१९-२५ साउन २०७६ | 4-10 August 2019

योगेश भट्टराई: एउटा संभावनाको सत्ता–परीक्षा

Share:
  
- विष्णु रिजाल
पार्टी संगठनमा आफ्नो कुशलता साबित गरेका योगेश भट्टराईको सिंहदरबार–यात्रा उनको ‘विद्रोही’ व्यत्तित्वको निरन्तरता र चुस्त शैलीको परीक्षा हुनेछ।

तस्वीरः हिमाल आर्काइभ
२०७४ सालको प्रतिनिधिसभा निर्वाचन अघि ताप्लेजुङको चुनावी सभालाई सम्बोधन गर्दै तत्कालीन एमाले अध्यक्ष तथा हालका प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, “तपाईंहरू योगेश भट्टराईलाई जिताएर पठाउनुस्, मन्त्री बनाउने जिम्मा मेरो भयो ।” तर मन्त्रिपरिषद् गठन हुँदा प्रधानमन्त्रीको वचन पालना भएन । वचनमा ठगिएको देखिए पनि संभावित मन्त्रीका रूपमा भट्टराई चर्चामा रहिरहे ।

उनै भट्टराई १५ साउनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त भएलगत्तै सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमहरूसम्म सकारात्मक प्रतिक्रियाको ओइरो लाग्यो । यसले उनीमाथि कति अपेक्षा र सकारात्मक दबाब छ भन्ने देखाउँछ । जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्नसक्ने युवा नेताका रूपमा पार्टीमा छवि बनाएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य भट्टराई मन्त्री भएसँगै उनले कुशलताको परीक्षा दिनुपर्ने मैदान थप फराकिलो भएको छ ।

विद्यालय तहदेखि नै विद्यार्थी राजनीतिमा संलग्न भएर खारिंदै नेतृत्वदायी भूमिकासम्म पुगेका कारण होला, पार्टीमा भट्टराईको काम गर्ने शैली अन्य नेताको भन्दा फरक छ । कुनै पनि कामलाई अभियानकै रूपमा अघि बढाउने र परिणाम निकाल्ने चरित्र संभवतः उनले विद्यार्थी आन्दोलनबाटै तिखारेका हुन् । उनी तीन वर्ष नेकपा (एमाले) को केन्द्रीय प्रचार विभाग प्रमुख हुँदा म सचिव थिएँ । त्यस क्रममा उनको जनसम्पर्कको चुस्तता, प्राप्त जिम्मेवारी पूरा गर्ने कुशलता, सहकर्मीहरूको विश्वास जित्ने क्षमता र तत्कालै निर्णयमा पुग्ने गुण देखेको छु । यी कुरालाई जोगाउँदै व्यवस्थापन गर्नसके उनी आफ्नो पुस्ताको अग्रणी नेता बन्न सक्छन् । मन्त्री भएसँगै उनका यी गुणहरूको परीक्षण हुनेछ ।

नेकपाको १०–१५ वर्षपछिको नेतृत्वको आकलन गर्दा मानिसहरूले योगेश भट्टराईको नाम लिने गरेका छन् । यसका पछाडि आधारहरू छन् । डेढ वर्षको छोटो अवधिमै संघीय संसद्मा निर्वाह गरेको प्रखर भूमिकाले उनलाई पार्टीमा मात्र होइन, सबैको ध्यानाकर्षणको पात्र बनाइदिएको छ ।

पार्टीभित्र वैचारिक बहस हुन्छन्, मतभेद र विवाद पनि हुन्छन् । भट्टराई त्यसबाट पृथक छैनन् । अझ् अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग त राजनीतिक रूपमा उनको कहिल्यै कुरा मिलेको पाइँदैन । महाकाली सन्धिदेखि पार्टी विभाजन, एकता हुँदै सातौं, आठौं र नवौं महाधिवेशनसम्म आइपुग्दा भट्टराई फरक कित्तामा छन् । तथापि, ओलीले उनलाई विश्वास गर्छन् भन्ने कुरा उनी प्रचार विभाग प्रमुख हुँदाका घटनाहरू नियाल्दा थाहा हुन्छ ।

भट्टराई प्रचार विभाग प्रमुख हुँदा एमालेमा नवौं महाधिवेशनको धङधङी हटिसकेको थिएन । उनी अध्यक्ष ओलीको टीमबाट नभई वरिष्ठ नेता माधवकुमार नेपालको टीमबाट सचिव निर्वाचित भएका थिए । त्यस्तो अवस्थामा पनि उनले प्रचार विभाग प्रमुखको जिम्मेवारी पाएर पार्टी प्रवक्ताको भूमिका निर्वाह गर्दा एक पटक पनि बाहिर विवादास्पद कुरा बोलेनन् । पार्टीको बैठकमा उनको चर्काचर्की कुरा हुन्थ्यो, निर्णयहरूमा विमति हुन्थ्यो । तर, सञ्चारमाध्यममा पार्टीका आधिकारिक र निर्णित कुरा मात्र बोल्ने उनको बानीले आलोचकलाई पनि प्रभावित पाथ्र्यो । कामबाटै प्रभाव पार्ने उनको शैली कस्तो थियो भने, आठौं महाधिवेशनबाट पहिलो पटक केन्द्रीय कमिटीमा आएपछि खासै नाम नसुनिने स्वास्थ्य विभागको जिम्मेवारी पाउँदा पनि उनले काम गरेरै त्यसको आकर्षण बढाइदिएका थिए ।

प्रधानमन्त्री ओलीले पछिल्लो समय ‘आफूलाई सुधार गर्न खोजेको’ विश्लेषण गरिंदै गर्दा पार्टीभित्र आफ्ना आलोचकका रूपमा चिनिने लोकप्रिय नेतालाई जिम्मेवारी दिएर आलोचकहरूको संख्या घटाउने नीति लिएको विश्लेषण पनि भइरहेको छ । सरकारले अपेक्षित काम गर्न नसकेको दोष बोकिरहँदा स्वयम् प्रम ओलीले आफ्नो टीमले अपेक्षा अनुसारको काम गर्न नसकेको बताउँदै आएका छन् । सरकारको समग्र जिम्मेवारी र नेतृत्व प्रधानमन्त्रीको हुने भए पनि मन्त्रालयको नेतृत्व गरेका कारण कामको जिम्मेवारी मन्त्रीहरूकै हुन्छ । कतिपय राजनीतिक समीकरण र कतिपय आफ्नै परिबन्दका कारण मन्त्रीहरू बदल्न प्रधानमन्त्री तत्काल समर्थ नभए पनि सरकारले परिणाममुखी काम गर्न नसकेको अवस्था चिर्न समाधानको उपाय खोज्नु स्वाभाविकै हो । सम्भवतः योगेश भट्टराईको नियुक्तिले केही मात्रामा भए पनि उनलाई राहत दिनेछ ।

प्रधानमन्त्री ओलीले सोचविचार गरेरै उनलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिएका छन् । कामहरू असरल्ल भएको र बढी विवादमा परेको मन्त्रालयको जिम्मेवारी आफैंले पाँच महीनासम्म सम्हाल्दा प्रधानमन्त्रीले यसका तमाम समस्या बारे थप बुझ्ेको हुनुपर्छ । त्यति माथापच्ची गरेर ल्याएको राष्ट्रिय ध्वजावाहक वाइडबडी जहाजले विमानस्थलमा आराम गरिरहेको छ, चीनबाट ल्याइएका एम ६० सिरिजका सबै जहाज ग्राउन्डेड छन्, यो परिस्थितिमा ‘नेपाल भ्रमण वर्ष २०२०’ मा २० लाख पर्यटक भित्र्याउने भाषण दिनदिनै सुन्न हामी बाध्य छौं । यही अवस्था बुझ्ेर होला, मन्त्रीको पदभार ग्रहण गर्दैगर्दा भट्टराईले सुधारको शुरुआत नेपाल वायुसेवा निगमबाट गर्ने संकेत गरेका छन् ।

काम गर्न सक्दा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय हाम्रो मुलुकको मुहार परिवर्तन गर्न सक्ने महत्वपूर्ण मन्त्रालय हो । अहिले हामीले चाहेर पनि देशलाई अन्तर्राष्ट्रिय स्तरमा शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि वा अर्थतन्त्रको केन्द्र बनाउन सक्दैनौं । तर, कठोर मिहिनेत गरेमा विश्वकै पर्यटकका लागि आकर्षणको केन्द्र बनाउन सक्छौं । त्यसका लागि हाल अघि बढेका आयोजनाहरूलाई गति दिएर निर्धारित मितिमा पूरा गर्ने हो भने संभावनाको एउटा ढोका खुल्छ ।

यही वर्षभित्रै पूरा हुने भैरहवा विमानस्थल सञ्चालनका लागि प्रभावकारी कार्ययोजना बनाउने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्धारित मितिमा सम्पन्न गर्ने र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण शुरु गर्ने कुरा हाम्रो पर्यटन क्षेत्र गतिशील बनाउने पखेटा भएकोमा शंका छैन । तर, यति मात्र पर्याप्त हुँदैन । ती विमानस्थलमा विदेशी कम्पनीले मात्रै विमान उडाउने र हामी मुकदर्शक हुने हो भने उपलब्धि हात पर्दैन । कम्तिमा अत्यधिक मात्रामा नेपालीहरू जाने गन्तव्यहरूमा मात्र पनि हामीले राष्ट्रिय ध्वजावाहकको सेवा पुर्‍याउन सक्यौं भने त्यसबाट धेरै लाभ लिन सक्छौं । यति काम गर्न पक्कै सजिलो छैन, तर अप्ठेरा काम गरेर आफूलाई साबित गर्दै पहिचान बनाएका युवा नेताबाट अपेक्षा गर्नु बढी हुनेछैन ।

पर्यटन मन्त्रालय प्रायः विवादबाट मुक्त छैन । राष्ट्रिय/अन्तर्राष्ट्रिय कमिशन माफियाहरूको चासो हुने र ठूलो व्यापार हुने भएका कारण जहिले पनि त्यहाँका प्रमुख निर्णयहरू विवादमा पर्ने गरेका छन् । खासगरी नयाँ विमान ल्याउने चर्चा चल्नासाथ शुरु हुने विवादले यति चरम रूप लिन्छ, अन्ततः मन्त्रीका लागि त्यही नै पासो बनिदिन्छ । यी कुरालाई शुरुमै ध्यानमा राखेर अघि बढ्दा र सकारात्मक जोखिम उठाउँदा राष्ट्रिय व्यक्तित्व बनाउने अवसर भट्टराईलाई प्राप्त भएको छ ।

comments powered by Disqus

रमझम