१९-२५ जेठ २०७६ | 2-8 June 2019

कर्णाली प्रदेश: हुम्लामा मोटर, कर्णालीमा फोहोर

Share:
  
- प्रकाश सिंह, बाजुरामा
कर्णाली करिडोर निर्माणबाट केही महीनामै हुम्लामा सडक पुर्‍याउने लक्ष्य जति सुखद छ, सडककै कारण कर्णाली नदी किनार दूषित हुँदै जानु चिन्ताको विषय बनेको छ।

हिमाली गाउँपालिकाको कवाडी नजिकै पहरो फोडेर खोलिएको सडक ।
सडक यातायात नपुगेको एक मात्र जिल्ला हो, हुम्ला । यही विकट भूगोलमा सडकबाट जोड्न अहिले कर्णाली करिडोरमा दर्जनौं चट्टानी पहरा फोड्दै काम भइरहेको छ । करिडोर अन्तर्गत कालिकोटको खुलालु र लैफु हुँदै हुम्लाको सिमकोट जोड्ने सडक निर्माण चार वर्षदेखि नेपाली सेनाले गरिरहेको छ । कडा चट्टान विस्फोट गर्ने बाहेक ट्र्याक खोल्ने काममा ठेकेदार समेत परिचालन गरिएको छ ।

कर्णाली नदीको तीरैतीर बनिरहेको सडक अन्तर्गत कालिकोटको खुलालुदेखि हुम्लाको सरिसल्लासम्म १४५ किलोमिटर छ । जसमध्ये कालिकोटमा ४० किलोमिटर, बाजुरामा ४४ किलोमिटर र बाँकी हुम्लामा पर्छ । अहिलेसम्म काम भइरहेको १०७ किलोमिटरमध्ये बाजुराको धुलाचौरसम्मको ७२ किलोमिटरमा यातायात संचालनमा आएको उपसेनानी, इन्जिनियर शंकर सिलवाल बताउँछन् । बाजुरा र हुम्लाको बीचमा रहेको कवाडी खोलामा निर्माणाधीन पुल बनेलगत्तै हुम्ला सडक संजालमा जोडिनेछ । जेठ महीनाभित्र वेलिब्रिजको जडान पूरा गरी असारसम्ममा हुम्लामा यातायात पुर्‍याउने लक्ष्य सेनाको छ । तर, फेरी बिग्रिएकाले वेलिब्रिजको सामान ल्याउन नसकेको र वर्षाअगावै सामान नआए दशैंताका मात्रै हुम्लामा मोटर पुग्ने उपसेनानी सिलवाल बताउँछन् । पुल बनेपछि हुम्लाको सिमानाबाट कम्तीमा १५ किलोमिटर भित्रसम्म यातायात संचालनमा आउनेछ ।

हुम्लामा सडक नपुग्दा साता दिनमा बाजुरा र कालिकोट पुगेर गाडी चढ्नुपर्ने वा महँगो हवाई भाडा तिरेर यात्रा गर्नुपर्ने बाध्यता छ । गाडी नपुगेकै कारण महँगीको मार र बिरामी हुँदा अकालमै ज्यान गुमाउनुपर्ने अवस्था रहेको हुम्लामा सडक पुग्ने भएपछि स्थानीय बासिन्दा खुशी भएको स्थानीय नन्दबहादुर महतारा बताउँछन् ।

कर्णाली करिडोर संचालन भएपछिको चहलपहल ।
लामो समयसम्म निर्माण कार्यमा प्रगति नभएपछि कर्णाली करिडोरलाई भौगोलिक विकटता लगायत प्रतिकूलताका कारण विशेष परिस्थितिको सडक परिभाषित गर्दै सरकारले २०७१ सालमा नेपाली सेनालाई निर्माणको जिम्मा दिएको थियो । सडक निर्माणमा रु.२ अर्ब ८४ करोड ११ लाख खर्च हुने अनुमान छ ।

बाजुराको जगन्नाथ गाउँपालिकाको पिलिचौरदेखि हिमाली गाउँपालिकाको कवाडीसम्म करीब २४ किलोमिटरमा पहरा फुटाउँदै सडक निर्माण भइरहेको छ । पहिले हिंड्न समेत ज्यानकै जोखिम हुने बाजुराको पिलिचौर नजिकैको कुख्यात राँगेभीर छिचोलेर चौडा सडक बनाइएको छ ।

कर्णाली करिडोर निर्माणले बाजुरा र हुम्लाका बासिन्दामा जीवन फेरिने आशा चुलिएको छ । बाजुराको हिमाली गाउँपालिकास्थित धुलाचौरबाट सदरमुकाम पुग्न दुई दिन पैदल हिंड्नुपर्ने बाध्यता गाडी चलेपछि पाँच घण्टामा झरेको छ । “पुस्तौंदेखि नून–चामल बोक्नकै लागि संघर्ष गर्नुपर्ने दिन अन्त्य भए, विकासको ढोका पनि खुलेको छ”, हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्ल भन्छन् ।

बाजुराको मार्तडीदेखि कर्णाली करिडोर छुने पिलिचौरसम्म ५० किलोमिटर प्रारम्भिक ट्र्याक खुलेपछि जीप र ट्याक्टर चल्न थालेका छन् । यो सडकबाट पूरै बाजुरा सडक संजालमा जोडिनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका पर्यटकीय गन्तव्यहरू खप्तड, रामारोशन, बडीमालिका र रारा ताल जान पर्यटकलाई सहज हुनेछ । मुगुको खत्याड गाउँपालिकाका गौरीकान्त न्यौपाने भन्छन्, “यो सडक कालिकोट, बाजुरा हुँदै हुम्ला गए पनि कर्णाली नदीपारिका मुगुवासीलाई पनि सहयोग पुग्नेछ ।”

विकाससँगै प्रदूषण

कर्णाली करिडोरको सडक विस्तारसँगै विकासको धमिलो बाछिटा यस क्षेत्रको पर्यावरणमा देखिन थालेको छ । करिडोर अन्तर्गत यातायात संचालन भएका बाजुराका विभिन्न ठाउँमा स्थापना भएका बजारबाट निस्किने फोहोर कर्णाली नदी किनारमा फाल्ने गरिएको छ । यसबाट कर्णाली नदी नै दूषित बन्दै गएको छ । त्योसँगै नदी छेउछाउ खुला शौच गर्ने क्रम पनि बढ्दो छ ।

कर्णालीको किनारैकिनार सडक निर्माणपछि बजार स्थापना हुने क्रम बढ्दो छ । करिडोर अन्तर्गत दुई–तीन किलोमिटरको फरकमा बजार भेटिन्छन् । यसका साथै सडक पहुँचको सुविधा हेरेर माथिल्ला ग्रामीण भेकबाट बसाइँ सरेर सडक छेउछाउमा बस्न आउनेहरू पनि बढिरहेका छन् । जगन्नाथ गाउँपालिकाको पिलिचौर, जुड्डी, हिमाली गाउँपालिकाको बाधु, धुलाचौर, लेब्डी, कवाडी लगायतका स्थानमा माथिल्लो भेकबाट बसाइँ सरेर झरेका छन् । बाजुराको हिमाली गाउँपालिका–५, रुगिनबाट बसाइँ सरेर कवाडीमा आएका मनवीर बुडथापा भन्छन्, “यहाँ सर्नुको एउटै कारण सडक यातायातको पहुँच हो । माथि गाउँमा पनि किनेरै खानुपर्छ, त्योभन्दा त यतै आउनु ठीक लाग्यो ।” यसरी बजार र बस्ती बढे पनि फोहोर व्यवस्थापन नहुँदा नदी दुर्गन्धित बन्दै गएको बाजुरा नागरिक समाजका संयोजक जनेश भण्डारी बताउँछन् । फोहोरसँगै नदी किनारमा मदिराका बोतलहरू फाल्ने क्रम पनि बढेको छ ।

कर्णाली करिडोरको छेउछाउमा बसाइँ सर्ने र बजार बस्ने क्रम बढे पनि फोहोर व्यवस्थापनका लागि कुनै नीति नबनाएको हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्ल बताउँछन् । 


कर्णालीमा र्‍याफ्टिङ

कर्णाली करिडोर अन्तर्गत बाजुरा खण्डमा यातायात संचालनमा आएसँगै कर्णाली नदीमा पर्यटकका लागि र्‍याफ्टिङ संचालनमा ल्याइएको छ । सडक खुलेसँगै चहलपहल बढ्दै गएपछि स्वामीकार्तिक खापर गाउँपालिकाले पिलिचौरमा र्‍याफ्टिङ सेवा संचालन गरेको हो । पर्यटकलाई मनोरञ्जन दिन र गाउँपालिकाको आम्दानी बढाउन यो कार्यक्रम शुरू गरिएको गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाही बताउँछन् । यसका लागि गाउँपालिकाले एउटा र्‍याफ्ट खरीद गरेको छ । पिलिचौर क्षेत्र खप्तड–रारा पदमार्गको बीच भागमा पर्छ ।

तत्कालका लागि र्‍याफ्टिङमा निःशुल्क सयर गराउने व्यवस्था गरिएको र व्यवस्थित रूपमा संचालन गर्न मापदण्ड बनाउने गाउँपालिकाले जनाएको छ । र्‍याफ्टिङको अनुभव लिन विभिन्न ठाउँबाट आउने पर्यटकलाई बस्ने व्यवस्था मिलाउने र र्‍याफ्टको संख्या पनि थप्दै जाने योजना रहेको स्वामीकार्तिक खापर गाउँपालिकाका निमित्त कार्यकारी प्रमुख कुबेर शाही बताउँछन् ।

comments powered by Disqus

रमझम