१९-२५ जेठ २०७६ | 2-8 June 2019

मैदान भित्र, बाहिर जताततै समस्या

Share:
  
- निरञ्जन राजवंशी
एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाली क्रिकेट आईसीसीको निलम्बनबाट मुत्त नहुँदै मैदान भित्र र बाहिर फेरि नयाँ संकट देखापरेका छन्।

म्याटमा अभ्यासरत खेलाडीहरू । ज्ञानेन्द्र कार्की
नेपाली क्रिकेटमा अहिले दुईवटा विषयबारे चर्चा चुलिएको छ । पहिलो– प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता मूलपानीको मैदानमा म्याटमै खेल्नुपरेको स्थिति, र दोस्रो– निर्वाचनतर्फ मोडिएको नेपाल क्रिकेट संघमा पुनः शुरु भएको मुद्दा–मामिलाको उल्झन । यी दुवै विषयले क्रिकेट विकासको मार्ग नै अवरुद्ध पार्ने गरी देखापरेका समस्यालाई उजागर गरिदिएका छन् ।

चर्चा मूलपानी क्रिकेट मैदानमा ओछ्याइएको म्याट र त्यसमा भइरहेको एकदिवसीय प्रतियोगिताबाट गरौं । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको एक वर्ष बितिसक्दा पनि नेपालले एकदिवसीय राष्ट्रका निम्ति आवश्यक न्यूनतम पूर्वाधार सहितको क्रिकेट मैदान बनाउन सकेको छैन । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमका रुपमा रहेको कीर्तिपुर मैदानमा अझै पनि स्तरोन्नतिको काम बाँकी छ । निर्माणकै क्रममा रहेको मूलपानीमा त झन् धेरै काम बाँकी छन् । मैदानको बीचमा रहेको छाप्रो अझै हटाउन सकिएको छैन । पिच निर्माणको काम पनि भएको छैन ।

यो अवस्थाको मूलपानी मैदानमा म्याट ओछ्याएर प्रतियोगिता संचालन गर्नु कुनै पनि हिसाबले जायज थिएन । तर, भयो त्यही । नेपाल क्रिकेट संघ, अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट निलम्बित रहेको अवस्थामा राष्ट्रिय खेलकुद परिषदले आयोजना गर्ने यो नै ५० ओभरको एक मात्र प्रतियोगिता हो । राष्ट्रिय खेलाडीहरूको परीक्षण भइरहेको यही प्रतियोगिताबाटै कतिपय खेलाडीले राष्ट्रिय टोलीमा प्रवेश गर्ने बाटो पनि हेरिरहेका छन् ।

राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमटाका भनाइमा प्रतियोगिता म्याटमा नभएर पिचमै संचालन गर्ने योजना भए पनि ‘क्युरेटर’ ले निर्धारित समयमा पिच तयार गर्न नसक्नु यसको मुख्य कारण हो । टमटा भन्छन्, “हामीले प्रतियोगिता दुई दिन पर सारेर पनि पिचमै खेल्ने योजना बनायौं, तर भने जस्तो पिच बन्न सकेन । अन्ततः म्याटमै खेल्नुपर्ने बाध्यता आइलाग्यो ।”

टमटाले भनेको बाध्यता हो– कीर्तिपुर मैदानमा मात्र खेल संचालन गर्दा प्रतियोगिता सम्पन्न गर्न २५ दिन लाग्छ, यसबाट प्रतियोगिताको खर्च नै दोब्बर बढी हुनेछ । यही कारण आयोजकले म्याटमै प्रतियोगिता खेलाउने निधो गरे ।

म्याटमा खेल्दा बल अनियन्त्रित हुन्छ । ब्याट्सम्यानले सोचेको भन्दा फरक तरिकाले ‘बाउन्स’ हुने गर्छ । अझ भनौं, एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाइसकेका मुलुकका क्रिकेट खेलाडीका लागि ‘म्याट’ विकल्प हुनै सक्दैन । टमटा भन्छन्, “हुन त खेलाडीले जस्तोसुकै परिस्थितिमा पनि खेल्न सक्छन्, खेल्नुपर्छ भन्ने मान्यता राखिन्छ । तर, हामीसँग म्याटको विकल्प भएन ।”

नेपाली राष्ट्रिय क्रिकेट टोली ।
विजेताले रु.२० लाख नगद पुरस्कार पाउने प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगितामा तीन विभागीय र सात प्रदेशका सहित कुल १० टोली सहभागी छन् । यो प्रतियोगिता नेपालका लागि किन पनि महत्वपूर्ण छ भने राष्ट्रिय टोलीले सन् २०२२ सम्म कम्तीमा ३६ वटा अन्तर्राष्ट्रिय एकदिवसीय खेल्नेछ । ती खेलमा खेलाडीहरूको प्रदर्शन र नतिजाले नै नेपाली क्रिकेटको आगामी बाटो तय गर्नेछ ।

गत वर्ष एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) राष्ट्रको मान्यता पाएपछि नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) भ्रमणका क्रममा आयोजक विरुद्धको ओडीआई शृंखला नै जितेको थियो । सँगसँगै बिर्सन नहुने के हो भने त्यसअघि नेपाल एशिया कप छनोट प्रतियोगितामा नमीठो हार व्यहोर्दै फर्केको थियो । सो प्रतियोगितामा ओमन, यूएई र हङकङसँग पराजित हुँदा नेपालका निम्ति भारत र पाकिस्तानसँग एशिया कपमा खेल्ने मौका गुमिसकेको छ ।

निर्वाचनको सकस

आईसीसीले नेपाल क्रिकेट संघको नयाँ निर्वाचनका लागि गठन गरेको स्वतन्त्र समिति निर्वाचन सम्पन्न गर्ने तयारीको अन्तिम चरणमा पुगिसकेको छ । तर, आईसीसीले नै बनाएको नियमको एउटा बुँदाले फेरि समस्या निम्त्याएको छ । यो त्यस्तो बुँदा हो, जसले जारी निर्वाचन प्रक्रियासँगै नेपाल क्रिकेट संघमाथि लागेको अन्तर्राष्ट्रिय निलम्बन फुकुवा गर्ने प्रक्रियामा समेत चुनौती बढाउन सक्छ ।

आईसीसीको स्वतन्त्र समितिले २०७०/७१ सम्म नेपाल क्रिकेट संघबाट पेश्की लिएर फछ्र्योट नगर्ने पदाधिकारी तथा सदस्यहरू अब हुने निर्वाचनमा उम्मेदवार बन्न नपाउने नियम बनाएको थियो । त्यसरी पेश्की फछ्र्योट नगर्नेमा निलम्बनमा रहेको संघका वरिष्ठ उपाध्यक्ष लगायत अबको निर्वाचनमा प्रमुख पदहरूका आकांक्षी समेत छन् । वरिष्ठ उपाध्यक्ष विनोद मैनालीले यसको विरोधमा सर्वोच्च अदालतमा रिट समेत दायर गरिसकेका छन्, जसमाथि प्रारम्भिक सुनुवाइका क्रममा अदालतले विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको छ । “निर्वाचनमा उम्मेदवार बन्न नदिने नियमावलीको व्यवस्था निष्पक्ष छैन” मैनाली भन्छन्, “म उम्मेदवार नबन्न पनि सक्छु । तर, निर्वाचन रोक्न नियतवश पेश्की फछ्र्योटको विषय अगाडि सारिएकाले गलत आरोपलाई चिर्न अदालतको ढोका ढक्ढक्याएका हौं ।”

रिटमा नेपाल क्रिकेट संघ सहित आईसीसीले गठन गरेको स्वतन्त्र समितिलाई समेत विपक्षी बनाइएको छ । समितिका पदाधिकारीहरूले भने फेरि मुद्दामामिला हुन थाले द्रुत गतिमा अघि बढेको निर्वाचन प्रक्रियामै असर पर्ने चिन्ता व्यक्त गरेका छन् । समितिका सदस्य एलबी क्षेत्री ३९ वटा जिल्ला क्रिकेट संघमध्ये २० वटामा कुनै समस्या नदेखिएकाले पुनः निर्वाचन गर्नु नपर्ने निर्णय भएको, तर निर्वाचन गर्नुपर्ने बाँकी १९ जिल्लामा संघको चुनावी प्रक्रिया भने रफ्तारमा अघि बढिसकेको बताउँछन् । “यस्तो बेला समिति मुद्दा मामिलामा फँस्यो भने फेरि आईसीसीको ध्यानाकर्षण हुनेछ” क्षेत्री भन्छन्, “त्यसक्रममा कुरा बिग्रियो भने नेपाल क्रिकेट संघमाथिको निलम्बन फुकुवा हुन लामो समय लाग्न सक्छ । त्यसपछिको प्रक्रिया झन् अनिश्चित हुनसक्ने जोखिम छ ।”

नेपाल क्रिकेट संघ तीन वर्षदेखि आईसीसीबाट निलम्बित रहेकाले सम्पूर्ण क्रिकेट गतिविधि आईसीसीको नियन्त्रणमा छन् । नेपाली क्रिकेटले पाउने आर्थिक सहयोग पनि ठप्प छ । आईसीसीले संघलाई निलम्बनमा राख्नुको प्रमुख कारण संघको आन्तरिक विवादसँगै सरकारी हस्तक्षेप पनि प्रमुख कारण थियो । क्रिकेट संघका पदाधिकारीहरूले नै त्यसबेला सर्वोच्च अदालतमा रिट दायर गर्नुलाई यसको अर्को कारण मानिएको थियो । क्षेत्रीले संकेत गरे झैं फेरि पनि यो विषय अदालतमा केन्द्रित भएमा क्रिकेट विवाद अझ लम्बिन सक्छ ।

निलम्बित संघका अध्यक्ष चतुरबहादुर चन्द भने जारी निर्वाचन प्रक्रियालाई कुनै हालतमा बिथोल्न नहुने भन्दै सदस्यहरूलाई अदालत नजान आग्रह गरिरहेका छन् । तर, त्यसको असर देखिंदैन । एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको नेपालका खेलाडीहरू म्याटमा अनियन्त्रित ‘बाउन्स’ हुने बलसँग जुधिरहेका छन् भने आईसीसीको निलम्बन फुकाउन प्रयासरत स्वतन्त्र समितिका पदाधिकारीहरूको दौडधुप अदालतमा शुरु भएको छ । मैदान भित्र र बाहिर दुवैतिर समस्याग्रस्त नेपाली क्रिकेटको संकट सुल्झाउने प्रयास भने कतैबाट भएको छैन ।

comments powered by Disqus

रमझम