२९ असार - ४ साउन २०७६ | 14-20 July 2019

वनस्पतिको पहिचान

Share:
  
- कमल मादेन
मानिसको जस्तै वनस्पतिका पनि आफ्नै परिवार, प्रजाति, उपप्रजाति हुन्छन्। तर, तिनलाई चिन्न निकै कठिन छ।

तस्वीरहरुः कमल मादेन ।
संसारभर दुई लाख ५० हजार जति फूल फुल्ने वनस्पति पाइन्छन्– यसो भन्न थालेको धेरै भइसक्यो । आश्चर्य त के छ भने आज पनि वैज्ञानिकसामु अर्को आधिकारिक जवाफ छैन । उत्तर पुरानै हुन्छ ।

भनिन्छ– प्रति वर्ष एक हजार जति नयाँ फूल फुल्ने वनस्पतिका प्रजाति पत्ता लाग्छन् । अष्ट्रेलिया, ब्राजिल र चीनबाट नयाँ–नयाँ प्रजाति धेरै पहिचान भइरहेका छन् । तर, अहिलेसम्म यति नै प्रजाति छन् भन्नेबारे आधिकारिक तथ्यांक पाइन्न । 

वनस्पतिको पहिचान वनस्पति वर्गीकरण प्रणालीसँग जोडिन्छ । र; कुन जाति, प्रजाति र परिवारको हो भनी वर्गीकरण गरिन्छ । वनस्पति वर्गीकरणमा पछिल्लो समय ‘एञ्जियोस्पर्म फाइलोजेनी ग्रुप (एपीजी)’ प्रणाली प्रचलनमा छ । यो प्रणालीको पहिलो संस्करण सन् १९९८ मा प्रकाशित भएको थियो । पछिल्लो, चौथो संस्करण भने २०१६ मा निस्किएको छ । पहिले फूल फुल्ने वनस्पति अन्तर्गत जिम्नोस्पर्मस् र एन्जिओस्पर्मस् दुई समूह थिए । यो प्रणाली अनुसार दुवैलाई सिड प्लान्टस् भनिन्छ ।

परिवार र प्रजाति    एपीजी प्रणालीको पछिल्लो संस्करण अनुसार, सिड प्लान्टस्का जम्मा ४१६ परिवार सूचीकृत छन् । तीमध्ये सबैभन्दा पहिले उत्पत्ति भएको साइकाडेसी परिवार करीब २५ करोड वर्ष पुरानो मानिन्छ । सबैभन्दा कान्छो भने भाइबुरनेसी परिवार हो । र, यो समूहका वनस्पति ८ करोड ५० लाख वर्ष पहिले उत्पत्ति भएको एपीजी प्रणाली सम्बन्धी लेखहरूमा पढ्न पाइन्छ । नेपालमा साइकाडेसी र भाइबुरनेसी सहित जम्मा १९३ वनस्पतिका परिवार पाइएका छन् ।  

संसारभर सूर्यमुखी परिवार (एस्टेरेसी), सुनाखरी परिवार (अर्किडेसी) र गेडागुडी फल्ने परिवार (फाबासी) सबैभन्दा बढी प्रजाति संख्या भएका परिवार हुन् । सूर्यमुखी परिवार ३३ हजार, सुनाखरी परिवारका २८ हजार र गेडागुडी फल्ने परिवारका १९ हजार प्रजाति पहिचान भइसकेको छ ।

नेपालमा भने धान परिवार (पोएसी), सूर्यमुखी र सुनाखरी परिवारका सबैभन्दा बढी प्रजाति छन् । फ्लावरिङ प्लान्टस् अफ नेपालः एन् इन्ट्रोडक्सन पुस्तकका अनुसार यी परिवारका प्रजाति संख्या क्रमशः ४०६, ३९४ र ३८१ छन् । 

नेपालमा फूल फुल्ने वनस्पति करीब ६ हजार प्रजाति रहेको पढिंदै आएको छ । वनस्पति विभागद्वारा प्रकाशित उक्त पुस्तकका अनुसार भने, अहिलेसम्म जम्मा पाँच हजार ३०९ प्रजाति मात्र पाइएको तथ्यांक सार्वजनिक गरेको छ । यो संख्या नेपालबाट सन् १८०२ देखि २०१७ सम्म संकलन गरिएका र नेपाल लगायत विश्वका विभिन्न संग्रहालयमा संग्रहित वनस्पतिका नमूनाका आधारमा तयार पारिएको हो ।

नेपालको वनस्पतिको नमूना यहाँभन्दा कैयौं गुणा बढी जापान र बेलायतका संग्रहालयमा छन् । भारतमा पनि उल्लेख्य संख्यामा छन् । ललितपुरको गोदावरीस्थित हर्बोरियममा एक लाख ६५ हजार वनस्पतिका नमूना छन् ।  

सुनाखरी र सिलोजाइन बहस

नेपालमा सुनाखरीका कति प्रजाति छन् ? यसबारे पनि विभिन्न मत पाइन्छ । केशवराज राजभण्डारी लिखित अ ह्यान्डबूक अफ द अर्किड्स अफ नेपाल (सन् २०१५) का अनुसार, हामीकहाँ सुनाखरीका ४५१ प्रजाति छन्, जसको नाम र आकृति समेत दिइएको छ । तर, उनै मुख्य लेखकको समेत संलग्नता रहेको फ्लावरिङ प्लान्टस् अफ नेपालः एन इन्ट्रोडक्सन र ह्यान्डबूक अफ द फ्लावरिङ प्लान्टस् अफ नेपाल–१ मा भने ३८१ प्रजाति मात्र पाइने उल्लेख छ । 

सन् २०१९ मा प्रकाशित भक्तबहादुर रास्कोटी र रीता आले लिखित ‘न्यू स्पेसिस अफ अर्किड्स एण्ड नोटस् अन अर्किडेसी अफ नेपाल’ लेखमा नेपालमा सुनाखरी प्रजाति, उप–प्रजाति र भेराइटी सहित जम्मा ५०२ ‘ट्याक्सा’ (प्रजाति उप–प्रजातिको समूह) पाइएको उल्लेख गरिएको छ । लेखमा विश्वका निम्ति दुई प्रजाति र नेपालका निम्ति १६ नयाँ सुनाखरीका प्रजाति फेला परेको पनि बताइएको छ । लेखकद्वयले पत्ता लगाएका दुई रैथाने प्रजाति क्यालान्थी हिमालाईकम र हबेनारिया पाल्पेनिसस् हुन् ।

फ्लावरिङ प्लान्टस् अफ नेपालः एन इन्ट्रोडक्सन पुस्तकका अनुसार नेपालमा सुनाखरीका १९ प्रजाति रैथाने रहेको पनि जनाइएको छ ।  

रैथानेको अर्थ नेपाल बाहेक अन्य देशमा नपाइने प्रजाति हुन् । १९ मध्ये चार रैथाने प्रजाति इरिया बनियानी, नियोटिया चन्द्रेयी, बुल्बोफाइलम रास्कोटी र ओडोन्टोचिलस नन्देयी नामकरण गरिएका छन् । यी नाम क्रमशः अमृतमानसिंह बानियाँ, चन्द्रबहादुर गुरुङ, भक्तबहादुर रास्कोटी र नन्दादेवी कुँवरका नाममा राखिएका हुन् ।

सुनाखरीका प्रजाति संख्यामा तल–माथि भए पनि नेपालमा पाइएका भनिएकामध्ये ७० प्रजातिको नमूना भने अहिलेसम्म फेला पार्न सकिएको छैन ।

राजभण्डारीकै अ ह्यान्डबूक अफ द अर्किडस् अफ नेपाल पुस्तकमा सिलोजाइन प्रजातिको सुनाखरीका १४ प्रजाति पाइएको जानकारी छ । तर, अ ह्यान्डबूक अफ द फ्लावरिङ प्लान्टस् अफ नेपाल, भाग–१ मा भने सिलोजाइनका ११ प्रजातिबारे मात्र उल्लेख छ । तीन वटा प्रजाति पाइएको प्रमाण नभेटिएको बुझ्न सकिन्छ ।

नेपालमा सुनाखरी प्रजाति संख्या किन घट्यो भन्ने चर्चा निकै हुने गरेको छ । एकथरीले तथ्यांकको सूची घटाएको तर्क गर्छन् भने अर्काथरीले प्रमाण दिन नसकिने तथ्यांक हुनु भन्दा नहुनु नै राम्रो हो भन्छन् । 

एपीजी प्रणालीमा पहिले एक परिवारमा भएका कतिपय प्रजातिलाई अर्कैमा स्थानान्तर गरिएका छन् । कतिपय जातिलाई एकै जाति पनि बनाइएको छ । युरोप र अमेरिकामा घरतिर लगाइने गरिएको सुनाखरीकै सिलोजाइन कोरिम्बोसा, सिलोजाइन निटिडा र सिलोजाइन पंचुलाटा हेर्दा उस्तै देखिन्छ । रङ मात्र होइन बोटको संरचना पनि उस्तै हुन्छ ।

यी प्रजातिका देब्रे, एउटा पुष्पपत्र दाहिनेतर्फका भाग, पहेंलो रङका बुट्टा, पात, फूल संख्या आदिमा थोरै फरक पाइन्छ । कुनै चुच्चो त कुनै गोलाकार देखिन्छ ।

यति भिन्नताका आधारमा यी प्रजाति पृथक् नभई एकै प्रजाति हुनुपर्ने तर्क पनि छ । किनभने, सानातिना भिन्नताका आधारमा तिनलाई बेग्लै प्रजाति नभई उप–प्रजाति वा भेराइटी मान्ने चलन पनि छ ।

भविष्यमा तिनीहरू सबै एकै प्रजाति हुन् भन्ने तथ्य पनि पत्ता लाग्न सक्छ । नेपालबाट संकलन भएको भनिएका सबै सुनाखरीका नमूना फेला परे नेपालमा सबैभन्दा बढी प्रजाति हुने परिवार सुनाखरी (अर्किडेसी) नै हुनसक्छ ।

comments powered by Disqus

रमझम