१९-२५ जेठ २०७६ | 2-8 June 2019

शालीन ‘एलिट’, शान्त प्रस्थान

Share:
  
- गोपाल गड्तौला
प्रभाकरशमशेर जबरा पर्यटन उद्योगका अग्रणी मात्र थिएनन्, राष्ट्रिय स्वार्थ, शान्ति प्रक्रिया र मेलमिलाप स्थापनामा पर्दाभित्रबाट योगदान पुर्‍याउने एक कुशल व्यवस्थापक पनि थिए।

प्रभाकरशमशेर जबरा

(२६ नोभेम्बर १९३५–३१ मे २०१९)

जयन्ती मेमोरियल ट्रष्ट

प्रतिष्ठित अग्रज उद्यमी प्रभाकरशमशेर जबराको ८४ वर्षको उमेरमा १७ जेठमा अमेरिकामा निधन भएको छ । १० महीनाअघि न्यूयोर्कमा ढाडको शल्यक्रिया गराएका उनको त्यसपछि स्वास्थ्य जटिल बन्दै गएको थियो । मृत्युको कारण भने मुटुको खराबी बन्यो ।

सोल्टी ग्रुपको अध्यक्ष र चेयरम्यान इमिरेट्स रहेका प्रभाकर सोल्टी होटल, सिप्रदी ट्रेडिङ, सूर्य नेपाल लगायत व्यापारिक प्रतिष्ठानका अभिभावक थिए । चिया र जलविद्युत्मा पनि उनको लगानी छ । व्यवसाय मार्फत राज्यलाई धुत्ने होइन सहयोग गर्नुपर्छ भन्ने धारणा थियो, उनको । त्यसैले उनका व्यावसायिक, व्यापारिक संस्थाहरू देशमै सबैभन्दा बढी कर तिर्नेको सूचीमा पर्छन् ।

सम्पन्न राणा परिवारबाट व्यवसायमा आउने पहिलो पुस्ताका प्रभाकर जीवनकालमा प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा)का नेपाल च्याप्टर, होटल एशोसिएसन अफ नेपाल, नेपाल हेरिटेज फाउण्डेसन, नेपाल–इण्डिया चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्री, अमेरिकन हिमालयन फाउण्डेसनका संस्थापक अध्यक्ष लगायत थुप्रै संस्थाको नेतृत्वमा रहे । तर, मुलुकको पर्यटन उद्योगमा उनको योगदान सबैभन्दा बढी थियो । पर्यटनमा उनी ‘पायोनियर’ उद्योगी मानिन्थे । उनलाई प्रेरणा मानेरै सम्पन्न घरानाको पछिल्लो पुस्ता व्यवसायमा आएको बताइन्छ ।

पहिलो प्रहरी महानिरीक्षक नरशमशेर जबराका छोरा प्रभाकरको जन्म २६ नोभेम्बर १९३५ मा सिंहदरबारमा भएको थियो । उनका दुई दिदीहरू प्रिन्सेप र हेलेनको राजा महेन्द्रका भाइहरू क्रमशः हिमालय र बसुन्धरासँग विवाह भएको थियो । राजा महेन्द्रसँग निकट प्रभाकरले २५ नोभेम्बर १९६६ मा उनैबाट मुलुकको पहिलो पाँचतारे होटल होटल सोल्टी उद्घाटन गराएका थिए । नेपालमा यत्रो लगानीको होटल चल्नेमा धेरैले शंका गरिरहेको बेला उनले गुणस्तरीय पर्यटक लक्षित भन्दै जोखिम मोलेका थिए । प्रभाकर २०२८ सालमा स्थापित नेपाल पानीजहाज कम्पनीको अध्यक्ष पनि भए ।

नजिकबाट चिन्नेहरू प्रभाकरलाई स्वच्छ, शान्त र सक्रिय व्यक्तित्व ठान्छन् । घरानियाँ परिवारका कारण नेपाल र भारतका कूटनीतिक र प्रशासनिक शक्तिकेन्द्र, नीतिनिर्माता र अभिजातवर्गसँग सम्बन्ध बनाउन उनलाई कठिन भएन । आफ्नो यो सम्पर्क प्रयोग गरेर पाश्र्व भूमिकामै रहेर उनले मुलुकको स्वार्थ र स्थिर समाज निर्माणमा महत्वपूर्ण कार्य गरे । तर, यस्ता घटनालाई अनौपचारिक ढंगले सूक्ष्म व्यवस्थापन गर्न उनी माहिर थिए । न उनले हल्ला गरे न व्यक्तिगत स्वार्थपूर्तिका लागि सम्बन्धको दुरुपयोग नै ।

दृष्टान्त १९ माघ २०६१ को कदमलाई पनि लिन सकिन्छ । तत्कालीन राजा ज्ञानेन्द्रले १९ माघमा ‘शाही कु’ गरेपछि त्यसलाई सच्याउन पटकपटक आग्रह गरेकै कारण प्रभाकर र राजाको दूरी बढेको दुई खलकबीच अहिले पनि चर्चा चल्ने गरेको छ ।

संयुक्त राष्ट्रसंघका पूर्व सहायक महासचिव समेत रहिसकेका कुलचन्द्र गौतमले ट्वीट मार्फत नेपालको शान्ति प्रक्रिया र राष्ट्रिय मेलमिलापमा पर्दापछाडिबाट प्रभाकरको भूमिका अहम् रहेको स्मरण गरेका छन् । होटल एशोसिएसन अफ नेपालकी अध्यक्ष सृजना राणाले प्रभाकरशमशेरको निधनले देशले ठूलो व्यावसायिक द्रष्टा गुमाएको बताइन् । नेपाल इण्डिया चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिजका अध्यक्ष सौर्य राणाका भनाइमा प्रभाकर सधैं चुनौती स्वीकार्ने देशका दुर्लभ उद्यमी थिए । “पर्यटन र मानव संसाधन व्यवस्थापनमा उहाँमा विशिष्ट क्षमता थियो”, राणा भन्छन् । पर्यटन, मानव संसाधन व्यवस्थापन र जलविद्युत् सम्बन्धी उनका थुप्रै लेख प्रकाशित छन् ।

प्रभाकरका एक छोरा र एक छोरी छन् । छोरा सिद्धार्थ बुबाकै व्यवसायको विरासत हाँकिरहेका छन् भने छोरी माया राणा अमेरिकामा छिन् ।

comments powered by Disqus

रमझम