२२-२८ असार २०७६ | 7-13 July 2019

गुठी प्रथा लिच्छविकालभन्दा पुरानो

Share:
  
- वसन्त महर्जन
लिच्छवि शासनकालमा नेपालमा गुठी प्रथा चलेको चर्चा गरिए पनि उनीहरूको उद्गमस्थल भारतको इतिहासमै यसबारे उल्लेख भएको भेटिंदैन।

राजा शिवदेव र अंशुवर्माकालीन ललितपुरको लेलेमा रहेको अभिलेख । लिच्छविकालीन २५० अभिलेखमध्ये ४८ वटामा गुठीको उल्लेख छ र त्यसमा लेलेको अभिलेख चर्चित छ । वसन्त महर्जन
पछिल्लो समय सरकारले राष्ट्रिय सभामा दर्ता गरेर चर्को विरोधपछि फिर्ता लिएको गुठी सम्बन्धी विधेयकले गुठी प्रथाबारे धेरैमा जिज्ञासा बढायो । विधेयकका प्रावधानबारे विश्लेषण भइरहेका बेला देशभरका सबै गुठी एकै प्रकारका हुन् र नेवार समाजमा प्रचलित गुठी अन्यभन्दा फरक हुन् भन्ने दुई धार देखिए । तर, यसबारे व्याख्या भएन । सरकारले पर्याप्त सोचविचार नगरी सबैलाई एउटै विधेयकले समेट्न खोज्दा नै समस्या आएको हो ।

नेवार समाजसँग जोडिएको गुठीबारे ऐतिहासिक रूपमै बुझनुपर्ने हुन्छ । ‘गुथि’ शब्द र प्रथा नेवार समाजमा मात्र देखिन्छ । बाह्रखरीको ‘ट’ वर्ग नै नभएको नेवार बोलीमा ‘गुठी’ शब्द व्यावहारिक प्रयोजनका लागि स्वीकारिएको मात्र हो । नेपाली इतिहास र संस्कृतिको अध्ययन क्षेत्रमा स्थापित तथ्यले ‘गुठी’ शब्दलाई संस्कृत भाषाको ‘गोष्ठी’ बाट विकसित भएको मान्छ । तर यसप्रति पंक्तिकारलाई शंका छ । ‘गो’ अर्थात् गाईसँग सम्बन्धित ग्वाला (गोपाल) हरू एकत्र भई छलफल गर्नु ‘गोष्ठी’ हो, अर्थविस्तार हुँदै जाँदा यो ग्वालाहरूसँग मात्र सीमित रहेन । तर गुठी (गुथि) प्रथा नेवार बाहेक अन्यत्र नदेखिंदा गोष्ठी र गुठी फरक–फरक विषय भएको यो पंक्तिकार मान्दछ । गुठी प्रथा पहिल्यैदेखि प्रचलनमा रहे पनि लिच्छविकालमा संस्कृत भाषाको प्रचलन हुँदा समान ध्वनि भएकोले गोष्ठी शब्द प्रयुक्त हुन पुगेको देखिन्छ । यस हिसाबले गुठी परम्परा लिच्छविकालभन्दा पनि पुरानो देखिएको पंक्तिकारको ठम्याइ छ ।

भारतबाट आएका लिच्छविहरूको आगमनबाट नेपालले सभ्यताका धेरै कुरा पायो । तर गुठी प्रथाको उल्लेख भारतीय इतिहासमै नपाइएकाले यहाँ गुठीको शुरूआत उनीहरूले गरेको आधार भेटिंदैन । बरु उनीहरूले गुठीको स्थानीय परम्परालाई आत्मसात् गरी त्यसमा मलजल गरेको बुझ्न सकिन्छ । शाहकालमा कतिपय गैर नेवारहरूले पनि गुठी प्रथामा योगदान गरेका थिए । काठमाडौंमा ज्यापू समुदायले चलाउने नरदेवी मन्दिर र त्यसको गणनृत्यलाई व्यवस्थित पार्न कपरदार भोटु पाँडेले १३२ रोपनी जग्गा गुठीको नाममा राखिदिएको प्रसंग एउटा दृष्टान्त हो । तर, सो जग्गा मोहियानी हक अन्तर्गत आधा हिस्सा मोहीले व्यक्तिगत बनाए भने बाँकी आधा गुठी संस्थानले रैतान गरिसकेको छ ।

२०२१ सालमा गुठी संस्थान गठन भई गुठीको अक्षयकोषको रूपमा रहेका जग्गा धमाधम सरकारीकरण हुन थाले । त्यस क्रममा गैर नेवार समाजको मठमन्दिरको नाममा रहेका जग्गाजमीन पनि भित्र्याउँदा यो शब्दले व्यापकता पाएको हो, प्रथाले होइन । संस्कार, संस्कृति र परम्पराका रूपमा नेवार समाजमा प्रचलित यो प्रथालाई अनुकरणका क्रममा गैर नेवार समाजले आत्मसात् गर्न खोज्यो ।

धार्मिक तथा सामाजिक कार्यका लागि जग्गा राखेर त्यसको आयस्ताले निश्चित काम गर्ने प्रचलन भारतमा पुरानै हो । भारतीय इतिहासको अध्ययन गर्दा राजा–महाराजा एवं दाताले धार्मिक तथा सामाजिक कार्यका लागि जग्गा वा गाउँ छुट्याइदिएको वा आफैंले किनेर राखेका उदाहरण प्रशस्त पाइए पनि गुठी परम्परा भने पाइँदैन । हाम्रोमा स्वर्गद्वारी, जनकपुर, मटियानी मठ आदि संचालन पनि त्यस्तै प्रकृतिको निरन्तरता हो, जुन नेवार समाजमा प्रचलित गुठीभन्दा फरक छ ।

अन्यत्रको गुठीमा दाताले राखिदिएको जग्गा वा गाउँबाट उठ्ने आम्दानीको स्वामी सोझै मठमन्दिर हुन्छ भने नेवार समाजमा गुठी नामको संस्था हुन्छ । अन्यत्र आयस्ताको हकदार मठमन्दिरको महन्त र उसको शेषपछि नयाँ नियुक्त भएर आउनेमा सर्दै जान्छ । यता नेवार गुठीका गुठियार (सदस्य) मा दाता वा दाताको आफन्त मात्रै अथवा केही प्रतिनिधि वा बेग्लै समूह हुन्छन् । तर सदस्यता भने वंशगत रूपमा सर्दै जाने भएकाले अविच्छिन्न हुन्छ । निश्चित कामको जिम्मा पाएका केही गुठियारहरूमा उक्त जिम्मेवारी परम्परागत रूपमा हस्तान्तरण हुँदै जान्छ, तर सम्पत्तिमा व्यक्तिगत हक लाग्दैन । उनीहरूले पारिश्रमिक नलिई सामूहिक भावनाबाट काम गर्नुपर्छ । दाताबाट प्राप्त जग्गाको रेखदेख गरी त्यसको आम्दानीबाट निर्दिष्ट कार्य गर्नुपर्ने दायित्वबाट च्यूत भएमा गुठीले दण्ड दिनुका साथै निष्कासन पनि गर्न सक्छ ।

गुठीसँग जग्गाजमीन हुनैपर्छ भन्ने अनिवार्य छैन । धर्म–संस्कृति सम्बन्धी सामूहिक कार्यका लागि गठित कतिपय गुठी आयस्ताको स्रोत विना गुठियारहरूकै खर्चमा चल्ने गर्छन् । समयक्रममा कसैले अक्षयकोष राखिदिएको वा गुठीले नै बन्दोबस्त गरेको पनि पाइन्छ ।

गुठीहरू सह–अस्तित्व र सामूहिक भावनाको अनुपम उदाहरण भए पनि यो मूल्य–मान्यतालाई बुझ्न नसक्दा विधेयकले सरकारीकरण गर्ने निशाना बनाएको थियो । विधेयकका पक्षधरले गुठीले गर्दै आएका धार्मिक तथा सांस्कृतिक कार्यलाई गुठी प्राधिकरणले निरन्तरता दिने वकालत गरेका थिए । तर पूजाआजा र जात्रापर्व संचालन हुनु मात्रै संस्कृतिको संरक्षण होइन । परम्परागत विधिविधान अनुसारको कार्यमा सम्बन्धित व्यक्ति वा समुदायको संलग्नताले मात्रै अमूर्त संस्कृतिले जीवन्तता पाउने हो, अन्यथा त्यो संस्कृति मरेको साबित हुन्छ ।

comments powered by Disqus

रमझम