२२-२८ असार २०७६ | 7-13 July 2019

११ र १२ कक्षाका उत्कृष्ट ३२ विद्यालय

Share:
  

किस्ट कलेज, कमलपोखरी ।
शिक्षा ऐन, २०२८ को आठौं संशोधनपछि माध्यमिक शिक्षामा परिणत भएको कक्षा ९ देखि कक्षा १२ सम्मलाई विश्वविद्यालय प्रवेशको आधारशिला मानिन्छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) पछि कक्षा ११ पढ्न विद्यार्थी अभिभावक दुवै राम्रो विद्यालयको खोजीमा हुनु स्वाभाविक हो । किनभने गुणस्तरीय शिक्षाका लागि विद्यार्थीको लगनशीलतासँगै राम्रो शैक्षिक संस्था पनि अपरिहार्य छ ।

तर, कस्तो विद्यालयलाई राम्रो मान्ने ? यसबारेमा जानकारहरूकै फरक–फरक मत पाइन्छ । परीक्षाको नतिजा, सिर्जनशीलता, व्यावहारिक ज्ञान, विद्यालयको भौतिक पूर्वाधार, शिक्षक तथा सञ्चालकहरूको पृष्ठभूमि, शिक्षण विधि आदि हेरेर राम्रो विद्यालय छान्नुपर्ने शिक्षाविद्हरूको सुझव छ । विद्यार्थी र अभिभावकलाई राम्रो विद्यालय छनोटमा मद्दत पुगोस् भनेर हिमाल ले कक्षा ११ र १२ को पढाइ हुने उत्कृष्ट विद्यालयको सूची प्रकाशित गरेको छ, जसको लागि देशभरिका ३ हजार ५८५ विद्यालयमा राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षालाई आधार बनाइएको छ ।

गत वर्ष (२०७५ मा) नियमिततर्फ कक्षा १२ मा २ लाख ९९ हजार ५७१ विद्यार्थी सहभागी थिए । ग्रेडिङ प्रणाली अनुसार प्रकाशन भएको नतिजामा कोही उत्तीर्ण वा अनुत्तीर्ण हुँदैनन् । तर, हिमाल ले उत्कृष्ट विद्यालयको सूची निकाल्दा ग्रेड प्वाइन्ट एभरेज (जीपीए) २.४१ भन्दा माथि आफ्नो कुल विद्यार्थी संख्याको ८० प्रतिशत पास गराउन सफल विद्यालयलाई समेटेको छ । साथै विगत पाँच वर्षदेखि कम्तीमा ३० जना विद्यार्थीलाई परीक्षामा सहभागी गराएर कक्षा १२ मा निरन्तर ८० प्रतिशतभन्दा बढी उत्तीर्ण गराउन सफल विद्यालय यसमा सूचीकृत भएका छन् । डेढ दशकदेखि हिमाल ले एउटै मापदण्ड अनुसार उत्कृष्ट विद्यालय छनोट गर्दै आएको छ । यस वर्ष काठमाडौं उपत्यका बाहिरका १३ सहित कुल ३२ विद्यालय उत्कृष्ट सूचीमा परेका छन् । विद्यालयलाई पाँच वर्षको औसत नतिजाको आधारमा प्रस्तुत गरिएको छ ।

गत वर्ष उत्कृष्टमा परेका नेशनल स्कूल अफ साइन्सेज् (काठमाडौं), लिटिल एन्जल्स् स्कूल (ललितपुर), नोबल एकेडेमी (काठमाडौं), अरनिको आवासीय स्कूल (मोरङ), सेन्ट मेरिज सेकेण्डरी स्कूल (नयाँगाउँ, कास्की) र एसओएस हर्मन माइनर (काभ्रे) यो वर्ष २.४१ भन्दा माथिको जीपीएमा कुल विद्यार्थीको ८० प्रतिशत उत्तीर्ण गराउन असफल भएकोले यो सूचीमा समेटिएका छैनन् । गत वर्ष उत्कृष्टमा नपरेका नेशनल सेकेण्डरी स्कूल (बालकुमारी, ललितपुर), सैनिक आवासीय महाविद्यालय (पोखरा, कास्की), विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय (काठमाडौं), एसओएस हर्मन माइनर (वीरेन्द्रनगर, सुर्खेत) र द न्यू समिट सेकेण्डरी स्कूल (पुरानो बानेश्वर, काठमाडौं) यो वर्ष उत्कृष्ट विद्यालय छनोट भएका छन् ।

comments powered by Disqus

रमझम