२२-२८ असार २०७६ | 7-13 July 2019

कुकुर राख्ने घर

Share:
  

मेन्टल हेल्थ सोसाइटी अफ अमेरिका ले सन् २०१८ मा गरेको एक अध्ययन अनुसार घरमा कुकुर, बिरालो जस्ता जनावर पाल्ने व्यक्तिमा मानसिक शान्ति र शारीरिक स्फूर्ति बढी हुन्छ । अध्ययनमा सहभागीमध्ये ७४ प्रतिशतले घरमा जनावर पाल्दा मानसिक शान्ति मिलेको बताएको प्रतिवेदनमा उल्लेख छ ।

कुकुर र मानिसको सम्बन्ध परापूर्वकालदेखिकै हो । सुरक्षाका लागि होस् वा सोखकै रुपमा कुकुर पाल्ने चलन पुरानै हो । अझ कुकुरलाई पूजा गर्ने नेपाली चलनले त यो सम्बन्ध जुगौंदेखिको हो भन्ने स्पष्ट पार्छ । सम्बन्ध जति नै पुरानो भए पनि हाम्रा अधिकांश घरहरूमा कुकुरका लागि बस्ने आवास भने गतिलो बनाएको पाइँदैन ।

पछिल्लो समय भने शहरी घरहरूमा उन्नत जातका कुकुर पाल्ने प्रचलन बढेसँगै कुकुरलाई राख्ने विशेष खालका खोरहरू बनाउन थालिएको छ । अचेल बजारमा पनि कुकुरलाई राख्नका लागि ‘पेट केज’ भनिने विभिन्न खालका खोरहरू पाइन्छन् । यस्ता खोरहरूले घरको सौन्दर्य पनि बिगार्दैनन् ।

फलाम, प्लास्टिक, आल्मुनियम वा काठले बनाइएका पेट केज निकै सानो, अँध्यारो भने हुनुहुँदैन । काठमाडौं एनिमल ट्रिटमेन्ट सेन्टरका अनुसार लामो समयसम्म कुकुरलाई साङ्लोमा बाँध्ने वा खोरभित्र राख्ने गर्दा उनीहरूको व्यवहारमा समस्या आउँछ । कुकुरलाई प्रशस्तै खेल्न र उपयुक्त तालिम नदिने हो भने उनीहरू बढी आक्रामक हुन्छन् । त्यस्तै कुकुरलाई खोरमा राख्दा पनि खानेपानी उपलब्ध गराइराख्नुपर्छ । ट्रिटमेन्ट सेन्टरले कुकुरको ओछ्यान सुविस्तापूर्ण र सिरानी सहितको हुनु जरुरी रहेको उल्लेख गरेको छ ।

कुकुरलाई उपियाँ, झिंगा, सुलसुले, किर्ना आदिबाट जोगाउन कुकुरको साथै ‘पेट केज’ को नियमित सफाइ गर्नुपर्छ । यस्ता खोरको छनोट गर्दा मौसमको पनि ख्याल गर्नुपर्दछ । जाडो यामको लागि बाहिरको चिसो नछिर्ने खालको र गर्मीका लागि प्रशस्तै हावा आवतजावत हुने खोर उपयुक्त हुन्छ । हिजोआज घरभित्र र कौसीमा समेत लैजान सकिने पाङ्ग्रा जोडिएका कम तौलका पेट केजको माग बढेको व्यापारीहरू बताउँछन् ।

मासिक सरदर ३० थान पेट केज बेचिरहेको काठमाडौंको टेकूस्थित नेपाल डग्स का प्रबन्धक अनुज डंगोल भन्छन्, “ग्राहकहरू गुगल गरेर डिजाइन र ब्राण्ड छनोट गर्छन्, हामी त्यसै अनुसारको उपलब्ध गराउँछौं ।”

खोरलाई उज्यालो राख्न र त्यसभित्र निश्चित तापक्रम सुनिश्चित गर्न बिजुलीको व्यवस्था गरिएका खोरहरू पनि पाइन्छन् । नेपाली बजारमा एक हजार रुपैयाँदेखि रु.२० हजारसम्ममा पाइने यस्ता खोरहरू प्रायः भारत, चीन, थाइल्याण्ड, सिंगापुर, मलेशियाबाट आयात गरिएका हुन्छन् ।

जनावरहरूको वासस्थान बारम्बार सफा गरिरहनुपर्ने भएकाले पेट केज सहजै सफा गर्न मिल्ने खालको छ÷छैन भन्ने पनि ध्यान दिनुपर्छ । भुईंमा पातलो जालीको पत्र राखिएको केज छ भने त्यसबाट जनावरको दिसापिसाब मुन्तिर राखिएको ट्रे मा झर्छ र यस्तो फोहोर जनावरको शरीरमा टाँसिन पाउँदैन ।

हाम्रा शहरहरूमा अझै पनि कुकुरलाई खुला सडकमै शौच गराइरहेको देखिन्छ । ट्रिटमेन्ट सेन्टरका अनुसार कुकुरलाई आवश्यक तालिम दिएमा उनीहरूले सधैं निश्चित स्थान र समयमा शौच गर्न सिक्छन् ।

comments powered by Disqus

रमझम