२२-२८ असार २०७६ | 7-13 July 2019

भत्तपुरलाई सिकाएको सिम्रौनगढ

Share:
  
- मिलन बगाले
राजधानीको संस्कृति र कलाको चेतमा सिम्रौनगढको योगदान मिसिएको छ। तर, सिम्रौनगढ ?

ईशरा पोखरीको छेउमा टुटेफुटेका पुराना मूर्ति ।
‘भक्तपुरको वास्तुकलामा सिम्रौनगढको ठूलो प्रभाव छ । सबैभन्दा धेरै तराईका मानिसलाई ल्याएर बसोबास गराउने काम पनि भक्तपुरले नै गरेको छ । सिम्रौनगढको नगर वास्तु भक्तपुरसँग हुबहु मिल्छ । ... सिम्रौनगढका राजाले भक्तपुर शहरलाई जोड्न भक्तपुर–बनेपा–सिन्धुली हुँदै बाटो बनाएको इतिहास छ । उपत्यकाका तीनै शहरका मानिस आफ्ना पितृको अस्थिकलश लिएर त्यही बाटो भएर पटना, बोधगया, काशी जाने गरेको पाइन्छ ।’

सिम्रौनगढबारे पुरातत्वविद् तारानन्द मिश्रका यी शब्दहरू पत्रकार ईश्वरी ज्ञवालीले चार वर्षअघि नेपाल साप्ताहिकका लागि टिपेका हुन् । भक्तपुरलाई सिकाउने सिम्रौनगढको यो गर्विलो इतिहास पढेपछि मनमा कस्तो अनुभूति आउला ? ऐतिहासिक सम्पदाहरूको संरक्षण, पुरानो वैभव सम्झउने व्यवस्थित संग्रहालय, चट्ट मिलेका गाउँबस्ती, खेतैखेतबीच सफा सडक, सुन्दर पोखरी र सम्पदाले भरिएको व्यवस्थित सिम्रौनगढ ?

कठै, त्यस्तो किन हुन्थ्यो ! सिम्रौनगढ त उदास, उजाड र असरल्ल पो छ, भग्नावशेष जस्तो– धूलो, हिलो र झुप्रे बस्ती सहितकोे असरल्ल र अलपत्र । गढीमाई मन्दिर रहेको बाराको बरियारपुरबाट गण्डक नहरको किनारै किनार पूर्वतर्फ महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, आदर्श कोतवाल गाउँपालिका छुँदै करीब २० किलोमिटर यात्रा गरेपछि सिम्रौनगढ पुगिन्छ । जीर्ण नहरसँगै जोडिएको सडक धुलाम्य छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत माछा सुपर जोनमा परेको यो क्षेत्रको सेरोफेरोमा ठूल्ठूला माछापोखरी छन् । सिम्रौनगढ पुग्नलाई वीरगञ्ज र कलैयाबाट सार्वजनिक बस पनि पाइन्छ ।

सिम्रौनगढको अध्ययन गरिरहेका भरत शाहले लेखे अनुसार राजा नान्यदेवले सन् १०९७ मा यहींबाट कर्णाटवंशको स्थापना गरेका हुन् । उनीपछि गंग देव, नरसिंह देव, रामसिंह देव, शक्ति देव र हरिसिंह देवले यहाँ राज्य गरे । त्यसबेला सिम्रौनगढ राज्य कोशीदेखि गण्डकी र महाभारत शृंखलादेखि गंगा सिमानासम्म फैलिएको थियो । प्रथम शासक नान्यदेवदेखि अन्तिम हरिसिंहदेवसम्मको राज्यकालमा गढी, गौंडा, प्रशासनिक केन्द्रमा कुलदेवीका रूपमा तुलजा भवानी (तलेजु) को पूजास्थल स्थापना गरिएको थियो । १४औं शताब्दीको अन्त्यतिर बंगाल विजय गरी फर्कंदै गरेका दिल्लीका वादशाह गयासुद्दिन तुगलकको सेनाले आक्रमण गरेपछि सिम्रौनगढका धेरै ऐतिहासिक, धार्मिक स्थलहरू तहसनहस पारिए । राज्य पूरै ध्वस्त भयो । अन्तिम राजा हरिसिंह देव तलेजु भवानीलाई साथमै लिई भक्तपुरतिर भागे पनि पुग्न सकेनन् । बीच बाटोमै उनको निधन भयो । रानी देवलदेवी छोरा जगतसिंह सहित भक्तपुरका राजा रुद्र मल्लकहाँ शरण लिन पुगिन् । इतिहासमा पढ्न पाइन्छ, रुद्र मल्लकी छोरी नायकदेवीसँग जगतसिंहको विवाह भयो । नायकदेवी र जगतसिंहकी एक मात्र छोरी राजल्लदेवीसँग तिरहुतबाट डोलाजी प्रथाबाट भित्र्याइएका जयस्थिति मल्लको विवाहसँगै उपत्यकाको शासनसत्तामा दोस्रो मल्लकालको उदय भयो । जो पृथ्वीनारायण शाहको एकीकरण अभियानसम्म कायमै थियो ।

मल्लकालीन नेपालको इतिहासमा वास्तुकलाको स्वर्ण युगका रूपमा परिचित छ । राजधानीको कला, संस्कृति, वास्तुकलाको चेतमा सिम्रौनगढको योगदान मिसिएको छ । तर, सिम्रौनगढ ? यतिबेला माछापोखरीको नगर बनेको सिम्रौनगढको इतिहास जगबाटै भत्किसकेको आभास हुन्छ । इतिहासका कतिपय चिनो त यिनै माछापोखरीभित्रै लोप भइसकेका छन् । सिम्रौनगढ नगरको बस्ती कहाँबाट शुरू भएर कता टुंगिएको हो, नक्शा थाहा पाउन नक्शै हेर्नुपर्छ । नगरपालिका कार्यालय सेरोफेरोको असरल्ल र धुलाम्य बस्ती, कंकाली माई मन्दिर, मन्दिर परिसरभित्रका एकाध टुटेफुटेका मूर्ति, हिलाम्य ऐतिहासिक ईशरा पोखरी र यसकै सेरोफेरो अहिलेको सिम्रौनगढ हो । सिंगो सिम्रौनगढ इतिहासमा सर्लक्कै विलायो । खण्डित सिम्रौनगढका बचेखुचेका चिह्न हिलो, धूलो र पोखरीभित्र मासिंदै, नासिंदै र भासिंदै छन् ।

जोगाउने उपाय

एकादेशको कथा जस्तो बनिरहेको सिम्रौनगढलाई जोगाउने उपाय हुँदै नभएको चाहिं हैन । सम्पदा, कृषि र पर्यटनको हाँगो समातेर सिम्रौनगढ फेरि बौरिन सक्छ । सिम्रौनगढलाई बचाउन सबैभन्दा पहिले यहाँका जनप्रतिनिधिले सिम्रौनगढ जान्ने, बुझने, पढ्ने, सुन्ने, लेख्ने सबैका कुरा ध्यान दिएर सुन्नुपर्‍यो । तर, एकसरो सुनेर मात्र भएन, यहाँका ऐतिहासिक सम्पदाहरूको व्यवस्थित किसिमले लगत संकलन गर्नुपर्‍यो । लोप भइसकेका, खण्डहर अवस्थामा रहेका र बचेका सबै सम्पदा सामग्रीहरूको नक्शांकन, चित्रांकन, रेखांकन, उत्खनन्, संकलनको कामसँगै व्यवस्थित बस्तीको खाका समेटिएको गुरुयोजना बनाउनुपर्‍यो ।

सम्पदा संरक्षणको सबै काम एकैचोटि गर्न सकिंदैन, त्यसैले प्राथमिकता तोकेर जोगाउँदै, बनाउँदै अघि बढ्ने योजना बनाउनुपर्छ । यसका लागि प्रदेश सरकारदेखि पुरातत्व विभाग लगायत सबैको मद्दत लिनुपर्छ । सम्पदा खोज र संरक्षणसँगै व्यवस्थित बस्ती विकासको गुरुयोजना बनाउँदै गर्दा भएका तथा बचेका स्थलहरूको संरक्षण, उत्खनन् जस्ता कार्य पनि सँगसँगै अघि बढाउनुपर्छ ।

गढीमाईबाट सिम्रौनगढसम्म आइपुग्ने बाटोको सुधार, पर्यटकीय सुविधा भएका होटलहरूको निर्माण, होमस्टेमा प्रोत्साहन, पोखरीहरूको सरसफाइ र संरक्षण जस्ता काममा पनि उत्तिकै ध्यान दिन जरूरी छ । आफ्ना ऐतिहासिक बस्ती, किल्ला, पर्खाल, मन्दिर, मठ बेलैमा चिन्न, जोगाउन र व्यवस्थित पुनर्निर्माण गर्न सके अहिलेको भक्तपुर जस्तै बन्न सक्छ, सिम्रौनगढ ।

सिम्रौनगढको मुख्य सम्पदा क्षेत्रभन्दा बाहिर मात्रै माछापोखरी बनाउन दिने गरी सो क्षेत्रभित्र गहिरो खनजोत, डोजर लगाउने काम बन्द गर्नु नितान्त जरूरी भइसकेको छ । पुरातत्वविद्हरूको सहयोगमा ऐतिहासिक स्थलको चार सिमाना कायम गरेर होशियारीपूर्वक उत्खननका कामहरू हुनसकेमा सिम्रौनगढ प्राचीन सभ्यताको इतिहास बोल्ने, दर्शनीय ऐतिहासिक स्थल बन्न सक्छ ।

सम्पदा संरक्षण जस्तो संवेदनशील काम ठेक्कापट्टाबाट हुनै सक्दैन, स्थानीयस्तरमै दक्ष निर्माणकर्मी खोजेर अमानतमा सम्पदा निर्माण गर्नुपर्छ । जंगबहादुरका छोरा जीतजंगले १९३५ सालमा सिम्रौनगढमा निर्माण गराएको रानीवास मठ पुरातत्व विभागले ठेक्कापट्टाबाट पुनर्निर्माण गराइरहँदा सम्पदा संरक्षणको मर्म अनुरूप हुन नसकेका घटनाबाट पाठ सिक्नुपर्छ । अब सिम्रौनगढले भूकम्पमा भत्किएका सम्पदाहरूको निर्माण अमानतमा गराइरहेको भक्तपुरबाट सिक्नुपर्ने बेला आएको छ ।

समुदायको जीवनसँगै जोडिएका सम्पदालाई समुदायबाट छुट्याउन सकिंदैन, पाइँदैन । सिम्रौनगढ सेरोफेरोका भग्न सम्पदाको संरक्षण, लोप भएका सम्पदाको उत्खनन् र व्यवस्थित बस्ती विकास असम्भव छैन । इतिहासको गौरवलाई जोगाउन र व्यवस्थित बस्ती बसाउन भरमग्दुर प्रयास गर्नेको जय होस् !

comments powered by Disqus

रमझम