१९-२५ जेठ २०७६ | 2-8 June 2019

शान्तिदूत होइनन् गौतम बुद्घ

Share:
  
- वसन्त महर्जन
सामान्य प्रचलनमा कुनै शब्द र उपमा चलेकै आधारमा लुम्बिनी बौद्घ विश्वविद्यालयले त्यसलाई पाठ्यक्रममा समेट्नु बौद्घ अध्ययनको गम्भीर भूल हो।

बुद्ध र बौद्ध धर्मदर्शन सम्बन्धी तथ्यपरक जानकारी र सूक्ष्म ज्ञानका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना भएको हो । तर सोही विश्वविद्यालयले बुद्ध र बौद्ध धर्मबारे अनर्गल कुरा पढाएपछि कति विडम्बना होला ! वैशाख पहिलो साता स्नातक तहको ‘बुद्धिस्ट स्टडिज एन्ड ह्युमानिटिज’ कार्यक्रम अन्तर्गत तेस्रो वर्षको ‘न्यू बुद्धिस्ट’ विषयको परीक्षामा सोधिएको एउटा प्रश्न गलत मात्रै नभएर आपत्तिजनक नै थियो । प्रश्नपत्रमा बुद्ध शान्तिका दूत हुन् भन्ने कुराको औचित्य पुष्टि गर्न १० पूर्णाङ्कको प्रश्न सोधिएको थियो । यो प्रश्नबाट पाठ्यक्रमको निर्माण र अध्यापन पनि सोहीबमोजिम भएको रहेछ भन्ने थाहा हुन्छ ।

गौतम बुद्धप्रति श्रद्धा व्यक्त गर्ने क्रममा सामान्य प्रचलनमा विभिन्न शब्द प्रयोग गरिन्छ । त्यस्ता कतिपय शब्द र संज्ञा बौद्ध दर्शनको मान्यतासँग ठ्याम्मै मेल नखाने पनि हुन्छन् । बुद्ध र बौद्ध धर्मको आधारभूत दार्शनिक मान्यता अनित्य, दुःख र अनात्म हो । यसअनुसार बुद्ध र बौद्धहरू अनात्मवादी हुन्छन् । तर बुद्धलाई ‘महात्मा’ भनी सम्बोधन गर्ने गरिन्छ, जुन गलत हो । ‘शान्तिको दूत’ भन्नु पनि त्यस्तै गल्ती र दार्शनिक कसीमा आपत्तिजनक हो ।

बुद्धलाई ‘शान्तिको दूत’ भनिनुले उनी आफैं केही नभएर कसैका दूत हुन् भन्ने अर्थ दिन्छ । तर, बौद्ध धर्मदर्शन अनुसार यो मिल्दैन । इसाई धर्म अनुसार, परम परमेश्वर प्रभु येहोवाको दूत बनेर उनका पुत्र जिसस क्राइस्ट पृथ्वीमा आएका हुन् । यस्तै, इस्लाम धर्म अनुसार, अल्लाहको पैगाम (सन्देश) ल्याएका कारण मोहम्मदलाई पैगम्बर (अल्लाहको सन्देश वाहक) भनिन्छ । तर, बुद्ध त्यस्तो सर्वोच्च सत्तालाई अस्वीकार गर्छन् । जीवन र जगत कुनै अदृश्य र अलौकिक शक्तिबाट नभई कार्यकारणबाट संचालन भइरहेको हुन्छ र सबै कुरा अनित्य अर्थात् नाशवान छ भन्ने दार्शनिक दृष्टिकोण नै गौतम बुद्धको मौलिक खोज हो । बुद्धले आफूले देखेको कुरा अरूलाई बताएका मात्रै हुन् । यस अर्थमा कुनै सर्वोच्च सत्ताको दूत नभएका कारण गौतम बुद्धलाई ‘शान्तिको दूत’ भन्नु आफूखुशी अपव्याख्या हो ।

बोलीचालीमा भन्ने गरिए जस्तो गौतम बुद्ध ‘महान् समाज सुधारक’ होइनन् । तत्कालीन सामाजिक विसंगति विरुद्ध लड्ने क्रान्तिकारी व्यक्तित्व भनेर पनि उनलाई चिनाउने गरिन्छ । तर समाजलाई सुधार्ने कुरा बुद्धको चासोको विषय नै थिएन । बरु त्यही समाजका व्यक्तिलाई समाजबाट बाहिर ल्याउने, धर्मदर्शनका कुरा सिकाउने, भिक्षु–भिक्षुणी बनाउने र जन्म–मृत्युको दुश्चक्रबाट मुक्त गराउने मुख्य ध्येय हो, बुद्धको ।

यद्यपि प्रसङ्गवश बुद्धले कतिपय सोच र मानसिकता चिर्न भने प्रभावकारी भूमिका खेले । पारिवारिक सुसम्बन्ध कसरी कायम गर्न सकिन्छ भनेर उनले दिएका उपदेशहरू प्रसिद्ध छन् । लैंगिक विभेदले आक्रान्त तत्कालीन समाजमा महिला–पुरुष दुवैलाई धर्म अभ्यासमा समान अवसर दिनुका साथै छोरा–छोरीमा कुनै भेद नभएको सन्देश प्रवाह गरे । धर्मको आडमा जातीय छुवाछूतको प्रथामाथि नै प्रश्न उठाउँदै आफ्नो संघमा सबै जाति र वर्गलाई प्रवेश दिए । बुद्ध मानिसलाई मात्र नभएर समस्त प्राणीलाई समान रूपमा हेर्थे र मुख्यतः चित्तशुद्धिमा जोड दिन्थे ।

बौद्ध धर्मदर्शनले व्यक्तिदेखि विश्व नै आक्रान्त हुनाको मुख्य कारण तृष्णा रहेको निष्कर्ष निकालेको छ । तृष्णाले मानिसलाई पारेको प्रभाव नै बाह्य रूपमा प्रकट हुँदा झै–झगडा, लुटपाट, घुसखोरी, युद्ध, र अन्ततः डर–आशंकाको स्थिति विकसित हुने हो । जन्म र मृत्युरूपी दुःखबाट छुटकारा पाउने दार्शनिक सिद्धान्त अनुसार तृष्णा क्षय गर्ने क्रममा लोभलालच स्वतः घट्ने, मैत्री र करुणा जस्तो भावना सिर्जना हुँदा बाह्य जीवन स्वतः शान्तिपूर्ण बन्ने कुरा बुझ्न सकिन्छ । यस अर्थमा बुद्ध र बौद्ध दर्शन अनुसारको अभ्यासपछि शान्ति ‘बाइ प्रडक्ट’ मात्र हो । यसैले बुद्धलाई शान्तिका दूत भन्नु सर्वथा असुहाउँदो हुन्छ ।

बौद्ध अध्ययनको शैक्षिक कार्यक्रमहरू लुम्बिनी बौद्ध विश्वविद्यालयका साथै त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयमा संचालनमा छन् । तर अनुगमन भने फितलो छ । व्यक्तिविशेषको अक्षमता वा कमजोरीले विश्वविद्यालयको पाठ्यक्रम, शिक्षण र परीक्षा नै प्रभावित हुनु प्राज्ञिक थलोका लागि दुःखद हो । बुद्धलाई अन्यत्र शान्तिका दूत भनियो भन्दैमा विश्वविद्यालयले त्यसलाई पाठ्यक्रममै समेटेर पढाउनु र परीक्षामा सोध्नु बौद्ध अध्ययनको गम्भीर भूल हो ।

comments powered by Disqus

रमझम