२२-२८ असार २०७६ | 7-13 July 2019

नेपाल–भोट युद्घ बाटो मर्मत र अन्नको भाउ

Share:
  
- ज्ञानमणि नेपाल
केरुङ सीमा नाकामा रसदपानी राख्न ठूला गोदामघर बनाएर अन्न किन्ने तर्खर हुँदैथियो । त्यहाँ खतिएका जमदारले अन्नको भाउ चिठी मार्फत जर्नेललाई पठाएर खरिदको आदेश पर्खेका थिए ।

भोटसँगको युद्धको तयारीका लागि जमदार अ‍ैमान खत्री र नौसिन्दा राजमानले केरुङ जाने सीमा नाकामा आवश्यक बन्दोबस्त मिलाइरहेका थिए । उनीहरूले अन्न राख्ने चार वटा ठूल्ठूला गोदामघर बनाएर सिकर्मी र डकर्मीहरूलाई बिदा दिए । थप गोदामघर बनाउन आदेश आए बनाउन लगाउने व्यहोरा उनीहरूले जर्नेल कृष्णबहादुर कुँवर राणालाई चिठीमा लेखेका थिए । बाटो बिग्रिएको र बनाउने काम भइरहेको, एउटा पुलको मर्मत कार्य गर्नुपर्ने पनि जानकारी गराइएको थियो । खर्च अभावले पिरोलेकाले गुजारा चलाउनै गाह्रो परेको बारे पनि चिठीमा उल्लेख गरिएको थियो ।

युद्ध प्रयोजनका लागि अन्न किनेर गोदामघरमा राख्नै बाँकी थियो । अन्न खरीद गर्न केरुङमा प्रचलित भाउ जर्नेल कृष्णबहादुरसमक्ष जाहेर गरिएको थियो । जस अनुसार करु (एक किसिमको अन्न) र गहुँ १ रुपैयाँको ८ पाथीका दरले पाइने तर भुटेको गहुँ १ रुपैयाँमा ८ पाथीका दरले माग्दा व्यापारीले गाह्रो मान्ने रहेछन् । मकै र कोदो किन्नु कि नकिन्नु भनेर चिठीमा सोधिएको थियो । कुन अन्न पिस्नु र कुन भुट्नु भन्ने खबर आए त्यसै अनुसार काम गर्ने योजनामा जमदार अ‍ैमान र नौसिन्दा बसेका थिए । प्रधानमन्त्री जंगबहादुर राणाले २०० रुपैयाँको नून किन्न आदेश दिए पनि राख्ने ठाउँ चिसो भएकाले त्यतै पठाउने कि के गर्ने भन्ने अन्योलमा उनीहरू थिए । आगो बाली धुवाँ लगाएर चिसो घर सेकाइरहेको उनीहरूले चिठीमा लेखेका थिए ।

चीनलाई युद्धमा सघाउन आएको भने पनि नेपाली फौजले सीमा नाकामा रसदपानी र मालमत्ता बोक्ने भेडाहरूको जोहो गरिरहेको थियो । त्यसबारे भोटेहरूले शंका गरेर भेडाहरू किन चाहियो भनेर सोध्ने गर्थे । त्यसरी सोध्नेलाई के जवाफ दिनु भनेर अ‍ैमानले जर्नेललाई चिठीमा सोधेका थिए । ल्हासाको औतारी कर्म लामा र एक जना चिनियाँ केरुङ आएको खबर सुनेको, तिनीहरूको साथमा अरू कति जना छन्, घोडा कति छन् भनेर बुझन यताबाट मानिस पठाएको पनि चिठीमा जानकारी गराइएको थियो ।

उता, सुब्बा मानसरोवरले प्रधानमन्त्रीलाई लेखेको चिठीमा पानी परेकोले पहिरो गएर नून आउन कम हुँदा १ रुपैयाँको साढे चौध मानामा झरेको र त्यो पनि किनेको उल्लेख गरेका थिए । तिहारसम्ममा १५/१६ माना हुने आशा गरेका थिए । उनले मकै १ रुपैयाँको १८ पाथीका दरले २५/२६ सयको किनेका थिए । भोट लैजान लागेको बारुद कर्म प्याङ र तीन धार्नी सिसा जफत गरी जरिवाना पनि गरेका थिए । त्यसै बापत यताबाट स्याबासी पनि पाएका थिए । अन्न किनेर भर्न, जोख्न र गोदाममा थन्क्याउन दुई/दुई जनालाई लगाउँदा नभ्याउने, चार/चार जना चाहिने भनेर तहबिल्दार कराइरहेको र ढुङ्गा फोर्ने अरू सिपाही पनि चाहिएको उनले प्रधानमन्त्रीलाई अवगत गराएका थिए ।

यस वर्ष कुतीमा नून लिन धेरै ढाक्रेहरू गएकाले १ रुपैयाँको २१/२२ मानासम्मको दरले ल्याउने सुब्बा मानसरोवरको विश्वास थियो । कागते हुलाकीमा बाहुनहरू मात्र भएको र आफूहरूलाई पनि राख्नुपर्‍यो भनेर गुरुङहरूले कराइरहेको, बाहुनहरूले ३२ जनाको नाम पठाएको र अन्यत्र हुलाकी अड्डा घर थपेर तिनलाई राख्ने कि के गर्ने भनेर पनि सुब्बाले सोधेका थिए ।

ठाउँ ठाउँका मुखिया मिझरेहरूले अन्नको भाउ तोकेर लेखेका थिए । वि.सं. १९११ मा विभिन्न अन्नको ठाउँठाउँका भाउ लेखिएको थियो ।


श्रीजनरल कृष्णबहादुर कुवर राणाजीका हजुरमा जमादार अ‍ैमानखत्री नौसिंदा राजमानले लेखीचह्राई पठायाको

उप्रांत पैंतीस हातको घर २ उनंतिस हातको घर १ हात १८ गज ११ का घर ४ सिध्याञा वोर्सिकर्मिलाई विदादिञा हजुरबाट मर्जिभयाबमोजिम सिद्धियो फेरि बनाउनपर्छ भन्या बनाउला. घरलाई कसोहोला भन्या फिक्रि मान्न पर्दैन. कोदो मकै लिनु पर्छ कि पर्दैन. गहुँकरुको भाउ मोहररुपैया १ को पाथि ८ का दरले हामीले खाञ्यू. भुट्याको गहु करु रुपैयाँ १ का पाथी ८ देउ भन्दा अलिक गाह्रो मान्छ. कुन कुन कुरो पीधनु कुन कुरो भुट्नु. येस कुराका निस्तुक पाया काम गरुला. बाटो सगल्ती विग्य्राको छ, बनाउन लागी रहजाछ. त्रीशूलगंगाको साँघु १ विग्य्राको छ, यो पनि बनाउँला. जोर चार्ताल्चा ठैमल्समेत् थेत्को पठाईवक्सनु भयाकोमा लाउला. खर्चले साह्रो सिकिस्ता परेको छ, क्या खाई काजहुन्छ. २०० सये रुपैयाँको नुन किनु भंन्या श्रीप्राइममिनिष्टरका चिठीमा लेखी आयाको थियो. नुनकिनि ताहा पठाउँकि ञाहा राखुँ घर भन्या चिसो छ. आगो बाली धुँवा गराउँदै छु. चावल, गहुँकरु, मकै, कोदो थुनि ञापछि नुनपनि भाउ घटाउ भन्या ढेबाले कुरा गर्‍यो भन्यां खलकीबोली सुनिन्छ. नुन केरुं मा जाई किंनु कि ञाहि किन्नु. भारि वोकन्या भेडाको काम क्याहो भनि भोट्या कराउछन्. इनहरूलाई क्या जवाफ दिन्याहो. ल्हासामा बस्न्या औतारी लामा कर्म भन्याको १ चिनिया १ केरुं मा आइपग्या भन्या कुरा धर्माको लामा सिंभुमा वस्न्या मानिसले ल्यायाको समाचार हो. मानिसको लस्कर कति छ घोडा कति छ भनि मैले पनि मानिस तहकित गर्न पठाइ राख्याछु.

१९११ साल मिति कार्तिक बदि ६ रोज ५ शुभम्.

श्रीप्राइममिनिष्टरबाट सुवा मानसरोबरसिंके लेखीगयाको

उप्रान्त नुन खरिद गर्दा पैरो गै साँगु भत्कदा भाउघटी हुन जानाले साढे चौधमानामा भाउमा खरिद गर्‍याको र तिहारताकमा १५/१६ मानाजो बढला सो माफिक गरुला. भन्या विस्तार वढियालेखीस्. मकैका कुरालाई रुपैयाँ १ को भाउ पाथी १८ का दरले २५/२६ सयेको खरिद गन्र्या काम वेस भयेछ. भोट लैजान लाग्याको बारुद प्याङ १ सिसा धार्नी ३ के जफत गर्‍या १ र भोट जान्या खोलियाका चिठी र चौरि भेडाका जांचको कागज १ समेत पठायाको आइपुग्यो. सिसा पठाउन्यालाई जरिवाना समेत् भयो. वारुद प्या आयाको नौसिंदाले मुलगोमथान गोदाममा राख्या भन्र्या तौलन्या गोदामपिछे जना ४/४ राखीदेउ भनि तहवील्दारहरू कराउछन्. हालनु, भर्नु, तौलनुमा २/२ जना राख्याछु. खाना दानाको बन्दोबस्त ख्वामिदबाट जो मेहेर होला. सो पाउन्याछ भनिराख्याको छ. भर्नु तौलनुमा २/४ जनाले गरिसक्न्या जस्तो छैन भन्याझैं लाग्छ. जोमर्जि बाटाको कुरालाई ढुंग्या सिपाही विंती चह्राई पठायाको हो. आयेन कुतितिरका समाचारका अर्थलाई खानापीनामा हाहाकार भैरहेछ भन्या सुनिंछ कुतिबाट मलाई लेख्याको चिठी जवाफ लेखनु सकेन हजुरमा चिठी चह्राई पठायाको छ. अघि अघि भंदा यो साल नुन लिन ढाक्य्रा बहुतै गया. २०/२१/२२ मानाका दरले वरावर ल्याउँदै छन्. औ ठागाम अड्डाका कागत्याहुलाकि लिख्ति डाँडागाउँको गुरुंघर २४ थर घरले दरिगयाछन्. बाहुनहरू बस्न्या हामीहरू वस्नपर्‍यो भनि गुरुंहरू कराउँछन्. चिमलिको बाहुनहरूले ३२ जनाको नाउँ लेखिल्यायाको छन्. गुरुंहरूझ्कि ति वाहुनहरू राखि नपुग्याको अड्डा थपी बाहुनहरू राखी दिउकी जोमर्जि. सुवेदार अनुपसिं खतृ पनि मेरा साथमा छन्. २ जनाको सध्या हामीत मर्जि भयाबमोजिम टहलगर्न लागिराख्याछ.\

१९११ साल मिति कार्तिक वदि १३ रोज ५ शुभम्

म्थुम्को भला मानिस थरिमुखिया मिझर गौंरुंहरूले राजीसंग दियाको भाउ

पैर्‍या गोदामको भाउ मोहर रुपैयाँ १ के

फल्याको चावल पाथि ....६ फल्याको कोदो पाथि १२ के पीथो धार्नी १७ के  

मास पाथि ......५ मकै पाथि १२ के पीथो धार्नि १७ के

सिनकि पाथि ........६ सिमि पाथि ..........८

पिना पाथि .........५ च्यूरा पाथि .......७/४

कागुना पाथि .......१४ फापर पाथि ..........१२   गोमथान गोदामको भाउ मोहर रुपैयाँ १ के

फल्याको चावल ....५/४ फल्याको कोदो पाथी ......१२

ऐको पिठो धार्नि ......१७ के  मास पाथी .....४      सिमि पाथि ......१० मकैपाथि १२ के पिठो धार्नि ......१७

पिना पाथि ........४ सिनकि पाथि .....६

कागुना पाथि .........१२ च्यूरा पाथि .......६/४

फापर पाथि .....१२

लिस्ति गोदामको भाउ मोहर रुपैयाँ १ के

फल्याको चावल पाथि .......५ मास पाथि ......३/४

सिमि पाथि .......८ पिना पाथि .......३/४

कागुना पाथि .......१२ फल्याको कोदो पाथि १२ के

पीथो धार्नी १७ के

मकै पाथि १२ के पिठो धार्नी १७ के ....१/९

सिनकि पाथि ......६ च्यूरा पाथि ......६ फापर पाथि ....१२

तिनै गोदाममा मकैको सातु मोहरु १ के धार्नि ....१६

comments powered by Disqus

रमझम