१९-२५ जेठ २०७६ | 2-8 June 2019

सीपीडी कार्यक्रम: गुणस्तरीय सेवाको आधार

Share:
  
- रामु सापकोटा
चिकित्सकहरूको व्यावसायिक क्षमता र व्यत्तित्व विकास गर्न नेपाल मेडिकल काउन्सिलले लागू गरेको सीपीडी कार्यक्रमले समग्र स्वास्थ्य सेवाको गुणस्तर सुधार्न सहयोग पुर्‍याउने अपेक्षा छ।

तस्वीरहरुः बिक्रम राई
३ वैशाखदेखि नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूका लागि निरन्तर व्यावसायिक विकासको सीपीडी (कन्टिन्युइङ प्रोफेसनल डेभलपमेन्ट) कार्यक्रम लागू गरेको छ । यो कार्यक्रममा चिकित्सकहरू अनिवार्य सहभागी हुनुपर्ने व्यवस्था छ । एमबीबीएस, बीडीएस, एमडी/एमएस र डीएम/एमसीएच गरेका चिकित्सकलाई तालिम मार्फत ज्ञान, सीप र आचरणगत व्यवहारलाई अद्यावधिक गर्ने कार्यक्रम हो, सीपीडी ।

विश्वविद्यालय वा मेडिकल कलेज मार्फत एकपटक अध्ययन पूरा गरेका चिकित्सकहरू आजीवन त्यही ज्ञानको आधारमा काम गर्नुपर्ने अवस्था तोड्न काउन्सिलले सीपीडी कार्यक्रम लागू गरेको हो । चिकित्सकले एकपटक लिएको लाइसेन्स नवीकरण नै नगरी आजीवन बिरामी जाँच्न पाउँथे । तर, चिकित्सा विज्ञानमा नयाँ औषधि उपचारमा नयाँ प्रविधि र उपचार विधि तथा प्रक्रियामा आइरहेको परिवर्तन, पाठ्यक्रममा समेत बेलाबखत हुने फेरबदल आदिका कारण चिकित्सकले एकपटक पढेको ज्ञानले नपुग्ने भन्दै यो कार्यक्रम ल्याइएको हो ।

गम्भीर बिरामीको जीवन बचाउन चाहिने ‘बेसिक लाइफ सपोर्ट’ र ‘कार्डियाक–पल्मोनरी रिससिटेसन’ (सीपीआर), चिकित्सकहरूको व्यावसायिक आचरण र संचार क्षमता, औषधिको उचित प्रयोग, उपचारमा हुनसक्ने संक्रमणको रोकथाम र नियन्त्रण, दन्त रोगको उपचारमा मेडिकल इमर्जेन्सी र दन्त रोगको उपचार व्यवस्थापन विषयमा सीपीडी मार्फत चिकित्सकहरूलाई तालिम दिइन्छ । यो तालिम मेडिकल काउन्सिलका साथै नेपाल बाल चिकित्सा समाज लगायत चिकित्सकका व्यावसायिक संघ, संगठन, टर्सरी केयर अस्पताल, चिकित्सा शास्त्र पढाइ हुने शैक्षिक संस्था, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, स्वास्थ्य अनुसन्धान परिषद्, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र विश्वविद्यालय अनुदान आयोगले पनि काउन्सिलको अनुमति लिएर संचालन गर्न पाउँछन् ।

हाल काठमाडौंमा मात्र भइरहेको यो तालिम एक महीनाभित्रमा सात वटै प्रदेशमा गरी कुल १५ वटा तालिम केन्द्र मार्फत संचालन गर्ने तयारी काउन्सिलको छ । काउन्सिलको सीपीडी समितिका प्रमुख डा.अंकुर साह सीपीडी कार्यक्रम उत्तीर्ण गर्न प्रत्येक चिकित्सकले पाँच वर्षभित्र न्यूनतम १०० अंक अनिवार्य ल्याउनुपर्ने बताउँछन् । साहका अनुसार ३० अंक काउन्सिल वा अनुमतिप्राप्त निकायले संचालन गरेको तीनदेखि पाँच दिनसम्मको तालिममा सहभागी भएपछि पाइन्छ भने बाँकी ७० अंक देशभित्र वा बाहिर संचालित आफ्नो विषयको तालिम, सम्मेलन वा कार्यशालामा सहभागिताको आधारमा पाउने प्रावधान छ । चिकित्सकले दुई दिनको एउटा सम्मेलनमा सहभागी भए १० अंक पाउँछन् । “पाँच वर्षभित्र चिकित्सकले १०० अंक ल्याएमा मात्र उनीहरूको लाइसेन्स नवीकरण हुन्छ”, डा.साह भन्छन् ।

औषधि कम्पनीले एकल आयोजना गरेका सम्मेलन, कार्यशाला वा तालिममा सहभागी चिकित्सकले भने कुनै अंक पाउँदैनन् ।

व्यावसायिक दायित्वबोधले गुणस्तर

चिकित्सकहरूको व्यावसायिक आचरण र संचार क्षमतालाई पनि सीपीडी कार्यक्रमले तालिममा समेटेको छ । संचार क्षमताको अभावमा पछिल्लो समय चिकित्सक र बिरामी पक्षबीच हुने द्वन्द्वले अविश्वास र दूरी बढाउँदै गएको छ । एकातिर, उपचारको प्रयास गर्दै बिरामीको ज्यान तलमाथि भएमा लापरबाहीको नाममा चिकित्सकमाथि हुने हातपात, अस्पताल तोडफोड र अर्कातिर, पुष्टि नै हुने ‘मेडिकल इरर’ का घटनाले द्वन्द्व निम्त्याउने गरेको छ ।

यस्ता घटना न्यूनीकरण गर्न सीपीडी कार्यक्रमले सघाउने विज्ञहरू बताउँछन् । यसको तालिम मार्फत चिकित्सकले उपभोक्ताका अधिकार सम्बन्धी कानूनी पाटो, बिरामीसँग गर्नुपर्ने संचार, आफ्नो व्यावसायिक भूमिका र दायित्वबारे ज्ञान पाउँछन् । मेडिकल काउन्सिलका अध्यक्ष डा.धर्मकान्त बाँस्कोटा उपचारका क्रममा हुने विभिन्न घटनाबारे काउन्सिलमा उजुरी आउने गरेको र ‘मेडिकल इरर’ का घटना कम गर्न पनि यो कार्यक्रम लागू गरिएको बताउँछन् । स्वास्थ्य क्षेत्रमा बढ्दो व्यापारीकरणलाई पनि सीपीडीले नियन्त्रण गर्ने अपेक्षा गरिएको छ । सन् २०१८ को अन्त्यसम्ममा मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको संख्या २३ हजार ७५१ पुगिसके पनि यीमध्ये देशमा कति जना छन् भन्ने यकिन तथ्यांक कतै छैन । सीपीडी मार्फत प्रत्येक पाँच वर्षमा चिकित्सकहरूले अनिवार्य लाइसेन्स नवीकरण गर्नुपर्ने भएकाले मुलुकमा कार्यरत चिकित्सकको संख्या पनि थाहा हुनेछ । यसबाट सरकारलाई स्वास्थ्य सम्बन्धी नीतिनिर्माण गर्न सजिलो पर्ने नेपाल डेन्टल एशोसिएसनका पूर्व अध्यक्ष डा.सुशील कोइराला बताउँछन् ।
सीपीडी कार्यक्रम, यसले स्वास्थ्य सेवामा ल्याउने परिवर्तन र चुनौतीबारे हिमाल खबरपत्रिकाले गरेको राउण्ड टेबलको सारः

‘चिकित्सकको व्यावसायिक विकासमा कोसेढुंगा’

सीपीडी कार्यक्रम किन लागू गर्नुपरेको हो ?

डा. धर्मकान्त बाँस्कोटा

अध्यक्ष, नेपाल मेडिकल काउन्सिल

चिकित्सकले स्नातक वा स्नातकोत्तर तह अध्ययनका क्रममा हासिल गरेको ज्ञानलाई ‘अपडेट’ गर्ने व्यवस्था थिएन । यसले गर्दा चिकित्सा विज्ञानका नवीनतम उपलब्धि सर्वसाधारणसम्म पुगिरहेको छैन । त्यसैले काउन्सिलले लामो समयको तयारीपछि सीपीडी कार्यक्रम लागू गरेको हो । अस्पतालमा हुने ‘मेडिकल इरर’ कम गर्न र चिकित्सकलाई व्यावसायिक आचरणभित्र रहेर अभ्यास गराउन पनि यो कार्यक्रम ल्याइएको हो ।

डा. सुशील कोइराला

पूर्व अध्यक्ष, नेपाल डेन्टल एशोसिएसन

चिकित्सकहरूले एकपटक एमबीबीएस वा बीडीएस तहको अध्ययन पूरा गरेर लाइसेन्स लिएपछि आजीवन काम गर्न पाइने व्यवस्था थियो । चिकित्सा विज्ञानमा पाठ्यक्रमको विषय मात्र पढेर हुँदैन, व्यावहारिक र सामाजिक ज्ञान पनि चाहिन्छ । सामाजिक उत्तरदायित्वलाई समेट्दै पेशालाई मर्यादित गराउने भएकाले सीपीडी चाहिएको हो ।

डा. राजेन्द्र कोजू

डीन, स्कूल अफ मेडिकल साइन्सेज काठमाडौं विश्वविद्यालय

बिरामीलाई राम्रो सेवा दिन चिकित्सकको व्यावसायिक विकास हुनु जरुरी छ । सीपीडी कार्यक्रमले चिकित्सकको क्षमता विकास गर्छ, जसले अन्ततः बिरामीलाई फाइदा पुर्‍याउँछ ।

डा. सविना भट्टराई

भाइस प्रिन्सिपल, काठमाडौं मेडिकल कलेज

चिकित्सा विज्ञान अध्ययनमा पाठ्यक्रम परिमार्जन भएर नयाँ–नयाँ कुरा आइरहेका छन् । संसारभर विभिन्न औषधिबारे अनुसन्धान र आविष्कार हुने गर्छ । नयाँँ उपचार विधि पनि विकास भइरहेको हुन्छ । नयाँ औषधिबारे जानकारी दिई कुन विधिबाट उपचार गर्ने भनेर निर्णय लिन सक्ने क्षमता विकास गराउन सीपीडी चाहिएको हो ।

डा. ढुण्डीराज पौडेल

वरिष्ठ उपाध्यक्ष, नेपाल चिकित्सक संघ

चिकित्सकहरूको व्यक्तित्व विकास गरी गुणस्तरीय सेवा प्रदान गर्न सीपीडी आवश्यक छ । यस कार्यक्रमले चिकित्सकले आफैंलाई सुधार्न धेरै सघाउँछ ।

डा. भगवान कोइराला

वरिष्ठ कार्डियाक सर्जन, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर

सीपीडी कार्यक्रम मुलुकको चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र विकासको महत्वपूर्ण पाटो हो । मेडिकल काउन्सिलबाट लिएको लाइसेन्स कहिल्यै नवीकरण गर्नु नपर्ने परिपाटीका कारण चिकित्सकको सीपमा क्षयीकरण र बिरामीको सुरक्षामा प्रश्न उठिरहँदा सीपीडीले त्यसलाई न्यूनीकरण गर्छ । तर, सीपीडी शुरु गर्नासाथ सबै कुरा एकैचोटि ठीक नभई विस्तारै सुधार आउँछ ।

डा. अरुणा उप्रेती

जनस्वास्थ्यविद्

युवा चिकित्सकमा बिरामी र सहकर्मीसँग कसरी संचार र समन्वय गर्ने भन्नेमा कम ज्ञान छ । बिरामीका आफन्त र डाक्टरबीच हुने द्वन्द्वको प्रमुख कारण राम्रो संचार क्षमताको अभाव पनि हो । यो विषय सीपीडीले समेट्न सक्यो भने द्वन्द्व कम हुनेछ ।

के सीपीडीले चिकित्सकलाई कानूनी विषयमा पनि ज्ञान दिन्छ ?

डा. धर्मकान्त बाँस्कोटा

सीपीडी कार्यक्रममा सात वटा ‘मोड्युल’ छन् । बिरामीको उपचार गर्ने क्रममा हुने त्रुटि–कमजोरीबारे विश्लेषण गर्दा चिकित्सकबाट नराम्रो व्यवहार भएको पनि देखिन्छ । त्यसैले कार्यक्रममा चिकित्सकको नैतिक आचरण र अन्य कानूनी विषय समेटिएका छन् ।

सीपीडीका बलिया पक्ष के के छन् ?

डा. सुशील कोइराला

निजी अस्पताल र नर्सिङ होममा ज्ञान आदानप्रदान भन्दा पनि ‘सेल्स’ कसरी बढाउने, लक्ष्य अनुसार कसरी कारोबार गर्ने जस्ता आर्थिक बैठक बढी हुन्छन् । सीपीडीले यस्ता गतिविधिमाथि प्रहार गर्छ । तोकेको विषय पढेपछि मात्र प्रत्येक चिकित्सकको पाँच–पाँच वर्षमा लाइसेन्स नवीकरण हुने भएकाले यो ठीक कार्यक्रम हो ।

डा. राजेन्द्र कोजू

कतिपय चिकित्सक देशका अति दुर्गम ठाउँका जिल्ला अस्पतालदेखि प्राथमिक स्वास्थ्य केन्द्रमा बसेर काम गरिरहेका छन् । उनीहरूलाई चिकित्सा विज्ञानमा आएका नयाँ विषयबारे सिक्ने वातावरण छैन । क्षेत्रीय र अञ्चल अस्पतालमा पनि यस्तो वातावरण नहुन सक्छ । यस्तै, निजी अस्पतालमा काम गर्ने चिकित्सकहरूको पनि आफ्नै समस्या छ । त्यसैले दुर्गमका चिकित्सकदेखि शहरका मेडिकल कलेजमा काम गर्ने चिकित्सकसम्मलाई एकै खालको ज्ञान प्रदान गर्नु सीपीडीको बलियो पक्ष हो ।

डा. सविना भट्टराई

मेडिकल कलेजले विद्यार्थीलाई पढाउने, बिरामीलाई सेवा दिने र अनुसन्धान गर्ने गरी तीन वटा क्षेत्रमा काम गर्छ । सीपीडीले यी तीन वटै क्षेत्रलाई समेट्नु ठूलो कदम हो । तर, सीपीडीलाई कसरी दीर्घकालसम्म लागू गर्ने भन्ने विषयमा तयारी गर्नुपर्ने देखिन्छ ।

चिकित्सक उत्पादन गर्ने मेडिकल कलेजहरूमै भौतिक पूर्वाधार अभाव रहेको भन्ने कुरा आइरहेका बेला सीपीडी कार्यक्रम लागू गर्न चाहिने पूर्वाधार र वातावरण तयार भइसकेको छ त ?

डा. धर्मकान्त बाँस्कोटा

यो कार्यक्रम संचालन गर्न मेडिकल कलेजहरूमा छुट्टै पूर्वाधार चाहिंदैन । एउटा भवन र ‘बेसिक लाइफ सपोर्ट’ तथा ‘कार्डियाक–पल्मोनरी रिससिटेसन’ (सीपीआर) भए पुग्छ । काउन्सिलको मेडिकल कलेज संचालन सम्बन्धी मापदण्ड अनुसार प्रत्येक कलेजमा ‘स्किल ल्याब’ अनिवार्य हुनुपर्ने व्यवस्था छ । यसले सीपीडी कार्यक्रम संचालन गर्न सकिन्छ । ‘सिमुलेसन ल्याब’ जस्ता थप पूर्वाधारको व्यवस्था मिलाउन काउन्सिलले कलेज संचालकलाई निर्देशन दिइसकेको छ । सीपीडीको अर्को महत्वपूर्ण विषय डाक्टरहरूको आचारसंहिता भएकाले हरेक मेडिकल कलेज तथा अस्पतालमा ‘इथिकल’ समिति बनाउन भनेका छौं ।

डा. भगवान कोइराला

मेडिकल कलेजमा पूर्वाधार अभाव हुँदैमा सीपीडी कार्यक्रम रोकिंदैन । कलेजहरूमा पूर्वाधार लगायतका समस्या भए पनि त्यहाँबाट उत्पादित चिकित्सकलाई ‘रि–ओरियन्टेसन’ गर्न सीपीडी कार्यक्रम ल्याइएको हो । तर, मेडिकल कलेजको पठनपाठन राम्रो नहुँदा अध्ययन गर्न छुटेका विषयलाई सीपीडीले परिपूर्ति भने गर्दैन । यस्तै, सीपीडी कार्यक्रम कम स्रोतसाधनबाट संचालन गर्न सक्ने बनाउन आवश्यक छ ।

डा. राजेन्द्र कोजू

सीपीडी कार्यक्रम चलाउन धेरै व्ययभार पर्दैन । केयू अन्तर्गतका सबै मेडिकल कलेजमा कार्यक्रम संचालन गर्न चाहिने ‘स्किल ल्याब’ छन् । यस्तै, एमबीबीएस अध्ययन पूरा गरेका विद्यार्थीलाई इन्टर्नसिपको समयमा ‘बेसिक लाइफ सपोर्ट’ को तालिम दिने व्यवस्था छ । सीपीआर जस्ता आधारभूत पूर्वाधार सबै मेडिकल कलेजमा भएकाले समस्या पर्दैन ।

चिकित्सकले सीपीडी कार्यक्रम मार्फत आफ्नो व्यावसायिक क्षमता त विकास गर्लान्; तर, त्यसपछि उनीहरूले आचारसंहिता अनुसार नै अभ्यास गर्छन् भन्ने आधार के छ ?

डा. ढुण्डीराज पौडेल

चिकित्सा विज्ञानमा एकपटक प्राप्त ज्ञानले सधैंभरि काम दिंदैन भनेर सीपीडी मार्फत ‘अपडेट’ गर्न खोजिएको हो । डाक्टरहरू राम्रो सोचले आफैं अभिप्रेरित भएर सीपीडी कार्यक्रममा सहभागी हुनुपर्छ । यसो भयो भने मात्र चिकित्सकको नैतिक आचरण सुध्रिन सक्छ ।

डा. भगवान कोइराला

पक्कै पनि सीपीडी मार्फत राम्रो कुरा जान्दैमा चिकित्सकले राम्रो काम गर्छन् भन्न सकिंदैन । सिकेका कुरालाई व्यवहारमा कत्तिको लागू गर्छन् भन्ने कुरामै गुणस्तरीय स्वास्थ्य सेवा निर्भर गर्छ । सीपीडी कार्यक्रमसँगै सबै चिकित्सकलाई आचारसंहिताको दायराभित्र राखेर चिकित्सकीय अभ्यास गराउने जिम्मेवारी पनि मेडिकल काउन्सिलकै हो ।

डा. अरुणा उप्रेती

सीपीडी मार्फत सिकेका कुरा आचारसंहिताभित्र रहेर लागू हुन्छ या हुँदैन भन्नेमा डाक्टरहरूको मात्र भूमिका हुँदैन । व्यापार गर्ने उद्देश्यले खुलेका अस्पताल र क्लिनिकहरूका कारण पनि विकृति निम्तिएको हो । बिरामीलाई तत्काल गर्नै नपर्ने एमआरआई, सिटी स्क्यान जस्ता परीक्षण गर्न लगाउने प्रवृत्ति बढेको छ । यस्ता अनैतिक क्रियाकलाप रोक्न सीपीडीले सहयोग गर्ला त भन्ने टड्कारो प्रश्न छ । जबसम्म सरकारले यस्ता गतिविधि नियन्त्रण गर्न कदम चाल्दैन, तबसम्म अनैतिक अभ्यास भइरहन्छन् ।

डा. धर्मकान्त बाँस्कोटा

सीपीडी कार्यक्रममा सहभागी नभएर अटेरी गर्ने चिकित्सकको लाइसेन्स खारेज हुन्छ । कार्यक्रम मार्फत नयाँ कुरा सिकेपछि चिकित्सकीय अभ्यासमा स्वाभाविक रूपमा परिवर्तन आउँछ । यस्तै, सीपीडीले मेडिकल कलेज तथा विश्वविद्यालयका फ्याकल्टी प्रवद्र्धनमा पनि सहयोग पुर्‍याउने भएकाले यो शिक्षण पेशामा आवद्ध व्यक्तिलाई पनि आकर्षणको विषय हो ।

डा. ढुण्डीराज पौडेल

सीपीडीले चिकित्सकलाई आचारसंहिता र अनुशासनभित्र रहेर काम गर्न प्रेरित गर्छ । देशमा ८० प्रतिशत डाक्टर निजी अस्पताल तथा क्लिनिकमा काम गर्छन् । उनीहरूले एमबीबीएस तह अध्ययन गर्दा रु.४० लाखदेखि रु.५० लाखसम्म खर्चने भएकाले आचारसंहिता विपरीत काम गर्ने सम्भावना अधिक हुन्छ । त्यस्ता डाक्टरको व्यक्तित्व विकास हुन आवश्यक छ ।

डा. राजेन्द्र कोजू

कुनै समय चिकित्सा पेशा विशुद्ध सेवा मात्र थियो । त्यसैले मानिसहरू डाक्टरलाई ‘भगवान’ कै स्वरूप मान्थे । समय क्रममा सेवा दिने संस्था सरकारीभन्दा निजी बढी भए, व्यवसायीकरण स्वतः बढ्यो । सीपीडीले व्यापारमुखी चिकित्सकलाई आचारसंहिताभित्र बसेर काम गर्न मद्दत पुर्‍याउँछ ।

दुर्गम भेगमा काम गर्ने चिकित्सकहरू सीपीडी कार्यक्रममा समेटिन गाह्रो पर्ने चिन्ता प्रकट भइरहेको छ । यसमा के भन्नुहुन्छ ?

डा. धर्मकान्त बास्कोटा

सीपीडीका पाँच मोड्यूलका लागि पाँच वर्षभित्र पाँच दिनको समय मात्र दिए पुग्छ । जुनसुकै ठाउँका चिकित्सकले पनि उक्त समय छुट्याउन सक्छ । यस्तै, सात प्रदेशमा विभिन्न सेन्टर हुने भएकाले सबै चिकित्सक मेडिकल काउन्सिलमा आउनै पर्दैन । कसैले वर्षमा पाँच दिन निकाल्न सक्दिनँ भन्छ भने त्यो बहानाबाजी मात्रै हो ।

डा. भगवान कोइराला

जुम्ला जस्ता विकट ठाउँमा बसेर डाक्टरहरूले रात–दिन काम गर्ने हो भने त सीपीडी नै चाहिंदैन । ग्रामीण क्षेत्रमा काम गर्ने चिकित्सक आधा वर्ष छुट्टी लिएर काठमाडौं बसिरहेका हुन्छन् । उनीहरूले सीपीडी कार्यक्रममा सहभागी हुन अप्ठ्यारो पर्छ भन्नु गलत हो ।

डा. सुशील कोइराला

गाउँमा गएर मेडिकल वा डेन्टलको शिविर चलाउने चिकित्सकले पनि सीपीडी मार्फत दुई अंक पाउँछन् । त्यसैले उनीहरूलाई त यो कार्यक्रममा सहभागी हुन झनै सजिलो छ ।

डा. राजेन्द्र कोजू

अनलाइन मार्फत पनि सीपीडीमा सहभागी हुनसक्ने व्यवस्था मिलाउन लागिएकाले दुर्गमका डाक्टर पनि समेटिनेछन् ।

बिरामीको उपचार नर्स, पारामेडिक्स, हेल्थ असिस्टेन्ट लगायतका जनशक्तिको सामूहिक प्रयासमा गरिने भए पनि चिकित्सकका लागि मात्र सीपीडी कार्यक्रम लागू गरिएको छ । अन्य क्षेत्रका जनशक्तिका लागि यो कति महत्वपूर्ण छ ?

डा. भगवान कोइराला

सीपीडी औषधोपचारमा सहभागी अन्य जनशक्तिलाई पनि आवश्यक छ । बिरामीको जटिल केसहरू हेर्नुपर्ने भएकाले उपचार प्रक्रियामा सहभागी हुने जनशक्ति एकापसमा जोडिएका हुन्छन् । नर्सले समयमा इन्जेक्सन नदिंदा बिरामीको ज्यानै जाने सम्भावना हुन्छ । त्यसैले सीपीडी सबैका लागि लागू गर्नुपर्ने बेला भएको छ । त्यसका लागि नर्सिङ परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद् लगायतका अन्य सरोकारवाला निकायले अग्रसर हुनुपर्छ ।

डा. धर्मकान्त बास्कोटा

बिरामी जाँच्ने काम समूहमा गरिने र त्यसको नेतृत्व चिकित्सकले गर्ने भएकाले सबैभन्दा पहिला चिकित्सक सक्षम हुनुपर्छ । चिकित्सक सक्षम भएपछि समूहका अन्य सदस्यलाई पनि जिम्मेवार बनाउन अभिप्रेरित गर्छ । सिकाउने पनि चिकित्सककै दायित्व हो । मेडिकल काउन्सिलले सीपीडी शुरू गरेपछि स्वास्थ्य क्षेत्रका अन्य काउन्सिललाई पनि यो कार्यक्रम थाल्ने बाटो खुलेको छ ।

डा. सुशील कोइराला

जनशक्तिको क्षमता विकास गर्ने कामको थालनी डाक्टरबाटै गर्नुपर्छ । यसका साथै, डाक्टर जतिसुकै सक्षम भए पनि समूहका अन्य सदस्य सक्षम भएनन् भने उपचार क्रममा निम्तिन सक्ने संक्रमण नियन्त्रण गर्न गाह्रो हुन्छ । त्यसैले ‘साइड इफेक्ट’ छैन र हामीले गरेका सबै काम राम्रो हुन् भन्ने आयुर्वेदिक काउन्सिलले समेत सीपीडी लागू गर्नुपर्छ ।

डा. राजेन्द्र कोजू

चिकित्सक बाहेक अन्यलाई पनि सीपीडी आवश्यक छ । यसो भयो भने उपचारका क्रममा जटिलता निम्तियो भने सजिलै समाधान गर्न सकिन्छ ।

डा. सविना भट्टराई

छाला सम्बन्धी रोगको उपचारमा आयुर्वेदिक भन्दै डाक्टरको सिफारिश विना औषधि बिक्री गर्ने प्रवृत्ति बढिरहेको छ । यस्तो अभ्यासले स्वास्थ्यमा थप जटिलता निम्तिन सक्छ । त्यसैले डाक्टर बाहेक स्वास्थ्य क्षेत्रका अन्य जनशक्तिलाई पनि सीपीडी तालिम दिएमा तिनको दक्षता र सीप वृद्धि हुन्थ्यो ।

सीपीडी कार्यक्रम संचालन गर्न मेडिकल काउन्सिल पूरै तयार भइसकेको हो त ?

डा. धर्मकान्त बाँस्कोटा

सीपीडी कसरी लागू गर्ने भन्नेबारे काउन्सिलले चार वर्षदेखि तयारी गरिरहेको थियो । अहिले भने अस्पताल निर्देशकहरूलाई बोलाएर सीपीडी लागू भइसकेको जानकारी गराइरहेका छौं । काउन्सिलले वेबसाइट मार्फत सीपीडीबारे सम्पूर्ण जानकारी दिने व्यवस्था मिलाइरहेको छ ।

comments powered by Disqus

रमझम