२९ असार - ४ साउन २०७६ | 14-20 July 2019

खेलकुदमा पनि असारे रोग

Share:
  
- निरञ्जन राजवंशी
असारे झरीका बीच सडक कालोपत्रे गरेर छिनभरमा पखालिए जस्तै खेलकुदमा पनि आर्थिक वर्षको अन्तिममा प्रतियोगिता गरेर बजेट सिध्याउने प्रवृत्तिा बढेको छ।

पटक–पटक आयोजनाको मिति सारेपछि प्रधानमन्त्री कपको पुरुष क्रिकेटको संस्करण कीर्तिपुरको क्रिकेट मैदानमा आयोजना हुने तय थियो । तर ५० ओभरको यो प्रतियोगिता मूलपानीस्थित मैदानमा म्याट ओछ्याएर पनि खेलाइयो । त्यसको एकमात्र उद्देश्य थियो बजेट सक्न प्रतियोगिता छिटो टुंग्याउनु ।

पछिल्लो समय नेपाली क्रिकेटले सफलता पाएसँगै यसका निम्ति सरकारले भौतिक पूर्वाधार निर्माण र प्रतियोगिताको लागि बजेट छुट्याउन थालेको छ । नेपाल क्रिकेट संघ अन्तर्राष्ट्रिय प्रतिबन्धमा परेकोले खेल नभएको अवस्थामा कम्तीमा एउटा राष्ट्रिय प्रतियोगिता गर्ने जिम्मा राष्ट्रिय खेलकुद परिषद्को भागमा परेको छ । तर परिषद्ले जहिले पनि प्रतियोगिता जेठ र असारकै बेलामा आयोजना गर्छ । २०७४ सालको संस्करणमा त वर्षाले बिथोलिएर खेल हुन नसकेपछि नेपाल पुलिस र नेपाली सेनाले उपाधि नै बाँडेका थिए ।

राष्ट्रिय महिला क्रिकेटको हालत पनि यस्तै भयो । गएको ४–११ असारमा सुदूरपश्चिमको महेन्द्रनगरमा आयोजित प्रतियोगिता अति गर्मीका कारण आफूहरुको वृत्ति–विकासमा कुनै फाइदा नपुग्ने भन्दै आफ्ना नाममा आएको दुरुपयोग भएको स्वयं खेलाडीहरु नै बताउँछन् । महिला राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्री भन्छिन्, “एक त ४५ डिग्री तापक्रममा खेल भयो । त्यसमाथि कसैले पूरा खेल खेल्न पाएनन् । अधिकांश खेल वर्षाले गर्दा हुन सकेन । यसरी प्रतियोगिता आयोजना गर्नुको केही अर्थ छैन । यसले न खेलाडी उत्पादन हुन्छ न भएका खेलाडीहरूको प्रदर्शनमा सुधार नै । बरु यसले खेलाडीहरूलाई चोट लाग्न सक्छ । भएको मनोबल पनि घट्नेछ ।”

वर्षाले थुप्रै खेल अवरुद्ध हुँदा परिस्थिति यस्तो बनिसकेको थियो कि प्रतियोगिताको च्याम्पियन टोली सशस्त्र प्रहरी बल एपीएफ फाइनल पुग्नुअगाडि नै झण्डै बाहिरिनु परेको थियो । एपीएफकी कप्तान सीता रानामगर भन्छिन्, “हामी त प्रतियोगिताबाट बाहिरियौं भनेर काठमाडौं फर्किने तयारी गरिसकेका थियौं । हाम्रो रन रेट कम थियो । यदि सेमिफाइनल खेल नभइदिएको भए हामी प्रतियोगिताबाट आउट हुन्थ्यौं ।”

रु.८८ लाखको बजेट रहेको उक्त प्रतियोगिताका लागि परिषद्ले महाकाली स्पोर्टस् सोसाइटीसँग सहकार्य गरेको थियो । सोसाइटीका अध्यक्ष सुमन भट्ट पनि असारमा आयोजित प्रतियोगितामा सोचे जस्तो उद्देश्य पूरा नभएको स्वीकार्छन् । उनी भन्छन्, “हामीले माघमा नै प्रतियोगिता गरौं भनेर परिषद्सँग आग्रह गरेका थियौं । तर विभिन्न कारणले गर्दा अन्ततः असारमा नै खेल गर्ने समय पायौं ।” राष्ट्रिय क्रिकेट प्रतियोगिता एउटा उदाहरण मात्र हो । राष्ट्रियस्तरकै अन्य खेल प्रतियोगिताहरू र स्थानीय तहमा समेत पछिल्ला दिनहरूमा बजेट सकाउनकै लागि असारे भेलमा प्रतियोगिता हुन थालेको छ ।

प्रदेश–१ मा भइरहेको ‘मुख्यमन्त्री कप फूटबल प्रतियोगिता’ पछिल्लो उदाहरण हो । अखिल नेपाल फूटबल संघ (एन्फा)ले सातवटै प्रदेश सरकारसँग मिलेर ‘मुख्यमन्त्री कप फूटबल प्रतियोगिता’ आयोजना गर्ने योजना अन्तर्गत प्रदेश–१ मा यो खेल भइरहेको छ ।

मूलपानीस्थित मैदानमा म्याट ओछ्याएर खेलाइएको प्रधानमन्त्री कप क्रिकेट ।
अरु प्रदेशले बजेट छुट्याइनसकेको यो प्रतियोगिताका लागि प्रदेश–१ ले भने रु.१ करोड बजेट छुट्यायो र, एन्फाले रु.३३ लाख दियो । त्यसैले अन्य प्रदेशमा खेल शुरु नभए पनि प्रदेश–१ मा भने मध्य असारमा खेल शुरु गरिएको छ । जुन स्वाभाविक रुपमा वर्षाबाट प्रभावित बनिरहेको छ ।

यही १६ असारमा शुरु भएर ३० सम्म चल्ने यो प्रतियोगिता वर्षाको आहालमा डुबेको छ । अन्तिम चरणको खेल हुने तय भएको विराटनगरको शहीद रंगशाला वर्षाले डुबेपछि धरान सारिएको छ ।

करोडको बजेट सक्नकै लागि प्रतियोगिता आयोजना गरिएको भन्दै आलोचना भइरहेको छ । “सातवटै प्रदेशमा प्रतियोगिता गर्ने कार्यक्रम भए पनि प्रदेश–१ सरकारले शुरुमै हातेमालो गरेकोले असारमै प्रतियोगिता गर्नुपर्‍यो”, एन्फाका महासचिव इन्द्रमान तुलाधर भन्छन्, “तर वर्षाकै नाममा आलोचना गर्न जरुरी छैन । विश्वकप क्रिकेट पनि पानी परिरहेकै बेला भइरहेको छ । फूटबलमा त पानी परे पनि बल गुडुञ्जेल खेल्न मिल्छ । आयोजना हुनु नै ठूलो कुरा हो ।“
बर्खे भेलमै भइरहेको अर्को प्रतियोगिता हो, ‘राष्ट्रपति रनिङ शिल्ड’ । असारे झरीसँगै बजेट सक्नकै लागि आयोजना भइरहेको भन्दै विभिन्न खेलका प्रशिक्षकहरूले नै यसको आलोचना गरिरहेका छन् ।

राष्ट्रपति रनिङ शिल्डका लागि रु.४ करोड बजेट विनियोजन भएको थियो । तर यसपालि आठौं बृहत् राष्ट्रिय प्रतियोगिताका निम्ति त्यो बजेट प्रयोग हुँदा रनिङ शिल्ड हुने/नहुने निश्चित थिएन । र, बजेट आएपछि अन्तिम समयमा हतारमा प्रतियोगिता थालियो ।

जिल्ला हुँदै केन्द्रीय तहमा गरिने यो प्रतियोगिताको मुख्य उद्देश्य विद्यालयमा रहेका प्रतिभाहरूको खोजी गर्नु हो । तर हतार–हतारमा त्यो उद्देश्य पूरा नहुने प्रशिक्षकहरू बताउँछन् । जिल्ला कार्यक्रममा ५४ जिल्लाले मात्र भाग लिए । एथलेटिक्स, भलिबल, कराते, तेक्वान्दो, कबड्डी र उसु खेलहरू संचालन भए । छरितो कार्यक्रम गरिए पनि समय कम भएकोले प्रतियोगिताको कुल बजेट नसकिने अधिकारीहरुले बताएका छन् । राष्ट्रपति रनिङ शिल्ड संचालन तथा व्यवस्थापन समितिका सचिव मीनकृष्ण शर्मा भन्छन्, “जिल्ला छनोटमा रु.२ करोड ५७ लाख सकियो । अब केन्द्रमा हुने खेल रु.९० लाख भन्दा कममा सकिन्छ होला । बाँकी बजेट बच्छ ।”

काठमाडौंमा हुने राष्ट्रपति रनिङ शिल्डको अन्तिम चरण यही २९–३१ असारमा चल्दैछ । यसले असार अगावै खेल त सम्पन्न हुनेछ तर बर्खे झरीमाझ हुने प्रतियोगिताले उद्देश्य प्राप्ति होला नहोला; प्रश्न उठ्नेछ ।

comments powered by Disqus

रमझम