१९-२५ जेठ २०७६ | 2-8 June 2019

व्यवस्थित स्टोर रुम

Share:
  

हामी सबैको घरमा हरबखत उपयोग नगर्ने भाँडाकुडा, डब्बाडब्बी, कपडा लगायतका सामग्री हुन्छन् । त्यस्तै चामल, तरकारी, बीउबिजन आदि भण्डारण गर्न पनि निश्चित स्थान चाहिन्छ । त्यस्ता सामग्री व्यवस्थित रूपमा राख्न स्टोर रुमको आवश्यकता पर्छ । व्यवस्थित स्टोर रुम नभए जथाभावी राखिने सामानले घर अस्तव्यस्त हुनाका साथै मुसा, साङ्ला लगायतले पनि सताउँछन् ।

इन्टेरियर डिजाइनर मिसेल रेडक्लिफले ‘होम एण्ड डेकोर’ मा घरको नक्शा तयार गर्दा नै स्टोर रुमको लागि ठाउँ छुट्याउनु उपयुक्त हुने बताएकी छन् । “स्टोर रुमलाई बेवास्ता गरेर काम नलाग्ने सामग्री थुपार्ने थलोको रुपमा मात्रै बुझ्दा समस्या आउन सक्छ” उनी भन्छिन्, “त्यसैले घर निर्माण गर्दा व्यवस्थित तरिकाले हावा र घाम छिर्ने खालको स्टोर रुम तयार गर्नुपर्छ ।” यसबाट सामान सुरक्षित हुने र मुसा, ओस लगायतको समस्याबाट पनि मुक्ति मिल्ने उनको भनाइ छ ।

स्टोर रुम भन्दैमा त्यहाँ सबै कुरा जम्मा गर्नुहुँदैन । त्यसो गर्दा भनेको बेला सामान फेला नपर्ने, बिग्रने हुन्छ । कोठा र सिंगो घर चिटिक्क पार्न पनि स्टोर रुम व्यवस्थित हुनु जरुरी हुन्छ । डिजाइनर रेडक्लिफले व्यवस्थित स्टोर रुमको लागि त्यहाँ राखिने सामग्रीहरूको सूची बनाउनुपर्ने उल्लेख गरेकी छन् । सूची अनुसार कुन सामग्री कुन स्थानमा राख्दा उपयुक्त हुन्छ भनेर व्यवस्थापन गर्नुपर्छ । उस्तै प्रकृतिका सामग्रीहरू एकै ठाउँमा मिलाएर राख्नुपर्ने उनको सुझाव छ । यसले आवश्यक परेका बेला ती सामान सहजै फेला पार्न सकिन्छ । डिब्बाभित्र राख्नुपर्ने कुनै सामान वा बीउबिजन छ भने त्यसको बाहिरपट्टि नाम लेखेर राख्नुपर्छ । झुन्ड्याउन मिल्ने सामानका लागि सुन्दर डिजाइनका ‘हुक’ हरूको प्रयोग गर्न पनि सकिन्छ ।

स्टोर रुमको भुइँ सुक्खा र कार्पेट सहितको हुनु राम्रो मानिन्छ । त्यस्तै, स्टोरमा बढीभन्दा बढी सेल्फ हुनुपर्छ । सेल्फमा सरसामान व्यवस्थित रूपमा राख्न सकिन्छ । प्रायः प्रयोगमा आउने सामानलाई सेल्फको मुनितिर र बाँकीलाई माथिल्लो भागमा राख्नु उपयुक्त हुन्छ । राखिएका सामान बिग्रिन नदिन स्टोर रुममा घामको उज्यालो पस्ने र हावा लाग्ने हुनुपर्छ । केही गरी घाम छिर्न सम्भव नभए पनि पर्याप्त रुपमा हावा खेल्ने हुनुपर्नेमा विचार पुर्‍याउनुपर्छ । रेडक्लिफका अनुसार स्टोर रुमको ढोका अरु कोठाको तुलनामा ठूलो हुनुपर्छ । ढोका ठूलो हुँदा फर्निचर लगायतका सामग्री समेत सहजै व्यवस्थापन गर्न र अन्य सामान पनि राख्न–निकाल्न सकिन्छ ।

सानो घरका लागि

घरको डिजाइन वा फ्ल्याटको इन्टेरियर गर्दा सामान्यतया हाम्रो ध्यान ड्रइङ रुम, बेडरुम, किचन र लिभिङ रुममा केन्द्रित हुन्छ । अझ घरको आकार सानो छ भने त स्टोरको लागि ठाउँ छुट्याउनेतर्फ विचार नै गरिंदैन । तर, घरका धेरै सामग्रीको सही व्यवस्थापन गर्ने स्थान भएन भने सम्पूर्ण घरकै शोभा बिग्रन्छ । त्यसैले घर बनाउँदा होस् वा इन्टेरियर गर्दा स्टोर रुमको महत्व एवं आवश्यकतालाई बेवास्ता गर्नुहुँदैन ।

सानो घर छ भने त्यसै अनुसारको स्टोर रुम व्यवस्थापन गर्न सकिन्छ । मुख्य कुरा, खाली ठाउँ कसरी सदुपयोग गर्ने भन्ने हो । घर वा फ्ल्याटमा चारकुना नमिलेको स्थान, भर्‍याङ मुनिको भाग आदिलाई सामान व्यवस्थित रूपमा राख्ने ठाउँको रूपमा प्रयोग गर्न सकिन्छ ।

comments powered by Disqus

रमझम