१९-२५ जेठ २०७६ | 2-8 June 2019

बजेट, नेरु र मोरु

Share:
  
- भैरव रिसाल
नेपाली नोटसँगै समानान्तर रूपमा भारतीय रूपैयाँ चलनचल्तीमा रहेको यस्तो पनि समय थियो, जतिबेला देशका कतिपय ठाउँमा आफ्नै नोट नचलेर हैरानी खेप्नुपथ्र्यो।

अर्थमन्त्री सुवर्णशमशेर राणा ।
नेपालको बजेट सम्बन्धी इतिहास खोतल्दा २००८ सालमा पुगिन्छ । त्यसअघि राज्य संचालनमा बजेट शब्दको प्रयोग गरिएको पाइँदैन । पहिलेका सरकारका आर्थिक विवरण जनता लक्षित नभई पारिवारिक किसिमका हुन्थे । देशको पहिलो बजेट १९ माघ २००८ मा आएको हो । मातृकाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वकालमा तत्कालीन अर्थमन्त्री सुवर्णशमशेर राणाले रु.५ करोड २५ लाख २९ हजारको बजेट ल्याएका थिए । सुवर्णले पेश गरेको बजेटको पूर्णपाठ बिहान ९ बजे रेडियो नेपालबाट प्रसारण गरिएको थियो । कुल आम्दानी रु.३ करोड ५ लाख १६ हजार मात्र रहेको बजेटको अनुमानित खर्चले रु.२ करोड २० लाख १३ हजार घाटा हुने देखाएको थियो ।

त्यतिबेला श्री ५ तर्फ रु.५ लाख, ८४ हजार विनियोजन गरिएको थियो भने निजामती कर्मचारीहरूको तलब बढाइएको थियो । साधारण खर्चतर्फ राष्ट्रसेना, पुलिसको पुनर्गठन, रक्षादल, जिल्ला प्रशासन, निर्वाचन, जनगणना, वैदेशिक दूतावास आदिका लागि बजेट छुट्याइएको थियो । यस्तै, विकासतर्फ स्वास्थ्य, शिक्षा, सिंचाइ, रोपवे, घरेलु इलम, बाटो, हवाई अड्डा जस्ता शीर्षकमा पनि रकम विनियोजन गरिएको थियो ।

त्यसपछि लामो समय वार्षिक रूपमा बजेट आएन । एकैचोटि सात वर्षपछि २०१५ सालको बजेट ३ वैशाख २०१५ मा सार्वजनिक भयो । यो बीचको अवधिमा सोझै दरबारले राज्य संचालन गथ्र्यो । आर्थिक वर्षको प्रचलन २०१७/१८ बाट शुरू भएको पाइन्छ । त्यसबेला सुवर्णशमशेर नै थिए, अर्थमन्त्री । उनले १३ असार २०१७ मा प्रतिनिधिसभामा उक्त वर्षको आर्थिक विवरण पेश गरेका थिए ।

हामीकहाँ अर्थशास्त्री वा यस विषयमा दक्खल राख्ने व्यक्ति मात्र अर्थमन्त्री भएका छैनन् । अर्थमन्त्री को को भए, भए ! तर मैले पत्रकारिता गर्दा थाहा पाएको चाहिं, आयव्यय विवरण करोडमा रहेको बेलाका अर्थमन्त्री अर्बको बजेट पेश गर्ने तृष्णा राख्दो रहेछ । करोडको बजेट सुवर्णशमशेर अर्थमन्त्री भएकै बेला पेश भयो । यस्तै, अर्ब नाघेको बजेट कीर्तिनिधि विष्ट प्रधानमन्त्री र अर्थमन्त्री हुँदा आर्थिक वर्ष २०२८/२९ मा आयो । त्यो बजेट रु.१ अर्ब १३ करोड ७० लाखको थियो ।

मोरु छाडेर नेरु

२०१६ सालअघि नेपाली रुपैयाँलाई कतै मोरु (मोहर रुपैयाँ) र कतै नेरु भनिन्थ्यो । २०१३ सालमा नेपाल राष्ट्र ब्याङ्क स्थापना भएपछि मोरु १० को नोट निकालेको थियो । तर मोरु भन्दा सार्थक नहुने ठहर गर्दै ३ चैत २०१५ मा सरकारले नेरु शब्द प्रयोग गर्ने निर्णय गर्‍यो, जुन १ वैशाख २०१६ बाट लागू भयो ।

त्यसबेला नेपाली नोटसँगै समानान्तर रूपमा भारतीय रुपैयाँ सहज रूपमा चलनचल्तीमा थियो । द्वैध मुद्राको अवस्था रहिरहेको बेला २०१७ वैशाखदेखि सरकारी निर्णयबाट भारु १०० को विनिमय दर नेरु १६० कायम भयो । त्यसपछि सरकारले नेपाली मुद्राको प्रचलन व्यापक बनाउने रणनीति अपनायो । त्यसै अनुसार इलाम, दाङ, देउखुरी, बैतडी, डडेल्धुरा, डोटी, बाहेकका सबै स्थानमा श्री ५ को सरकारमा दाखिल हुने सबै रकम नेरुमा बुझ्ने तथा सरकारी र विकास समितिका खाताहरू भारुमा नराखी नेरुमै राखिने भयो ।

द्वैध मुद्राको प्रचलन रहेको समयमा मैले देशको पूर्वी भेक र सुदूरपश्चिममा यात्रा गर्दा समस्या भोगेको छु । २०१८ वैशाखताका बझाङ जाँदा स्थानीय पसलेले नेपाली नोट नै लिएनन् । यस्तै, डोटीको बोग्टाङ गर्खामा भोकले पेट बटारेपछि एक जना गोठधनीसँग आग्रह गर्दा ढिंडो, तरकारी र दही खान पायौं । पैसा दिन खोज्दा नेपाली रुपैयाँ लिनै मानेनन् । केही उपाय नलागेपछि बाउँठो दिमाग लगाउनैपर्ने भयो । त्यतिबेला रु.२ को रातो रङको नोट चल्तीमा थियो, त्यसैलाई भारु भन्दै ढाँटेर काम चलायौं । अहिले सम्झ्ँदा नमज्जा लाग्छ ।

पूर्वतिर पनि त्यस्तै । ताप्लेजुङको फुङलिङ बजारमा दुई–तीन पुस्तादेखि व्यापार गर्न बसेका मारवाडीहरू (जसलाई कैयाँ भनिन्थ्यो) पनि नेपाली मुद्रा लिन हत्तपत्त नमान्ने । इलाम बजारका कैयाँहरूलाई पनि मनाउनुपथ्र्यो ।

comments powered by Disqus

रमझम