२६-३२ जेठ २०७६ | 9-15 June 2019

छालसँग पौंठेजोरी

Share:
  
- भरतबन्धु थापा

कतै समथर बहाव त कतै छालको रोमाञ्चक धक्का ∕ यिनै विशेषताले साहसिक जलयात्रा ‘र्‍याफ्टिङ’ धेरैको प्रिय छ । अझ, गर्मीयाममा पानीसँगको पौंठेजोरीको मिठास नै बेग्लै ।

त्रिशूली, भोटेकोशी, कर्णाली, सुनकोशी, भेरी, दरौंदी लगायतका नदी र्‍याफ्टिङका लागि परिचित छन् । यसमध्ये पनि त्रिशूली र भोटेकोशी आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्छ ।

भोटेकोशीमा र्‍याफ्टिङ । तस्वीरः भरतबन्धु थापा

सडकको सहज पहुँचमा रहेका कारण र्‍याफ्टिङ पारखीमाझ त्रिशूली नदी लोकप्रिय छ । काठमाडौंबाट एकै दिनमा र्‍याफ्टिङ गरेर फर्किन सकिन्छ । समयको उपलब्धता र रुचि अनुसार त्रिशूलीमा एक दिनदेखि तीन दिनसम्मको प्याकेज लिएर र्‍याफ्टिङको आनन्द बटुल्न सकिन्छ । नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सीका महासचिव शिव अधिकारीका अनुसार, एक दिनमा १८ देखि २० किलोमिटर र तीन दिनमा ७५ किलोमिटर र्‍याफ्टिङ गराइन्छ ।

त्रिशूलीमा चरौंदीदेखि फिस्लिङसम्म २० किलोमिटर दूरीमा जलयात्रा गर्न नेपालीलाई प्रतिव्यक्ति रु.२५०० र विदेशीलाई रु.४ हजार लाग्छ । यो खर्च काठमाडौंबाट सवारी साधनमा लैजाने–ल्याउने र खाना सहितको हो । यस्तै, भोटेकोशीमा बाह्रबिसेदेखि चेहेरेसम्म ११ किलोमिटर दूरीमा र्‍याफ्टिङ गराइन्छ । यसका लागि काठमाडौंबाट सवारी साधनमा लैजाने र ल्याउने सहित रु.२५०० लाग्छ ।

यदि एक रात बस्ने हो भने भोटेकोशीमा र्‍याफ्टिङ सहित रु.३५०० र त्रिशूलीमा रु.३ हजार पर्छ ।

पछिल्लो समय भने नदी छेउछाउमा बस्ती विस्तारका साथै जथाभावी फोहोर फाल्ने र बालुवा प्रशोधन गर्ने क्रमले नदीहरू प्रदूषित बन्दै जाँदा र्‍याफ्टिङ व्यवसायमा चुनौती देखिएको व्यवसायीहरूको चिन्ता छ ।

comments powered by Disqus

रमझम