२२-२८ असार २०७६ | 7-13 July 2019

बुझ्नै बाँकी बोजो

Share:
  
- कमल मादेन
चिसो सिर्जित खोकीसँगै दुखाइ कम गर्ने, स्मरणशत्तिाm बढाउने ओखती बोजोलाई आम रूपमै बेवास्ता गरिएको छ।

“लौन बोजो खोज्न सहयोग गर्नुपर्‍यो”, केही समयअघि मित्र यमबहादुर बमको यस्तो आग्रह आयो । “किन र ?” मैले स्वाभाविक प्रश्न गरें । बमजीलाई कैलाली बस्दा छोरालाई खोकी लाग्दा बोजोले निको पारेको अनुभव रहेछ ।

तर, यो अनुभव वैज्ञानिक हो त ? मलाई विश्वास गर्न गाह्रो भयो । काठमाडौंमा छोरालाई फेरि खोकी चल्न थालेपछि बमजीले चिकित्सककहाँ पुर्‍याएछन् । चिकित्सकले परीक्षणपश्चात् पाँच दिनको एन्टिबायोटिक औषधि दिएछन् । पाँच दिनसम्म त ठीकै भयो, तर सातौं दिनदेखि फेरि खोकी शुरू भएछ । त्यसपछि मित्रले बोजो सम्झिएछन् ।

हामी बोजो खोज्दै ललितपुरको चापागाउँतर्फ लाग्यौं । सुनाकोठी कटेसँगै सडक किनाराको पूर्व एक पोखरीमा बोजो भेटियो । उनले जतनसाथ आधा फिटजति लामो काण्ड भाँचे र सफा गरेर झोलामा हाले ।

केही दिनपछि उनले भने– छोराको खोकी निको भयो । तपाईंले खोजिदिनुभएको बोजोले काम गर्‍यो ।

त्यसबेला पो मैले झट्ट सम्झिएँ, सानो छँदा स्वर बस्दा मलाई पनि बोजोकोे काण्डमा पलाएका मसिना जरा र बोक्रा हटाई सानो टुक्रा मुखमा राखी विस्तारै चुस्न लगाइएको थियो । त्यसको केही दिनमै स्वर विस्तारै खुलेको थियो । “तपाईंले चाहिं बोजोलाई कसरी प्रयोग गर्नुभयो ?” मेरो थप जिज्ञासा थियो । मित्रका अनुसार, उनले बोजोको टुक्रालाई डोरीको सहायताले छोराको घाँटीमा माला जस्तै लगाइदिएछन् । माला बनेको बोजोबाट निस्कने विशेष गन्ध श्वासप्रश्वास प्रक्रियाबाट निरन्तर फोक्सोमा प्रवेश गर्दा खोकी नियन्त्रण हुँदो रहेछ । उनले कैलालीबाटै यही तरिका अपनाउँदै आएका रहेछन् ।

औषधिका रूपमा बोजोको प्रयोग त सुनिएकै हो, तर एउटै बोजोलाई फरक फरक तरिकाले प्रयोग गर्ने विधिबारे भने मलाई जानकारी थिएन । वनस्पतिशास्त्रको विद्यार्थी भएका नाताले पनि यसको बहुउपयोगबारे जान्न मलाई हौस्यायो । बुझ्दै जाँदा हिमाञ्चल प्रदेशमा पनि केटाकेटीको खोकी निको पार्न यसै गरी बोजोको माला लगाइदिने चलन रहेको थाहा पाएँ । यसबाट केटाकेटीमा बोल्ने क्षमता बढ्छ भन्ने विश्वास गरिंदो रहेछ ।

बोजो विज्ञान

बोजोको वैज्ञानिक नाम एकोरस कालामस हो । यसलाई ‘स्विट फ्ल्याग’ को नामबाट पनि चिनिन्छ । यो वनस्पति करीब चार मिटर उँचाइसम्म छिपछिपे पानी भएको खोला, दलदलयुक्त जमीन र त्यस आसपासका चिस्यान, खासगरी खुला ठाउँमा पाइन्छ । यसको पात एक–डेढ मिटर अग्लो र एक इन्चसम्म चौडा भाला जस्तो आकारको हुन्छ । काण्डमा मसिना आँख्ला हुन्छन् । जरा जमीन सतहमा फैलिएको वा पानीमा लत्रिएको अवस्थामा हुन्छ । बोजोमा गन्ध अत्यधिक हुन्छ ।

फरक भूगोल र समुदायमा बोजोको फरक नाम छ । लिम्बू समुदायमा यसलाई लुप्लाक भनिन्छ भने, गुरुङ समुदायमा छोटा । त्यस्तै तामाङहरू यसलाई सेते भनेर चिन्छन् । नेपाल भाषामा यसलाई सापी भनिन्छ । थारू र हिन्दीभाषीले चाहिं वच भन्दा रहेछन् ।

२०६३ सालमा डा.खेमराज भट्टराई र मधुदेवी घिमिरे लिखित ‘जडीबुटी तथा गैरकाष्ठ वन पैदावारहरूको दिगो संकलन र खेती प्रविधि’ का अनुसार, बोजोलाई बाथ, दाँतको दुखाइ, कफदोष, स्वरभेद (स्वर बसेको), आउँ, झाडापखाला, ब्रोन्काइटिस, ज्वरो आदिमा प्रयोग गरिन्छ ।

गाउँघरमा बोजोको काण्डको धूलो तोरीको तेलमा मिसाई लुतो तथा दादको उपचारमा प्रयोग गरिएको पनि सुनियो । तर, नेपालभन्दा भारतमा यसलाई घरेलु औषधिको रूपमा बढी प्रयोग गरिएको अनुसन्धानबाट देखिन्छ ।

युनानी उपचार पद्धतिमा बोजोलाई दिमाग तन्दुरुस्त राख्ने भिटामिन, शारीरिक कमजोरी, पेट सम्बन्धी गडबडी, कलेजो तथा छातीको दुखाइ, मिर्गौला सम्बन्धी समस्या आदिमा पनि प्रयोग गरिएको पाइन्छ । कीराबाट बचाउन खाद्यान्न भण्डारण गरेको ठाउँमा बोजो राख्ने चलन पनि देखिन्छ । बोजोको प्रशोधनबाट निकालिएको तेल कीरा, लामखुट्टे, साङ्ला मार्नका साथै चकलेट, अगरबत्ती र अत्तर बनाउन पनि प्रयोग गरिन्छ ।

आयुर्वेदिक चिकित्सामा बोजो प्रयोगबाट दिव्य मेघा बुटी, संजीवनी बुटी, चन्द्रप्रभा बुटी, महाशंख बुटी, वच चूर्ण, सरस्वत चूर्ण, अश्वगन्धारिष्ट आदि औषधिहरू बनाइने गरेको पनि थाहा भयो ।

स्मृतिवद्र्धक औषधि

बोजोको सबैभन्दा बढी उपयोग मुख्यतः स्मरण शक्ति बढाउने औषधिमा गरिएको देखिन्छ । यस्तो औषधि घरमै पनि बनाउन सकिन्छ ।

पतञ्जली आयुर्वेदद्वारा प्रकाशित सामग्रीका अनुसार, जरा र बोक्रा हटाएपछिको करीब आधा केजी काण्डलाई दुई लिटर जति दूधमा निकैबेर उमाल्नुपर्छ । उमालेको बोजोकोे काण्डलाई टुक्राटुक्रा पारेर छायाँमा सुकाउनुपर्छ । पूर्ण रूपमा सुकेपछि यसलाई मसिनो धूलो बनाएर मिस्रीसँग बराबरी मिसाएर बिहान, बेलुकी करीब दुई ग्राम दूधसँग पिउँदा स्मरणशक्ति तथा एकाग्रता बढ्ने बताइन्छ । बोजोमा पाइने रसायनमध्येको बिटा एसारोन मस्तिष्क विकासको गतिविधिका लागि लाभदायक मानिन्छ ।

तर, औषधिजन्य वनस्पतिको धनी देश नेपालवासी हामी नै किन यसबारे अनभिज्ञ छौं त ? पुर्खामा भएका यस्ता औषधिमूलोका ज्ञान हामीमा किन हुन सकेन ? यसबारे थोरै मात्र घोत्लिने हो भने पनि हामी जवाफ पाउन सक्छौं– हामीले आफ्नै परम्परागत ज्ञान, सीप र अभ्यासमा भरोसा गरेनौं, फलस्वरुप यसको प्रयोग हुन छाड्यो । अर्कातिर, विद्यालय र उच्च शिक्षामा आधुनिक शिक्षाका नाममा बनाइएका पाठ्यक्रमहरूमा पनि यस्ता रैथाने परम्परागत अभ्यास सिकाइरहने जाँगर देखिएन । विज्ञहरू नै यसबाट विमुख देखिए । विडम्बना नै यही हो ।

बोजोको बलबारे जनता मात्र होइन सरकारलाई नै पर्याप्त जानकारी नभएपछि यो वनस्पतिको निकासी दस्तुर पनि कमै हुनेभयो । वन नियमावलीको पाँचौं संशोधन (२०७२) का अनुसार सरकारले बोजोको प्रति के.जी. निकासी दर रु.५ तोकेको छ । भारतमा भने सुकेको बोजो प्याकेट प्रति के.जी. १५० देखि ३५० भारतीय रुपैयाँसम्म पर्छ । महाराष्ट्रस्थित भाष्कर आयुर्वेदिक औषधालयमा ३–४ इन्च लामो टुक्रा बोजोकै भारु ७० सम्ममा बेचिरहेको प्रचार सामग्रीबाट थाहा पाइन्छ ।

रूखसँगै बोजो रोपौं

बोजोलाई गमलामा फूल जसरी रोप्न सकिन्छ । बोजोको पात सधैं हरियो हुनाले यसले सुन्दरतासँगै सुगन्ध पनि प्रदान गर्छ । तर, यसलाई गमलामा रोप्ने त परै जाओस्, नर्सरीहरूमा पनि राखिएको देखिन्न । त्यसो त बिक्री नै नहुने भएपछि नर्सरीमा राख्नुको पनि औचित्य रहन्न ।

अहिले सरकार लाखौं रूख रोप्ने कुरा गर्दैछ । यस्तो बेला रूखसँगै बोजो जस्ता औषधिजन्य वनस्पति रोप्नेतर्फ पनि सरकारले ध्यान दिनुपर्छ । आयातित वनस्पतिलाई प्रश्रय दिनुभन्दा आफ्नै वनपाखामा पाइने वनस्पति रोपिनु आर्थिक हिसाबले मात्र होइन, जैविक विविधताका दृष्टिले समेत उपयुक्त हुन्छ । सरकारको यस्तो कार्यले औषधिजन्य वनस्पति बोजोका गुण र उपादेयताबारे सबैले थाहा पाउँथे, सडकमा सुगन्ध सहितको हरियाली छाउँथ्यो, जनता पनि निरोगी हुन्थे ।

comments powered by Disqus

रमझम