१९-२५ जेठ २०७६ | 2-8 June 2019

संकटमा गोठे लाटोकोसेरो

Share:
  
- कमल मादेन
करीब दुई शताब्दी अघिदेखि नै नेपाललाई घर बनाएको गोठे लाटोकोसेरो (बार्न आउल) संरक्षणमा जनचेतनासँगै बलियो कानून आवश्यक छ।

तस्वीरः संजय था श्रेष्ठ
लाटोकोसेरोले दिउँसो आँखा देख्दैन भन्ने भनाइ छ । तर, यो पूर्णसत्य होइन । केही प्रजातिका लाटोकोसेरोले दिउँसो मानिस भन्दा राम्ररी देख्न सक्छन् । आँखाभित्र प्रकाश ग्रहण गर्ने रड तथा कोन सेलहरू हुन्छन् । प्रकाश बढी र कम हुँदा क्रमशः यिनै सेलहरूको सहायताबाट वस्तु देखिन्छ ।

धेरैजसो लाटोकोसेरा प्रजातिका आँखामा निशाचर जीवमा पाइने रड सेलहरू प्रशस्त हुने भएकाले रातमा सजिलै देख्न सक्छन् । तर, रङ भने छुट्याउन सक्दैनन् । अँध्यारोमा देख्ने जस्तै सुन्ने क्षमता पनि अद्भुत हुने भएकोले लाटोकोसेरो आहाराका लागि धेरैजसो रातमा सक्रिय हुन्छ । दिनमा मस्तले आराम गरेर बस्छ ।

लाटोकोसेरोमध्ये गोठे लाटोकोसेरो (बार्न आउल) अत्यन्त सुन्दर हुन्छ । विदेशमा प्रायः ठूला–ठूला गोठ हुने भएकाले गोठकै नामबाट यसको नाम राखिएको बुझिन्छ। गाउँघरमा भने यसलाई सेतो लाटोकोसेरो पनि भनिन्छ ।

ब्रायन हड्सनले सन् १८२९ मै नेपालमा यो प्रजातिको लाटोकोसेरो पाइने तथ्य पत्ता लगाएका थिए । नेपालमा जम्मा २३ प्रजातिको लाटोकोसेरो पाइन्छ ।

यसको मुखाकृति चिह्नरहित सेतो रङको र टेलिभिजनको ‘डिस्कएन्टेना’ जस्तै गोलो हुन्छ । शरीरको तल्लो भाग, सेतो–सेतो, सुनौलो मैलो र माथिल्लो भाग फुस्रो हुन्छ । विशेष किसिमका सेलहरूका कारण ‘डिस्कएन्टेना’ जस्तो आकृतिमा ठोकिएको आवाज कानतर्फ तरंगित भएर केन्द्रित हुन्छ । अनुहार थेप्चो हुने भएकाले यसमा ‘बाइनाकुलर भिजन’ हुन्छ ।

शरीर हल्का र पखेटा तुलनात्मक रूपमा ठूलो हुने भएकाले यो पक्षी उड्दा आवाज निस्कँदैन । उडेकै बेला पनि आवाज पहिचान गर्न सक्छ । र, दिउँसै राम्ररी देख्न सक्छ ।

बस्ती नजिकै बस्छ, छुचुन्द्रा खान्छ

कीर्तिपुर नजिकको जंगलमा भेटिएको गोठे लाटोकोसेरो ।
सविता गुरुङ केही वर्षयता बार्न आउल अनुसन्धानमा जुटेकी छिन् । स्नातकोत्तर अध्ययनमा चार वर्षअघि ‘काठमाडौं उपत्यकामा गोठे लाटोकोसेरोको उपस्थितिमा भू–उपयोगको असर’ शीर्षकमा शोध कार्य गरेकी उनी अहिले ‘स्मल म्यामल्स कन्जरभेसन एण्ड रिसर्च फाउन्डेसन’ र जापानस्थित ‘नागाओ न्याचुरल इन्भायरोमेन्ट फाउन्डेसन’ को वित्तीय सहयोगमा बार्न आउलबारे थप अनुसन्धान गर्दैछिन् । यसको विषय छ– काठमाडौं उपत्यकाको शहरीदेखि ग्रामीण क्षेत्रमा गोठे लाटोकोसेरोको आहारा, शिकार प्रजातिको प्रचुरता तथा संरक्षणका चुनौतीको अध्ययन ।

उनको अनुसन्धान यो पक्षीको भोजन पहिचानमा केन्द्रित छ । उनले काठमाडौं उपत्यकाको शहरी, अर्ध–शहरी र ग्रामीण भेगमा भोजन उपलब्धता के कस्तो छ र यसको संरक्षणमा के कस्ता चुनौती हुनसक्छन् भन्ने सन्दर्भमा समेत अध्ययन गरिरहेकी छिन् । यसखाले अध्ययन नेपालमा पहिलो पटक भइरहेको छ । पुल्चोक (ललितपुर), च्यामासिं (भक्तपुर), सृजनानगर (भक्तपुर), कीर्तिपुर (काठमाडौं), बज्र–बाराही (ललितपुर) र बालाजु (काठमाडौं) मा गरिएको यो अध्ययन मूलतः यो पक्षीको बसाइ र दोस्रो मुख्य आहारा (मुसा, छुचुन्द्रो) मा केन्द्रित छ ।

बार्न अउलको मुख्य आहार छुचुन्द्रा, मुसा, स–साना पक्षी तथा कीराहरू हुन् । यसको आमाशयले प्वाँख लगायत टाउको, हाड, दाँत, भुत्ला र कीराको खपटा पचाउन सक्दैन । यी अपच पदार्थहरू खाँदिएर झण्डै बूढीऔंला वा त्योभन्दा ठूलो आकृतिको वस्तुमा परिणत हुन्छ । ती वस्तु आन्द्रातर्फ पस्नुअघि नै भोजननलीबाटै ओकल्छ । ओकलेको वस्तुलाई ‘पेल्लेट्’ भनिन्छ ।

ओकलेको वस्तुको अध्ययनबाट लाटोकोसेरोले नखाने बस्तु पत्ता लगाइन्छ । यसका लागि प्रत्येक पेल्लेट्लाई पानीमा भिजाइन्छ र अपच पदार्थहरू छुट्याइन्छ । खप्पर र हाडहरू सोडियम हाइड्रो अक्साइडबाट पखालिन्छ । स्तनधारी, चराका हाडहरू र कीराका खपटाहरू विभाजन गरिन्छ । ती वस्तुहरू संग्रहालयमा संग्रहित विभिन्न जन्तुका हाड, खप्पर आदिसँग तुलना गरेर कुन, कुन प्रजातिका हुन् भन्ने पहिचान गरिन्छ ।

गुरुङले यो लाटोकोसेरोको जम्मा १०८ वटा पेल्लेट् अध्ययन गरिन् । जसमध्ये पहिचान भएका आहारमा मुसा, छुचुन्द्रो, चरा र कीरा क्रमशः १३, ८१, ३ र १ वटा छन् । १० वटा जन्तु भने पहिचान हुन सकेनन् ।

यसले देखाउँछ, यो लाटोकोसेरोले सबैभन्दा बढी स्तनधारी जन्तुलाई भोजन बनाउँदो रहेछ । त्यसमा पनि छुचुन्द्रो सबैभन्दा बढी आहारा हुँदोरहेछ । चरा र कीरा विरलै खाँदो रहेछ । छुचुन्द्रोमा पनि घर छुचुन्द्रो (सन्कस् म्युरिनस्) मुख्य आहारा रहेछ । घर छुचुन्द्रो मानव बसोबास क्षेत्र, घाँसे चउर, झाडीदार वनमा पाइन्छ । यसले मूलतः स–साना कीरा, गड्यौला खान्छ ।

घर छुचुन्द्रोको शरीरबाट निस्कने दुर्गन्धका कारण लाटोकोसेरो र एकाध सर्प प्रजातिले मात्र यसलाई आहारा बनाउँछ । यो छुचुन्द्रोले वर्षमा ४ देखि ८ पटक बच्चा जन्माउँछ । एक पटकमा औसत तीन वटा बच्चा जन्माउने यो जन्तुले अन्न खाइदिंदा घर तथा गोदाम दुर्गन्धित हुन्छ । जनसंख्या वृद्धिदर अत्यधिक भएकाले यसलाई विनाशकारी अर्थात् मिचाहा प्रवृत्तिको जन्तु पनि मानिन्छ ।

छुचुन्द्रोको संहारक

लाटोकोसेरोको आहारा मध्येबाट अपच भई ओकलेको पेल्लेट्का अवयव ।
अनुसन्धान प्रतिवेदनमा बार्न आउलको आहारा छुचुन्द्रो, मुसाको अवस्था थाहा पाउन हिउँद र बर्खा दुवै मौसममा पासो प्रयोग गरिएको थियो । पासोमा परेका जन्तुको नाप, तौल र विवरण लिएर त्यसै ठाउँमा छाडिएका थिए । पासोमा हिउँदमा मुसा र बर्खामा घर छुचुन्द्रा बढी पाइए । बर्न आउलको प्वाँख पानीमा भिज्ने भएकाले पानी परेको बेला प्रायः उड्दैन । यसकारण बर्खामा यसको आहारा वृद्धि भएको हुनसक्छ ।

छुचुन्द्रो मानव बस्ती नजिक पाइने भएकाले बार्न आउल मानव बसोबास क्षेत्र नजिक गुँड बनाउन सकिने बूढो, धोद्रे रूख तथा मठमन्दिर छेउ देखिने गर्छ । तर, मानव चापसँगै बसोबास क्षेत्रमा कमी आएकाले यसको संख्या घटिरहेको छ । यता पक्षघात जस्ता केही रोगको उपचारमा मासु तथा हाड उपयोगी हुन्छ भन्ने अन्धविश्वासका कारण पनि लाटोकोसेरो र हुचिलको अवैध व्यापार बढ्दो छ । बर्न आउलको करीब ८० प्रतिशत आहारा घर छुचुन्द्रो हो । त्यसैले घर छुचुन्द्रो र मुसाको पीडाबाट बच्न लाटोकोसेरो हुनु जरूरी छ ।

‘न्याशनल रेड लिष्ट अफ नेपाल बर्डस्’ ले बार्न आउललाई ‘संवेदनशील’ सूचीमा राखेको छ । सूचीसँगै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ ले यसको शिकार, बेचबिखन, क्षति पुर्‍याउनेलाई १५ हजारदेखि ३० हजार रुपैयाँ जरिवाना वा तीनदेखि नौ महीना कैद वा दुवै सजाय तोकेको छ । बेलायतमा पनि यो पक्षी मार्नेलाई पाँच हजार पाउण्ड वा ६ महीना कैद वा दुवै सजाय हुने कानूनी प्रावधान छ । संवेदनशील गोठे लाटोकोसेरो जोगाउन सशक्त जनचेतना र बलियो कानूनी संरचना आवश्यक छ ।

comments powered by Disqus

रमझम