२६-३२ जेठ २०७६ | 9-15 June 2019

नारी भोगाइमा समयचेत

Share:
  

कविता हुँदै आख्यानलाई मूल क्षेत्र बनाएकी उमा सुवेदी नारी जीवनका दुःख–सुख र आम मान्छेलाई केन्द्रमा राखेर लेख्ने लेखक हुन् । खासगरी पितृसत्तात्मक संरचनाले थोपरेको सकसपूर्ण सामाजिक भोगाइ र त्यसमा उनिएका पात्रलाई उनी लेखनको विषयवस्तु बनाउँछिन् । नवीनतम कथासंग्रह ‘सयौं पुतली’ मा सुवेदीले यिनै नारी मुद्दाका विभिन्न रङलाई समेटेकी छन् ।

संग्रहभित्रका अधिकांश कथा महिला केन्द्रित छन्, जहाँ पात्रहरू सामाजिक परम्परा, संस्कार आदिको नाममा जञ्जालले घेरिएका छन् । कथाहरू पढ्दै जाँदा हाम्रै समाजको परिवेश र पात्रहरू आँखामा ठोक्किन आइपुग्छन् । हुन पनि नेपाली समाजका कैयौं महिला परम्परा र संस्कारले लादेको यस्तै समस्यामा पिल्सिएका छन् ।

पुस्तक सयौं पुतली (कथासंग्रह)

लेखक उमा सुवेदी

प्रकाशक सांग्रिला पुस्तक

पृष्ठ १८२,

मूल्य रु.२९५

१७ वटा कथा समेटिएको संग्रहभित्रको पहिलो कथा ‘उर्दी’ सबैभन्दा सशक्त लाग्छ । प्रेम र समर्पणको नाममा पुरुषले कसरी नारीको इच्छा र स्वतन्त्रतालाई नियन्त्रण गर्छ, कथाले आकर्षक शैलीमा भनेको छ । आफ्नो अनुकूलताको साँचोमा नारीलाई ढाल्ने र साँचोबाट निस्किएर आफ्नो रोजाइको जीवनमा फर्किंदा छटपटाउने पुरुषको चरित्रलाई पुरुष पात्र प्रताप मार्फत उदाङ्गो पारिएको छ । ‘ढाड’ कथाले संसारलाई हेर्ने दृष्टिकोणले मानिस आफूलाई व्यावहारिक रुपमा कस्तो बनाउँछ भन्ने दार्शनिक पाटोसँग साक्षात्कार गराउँछ । कथाको सार हो– आफूले जस्तो सोचिन्छ र व्यवहार गरिन्छ, संसार त्यस्तै देखिन्छ । कथाले हिजो र भोलिको चिन्ता नगरी वर्तमानमै जिउनुपर्ने आध्यात्मिक सन्देश पनि बोकेको छ ।

शीर्ष कथा ‘सयौं पुतली’ समाजले कोरेको परिभाषा अनुसार ‘कुरुप’ केटीको त्यस्तो विसंगत मनोभाव हो, जो सामाजिक सोच र व्यवहारकै उपज हो । परिवारले बोझ ठानेर जतिसक्दो छिटो पन्छाउन विवाह गराइएकी कर्किनी आमा कुरुपपनकै कारण श्रीमान्बाट अछूत झैं व्यवहार भोग्छिन्, यौन सुखबाट वञ्चित हुन्छिन् । त्यही अमानवीय भोगाइका कारण श्रीमान्को मृत्युपछि उनले महसूस गर्ने स्वतन्त्रता कतिपय विवश महिलाको अव्यक्त मनोभावको वास्तविकता हुन सक्छ । ‘हँसिया’ कथाले छोराको लागि पुरुषले बहुविवाह गर्दा महिलामा पर्ने विपत्देखि राजनीति र माओवादीको हिंसात्मक विद्रोहसम्मको आयामलाई छोएको छ । कथाकी म पात्र राजनीतिबाट आश्वासन बाहेक केही नपाएका र उल्टै यसको चलखेलमा फसेका जनताको प्रतिनिधि पात्र जस्तो लाग्छ, जो भन्छे– ‘यो राजनीति म जस्ता गरीबका लागि होइन रहेछ र यी नेता पनि हाम्रा होइन रहेछन् ।’ बलात्कार र त्यसमा जोडिएको राजनीतिक जञ्जाल सम्बन्धी यो कथाले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरण स्मरण गराउँछ । समयचेत राख्दै यथार्थको चित्रण गर्न रुचाउने कथाकारले दशक लामो सशस्त्र द्वन्द्वमा लागेका अधिकांशको जीवन कि यथास्थितिमा रहेको कि तहसनहस भएको र सीमित नेताले मात्रै अवसरको लाभ चाखेको तस्वीर प्रस्तुत गरेकी छन् । संग्रहका अरु कथाले पनि समय र समाजलाई दह्रो गरी समातेका छन् । ‘संविधान’ कथाका धेरै पात्र आफ्नै कामदेखि सन्तुष्ट छैनन्, सबैलाई अर्कोले गरिरहेको काम सजिलो र राम्रो लाग्छ । संविधानको अपूर्णता र यसप्रतिको असन्तुष्टिलाई जीवनसँग जोडेको कथाले जीवनमा पनि दुःख–सुख हुने तर त्यसलाई कसरी लिने भन्ने आफैंमा भर पर्ने गुह्यतर्फ संकेत गर्छ ।

शहरिया युवापुस्तामा यौनको खुलापनले विवाहअघि र पछि पाउने फरक परिभाषा र पारिवारिक कलहलाई ‘रोग’ कथाले प्रस्तुत गरेको छ । प्रेममा यौनलाई स्वाभाविक रूपमा लिने विशाखा विवाहअघि आफ्नो हुनेवाला श्रीमान्सँग शारीरिक सम्पर्क गर्छे, ताकि विवाहपछि यौनकै कारण दुईबीच खटपट नआओस् । तर, सम्बन्धलाई दिगो बनाउने उसको त्यही उपाय नै पछि सम्बन्ध बिगार्ने ‘विष’ बनिदिन्छ । श्रीमान्को एकोहोरो प्रताडनाले ऊ मानसिक रोगी बन्छे । यौनको मामिलामा खुल्ने नारीको चरित्रमाथि अनेक लाञ्छना लगाइने प्रवृत्तिले समाजमा पुरुषले महिलालाई हेर्ने दृष्टिकोण सतहमा ल्याउँछ ।

‘साउदी’, ‘प्रश्न’, ‘बेसुर’ लगायतका कथाहरूले वैदेशिक रोजगारीले पारिवारिक जीवनमा ल्याएको उथलपुथल, जातीय छुवाछूतको विकृति र राजनीतिले भुइँमान्छेलाई गरेको उपेक्षा जस्ता विषयलाई उजागर गरेका छन् । मसिना लाग्ने विषय उठान गरिएको कथाहरूमा मुलुकको आर्थिक, राजनीतिक स्थितिले आम मानिसको जीवनयापनमा पारेको असर चित्रण गरिएको छ । तर, केही कथाहरू एकापसमा मिल्दोजुल्दो लाग्दा पाठक खिन्न हुन सक्छन् । एकपछि अर्को कथा पढ्दै जाँदा विषयवस्तु र पात्रहरूबारे अलमल हुन्छ ।

यस बाहेक सरल भाषा–शैलीमा नारी बन्धन, स्वतन्त्रताको आकांक्षा, युवाका सपना, बाटो बिराएको राजनीति जस्ता संवेदनशील पाटो समेटेर कथाकार सुवेदीले प्रखर समयचेत भएको दसी पेश गरेकी छन् ।

मस्त केसी


सशत्ता ‘शान्ता’

अंग प्रत्यारोपण जस्तो पुण्य कर्मबारेको वास्तविक घटनालाई पुरुषोत्तम दाहालले शान्ता उपन्यासमा उतारेका छन् । आफ्नो कलेजो दान गर्ने शान्ता नारीप्रधान यो उपन्यासकी मुख्य पात्र हुन् । उपन्यासकार दाहालकी जीवनसँगिनी शान्ताले मामा प्रा.डा. गोविन्दप्रसाद शर्मालाई कलेजो दिएर बचाएको यथार्थ घटनामा उपन्यास आधारित छ ।

श्रीमतीले कलेजो दान गरेको विषयले असाध्यै छोएपछि उपन्यास लेखेको दाहालले उल्लेख गरेका छन् । रुखो मानिने राजनीतिक विश्लेषणमा अभ्यस्त रहँदै आएका वरिष्ठ पत्रकार दाहाल यस उपन्यासमा कोमल भावनामा अवतरण भएका छन् । उपन्यासमा कलेजो काटेर दिने तिनै महिलाको मनोभाव समेटिएको छ । मानवीयताको महत्व दर्शाउँदै उपन्यासले अंगदानलाई महादानका रुपमा स्थापित गरेको छ ।

पुस्तक शान्ता (उपन्यास)

लेखक पुरुषोत्तम दाहाल

प्रकाशक विद्यार्थी पुस्तक भण्डार

पृष्ठ २७८

मूल्य रु.३७५

यथार्थवादी आख्यानमा पारिवारिक जीवनको सहयोग र समर्पणलाई पनि प्रष्ट देखाइएको छ । उपन्यासमा आफ्नो विषयमा आफैं कठोर निर्णय लिने र त्यसमा अडिग हुने उदाहरणीय र प्रेरक नारीका रूपमा चित्रित छन्, शान्ता । सन् २०१३ मा प्रकाशित यही नामको नेपाली उपन्यासको अंग्रेजी अनुवाद (सन् २०१८) नारायणप्रसाद घिमिरेले गरेका हुन् ।


इतिहासको साबिती

पृथ्वीनारायण शाहले गरेको राज्य एकीकरणलाई आख्यान र गैरआख्यानको विषय बनाउँदै सत्य–तथ्यमा जोख्ने र पुष्टि गर्ने क्रम नयाँ होइन । यसै क्रममा पृथ्वीनारायणको जन्मदेखि राज्य विस्तार र देहान्तसम्मको जीवनकथालाई उनेर लक्ष्मीविलास कोइरालाले सिमाना खोज्दै उपन्यास लेखेका छन् । नेपाल राज्य एकीकरणको महत्व बुझाउने गरी एकीकरण अभियानका सुखद/दुःखद घटनालाई साहित्यिक रङमा रोमाञ्चक रूपमा प्रस्तुत गरिएको छ ।

हिमवत्खण्ड नेपालको चर्चाबाट उपन्यासको उठान गरी गोरखा दरबारमा युवराज पृथ्वीनारायणको जन्म भएको प्रसंगदेखि उनको एकीकरण अभियान, युद्ध वर्णनदेखि ५२ वर्षको उमेरमा भएको देहान्त (वि.सं. १८३१) सम्मको घटना वृत्तान्तलाई आख्यानीकरण गरिएको छ ।

पुस्तक सिमाना खोज्दै (उपन्यास)

लेखक लक्ष्मीविलास कोइराला

प्रकाशक किशोरदत्त मिश्र र रोशन आचार्य

पृष्ठ २९९

मूल्य रु.३७५

उपन्यासमा परिवेश, संवाद आदिमा प्रचुर कल्पनाशीलता प्रयोग गरिएको छ । प्रायः आख्यानमा नायकलाई केन्द्रविन्दुमा राखेर उसकै मात्र एकोहोरो बयान गरिएको पाइन्छ । यो उपन्यासमा भने राज्य विस्तारमा राजाको साथमा हिंडेका गोर्खाली सैनिक र योद्धाहरूको प्रसंगलाई पनि प्रशस्त ठाउँ दिइएको छ । सैनिकको समर्पण भावलाई मार्मिक रूपमा प्रस्तुत गर्नुको अर्थ शायद एकीकरण अभियानलाई नै थप विश्वसनीय पार्ने औजार हुनसक्छ ।

लेखक कोइरालाले इतिहास सम्बन्धी पुस्तकका साथै वेदपुराण, पुरातात्विक प्रमाण आदिको अध्ययन र गोरखाको स्थलगत भ्रमण गरेपछि उपन्यास लेखेको उल्लेख गरेका छन् । आग्रह–पूर्वाग्रहबाट प्रेरित भई इतिहासको सत्यतथ्यलाई छोप्ने वा अतिरञ्जित गर्ने प्रवृत्ति रहेको अवस्थामा ऐतिहासिक साम्रगी र वस्तुस्थितिको अध्ययनपछि तयार यो उपन्यास इतिहास बुझ्न चाहने जिज्ञासुका लागि सुस्वादु र विश्वसनीय हुनसक्छ । साथै, सरल भाषामा रहेको पुस्तक नयाँ पुस्ताको लागि पनि इतिहासको रोमाञ्चक सफर बन्न सक्छ ।

पृथ्वीनारायणको अभियान राज्य एकीकरण गर्ने उद्देश्यबाटै प्रेरित थियो वा राज्य विस्तार गर्ने शासकीय महत्वाकांक्षाको उपज थियो भन्नेमा विवाद र बचाउमा उत्तिकै स्वरहरू सुनिने गरेका छन् । कोइरालाले ‘राष्ट्र, राज्यको निर्माण र विस्तार ऐतिहासिक आवश्यकता थियो’ भन्ने धारणाबाट यो उपन्यास लेखेका छन् । उनले पुस्तकको भूमिकामै ‘आजका युवालाई नेपाल एकीकरणको यथार्थ र पृथ्वीनारायणको जीवन र योगदानबारे जानकारी गराउन उपन्यास लेखेको’ उल्लेख गरेका छन् ।

जीवन कार्की


विसंगत समय

समसामयिक विषयमा सामाजिक यथार्थवादी र अतियथार्थवादीको भावभूमिमा कथा लेख्ने प्रयोगशील कथाकार हुन्, बखतबहादुर थापा । उनको पछिल्लो कथासंग्रह शीर्षकसँगै सरिता मा पनि विविध सामाजिक विषयलाई चामत्कारिक शैलीमा प्रस्तुत गरिएको छ । २३ कथा समेटिएको यो संग्रहमा पैसाको बलमा स्थापित हुने राजनीतिक क्षेत्रको विकृतिदेखि २०७२ सालको भूकम्प र नाकाबन्दीसम्मलाई विषय बनाइएको छ ।

पुस्तक शीर्षकसँगै सरिता (कथासंग्रह)

लेखक बखतबहादुर थापा

प्रकाशक रत्न पुस्तक भण्डार

पृष्ठ १८१

मूल्य रु.२७५

कथाकारले समाजमा दैनन्दिनको जीवन र व्यवहारमा ठोक्किन आउने आम अनुहारलाई कथाका पात्र बनाएका छन् । कथा पढ्दै जाँदा आधुनिक जीवनशैलीसँगै भित्रिएका मधुमेह र रक्तचाप सम्बन्धी रोगबाट पीडितको आहारविहारको दुःखमा बाँच्ने पात्र जति सुपरिचित जस्तो लाग्छ, तामझामपूर्ण शहरको एउटा कुरुप पाटो प्रदूषण र डेरामा बस्नेको व्यथाले पाठकको ठूलो घेरालाई बाँध्ने क्षमता राख्छ । उनका कथामा यमराज, महादेव जस्ता अलौकिक पात्रको हर्कत जति रोचक छ, यस्ता ‘सर्रियल’ विषयवस्तुको मोहले कथाकार अतिप्रयोगको जोखिममा फसेर एकनासेपन देखिने डर पनि छ ।

comments powered by Disqus

रमझम