१९-२५ जेठ २०७६ | 2-8 June 2019

शिक्षा: प्रयोगात्मकमा अरुचि !

Share:
  
- गोपाल गड्तौला
प्रयोगात्मक विधिबाट पढाउनुपर्ने विषय पनि व्याख्या र घोकाइमै पढ्न बाध्य छन्, विद्यार्थीहरू।

टेकूस्थित महेन्द्र सरस्वती आधारभूत विद्यालयकी विज्ञान शिक्षक मन्दिरा देवकोटा कक्षाकोठामा ढक–तराजु सिकाउँदै । तस्वीरहरूः गोपाल गड्तौला
काठमाडौं, कोटेश्वरस्थित सरस्वती जनता माविका कक्षा ६ देखि ८ सम्मका कम्प्युटर विषय लिएर पढ्ने विद्यार्थीले प्रयोगात्मक कक्षामा सिक्न पाउनु त परको कुरा, कम्प्युटर देख्न समेत पाउँदैनन् । विद्यार्थीलाई कम्प्युटरको चित्र देखाएर पढाइन्छ । १२ वैशाख २०७२ को भूकम्पले विद्यालय भवन क्षतिग्रस्त पारेपछि १८ वटा कम्प्युटर सहितको प्रयोगशाला बन्द छ ।

अवस्था कस्तोसम्म छ भने, विज्ञान शिक्षकको दरबन्दी नभएकाले विद्यालयले लेखापाल सरोज थापालाई कामबाट फुर्सद निकालेर कम्प्युटर विषय पढाउन लगाउँदै आएको छ । कम्प्युटर साइन्समा स्नातक गरेका कारण तत्कालका लागि पढाउने काम पाएका थापा भन्छन्, “विद्यालयको अवस्था यस्तो छ, प्रयोगात्मक पढाइ कसरी सम्भव होस् !” प्रयोगशाला नहुँदा विद्यार्थीले कम्प्युटर विषय मात्र होइन, विज्ञान विषयका ताप, प्रकाश, ध्वनि, घर्षण जस्ता प्रयोगात्मक पाठहरू शिक्षकको व्याख्याको भरमा पढ्नुपरेको छ ।

विद्यार्थीका लागि प्रयोगात्मक विधिको पढाइ व्याख्यान भन्दा कैयौं गुणा बढी प्रभावकारी मानिन्छ । पाठ्यक्रम विकास केन्द्रले प्रयोगात्मक विधिबाट पढाउनुपर्ने विषयहरूमा शिक्षकका लागि निर्देशिका नै बनाएको छ । तर अधिकांश विद्यालयले यस्तो निर्देशिकाको पालना गर्दैनन् । काठमाडौं, टेकूस्थित महेन्द्र सरस्वती आधारभूत विद्यालयको अवस्था पनि उस्तै छ । ७ जेठको दिउँसो १२:३० बजे कक्षा ८ की विज्ञान शिक्षक मन्दिरा देवकोटा कक्षाकोठामा पसिन् । त्यो दिन पढाउनुपर्ने पाठ थियो, नापतौल । तर, विद्यालयमा ढक–तराजु थिएन । उनले २० मिटर नजिकैको कुनै पसलमा छात्रछात्रालाई लगेर ढक–तराजु देखाउँदै बुझाउन सक्थिन्, तर विद्यालयमा चलेको चलन पछ्याउँदै प्लास्टिकको बोतल र लट्ठीबाट बनाइएको नक्कली तराजु देखाउँदै पढाइन्, “तराजु यस्तै हुन्छ ।” विद्यालयमा प्रयोगशाला नभएकाले विद्यार्थीलाई व्याख्यानबाटै बुझाउनुपरेको देवकोटाको भनाइ छ । उनी भन्छिन्, “रङ र रसायनको पाठ पढाउँदा विद्यार्थी धेरै अल्मलिन्छन्, सामग्री भएदेखि प्रयोगात्मक विधिबाट बुझाउन सकिन्थ्यो ।”

विज्ञान मात्र होइन, सामाजिक शिक्षा, अर्थशास्त्र जस्ता विषयमा पनि प्रयोगात्मक विधिबाट पढाउन सकिन्छ । तर, शिक्षकले जाँगर नदेखाउँदा विद्यार्थी रटाउने–रट्ने पुरानै तरिकामा पढ्न बाध्य छन् । काठमाडौं बूढानीलकण्ठस्थित महाँकाल जनजागृत माविका प्रधानाध्यापक एवं अर्थशास्त्रका शिक्षक हुन्, पदमबहादुर मगर । कक्षाकोठामा एकोहोर बोलेर भन्दा व्यावहारिक ज्ञान प्रभावकारी हुन्छ भन्ने उनले बुझेका छन् । तर, पाठ्यपुस्तकमा रहेका कृषि बजार, सहकारी, पूँजी निर्माण, बचत जस्ता पाठ्यवस्तुबारे बुझाउन उनले विद्यालयभन्दा १०० मिटरको दूरीमा रहेका सहकारी, ब्याङ्क र खुद्रा बजारमा विद्यार्थीलाई लगेकै छैनन् । “बानी नै बसेन” उनी भन्छन्, “हामीलाई स्कूलमा जसरी पढाइएको थियो, त्यसरी नै पढाउँदै आएको छु ।”

छैन अनुगमन

कोटेश्वरको सरस्वती जनता माविको बन्द कोठामा थन्किएका कम्प्युटर र प्रयोगात्मक पाठ्यसामग्री 
विद्यार्थीलाई प्रयोगात्मक विधिबाट पढाउन शिक्षक नै जाँगरिलो हुनुपर्छ । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका प्राध्यापक डा. विनय कुसियैत घोकाएर पढाउने चलनबाट बाहिर निस्किन जरूरी रहेकोमा जोड दिन्छन् । “प्रयोगात्मक शिक्षण सम्बन्धी निर्देशिका कार्यान्वयन र यसबारे अनुगमन नहुनु ठूलो समस्या हो” उनी भन्छन्, “सुधार्ने प्रयास नहुनु सरकारी कमजोरी हो ।”

अर्का शिक्षाविद् डा. मनप्रसाद वाग्ले भने पढाइ प्रयोगात्मक नहुनुमा विद्यार्थीलाई घोकेर हुबहु लेख्न सक्ने बनाउने र परीक्षामा बढी अंक ल्याउनुपर्ने आम मानसिकतालाई प्रमुख दोषी देख्छन् । उनको आकलन छ, “एक प्रतिशत भन्दा पनि कम शिक्षकले मात्र प्रयोगात्मक विधि अपनाएका होलान् ।”

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक डा. लेखनाथ पौडेल शिक्षक निर्देशिका पालना भए/नभएको अनुगमन हुन नसकेको स्वीकार्छन् । स्थानीय तहमा पठाउने कर्मचारी अपुग भएकोले पछिल्लो समय अनुगमन कमजोर भएको उनको भनाइ छ । पौडेल भन्छन्, “प्रयोगात्मक अभ्यासबाट सिकाउँदा कक्षामा अन्तरक्रिया बढेर सिकाइ प्रभावकारी हुन्छ भनेर शिक्षकले बुझ्नु जरूरी छ ।”

समस्या बजेटको

प्राथमिकदेखि माध्यमिक तहसम्म सृजनात्मक अभिव्यक्ति तथा कला विषय पढाइ हुन्छ । यो विषयमा विद्यार्थीले नाचगान, वाद्यवादन, चित्रकला जस्ता पाठ्यवस्तु पढ्नुपर्छ । त्यस्तै, कक्षा ६ देखि ८ सम्म १०० पूर्णाङ्कको पेशा व्यवसाय विषयको पठनपाठन हुन्छ । यो विषयमा कारोबारको लेखा राख्ने, पाक कला, फूलबारीको गोडमेल जस्ता कुरा विद्यार्थीलाई अभ्यास गराउँदै सिकाउनुपर्ने हुन्छ । यी दुवै विषयका पाठ्यक्रममा ५० प्रतिशत प्रयोगात्मक विधिबाट पढाउनुपर्ने उल्लेख छ । तर धेरैजसो विद्यालयले प्रयोगात्मक विधि अपनाउँदैनन् ।

नीलबाराही मावि, कालिमाटीकी प्रधानाध्यापक डा. जानुका नेपाल प्रयोगात्मक सामग्री जुटाउने रकम अपुग हुनु समस्या भएको बताउँछिन् । शिक्षा विभागले १ देखि ५ कक्षाका लागि प्रति विद्यार्थी लागत (पीसीएफ) रु.२२५, ६ देखि ८ सम्मका लागि प्रति विद्यार्थी रु.२५० र ९ र १० का लागि रु.२७५ विद्यालयहरूलाई दिन्छ । उक्त रकमले प्रयोगात्मक विधिबाट पढाउन नधान्ने कारण दिंदै प्रधानाध्यापक नेपाल भन्छिन्, “प्रयोगात्मक शिक्षण प्रभावकारी पार्ने हो भने प्रति विद्यार्थी दिइने त्यस्तो रकम कम्तीमा तीन गुणा बढाउनुपर्छ ।” काठमाडौं, टेकूस्थित महेन्द्र सरस्वती आधारभूत विद्यालयमा शिशु कक्षाका बालबालिकाहरू चित्रमा हेरेर फलफूल र तरकारीबारे अनुमान लगाउँछन् । विद्यालयका प्रधानाध्यापक दयाचन्द्र श्रेष्ठ भन्छन्, “व्यावहारिक रूपमा सिकाउन मन नभएको होइन, तर आर्थिक अभावले पिरोलेको छ ।” शिक्षाविद् डा. कुसियैत भने पाठ्यवस्तुका कुरा बुझाउन दैनिक जीवनमा प्रयोग गर्दै आएको सामग्री समेत रोज्न सकिने सुझाउँछन् ।

उच्च शिक्षासम्मै समस्या

विद्यार्थीलाई प्रयोगात्मक रूपमा नसिकाउने प्रवृत्ति पूर्व प्राथमिक तहदेखि माथिल्लो तहसम्मै छ । ८० छात्रछात्रा रहेको काठमाडौं बुद्धनगरस्थित बुद्धनगर आधारभूत विद्यालयमा प्रयोगशाला छैन । कक्षा ४ को मेरो नेपाली पाठ्यपुस्तकको ‘आधुनिक संचार’ पाठमा कम्प्युटर, टेलिभिजन, टेलिफोन जस्ता संचार उपकरणबारे उल्लेख छ । त्यस्तै, ‘दाजुभाइ र बुढाबा’ पाठमा ब्याङ्कमा रकम जम्मा गर्ने र चेकबाट भुक्तानी लिने विधिबारे लेखिएको छ । तर, विद्यार्थीलाई त्यस्ता विद्युतीय उपकरण देखाएर चिनाउनेदेखि ब्याङ्क र वित्तीय संस्थामा लगेर आर्थिक कारोबार देखाउने गरिएकै छैन ।

पाठ्यक्रम विकास केन्द्रले जारी गरेको कक्षा ४ को उक्त पाठ्यवस्तुबारे शिक्षक निर्देशिकामा कुनै ब्याङ्क वा वित्तीय संस्थाको भौचर ल्याई विद्यार्थीलाई भर्न सिकाउने भनेर स्पष्ट लेखिएको छ । त्यस्तै, बुबालाई चिठी लेख्ने पाठमा विद्यार्थीलाई चिठी लेख्न लगाएर हुलाक मार्फत पठाउन अभ्यास गराउने उल्लेख भए पनि अधिकांश विद्यालयमा यस्तो अभ्यास गराइँदैन । बुद्धनगर आधारभूत विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम नेपाल भन्छन्, “अहिलेसम्म यसरी नै पढाइराखिएको छ, कोही अनुगमन गर्न आएको पनि छैन ।”

प्रयोगात्मक विधितर्फको अरुचिले उच्च शैक्षिक उपाधि विद्यावारिधिलाई पनि छोडेको छैन । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा रसायनशास्त्र पढाइ हुन थालेको ५४ वर्ष भयो । तर, विभागमा रसायनको सुरक्षित भण्डारण गर्न मिल्ने बायोसेफ्टी हूड समेत छैन । विभागमा ग्यास क्रोमोटोग्राफी, लिक्विड क्रोमोटोग्राफी, मास स्पेक्ट्रोस्कोपी, सेफ्टी हूड्स, पदार्थहरूको प्रिस्टल संरचना हेर्ने उपकरण समेत नभएको विभागका प्राध्यापक डा. निरञ्जन पराजुली बताउँछन् । यस्ता उपकरण नहुँदा किताबको व्याख्यानले मात्र विद्यावारिधिका विद्यार्थीलाई बुझाउन गाह्रो परेको उनको अनुभव छ । “त्रिविलाई सार्क राष्ट्रका अन्य विश्वविद्यालय सरह बनाउने कुरा उठे पनि प्रयोगात्मक शिक्षणमा सुधार गरिएकै छैन”, पराजुली भन्छन् । त्रिविको रसायनशास्त्र विभागलाई सार्क मुलुकका अन्य विश्वविद्यालय सरहको बनाउन कम्तीमा रु.२५ करोड बराबरका उपकरण र रसायन आवश्यक पर्ने उनी बताउँछन् । तर, हाल विद्यावारिधिमा ३२ विद्यार्थी अध्ययनरत विभागले यस शीर्षकमा रु.१० लाख भन्दा कम खर्च गर्न सक्छ । त्रिविका अन्य विभागको हालत पनि योभन्दा फरक नरहेको प्रा.डा. पराजुली बताउँछन् ।

comments powered by Disqus

रमझम