१९-२५ जेठ २०७६ | 2-8 June 2019

देवदह चिनाउन काष्ठकला

Share:
  
- बिक्रम खड्का
बुद्घ जन्मस्थल लुम्बिनीसँगै मावली देवदहलाई संसारभर चिनाउन स्थानीयले काष्ठकला कार्यशाला नै आयोजना गरे।

बिक्रम खड्का
वरिपरि जंगल, बीचमा सानो समथर भू–भाग । १६ जेठसम्म यो सम्म भू–भागमा एउटा टेन्ट टाँगिएको थियो । टेन्टभित्र राखिएका काठका मुढामा साताभर टुङ् टुङ्, टुङ् टुङ् बजिरह्यो ।

रुपन्देही, देवदहस्थित गौतमबुद्ध सामुदायिक वनक्षेत्रमा गएको साता देशका विभिन्न क्षेत्रका १७ कलाकारले मुढामा कला कुँदे । मध्य जेठको ४० डिग्री सेल्सियसको गर्मी सहँदै उनीहरूले मुढामा आरा र बसिला चलाइरहे । हिजोसम्म बेकामे मुढाहरूले अनेक रुप पाए । लाग्छ, प्राण पाए ।

‘देवदहका पार्कलाई कलाले सजाऔं, ऐतिहासिक देवदहलाई विश्वमा चिनाऔं’ नाराका साथ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र स्थानीय बुद्ध सामुदायिक वन उपभोक्ता समूहको पहलमा यहाँ राष्ट्रिय काष्ठकला आयोजना गरियो । १० जेठदेखि संचालित एक साताको कार्यशालामा बुद्धसँग सम्बन्धित काष्ठकला बनाइयो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य समेत रहेका स्थानीय मूर्तिकार यमबहादुर थापा बुद्धवचन र कर्मलाई देशसँगै संसारमाझ चिनाउन कार्यशाला आयोजना गरिएको बताउँछन् । कार्यशालामा अनुभवी मूर्तिकार भुवन थापाले श्रीबच्च, अष्ठभगत बनाएका छन्, जसमा देवदहको नक्शा र पाकरी वृक्षको आकृति छ । प्रथमराज बज्राचार्यले तपस्यारत् बुद्धको मूर्ति तयार पारेका छन् । अनमारी तामाङले यशोधरा–राहुल र विशाल सारु मगरले वायुको आकृति बनाएका छन् । बुद्धसँगै मायादेवी, प्रजापति गौतमी, शुद्धोधन तथा भिक्षुहरू समेतका १७ वटा कलाकृति कुँदिएको छ ।

कलाकारहरू बुद्ध र देवदह अध्ययनका क्रममा आसपासका विद्यालय पनि पुगेका थिए । कलाकारलाई आफ्ना रचना वाचन गरेर साहित्यकारहरूले साथ दिएका थिए ।

कार्यशाला आयोजकमध्येको बुद्ध सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष टेकबहादुर राना बुद्ध मावली देवदह ओझेलमा परेको गुनासो गर्ने धेरै छन् तर काम गर्ने कोही नदेखिएपछि यो कार्यशाला आयोजना गरेको बताउँछन् । उनको भनाइमा, कार्यशालामा रु.२० लाखभन्दा बढी खर्च भएको छ । कार्यशालाबाट निर्मित काष्ठकलाहरूलाई वनभित्रकै पार्कमा राखिने र पर्यटक आकर्षित गरिने लक्ष्य छ । तर, यी काष्ठकला राख्ने कुनै सुरक्षित स्थान भने पार्कमा देखिंदैन ।

देवदह बुद्धकालीन प्राचीन कोलिय गणराज्यको राजधानी भएर पनि प्रचारप्रसार हुन नसकेको देवदहका नगरप्रमुख हीरा केसी बताउँछन् । “अब नगरपालिकाले पनि देवदह चिनाउन नयाँ ढंगले सोच्नेछ”, उनी भन्छन् ।

बिक्रम खड्का

comments powered by Disqus

रमझम