२२-२८ असार २०७६ | 7-13 July 2019

विषादी परीक्षण: तयारीविनाको निर्णयले सास्ती

Share:
  
सरकारले पूर्वाधार र जनशत्ति तयार नगरी आयातित फलफूल र तरकारीको नाकामै परीक्षण अनिवार्य गरेपछि व्यवसायी र उपभोत्ता दुवै मर्कामा परेका छन्।

भारतबाट तरकारी र फलफूल लिएर आएका गाडीहरु भैरहवा भन्सार कार्यालय परिसरमा । बिक्रम खड्का
भारतबाट आयात हुने तरकारी र फलफूलमा अत्यधिक विषादी मिसिएको गुनासो बढेपछि सरकारले सीमामै विषादी परीक्षण अनिवार्य गरेको छ । २ असारमा राजपत्रमा प्रकाशित निकासी पैठारी सम्बन्धी आदेशमा ताजा फलफूल तथा तरकारी अनिवार्य परीक्षण गरेर मात्रै भित्र्याउनुपर्ने उल्लेख छ ।

उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखी गरिएको यो निर्णय स्वागतयोग्य भए पनि सीमा क्षेत्रमा विषादी परीक्षणका लागि पूर्वाधार र आवश्यक जनशक्ति नहुँदा व्यवसायी र उपभोक्ता अप्ठ्यारोमा परेका छन् । अहिले भैरहवा नजिकको बेलहिया नाकामा भारतबाट ल्याइने तरकारी र फलफूल बोकेका गाडीको लाम लागेको छ । भैरहवा र वरपरका अन्य शहरमा पनि विषादी परीक्षणको प्रयोगशाला नहुँदा तरकारी र फलफूलको नमूना लिएर काठमाडौं कालीमाटीस्थित विषादी परीक्षण इकाइमा जानुपर्ने बाध्यता रहेको व्यवसायीहरू बताउँछन् ।

“यस्तो गर्मीमा तरकारी फलफूल तत्काल बिक्री नगरे कुहिन्छ, त्यसैले परीक्षण गराउन प्लेन चढेर काठमाडौं जाने गरेका छौं” बुटवलका फलफूल व्यापारी कलाधर पन्थी भन्छन्, “काठमाडौं पुगेर आउँदा कम्तीमा पनि १२ हजार रुपैयाँ थप खर्च लाग्छ ।” सरकारले परीक्षणको व्यवस्था नगरेरै नयाँ नियम लागू गर्दा बजारमा तरकारी र फलफूलको आपूर्ति घटेको छ भने भाउ बढेको छ ।

भैरहवा भन्सार कार्यालयका प्रवक्ता कालीराम पौडेल नाकामा आउने तरकारी र फलफूलको नमूना काठमाडौंमा परीक्षण गराई रिपोर्ट बुझाएपछि मात्र गाडी छाडिने गरेको बताउँछन् । पौडेलका अनुसार नयाँ नियम लागू भएपछि तरकारी तथा फलफूलको आयात आधाभन्दा कम भएको छ । उनी भन्छन्, “यो नाकाबाट मात्र दैनिक ७० देखि ८० गाडी तरकारी र फलफूल आयात हुने गरेकोमा अहिले ३५ देखि ४० मा झरेका छ ।” भन्सार कार्यालयको तथ्यांक अनुसार हरियो तरकारी र चाँडै कुहिने फलफूलको आयात त अझ् धेरै घटेको छ ।

व्यापारीहरू सरकारले बनाएको नियम ठीक भए पनि नाकामा परीक्षण केन्द्र नहुँदा सास्ती भएको बताउँछन् । यद्यपि, २ असारयता विषादी परीक्षण गरिएका कुनै पनि नमूनामा खराबी नदेखिएको भन्सार कार्यालयले जनाएको छ । प्रवक्ता पौडेल भन्छन्, “प्रयोगयोग्य भन्ने प्रतिवेदन आएपछि छाडिदिन्छौं, अहिलेसम्म कसैको पनि नराम्रो रिपोर्ट आएको छैन ।”

बुटवलमै हुनसक्छ परीक्षण

भैरहवा भन्सार कार्यालयबाट २५ किलोमिटर पर बुटवलमै छ, विषादी परीक्षण प्रयोगशाला । तर, तीन वर्षअघि स्थापना भएको यो कार्यालय कर्मचारी अभावमा बन्द जस्तै छ । काठमाडौंको कालीमाटीकै हैसियतको पूर्वाधार भएको यो प्रयोगशालामा चार जना प्राविधिक र एक जना कार्यालय सहायकको दरबन्दी छ । तर कार्यालय सहायक बाहेकका सबै कर्मचारी सरुवा भएर अन्यत्र गएपछि दुई महीनादेखि यो कार्यालय बन्द हुन पुगेको हो ।

सरकारले आवश्यक जनशक्ति खटाई प्रयोगशाला तत्काल संचालनमा ल्याउनुपर्ने व्यवसायीहरूको माग छ । कार्यालयका तत्कालीन प्राविधिक प्रमुख रामबहादुर खत्री बुटवल तथा कालीमाटीबाहेक झापाको बिर्तामोड, सर्लाहीको नवलपुर र पोखरामा यस्ता कार्यालय स्थापना भए पनि जनशक्ति अभावले प्रभावहीन रहेको बताउँछन् । भारत र चीनसँग व्यापारिक कारोबार हुने आठ भन्सार विन्दुमा अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला निर्माण गर्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको योजना कहिले कार्यान्वयनमा आउने हो त्यो पनि अनिश्चित छ ।

करोडौं घाटा

सरकारले सरोकारवालाहरूलाई पूर्व जानकारी नदिई नाकामा विषादी परीक्षण अनिवार्य गरेपछि पहिले नै अर्डर गरिसकेका व्यापारीहरू करोडौं रुपैयाँ बराबरको क्षति व्यहोर्नुपरेको बताउँछन् । आयातमा पहिले झैं सहजता ठानेर तरकारी तथा फलफूल मगाए पनि शुरूमा परीक्षण प्रक्रियाबारे अलमलमा परेको बुटवलको कृषि उपज थोक बजारका व्यवसायी टंक बस्याल बताउँछन् । उनी भन्छन्, “हाम्रो तीन ट्रक आँप भन्सार कार्यालयमै चार दिन रोकियो, काठमाडौंबाट रिपोर्ट लिएर आउँदासम्म सबै कालो भइसकेको रहेछ ।” सम्पूर्ण खर्च जोड्दा एक ट्रक सामान बराबर रु.१० लाख नोक्सान भएको उनको दाबी छ ।

बुटवलकै व्यवसायी बसिउल्लाह पनि टमाटर बोकेको ट्रक तीन दिनसम्म भन्सार कार्यालयमै रोकिएपछि झेल भएर खेर गएको बताउँछन् । त्यसयता बस्याल र बसिउल्लाहले थप तरकारी तथा फलफूल मगाउन सकेका छैनन् ।

बिक्रम खड्का, बुटवलबाट

comments powered by Disqus

रमझम