२६-३२ जेठ २०७६ | 9-15 June 2019

सिक्किम: गोलेका चुनौती

Share:
  
- सञ्जय प्रधान, दार्जीलिङ
२५ वर्षदेखि लगातार राजनीतिक स्थिरता र विकासको सामान्य गति पछ्याइरहेको सिक्किममा युवाहरूको महत्वाकांक्षाकै कारण सत्तासीन हुन पुगेका मुख्यमन्त्री पीएस गोलेलाई आफ्नै सांसद सम्हाल्ने चुनौती छ।

पीएस गोलेको फेसबूकबाट
भारतको सिक्किममा गएको २८ चैतमा सम्पन्न विधानसभा निर्वाचनबाट पीएस गोले (प्रेमसिंह तामाङ) नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) सत्तामा पुगेको छ, विधानसभा सदस्य समेत नरहेका उनै गोले मुख्यमन्त्री बनेका छन् । २५ वर्षदेखि शासन गर्दै आएको पवन चामलिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) लाई विपक्षीको भूमिकामा ओराल्न सकेका गोले कुनै बेला चामलिङकै मन्त्रिमण्डलका सदस्य थिए । भारतमा सबैभन्दा लामो समय मुख्यमन्त्री बनेको रेकर्ड कायम गरेका चामलिङ यसपटक पनि सत्तामा आउने अधिकांश विश्लेषकहरूको आकलन विपरीत करीब एक दशकअघि मात्र गठन भएको एसकेएम कुल ३२ मध्ये १७ स्थानमा निर्वाचित भएको छ, चाम्लिङको एसडीएफलाई १५ सिटमा सीमित गराउँदै । सरकार गठनका लागि सामान्य बहुमत प्राप्त गरे पनि यो झिनो बहुमत गोलेका लागि चुनौती समेत बनेको छ ।

युवा चाहना

पर्यटनको विकास, भरपर्दो सुरक्षा व्यवस्था, जैविक राज्य घोषणा लगायतका कामबाट सिक्किमलाई भारतमै नमूना राज्यको रूपमा प्रस्तुत गरेका चामलिङ फेरि पनि सत्तामा आउने अनुमान गर्नेहरूले युवाहरूको परिवर्तनको चाहनालाई भने बुझ्न सकिरहेका थिएनन् ।

सन् १९९४ मा एसडीएफ सत्तामा आउँदा जन्मिएकाहरू अहिले २५ वर्षका भइसकेका छन् । लामो समय एउटै दलको सरकार र एकै जनाको नेतृत्व देखिरहेको यो पुस्तामा विकासको हालको गतिलाई अझै तीव्र पार्न सकिन्छ र त्यसका लागि नयाँ नेतृत्व चाहिन्छ भन्ने धारणा बलियो हुँदै गएको थियो । र, यो भावनालाई भजाउन सफल भयो– एसकेएम ।

अर्कोतिर लामो समयदेखि पार्टी र सरकार एउटै व्यक्तिको नियन्त्रणमा रहँदा एसडीएफभित्रै असन्तुष्टि बढ्दै गएको थियो, जसको प्रभाव निर्वाचन परिणाममा पनि देखियो । “हामी एसकेएमका कारण होइन, आफ्नै कमजोरीले हारेका हौं । जनतामा नयाँ प्रयोगको चाहना पनि थियो होला” एसडीएफका प्रवक्ता एवं पूर्व सांसद भीम दाहाल भन्छन्, “धेरै ठाउँमा हाम्रो पार्टीका उम्मेदवारहरू १०० भन्दा थोरै मतान्तरले हारेका छन् ।” चुनावी प्रचारमा एसकेएमले जनतासमक्ष असम्भव वाचा गरेको पनि उनको आरोप छ ।

सन् २००९ को विधानसभा चुनावमा एसडीएफले सम्पूर्ण ३२ वटै सिटमा जित हात पार्दा गोले पनि त्यही पार्टीको उम्मेदवार थिए । एसडीएफकै सरकारमा तीनपल्ट मन्त्री बनिसकेका गोलेले त्यहाँ रहँदा नै सिक्किमभर जनसम्पर्क बढाउँदै आफ्नो आधार बलियो बनाउने काम गरे । सन् २०१३ मा उनले गठन गरेको नयाँ दलले पहिलो पटक विधानसभा निर्वाचनमा प्रतिस्पर्धा गर्दा १० स्थानमा जित हात पारेको थियो, यद्यपि त्यसको केही महीनामै एसकेएमका सात विधायक एसडीएफमा प्रवेश गरेका थिए । ती सात जनामध्ये पाँच जनालाई यसपालि एसडीएफले टिकट दिंदा पार्टीभित्र विवाद बढेको थियो ।

चुनाव नजिकिंदै गर्दा विभिन्न सामाजिक संघ–संस्था, कर्मचारी संगठन लगायतले उठाएका मागलाई गम्भीरतापूर्वक नलिनु पनि एसडीएफलाई चुनावमा क्षतिको अर्को कारण बन्न पुग्यो ।

‘चोट लागेको बाघ’

“जनताले एसडीएफलाई नकारेका छैनन्, हाम्रो भूमिका केही परिवर्तन गरिदिएका मात्र हुन्” एसडीएफका अध्यक्ष एवं पूर्व मुख्यमन्त्री पवन चामलिङले १९ जेठमा पार्टीको केन्द्रीय समितिको समीक्षा सभामा भने, “एसकेएम जनताले मन पराएर सरकारमा पुगेको होइन, हाम्रो दलभित्रको मतभेद, अन्तरकलहको उसलाई फाइदा पुगेको मात्रै हो । हामीले यो हारबाट पाठ सिक्नुपर्छ ।”

उनले अझै १५ वर्ष आफैंले पार्टीको नेतृत्व गर्ने र प्राण रहुञ्जेल सिक्किमेली जनताको सेवा गर्ने पनि दाबी गरे । उनले भने, “हामी चोट लागेको बाघ जस्तै भएका छौं । स्याल जस्तो भएर सम्झैता गर्ने छैनौं । एसडीएफको विकल्प एसकेएम हुनसक्दैन ।”

उसो त भ्रष्टाचार मुक्त सिक्किमको नारा लगाइरहेका गोले आफैं भने भ्रष्टाचारकै आरोपमा अदालतबाट दोषी ठहर भई जेल सजाय भुक्तान गरी फर्केको एक वर्ष पनि पुगेको छैन । त्यसैकारण विधानसभा निर्वाचनमा उम्मेदवारी दिन नपाएका उनी सिक्किमको मुख्यमन्त्री बनिरहन अबको ६ महीनाभित्र विधानसभा सदस्य भइसक्नुपर्नेछ । एसडीएफ सरकारमा पशुपालन मन्त्री रहेका उनलाई अदालतले सन् २०१७ मा भ्रष्टाचारको एउटा मुद्दामा दोषी ठहर गरी एक वर्षको जेल सजाय तोकेको थियो । गोले भ्रष्टाचारमा मुछिएको र उनी विधानसभा सदस्य समेत नरहेकाले उनलाई मुख्यमन्त्रीको पदमा रहने हक नरहेको भन्दै विपक्षी एसडीएफले सदन बहिष्कार गरिरहेको छ ।

गोले सम्भवतः आफ्ना कुनै विधायकलाई राजीनामा गराएर उक्त स्थानबाट उम्मेदवार हुनेछन् । तर, विगतमा सात जना विधायक एसडीएफमा प्रवेश गरेको विडम्बना भोगेका गोलेलाई यसपटक पनि आफ्ना विधायकहरूलाई पार्टीप्रति वफादार बनाइरहनु ठूलो चुनौती हुनेछ । अर्कोतिर लामो समयदेखि राजनीतिक स्थिरता अनुभव गरिरहेका सिक्किमेली जनतालाई त्यो स्थिरता र शान्ति दिइरहनु गोले र चामलिङ दुवैको जिम्मेवारी हुनेछ ।

comments powered by Disqus

रमझम