२२-२८ असार २०७६ | 7-13 July 2019

विद्यालय शिक्षा सुधारका लागि सुझाव

Share:
  

शिक्षा प्रणालीलाई व्यावहारिक, सीपयुक्त र उद्यमशील बनाउन के गर्नुपर्ला ? हिमाल को यो प्रश्नमा विभिन्न विद्यालयका नेतृत्वहरूबाट आएको सुझावः

व्यावहारिक सिकाइ

एचसी लामिछाने

प्राचार्य, क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर,

कोटेश्वर, काठमाडौं

हामीकहाँ समाज एकातिर र शिक्षा अर्कोतिर हुँदा समस्या निम्तिएको हो । त्यसैले सबैभन्दा पहिले शिक्षालाई समाजसँग जोड्नुपर्छ । समाजले श्रम, संस्कृति, संस्कार, नैतिकता आदिको माग गर्छ । विद्यार्थीको दक्षता, धारणा र मूल्य–मान्यता निर्माणमा पाठ्यक्रमका साथै विद्यालय र शिक्षकको पनि ठूलो भूमिका हुन्छ । त्यसैले समग्र शैक्षिक कार्यक्रम विद्यार्थीको सर्वाङ्गीण विकासमा केन्द्रित हुुनुपर्छ । हामीले लामो समयसम्म कक्षाकोठा, किताब, परीक्षा आदि नै पढाइ हो भन्दै आयौं । त्यस्तो कोरा शैली छाडेर अब सिकाइतिर केन्द्रित हुनुपर्छ । जीवन र व्यवहारसँग जोडिएको सिकाइ प्रभावकारी र दिगो हुन्छ ।

प्रयोगात्मक शिक्षा आवश्यक

सुरेन्द्र सुवेदी

प्राचार्य, काठमाडौं मोडेल सेकेण्डरी स्कूल,

बालकुमारी, ललितपुर

शिक्षण संस्थाहरूको शैक्षिक गुणस्तर बढाउन सिकाइ प्रक्रिया नै फेरिनुपर्छ । त्यसका लागि समय र समाज सुहाउँदो पाठ्यक्रम, पर्याप्त पूर्वाधार र सक्षम शिक्षक हुनुपर्छ । व्यावहारिक पठनपाठन र अतिरिक्त क्रियाकलाप नियमित गर्नुपर्छ । परीक्षामा राम्रो ग्रेड ल्याउने मात्र मनसाय नराखी ज्ञान र सीपलाई जोडेर प्रतिस्पर्धी शिक्षा दिनुुपर्छ । प्रयोगात्मक शिक्षा अत्यन्तै आवश्यक छ ।

भूगोल अनुसारको पाठ्यक्रम

विष्णुहरि पाण्डे

प्रमुख कार्यकारी अधिकृत, एभरेष्ट कलेज,

थापाथली, काठमाडौं

शैक्षिक गुणस्तर सुधार्न भूगोल अनुसारको पाठ्यक्रम निर्माण आवश्यक छ । हाम्रो देशलाई कस्तो जनशक्ति आवश्यक छ भन्ने अध्ययन गरेर सोही आधारमा पाठ्यक्रम बनाउँदा ‘शैक्षिक बेरोजगार’ को समस्या निराकरण हुन्छ । शिक्षालाई कामसँग जोड्न पाठ्यपुस्तक, परीक्षा केन्द्रित शिक्षण पद्धति र राम्रो अंकको भुलभुलैयालाई छाड्नुपर्छ । जीवनमा कस्तो ज्ञान र सीपको खाँचो पर्छ, विद्यार्थीलाई त्यसै अनुरूपको शिक्षा दिनुपर्छ । अहिले भएको सीमित कोर्सको दायरा फराकिलो पारेर विद्यार्थीलाई छनोटको अवसर दिनुपर्छ । पुस्तकालय, प्रयोगशाला, कम्प्युटर जस्ता स्रोत–साधनको बढीभन्दा बढी प्रयोग तथा अतिरिक्त क्रियाकलाप भइरहनुपर्छ, यसले सिकाइको वातावरणमा सकारात्मक प्रभाव पार्छ ।

प्रणाली परिवर्तनको खाँचो

नरेश श्रेष्ठ

प्रमुख कार्यकारी अधिकृत, समृद्धि स्कूल एण्ड कलेज,

बालाजु, काठमाडौं

विद्यालय तहदेखि नै व्यावहारिक, समाज उपयोगी र नैतिक शिक्षामा जोड दिनुपर्छ । ज्ञानसँगै सीपमा केन्द्रित जीवनोपयोगी शिक्षा हुनुपर्छ । अहिले १२ कक्षा पास गर्नासाथ विद्यार्थी विदेश जान हतारिन्छन् । यसको कारणबारे गहिरो अध्ययन र समीक्षा गरी अहिलेको शैक्षिक प्रणाली परिवर्तन गरेर विद्यालय शिक्षामा सुधार ल्याउन अत्यावश्यक भइसकेको छ ।

वैज्ञानिक सीप

कविराज राई

कार्यकारी निर्देशक,

आइन्स्टाइन एकेडेमी, महालक्ष्मीस्थान, ललितपुर

विश्वबजार सुहाउँदो जनशक्ति उत्पादन गर्न सरकारी नीति र पाठ्यक्रम नै परिर्वतन गर्नुपर्छ । कम्तीमा पाँच/पाँच वर्षमा पाठ्यक्रम परिमार्जन गर्नुपर्छ । जीवन पद्धतिसँग जोडिने वैज्ञानिक सीपयुक्त शिक्षा नभए शैक्षिक बेरोजगारको चाप बढ्नेछ र देश झनै पछि पर्नेछ । देशलाई कुन किसिमको जनशक्ति चाहिन्छ, त्यसै अनुसारको पाठ्यक्रम बनाएर सीपमूलक शिक्षा दिन जरूरी छ । यसका लागि सरकार र निजी क्षेत्र सहकार्य गरेर अघि बढ्नुपर्छ ।

प्रभावकारी डिजिटल प्रणाली

सम्झना बस्न्यात

प्राचार्य, आईएसटी कलेज,

ज्ञानेश्वर, काठमाडौं

सर्टिफिकेटका लागि पढ्ने/पढाउने प्रवृत्ति छाडेर व्यावसायिक ढाँचाका कोर्सहरूमा केन्द्रित हुनुपर्छ । डिजिटल प्रणाली र सामूहिक छलफलमा आधारित सिकाइ प्रणाली शुरू हुनुपर्छ, जसले गर्दा विद्यार्थीले सुन्ने, हेर्ने, सोचविचार र तर्क गर्ने वातावरण एकैचोटि पाउँछन् । यस्तो शैलीले विद्यार्थीको अभिव्यक्ति तथा सिर्जनात्मक क्षमता वृद्धि गर्दै विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न सघाउँछ । ‘सिकाएर पढाउने’ र ‘गराएर बुझाउने’ पद्धतिमा अगाडि बढ्नु अबको शिक्षाको विकल्प हो ।

जीवनोपयोगी शिक्षा

डा. स्वागत श्रेष्ठ

अध्यक्ष, काठमाडौं भ्याली सेकेण्डरी स्कूल,

छाउनी, काठमाडौं

विद्यार्थीको मनोविज्ञान अनुसारको सिकाइ पद्धति अपनाउँदै जीवनोपयोगी शिक्षा दिनुपर्छ । सर्वाङ्गीण विकासमा जोड दिंदै समाजमा पारस्परिक सहकार्यको भावना बढाउने लगायत व्यावहारिक कुरामा पनि मार्गदर्शन गराउनुपर्छ । पढाइसँगै विद्यार्थीमा अन्तरनिहित प्रतिभा पहिचान गरी परिवार, समाज र देशका लागि असल र योग्य नागरिक निर्माण गर्न सक्नु शिक्षा नीतिको सार्थकता हो । यसका लागि अभिभावक, शिक्षक, विद्यालयदेखि नीति निर्मातासम्मले मनन गर्नुपर्छ ।

आधुनिक पाठ्यक्रम आवश्यक

पवनकुमार थापा

निर्देशक, बेलर इन्टरनेशनल एकेडेमी,

बनेपा, काभ्रे

विद्यार्थीको मनोविज्ञान अनुसारको आधुनिक पाठ्यक्रम बनाएर पढाउँदा राम्रो नतिजा निस्कन्छ । अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै स्थान दिनुपर्छ । किताबको गह्रुँगो झोलाले शिक्षाको गुणस्तर साबित गर्दैन, व्यावहारिक शिक्षा नै आजको माग हो । विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी र अभिभावकको साझा प्रयासबाट शिक्षाको गुणस्तर सुधार्न सकिन्छ । त्यसमा सरकारका नीतिनियम पनि अन्तर्राष्ट्रिय अभ्यास अनुसारका हुनुपर्छ ।

प्राविधिक शिक्षा

श्यामसुन्दर श्रेष्ठ

सहायक प्राचार्य, टेक्सास इन्टरनेशनल सेकेण्डरी स्कूल,

मित्रपार्क, काठमाडौं

शैक्षिक सुधारका लागि समयानुकूल पाठ्यक्रम, उपयोगी पाठ्यसामग्री र योग्य शिक्षक चाहिन्छ । कक्षाकोठाको वातावरण र सिकाइको शैली विद्यार्थीमैत्री हुनुपर्छ । विद्यालयमा पुस्तकालय, प्रयोगशाला जस्ता स्रोत–साधनको व्यापक प्रयोग गर्नुपर्छ । यसले सिकाइमा सकारात्मक भूमिका खेल्छ । त्यसैगरी व्यावसायिकतामा टेवा दिने प्राविधिक शिक्षा र जीवनोपयोगी सीपमा जोड दिनु आवश्यक छ ।

सिर्जनशील शिक्षकको खाँचो

शंकरप्रसाद गैरे

प्राचार्य, द टाइम्स इन्टरनेशनल स्कूल/कलेज,

डिल्लीबजार काठमाडौं

अहिलेको शिक्षा प्रणालीलाई जरैदेखि बदल्न आवश्यक छ । विद्यार्थीले २०५६ सालदेखि एउटै कोर्स पढिरहनुपरेको छ । पाठ्यक्रमलाई युग सुहाउँदो, समाज अनुकूल, प्रविधिमैत्री, व्यावसायिक र व्यावहारिक बनाउनुपर्छ । शिक्षा प्रणालीबाट कुशल नागरिक उत्पादन गर्न सुव्यवस्थित पूर्वाधार र पाठ्यपुस्तक मात्र भएर पुग्दैन, ज्ञान दिने शिक्षक वर्ग आफ्नो पेशाप्रति जिम्मेवार र सिर्जनशील हुनुपर्छ । शिक्षकको क्षमता बढाउन निरन्तर तालिम आधारभूत कुरा हो ।

लगानीको विवेकसम्मत प्रयोग

बरुण पन्थी

कार्यक्रम निर्देशक, नेपाल मेगा कलेज,

बबरमहल, काठमाडौं

सैद्धान्तिक पढाइले विद्यार्थीलाई शैक्षिक योग्यता त दिन्छ, तर क्षमता र सीप नदिने भएकाले व्यावहारिक शिक्षा आजको आवश्यकता हो । शिक्षामा अर्बौं रुपैयाँ लगानी भइरहे पनि त्यो रकम उन्नत र प्रभावकारी शैक्षिक कार्यक्रममा खर्च भइरहेको छ कि छैन भनेर समीक्षा गर्नुपर्ने बेला भएको छ । त्यसका लागि सरकारले व्यावसायिक शिक्षामा बढावा दिने शिक्षा नीति ल्याउनुपर्छ । प्राविधिक शिक्षालाई सबैको पहुँचमा पु‍र्‍याउन सके दक्ष जनशक्ति उत्पादन हुन्छन् ।

सर्वाङ्गीण विकास जरूरी

हरिसिंह केसी

सहायक प्राचार्य, साउथ वेस्टर्न स्टेट सेकेण्डरी स्कूल,

बसुन्धरा, काठमाडौं

किताबी ज्ञान र शिक्षकको एकोहोरो व्याख्यानले विद्यार्थीको सर्वाङ्गीण विकास गर्न सक्दैन । व्यावहारिक शिक्षण पद्धति, समुदाय र प्रकृतिसँगको घुलमिल र नियमित मूल्यांकनले विद्यार्थी प्रतिस्पर्धी बन्ने हुन् । विश्वमा आएका नवीनतम प्रविधिबारे विद्यार्थीलाई जानकारी गराइरहनुपर्छ । विद्यार्थीको सिर्जनशीलता बढाउने कार्यमा शिक्षककै भूमिका हुने भएकाले उनीहरूलाई बेलाबेलामा तालिम दिनु महङ्खवपूर्ण हुन्छ ।

नैतिक शिक्षा जरूरी

डा. डम्बरसिंह ऐर

प्राचार्य, किस्ट कलेज एण्ड सेकेण्डरी स्कूल,

कमलपोखरी, काठमाडौं

हाम्रो शिक्षाको सैद्धान्तिक पक्ष बलियो भए पनि यसलाई व्यावहारिक पाटोसँग जोड्न छुटिरहेको छ । पाठ्यपुस्तकमा मात्र केन्द्रित नभई सीपमूलक ज्ञान, नैतिक शिक्षा, समाजसँगको घुलमिल आदि कुरामा ध्यान दिने शिक्षालय अबका आवश्यकता हुन् । हरेक विद्यार्थीमा अन्तरनिहित प्रतिभा, क्षमता र सीपलाई प्रस्फुटन गर्ने अवसर दिनुपर्छ । यसले उनीहरूमा आत्मविश्वास बढ्छ ।

समस्या मूल्यांकन प्रणालीमा

मेदिन लामिछाने

प्राचार्य, यूलेन्स स्कूल,

खुमलटार, ललितपुर

पाठ्यक्रम, मूल्यांकन प्रणाली र कक्षाकोठाको वातावरणमा सुधार नल्याई विद्यालय शिक्षा सुधार हुन सक्दैन । पाठ्यक्रममा भन्दा ठूलो समस्या मूल्यांकन प्रणाली र कक्षाकोठामा छ । समाज र प्रणालीले शिक्षकलाई विश्वास नगर्दा पनि शैक्षिक क्षेत्रमा उत्साह मरे जस्तो स्थिति देखिएको छ, त्यसैले हामीले मानसिकता परिवर्तन गर्नुपर्छ । समयसापेक्ष रूपमा विज्ञान र प्रविधिमा आधारित संस्कारयुक्त शिक्षामा जोड दिनुपर्छ । विद्यार्थीले उच्च मनोबलका साथ हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्ने बनाउन विद्यालय, शिक्षक र अभिभावकको साझा प्रयास हुनुपर्छ ।

अनुसन्धानमा जोड

नन्दुप्रसाद कुशवाह

सहायक प्राचार्य,

रिलायन्स एकेडेमी, काठमाडौं

अहिलेको पाठ्यक्रमलाई व्यावहारिक बनाउन सकिने ठाउँ थुप्रै छन् । त्यसका लागि प्रविधि र अनुसन्धानमा लगानी बढाउनुपर्छ । विद्यार्थीलाई शैक्षिक तह र उमेर अनुसारको अनुसन्धानमा सहभागी गराउन सकिन्छ । अनुसन्धानका लागि विद्यालय र विश्वविद्यालय आफैंसँग ल्याब हुनुपर्छ । शिक्षामा सैद्धान्तिकमा ६० र प्रयोगात्मकमा ४० प्रतिशत हुनुपर्ने अन्तर्राष्ट्रिय मान्यतालाई हामीकहाँ पनि कडाइका साथ लागू गरिनुपर्छ । विद्यार्थीको आन्तरिक मूल्यांकन गर्ने अधिकार विद्यालय र शिक्षकलाई दिनुपर्छ ।

स्पष्ट नीतिको खाँचो

इन्द्रबहादुर मल्ल

प्राचार्य, नेशनल इन्टिग्रेटेड कलेज/निक मावि,

डिल्लीबजार, काठमाडौं

शिक्षा जस्तो महङ्खवपूर्ण क्षेत्रमा सरकार स्पष्ट हुन जरूरी छ । त्योसँगै उपयोगी पाठ्यक्रम बनाएर पर्याप्त पूर्वाधारको व्यवस्था गरी विद्यालयमा बाह्य शिक्षण क्रियाकलाप र सन्दर्भ सामग्रीको प्रयोगमा बढावा दिनुपर्छ । सिकाइलाई कक्षाकोठामा सीमित नगरी जीवन–जगतसँग जोड्न सामाजिक अन्तरक्रिया पनि जरूरी हुन्छ । अवलोकन भ्रमण र डिजिटल कक्षा पनि प्रभावकारी सिकाइका शर्त हुन् ।

स्रोत उपयोगी पढाइ

ऋषिप्रसाद न्यौपाने

प्राचार्य, जुबिलेन्ट स्कूल/कलेज,

कालीमाटी, काठमाडौं

हाम्रो शिक्षा प्रणाली मुलुकको आवश्यकतासँग गाँसिएकै छैन । कृषि, वन, पर्यटन लगायत हाम्रो स्रोतलाई उपयोग हुने शिक्षामा जोड दिइनुपर्छ । यसले दक्ष जनशक्तिको अभाव पनि पूर्ति गर्छ । शिक्षालाई उत्पादनसँग जोड्ने पाठ्यक्रम अहिलेको प्रमुख आवश्यकता हो । तत्कालका लागि भएकै पूर्वाधार र स्रोत–साधनको प्रयोग गरेर सीपमूलक शिक्षा दिनुपर्छ । विस्तारै सरकारले व्यावसायिक शिक्षालाई बढावा दिने नीति ल्याउनु उचित हुन्छ । नयाँ विद्यालय/कलेजलाई अनुमति दिंदा समाज अनुकूल शिक्षा दिनेलाई प्राथमिकता दिनुपर्छ ।

आवश्यकतामा आधारित

हेमन्त बराल

निर्देशक, नेशनल स्कूल अफ साइन्सेज्,

लैनचौर, काठमाडौं

देशमा आवश्यक जनशक्तिको आधारमा कोर्स डिजाइन हुनु जरूरी छ । शिक्षा भनेको जीवन सहज बनाउने र आत्मनिर्भर बनाउने बाटो हो । त्यसैले नीतिनिर्माताहरूले प्रयोगात्मक र भविष्यमा काम लाग्ने पाठ्यक्रम बनाउनुपर्छ । आजको आवश्यकता पूर्ति गर्ने समसामयिक कोर्स आवश्यक भइसकेको छ ।

सिर्जनशील शिक्षा

केशव जोशी

प्राचार्य, अरुणिमा सेकेण्डरी कलेज,

बौद्ध, काठमाडौं

शिक्षा र श्रमको संयोजन नै समाज रुपान्तरणको मुख्य आधार हो । क्रियाकलापमा आधारित सिकाइ, सीपमूलक एवं कार्यगत क्षमता विकास पाठ्यक्रमले पढाइलाई श्रमसँग जोड्न भूमिका खेल्छ । बालबालिकामा श्रमको सम्मान गर्ने बानीको विकास र सोही अनुरुपको पढाइले उद्यमशीलता बढाउँछ ।

comments powered by Disqus

रमझम