२६-३२ जेठ २०७६ | 9-15 June 2019

स्यानिटरी प्याडको सामाजिक अर्थशास्त्र

Share:
  
- डा. अरुणा उप्रेती
छात्रालाई निःशुल्क स्यानिटरी प्याड दिने सरकारी घोषणा सुन्दा जति सकारात्मक छ, कार्यान्वयन गर्न उत्तिा नै चुनौती।

‘तपाईंहरूको महीनावारी कसरी व्यवस्थापन हुन्छ ?’ सुर्खेत, बाँके, बर्दियाका केही किशोरीलाई दुई साताअघि मैले सोधेकी थिएँ । “हामी त कपडाको ‘टालो’ लगाउँछौं, धोएर घाममा सुकाउँछौं र फेरि प्रयोग गर्छौ । बाहिर जाँदा चाहिं बजारबाट २०० रुपैयाँ जति पर्ने प्याकेट किन्छौं”, उनीहरूको भनाइ थियो ।

बाँकेकी १७ वर्षीया ढकाल थरकी एक किशोरीले भने महीनावारीमा घरकाले भान्सामा नजा, मन्दिरको बाटोमा नहिंड भनेको नमान्ने सुनाइन् । “घरको ‘प्याड’ सुकाउँदा सबैले थाहा पाउँछन्, त्यसैले महँगो परे पनि बजारबाटै किन्छु । पत्रिकामा बेरेर फ्याँकिदिन्छु कि जलाउँछु ।”

गएको साता नै बजेट भाषण मार्फत सरकारी स्कूलका छात्रालाई निःशुल्क ‘स्यानिटरी प्याड’ बाँड्ने घोषणा सुनियो । कति राम्रो कुरा !

तर, मेरा मनमा अनेक प्रश्न पनि उब्जिए । सम्झें, केही वर्षअघि रामशरण महत अर्थमन्त्री भएका बेला बजेटमा सम्पूर्ण स्वास्थ्य चौकीमा पाठेघर खसेका महिलाको उपचारका लागि निःशुल्क ‘रिङ पेसरी’ उपलब्ध गराइने घोषणा । घोषणाको करीब तीन महीनापछि धादिङ र मकवानपुरमा महिला स्वास्थ्य जाँचका लागि निस्किएका थियौं । निःशुल्क रिङ पेसरीबारे सोध्यौं । ‘सरकारले के भन्यो थाहा छैन, तर यहाँ रिङ पेसरी छैन’ भन्ने जवाफ पायौं । यो कुरा मैले स्वास्थ्य मन्त्रालयका अधिकारीहरूलाई पटक–पटक सुनाएँ, तर कसैले पनि वास्ता गरेन । निःशुल्क प्याडको कथा पनि रिङ पेसरीकै जस्तो हुने त होइन भन्ने मलाई डर छ ।

मेरो प्रारम्भिक अनुमानमा सरकारी विद्यालयमा ७ कक्षादेखि १० कक्षासम्म पढ्ने किशोरीहरूको संख्या करीब ११ लाख छ । त्यस हिसाबमा उनीहरूलाई एक महीनामा कम्तीमा ११ लाख जति नै स्यानिटरी प्याड चाहिन्छ । प्रत्येकलाई महीनैपिच्छे प्याड निःशुल्क दिए एक वर्षमा सरकारको करीब रु.१ अर्ब ३२ करोड खर्च हुने रहेछ । के सरकारले बजेटको यो भार थाहा पाएरै यस्तो घोषणा गरेको हो या फगत लोकप्रियताका लागि ? विद्यालयमा वर्षमा एकपटक निःशुल्क पुस्तक पठाउन सकस परिरहेको, दिवा खाजाको पैसा पनि सदुपयोग नभइरहेको बेला सरकारले प्रत्येक महीना बजारबाट प्याड किनेर विद्यालय पुर्‍याउन सक्छ ? अनुगमन कसले गर्ला ?

सुदूरपश्चिमका कतिपय सरकारी विद्यालय जहाँ ‘महीनावारी हुँदा स्कूल नआउनू’ भनेर शिक्षक नै भन्छन्, यस्तो बेला निःशुल्क प्याडको के अर्थ होला ? यस्ता परम्परागत सोच भएका ठाउँहरूमा विद्यालयमा प्याड उपलब्ध गराउँदैमा किशोरीले ढुक्क भएर स्कूलमा ‘स्यानिटरी प्याड दिनुस्’ भन्न सक्लान्/नसक्लान् ? सुदूरपश्चिममा छाउगोठमा बस्ने किशोरीहरू ‘प्याड’ लिन आउलान् ? आशंका अनेक छन्, जसको जवाफ केही महीनामै थाहा हुनेछ ।

अर्को कुरा, साँच्चै नै सरकारले निःशुल्क स्यानिटरी प्याड दिएछ नै भने पनि चुनौती सकिंदैन । अहिले पनि गाउँका सरकारी स्कूलहरूमा शौचालयको उचित प्रबन्ध छैन । शौचालयमा पानीको अभाव त छँदैछ । छात्राका लागि अलग शौचालय नभएका ठाउँ पनि छन् । प्रयोग गरिएका स्यानिटरी प्याड कहाँ फाल्ने ! शौचालयमा फाले त ‘जाम’ हुन्छ । यसबारे सरकारले सोचेको छ कि छैन ? अर्को जिज्ञासा, प्याडको बजारसँग जोडिएको छ । सरकारले किन्ने प्याड स्वाभाविक रूपमै विदेशी उत्पादन हुनेछ । यसले देशको पैसा उतै पठाउनेछ । तर, नेपाली कम्पनीले घरेलु प्याड बनाउँछु भन्यो भने सरकारले के भन्ने ? कुनै व्यावसायिक कम्पनीले ‘सस्तोमा स्यानिटरी प्याड उपलब्ध गराउँछु, तर कर मुक्त हुनुपर्छ’ भन्यो भने के गर्ने ? यसबारे पनि सरकारको ध्यान जानुपर्छ । भनिन्छ, सामान दिनुभन्दा सीप सिकाउनु उत्तम हो । सरकारले स्कूलहरूमा एकपटक ‘घरेलु स्यानिटरी प्याड’ बनाउन सिकाए महीनौंसम्म प्याड दिनै पर्दैन । सरकारले यसतर्फ सोच्नु उपयुक्त हुने देखिन्छ ।

अब सरकारले नै स्यानिटरी प्याड दिने भनिसकेपछि ‘महीनावारी पाप चाहिं होइन’ भन्ने सत्यतामा थप बल पुग्नेभयो । महीनावारी राष्ट्रिय मुद्दा बनेको छ, अन्धविश्वासीहरू विरुद्ध जुट्न पनि थप सहज हुने भएको छ ।

comments powered by Disqus

रमझम