१९-२५ साउन २०७६ | 4-10 August 2019

नेपाल–भोट युद्घ: जंगको उर्दी– ‘पूर्वी पहाडको रसद खुम्बु पुर्‍याउनू’

Share:
  
- ज्ञानमणि नेपाल
लडाईंमा सहयोग गर्न तराईका जनतालाई आह्वानपछि प्रधानमन्त्री जंगबहादुर राणाले पहाडी भेगमा आदेशपत्र नै जारी गरेर फौजका लागि सोलखुम्बुको गोदाममा अन्न पुर्‍याउन उर्दी दिएका थिए ।

प्रधानमन्त्री जंगबहादुर राणाले भोटसँगको युद्धका लागि खाद्यान्न सहयोग, रसद बोक्ने आदि काम गर्न तराईका जिल्लाका महन्त, फौजदार, सुवेदार, चौधरी, गुठियार, बिर्ताकार, जिमिदार लगायतलाई वि.सं. १९११ कात्तिकमा चिठी मार्फत आह्वान गरेपछि सुनकोशीदेखि अरुणसम्मको पूर्वी पहाडका जनतालाई पनि सहयोगका लागि आदेश दिए । ती क्षेत्रका जिल्ला, थुम र गाउँगाउँका थरी, मुखिया, जिम्मावाल, मिझार, सन्त, महन्त आदिलाई सम्बोधन गरी लेखिएको आदेशपत्रमा कूटनीतिक भाषा प्रयोग गरी सहयोग मागिएको थियो ।

जंगबहादुरले आदेशपत्रमा पहिलेका मुख्तियारहरूले रैती दुनियाँलाई सालैपिच्छे बेठबेगार र टोकटन्टा लगाएर साह्रै दुःख दिएको र आफू प्रधानमन्त्री भएपछि यसरी दुःख दिनुहुँदैन भनेर वि.सं. १९०४ देखि १९१० सम्म त्यस्तो चलन हटाएको उल्लेख गरेका थिए । ‘सरकारलाई गाह्रोसाह्रो पर्दा सहयोग गर्ने नै छौ भनेर कुनै बेठबेगार नलगाएको र अहिले त्यही सहयोग गर्ने घडी आएको’ उनको भनाइ थियो । उनले भोटसँग युद्ध गर्ने कुरा नखुलाई चीनमा उठेको विद्रोह शान्त पार्न फौज जान लागेकाले सहयोगको खाँचो परेको आदेशपत्रमा लेखेका थिए ।

प्रधानमन्त्रीले देश र जनताको लागि फौजले जीउज्यान दिनुपर्ने र त्यस्तो फौजका लागि जनताले रसदपानी तोकिएको ठाउँमा पुर्‍याउनुपर्नेमा जोड दिएका थिए । सुनकोशीदेखि अरुणसम्मका जिल्ला, थुम र गाउँभित्र बिर्तावितलपलाई छाप, खर्क, जागीर, किपट र रैकर जग्गाको खेतबारी कमाउने मोहीले कमाएको जग्गाको परिमाण अनुसारको अन्न उठाई सोलखुम्बु गोदाममा पुर्‍याएर रसिद ल्याउन भनिएको थियो । त्यसका लागि थरी, मुखियाहरूलाई आफ्नो क्षेत्रमा कटुवाल लगाएर सूचना जारी र ताकेता गर्न समेत उर्दी दिइएको थियो ।

प्रधानमन्त्री जंगबहादुरले कसले कति अन्न दिनुपर्ने भनेर दर नै तोकेका थिए । ४३ मुरीदेखि माथिको खेत कमाउनेले प्रतिमुरी ३ माना, एक मुरीदेखि ४२ मुरीसम्म खेत वा पाखो कमाउने र हलगोरु जोत्ने घरले १६ पाथी, पाटे घरले १२ पाथी र कोदालेले प्रतिघर ८ पाथी अन्न बुझाउन भनिएको थियो । यस्तै, कुनै जमीन नकमाउने तर बन्दबेपार गर्नेलाई ८ पाथी दरले अन्न पुर्‍याउन आदेश दिइएको थियो । बिर्ताको आयस्ता खानेले मुरीको चार माना हिसाबले दिनुपर्ने र पाखा जग्गाको नगद आम्दानी खानेले रु.१ को साढे ४ मानाका दरले दिनुपर्ने निर्देशन थियो ।

तोकिए बमोजिमको अन्न १९११ को चैतसम्ममा गोदाममा नपुर्‍याएको देखिए सम्बन्धित गाउँका थरी, मुखिया र नल्याउने व्यक्तिलाई सजाय दिइने चेतावनी पनि जंगबहादुरले आदेशपत्रमा स्पष्ट पारेका थिए ।

कस्तो घरपरिवारले अन्न ल्याउनु नपर्ने भन्ने शर्त पनि स्पष्टसँग खुलाइएको थियो । गौंडामा जागिरदार रहेका व्यक्तिका घरमा रसद बोक्ने १२ वर्षमाथिका मानिस छैनन् भने अन्न ल्याउनु नपर्ने भनिएको थियो । जग्गा र बन्दबेपार नहुने तथा घरमा रसद बोक्ने लोग्ने मानिस नभएकाले पनि रसद नबुझाए हुने छुट दिइएको थियो ।


श्री ३ जंगबहादुर राणाले पहाडका जनतालाई जारी गरेको आदेश पत्रः

आगे भरअम्वल्का थुनथुम गाउँ गाउँका द्वार्‍या थरिमुखिया घाट बुढा जिम्मावाल मिजारगौरु कटुवाल रकमि संतमहंत भलाआदामि छोटावडाजागीर्‍या छाक्य्रा रैति पौनिपात चारवर्णा छतिसैजान ग्रैह्र के येथोचित उप्रान्त अघिअघिका मुख्तीयार को पालामा साल बसाल झारा वेठ वेगार कोट टंटा लाग्दा दुनियाँदार रैतीहरूले साह्रै दुःख पाया. हाम्रावजिरीमुख्तियारिमा दुनियाँदार रैतिलाई दुःखदिन्याकाम बढिया छैन जैले श्री ५ सरकार का काम परि आउला उसैबेला आफु आफुले गर्‍या काम वा जो जो पर्ला सोगर्लान् भनि संबत १९०४ सालदेखि १९१० सालसम्म दुनियाँँदारी रैतिहरूलाई झारा वेठ वेगार टोक टंटा केहिलायाको थिएन. आज श्रीदैवका इच्छाले उत्तर दिशातिर लडानीको कारखाना हुन लाग्यो तसर्थ फौजका भरमा रैयत रैवतका भारमा फौज फौजले ज्यांदिनुपर्छ. रैयतले १९११ सालका वालिमा रसद पुर्‍याउनुपर्छ. तसनिमित्त तफसिल् माफिकका दरवन्दि बमोजिम जौन अंन दिनामा तिनिहरूलाई सजिलो हुछ येक घरको येकथोक अंन मुखियाले आफ्ना आफ्ना गाउँघर कंपुवाललाई हाक हलाई तगेदा लगाई ज्मागरि आफना घरको समेतको बोकाइ आफु समेत गै भर चैत्र मै देखि पर्ने रुपैयाँ खुदुगोदाम घरमा दाखिल गर्‍याका अंनको तपसिलमा ठेकियाका दरभाउले रसिदलि जानु जंग्गीका जमिन लाग्याको रसद आफु–आफुलाइ लेखियाको दरबंदि बमोजिमको अंन चैत्रमैन्हाभरमा पुर्‍यायेनौ पछि रसिद जाच्दा रसिद देषाउन सक्योनौ र जस अम्बल गाउँका थरि मुखिया तालुकको रसदआवैन तेसमुषीयालाई रनल्याउन्यालाई जगीअ‍ैन वमोजिम जातअनुसारको सजाये होला.

तपसिल

चारवर्ण छत्तीसै जातले रैकर जिल्ला जफति जग्गा कमाउन्या र मठसदावर्तगुठी तलपवितलप वेठ बेगार मरवट पिंकदार सर्वाकं माफ भयाकाजगा औ मयाउ मोहरिया माना–चावल पेटखर्च छापरज

वादा घरवारी किपट सुनाविर्ता सेवाविर्ता चैधरिमांया रैरकम गैह्रका खेतपाखा माबसि कमाउन्या मोहियाका दरंवदि

४३ मुरि देखि माथि खेत पाखोस्मेत कमाउन्या हल पाट्या कोदाल्या ज्यासुकै भया पनि खेतमुरी १ को माना ३ का दरले जति मुरि खेत कमायाकोछ उति मुरि खेतको हिसाब गरि पुर्‍याउनु .....१

१ मुरिदेखि ४२ मुरि सम्म खेत र पाखो समेत कमाउन्या भया पनि पाखो मात्र कमाउन्या भया पनि हतघर १ के पाथि १६ पाखा घर १ के पाथि १२ को दाल्या घर १ के पाथि ८ कादरले पुर्‍याउनु .....२

खेतपाखो कमायाको पनि छैन विर्तावितलव फिकदार पनि छैन अरूथोक रोजी बन्दवेपार गरिखान्या घर १ पाथि आठ ८ का दरले पुर्‍याउनु .....३

विर्तावितलव सर्वांक माफ भयाको र सुनाविर्ता सेवाविर्ता वितलव दरवन्द फिकदार माना चावल मठ रजवाधाजगा कोदरवन्दि

आफ्नु जग्गा आफैले कमायाको छ भन्या खेत कमाउन्याको माथी लेखीमाका दरवन्दिबमोजिम मुलुक सरह पुर्‍याउनु विर्ता खेतका आमदानी खान्याले खेतमुरि १ को माना ४ का दरले जति खेत ठहर्छ उति खेतको हिसाब गरी पुयाउनु .....४

पाखाजग्गाको पैदावार आम्दानी खान्याले रुपैया १ हो माना ४ का दरले जति रुपैयाँ पैदा को जग्गा छ उति रुपैयाको हिसाव गरि पुर्‍याउनु .....१

खुबुगोदाममा बुझाउन्या भाउको दरवन्दि मोहर्र्र्रू १ को चावल पाथि साढेचार .....४ ।४

मोहर्रू १ को च्यूरा पाथि साढे पाच .....५ ।४ मोहर्र्र्रू १ को फलूवा भुट्याको जौ पाथि साढे् छ .....६ ।४

मोहर्र्र्रू १ को उवा भुट्याको पाथि साढे छ .....६ ।४ मोहर्र्र्रू १ को मास भुट्याको पाथि साढे पाच .....५ ।४

मोहर्र्र्रू १ को फलुवा भुट्याको काँचो कोदोको पाथी सात .....७ गांैडामा गयाका जागीरदारका घरमा रसदवोक्न सकन्या १२ वर्ष देखि उभोका लोगन्या मानिसहरू छैनन् भन्या जतिसुकै खेत पाखो कमायाको भया पनि रसद मोहर्रू १ को ल्याउनुपर्दैन.

खेतपाखो कमायाको पनी छैन विर्तावेख फिकदार पनि छैन अरुथोक रोजी वन्दवेपार पनि छैन भन्या तेस्ता र अथवा रसदवोकन्या लोगन्या मानिस पनि घरमा कोहि छैन भन्या त्यस्तालाई लाग्दैन.

comments powered by Disqus

रमझम