२६-३२ जेठ २०७६ | 9-15 June 2019

जताततै औलो

Share:
  

गर्मी मौसम शुरु भएसँगै लामखुट्टेको टोकाइबाट सर्ने रोगले सताउने सम्भावना धेरै हुन्छ । डेंगु, इन्सेफ्लाइटिस, जिका, मलेरिया जस्ता रोग लामखुट्टेबाटै फैलिन्छन् । यीमध्ये पनि संसारभर औलो (मलेरिया) को संक्रमण सबैभन्दा धेरै हुने विश्व स्वास्थ्य संगठनको अध्ययनले देखाएको छ ।

स्वास्थ्य सेवा विभागको तथ्यांक अनुसार मुलुकमा पछिल्लो समय औलो रोगका बिरामी बढ्दै छन् । विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांक अनुसार आर्थिक वर्ष २०६५/६६ देखि घटिरहेका औलोका बिरामी आव २०७३/७४ देखि बढ्न थालेका छन् । आव २०६५/६६ मा औलोका ३,५७७ बिरामी भेटिएकोमा आव २०७२/७३ मा यो संख्या घटेर ९९१ पुगेको थियो । तर, आव २०७३/७४ मा १,१२८ र आव २०७४/७५ मा १,१८७ औलोका बिरामी पाइए । नेपालमा सबैभन्दा बढी औलोका बिरामी सुदूरपश्चिम प्रदेशमा देखिएका छन् ।

आव २०७४/७५ मा सुदूरपश्चिम प्रदेशमा ५८६, कर्णाली प्रदेशमा २३३, गण्डकी प्रदेशमा ३६, प्रदेश–३ मा २६, प्रदेश–२ मा ६६ र प्रदेश–१ मा २४ जना औलोका बिरामी पाइएका छन् । जिल्लागत तहमा आव २०७४/७५ मा सबैभन्दा बढी बिरामी कैलालीमा ३०१, मुगुमा १४३, कञ्चनपुरमा १३७ देखिएका छन् ।

औलो एनोपिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो । कामज्वरो आउनु यो रोगको प्रमुख लक्षण हो । संक्रमित लामखुट्टेले टोकेको १० देखि १५ दिनपछि औलो रोगको लक्षण देखिन थाल्छ । औलो रोगबाट बालबालिका बढी प्रभावित हुन्छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका स्वास्थ्य संस्थाहरुमा औलो रोग जाँच र उपचार निःशुल्क गर्ने व्यवस्था मिलाएको छ । अचम्मको कुरा के छ भने प्रायः गर्मी ठाउँमा संक्रमित लामखुट्टेको टोकाइबाट लाग्ने औलो हिमाली जिल्लामा पनि देखिन थालेको छ । बाजुराको कोल्टी र मुगुको ह्यांगलुमा समेत औलोका बिरामी पाइएपछि मन्त्रालयलाई समयमा रोग निदान र उपचार गर्न चुनौती थपिएको छ । बाजुरामा चालु आर्थिक वर्षको आठ महीनामा औलोका ८२ बिरामी फेला परेका छन् । उच्च हिमाली जिल्ला मुगुमा चालु आर्थिक वर्षको आठ महीनाको अवधिमा १६८ औलोका बिरामी देखिए । तथ्यांकले नै मुलुकमा कसरी औलो रोगको संक्रमण बढ्दैछ भन्ने कुरा प्रष्ट देखाउँछ ।

गर्मी मौसममा औलो रोगको जोखिम बढ्ने भएकाले चिकित्सकहरु यसबाट बच्न होशियारी अपनाउन सुझाव दिन्छन् । लामखुट्टेको टोकाइबाट बच्न झुलभित्र सुत्नु नै उपयुक्त उपाय हो । यस्तै, लामखुट्टे नाश गर्ने विषादी छर्किने, घरआँगन सफा राखेर लामखुट्टेले फुल पार्ने ठाउँ नष्ट पार्ने अन्य उपाय हुन् ।

लामखुट्टे धपाउन नीमको पात, कपुर, तेजपात, ल्वाङको धूप बाल्नु पनि उत्तम घरेलु उपाय हुनसक्छ । घर वरपर मेरिगोल्ड, सिट्रानेल, लेमनग्रास, लेवेन्डर, तुलसी, नीम जस्ता वनस्पति उमार्दा पनि लामखुट्टे कम गर्न मद्दत पुग्छ ।

ईडीसीडीका निर्देशक डा. विवेककुमार लाल परिवार वा छरछिमेकमा कसैलाई औलो रोगको लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा गई जाँच गराउनुपर्ने बताउँछन् ।

comments powered by Disqus

रमझम