलता देखाउनै पाइनँ ।”
ताराले अन्तर्राष्ट्रिय मौका निकै ढिलो मात्र पाइन् । खेलयात्राको १७ वर्षे करिअरमा उनले जम्मा ६ वटा मात्र अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाइन् । खेल्न थालेको १० वर्षपछि मात्र उनले २०६८ सालमा नेपालगञ्जमा पहिलो सार्क भारोत्तोलन खेलेकी हुन् । त्यसपछि थाइल्याण्डमा दुई वटा प्रतियोगिता खेलिन् । सन् २०१६ मा भारतको गुवाहटीमा भएको १२औं सागमा काँस्य जितिन् । सन् २०१४ र २०१८ गरी उनले दुई वटा एशियाली खेलकुदमा खेलेकी छन् ।
पछिल्लो समय भने उनी जीवनको लेखाजोखा गर्न थालेकी छन् । आठौं साफ गेम्समा छानिएको पत्र ढिलो पाए जस्तै जीवनको दौडमा कतिपय कुरामा ढिलो भइएछ कि जस्तो उनलाई लाग्न थालेको छ । प्रहरीमा बढुवा हुन ढिलो भइरहे जस्तै पैसा कमाउन ढिला भए जस्तो लाग्छ । ३७ वर्षमा हिंडिरहेकी उनलाई खेलमा लाग्दालाग्दै विवाह गर्न ढिला भयो जस्तो पनि लागेको छ ।
यसका साथै, खेल यात्रालाई निरन्तरता दिने कि सन्न्यास लिने भन्ने दोधारमा छिन्, उनी । तर देशमै हुन लागेको १३औं दक्षिण एशियाली खेलकुद (साग) नछुटाउने सोच छ । त्यसपछि तीन वटा विकल्पबाट रोज्ने बताउँदै उनी भन्छिन्, “बढुवा भए असई हुन्छु र खेलयात्रा लम्ब्याउँछु । विदेश गएर पैसा कमाउने वा विवाह नै गर्ने भन्ने विकल्प पनि सोचिरहेकी छु ।”