२६-३२ जेठ २०७६ | 9-15 June 2019

जङ्गबहादुरको उज्याला पाटा

Share:
  
- भैरव रिसाल
इतिहासको कालो पानामा कतिपय राम्रा कुरा पनि लुक्छन्, प्रधानमन्त्रीका रूपमा जङ्गबहादुरले गरेका केही काम त्यस्तै अँध्यारोमा छन्।

जङ्गबहादुर राणा । historylessonsnepal.blogspot.com
देशको राजनीतिक इतिहासमा श्री ३ जङ्गबहादुर कुँवर राणाले जम्मा ३० वर्ष राजपाठ गरे । निरंकुश राणा शासनको जग बसाएका उनले तीन दशक लामो राज्यकालमा नराम्रा काम मात्र गरेनन् । देशमा दैवी प्रकोप परेको बेला खर्च गर्न उनले वि.सं. १९२५ मा कौसी तोसाखाना नामको ढुकुटी स्थापना गरेर रु.११ करोड राखेका थिए । त्यो समयमा यति रकम असाध्यै ठूलो थियो । वन संरक्षणको लागि उनले पहाड, मधेश र काठमाडौं खाल्डोमा रूख काट्नेलाई ऐनमै सजाय तोके । यस्तै, ‘बोक्सी’ को आरोप लगाउने रुढिवादी पक्षधरहरूलाई दण्ड सजायको व्यवस्था गरी सामाजिक सुधारको पहल गरे ।

जङ्गबहादुरले कानूनी र प्रशासनिक पाटोमा पनि काम गरेको पाइन्छ । कौसल अड्डा (भारदारी सभा) र जङ्गी तथा निजामती जागिरदारहरूको नाम, थर र दर्जाको अभिलेख राख्न ‘किताबखाना’ अड्डा स्थापना गराए । घूस खाने र खुवाउनेहरू दुवैको छानबिन गरी सजायका निम्ति धर्मकचहरीको पनि स्थापना गराए । त्यसले सजायका निम्ति श्री ३ समक्ष मुद्दा पेश गर्नुपथ्र्यो । उनले नेपाल राज्यको नापी गराई नक्शा बनाउन लगाएको इतिहास पनि छ । यससँगै जन्म र मृत्युको अभिलेख राख्ने व्यवस्था पनि गरेछन् । उनले भारततर्फको सिमानामा किल्ला ठोकेर साँध छुट्याउने काम पनि गराए, जसलाई जङ्गेपिलर भनिन्छ । विदेशी मुद्राको लेनदेन र खासगरी भारतीय मुद्रा कम्पनीको कारोबार गर्न सराफखाना नामक अड्डा खोलियो । पहाड, मधेश र दुर्गम भेगमा हुलाकको बन्दोबस्त पनि जङ्गबहादुरले नै गरेछन् । उनले थापाथली दरबारको कम्पाउण्डभित्रै दरबार स्कूल सञ्चालन गराए ।

धर्मभकारी र अन्य काम

प्रधानमन्त्री जङ्गबहादुरले स्वास्थ्य सेवामा पनि केही शुरूआत गरेका थिए । आज जस्तो एलोप्याथी औषधिको वर्चस्व नरहेको त्यो बेला उनले थापाथली दरबार कम्पाउण्डभित्र वैद्यखाना स्थापना गराएर आयुर्वेदिक औषधिको प्रयोगमा बढावा दिए । बिफर जस्तो घातक रोग विरुद्ध लड्न खोप लगाउने प्रणाली पनि उनैले बसाएका रहेछन् ।

राणा शासकको दूरदर्शिता पनि बिछट्टैको ! भोकमरी लागेमा जनता मर्ने अवस्था नआओस् भनेर प्रधानमन्त्री जङ्गबहादुरले १९२३ सालमा ठाउँठाउँमा धर्मभकारी खडा गराएर अन्न जम्मा पारेका रहेछन् । वि.सं. १९२६ मा काठमाडौंमा भयंकर अनिकाल पर्दा सरकारले तराईबाट तुरुन्तै चामल झिकाई रु.१ को चार पाथीको दरले बिक्री गर्‍यो । धर्मभकारीका लागि अन्न जोहो गर्न मालपोत लिंदा आधा नगद र आधा जिन्सी लिने गरिएको थियो । यो काम गर्न तराईमा जमीनदार चौधरी र पटवारीलाई, पहाडतर्फ थरी, मुखिया, जिम्मावाललाई तोकिन्थ्यो । जङ्गबहादुरले वि.सं. १९१७ मा देशभर जनगणना गराएका थिए । जसमा ५२ लाखको आँकडा निस्किएको थियो । भोटसँग युद्ध गर्ने तयारीका क्रममा उनले त्यसतर्फ जाने बाटोको मर्मत गराए, ठाउँठाउँमा पुल बनाउन लगाए । भोटसँग सम्झैता गरी नेपालले चामल पठाउने र भोटबाट नून ल्याउने वस्तु विनिमय व्यापारको व्यवस्था गरे । उनले मन्दिर र गुम्बाहरूको मर्मत र आवश्यक परेको ठाउँमा जीर्णोद्धार पनि गराए । पशुपति मृगस्थलीमा विश्वरूपको विशाल मूर्तिको साथै मन्दिर स्थापना गराए । वागमती नदीको तीरमा कालमोचनदेखि पंचायनसम्म घाट समेत बनाउन लगाए ।

जङ्गबहादुरको प्रधामन्त्रीत्वकालमा पनि मालपोत उठाइन्थ्यो । तर, पोत उठाउन अत्यन्तै चर्को पर्दो रहेछ, खासगरी तराई मधेशतिर । मालपोत उठाउने सरकारी कर्मचारीलाई गाउँमा देख्नासाथ सम्पूर्ण पुरुषहरू मुग्लान–भारत पस्दा रहेछन् । यसै कारण जङ्गबहादुरले ‘चौधरीहरू’ को बन्दोबस्त गरे । आफ्नो क्षेत्रको जग्गा जमीनको मालपोत चौधरीले नउठाए त्यस वापतको पोत उसैले भर्नुपर्ने नियम बसालिएछ । मालपोत उठाउने काम वापत चौधरीलाई गाउँघरका सानातिना मुद्दामामिलाको छिनोफानो गर्न पाउने अधिकार दिइएको थियो ।

सन् १८५७ मा भारतमा भएको आन्तरिक विद्रोहमा ब्रिटिश इष्ट इण्डिया कम्पनी सरकारलाई सघाउन सेनाका १४ हजार जवान लिएर जङ्गबहादुर आफैं लखनऊ पुगेका थिए । त्यस वापत इष्ट इण्डिया सरकारले सुगौली सन्धिबाट सन् १८१७ मा कब्जा गरेको नेपालको भूमिमध्ये बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता गरेको थियो ।

comments powered by Disqus

रमझम