१९-२५ साउन २०७६ | 4-10 August 2019

वैदेशिक रोजगारमा महिला: घरमा हिंसा विदेशमा शोषण

Share:
  
- कल्पना भट्टराई
परिवारबाट पीडित महिलाको विवशता र अज्ञानताको फाइदा उठाउँदै वैदेशिक रोजगारीको आवरणमा महिला बेचबिखन धन्दा मौलाएको छ ।

कपिलवस्तुको कृष्णनगर नाकामा भारत जान लागेको महिलालाई सोधपुछ गर्दै शान्ति पुनस्र्थापनाका ‘बोर्डर सर्भिलेन्स टिम’का कर्मचारी ।
२०६५ सालमा श्रीमान् शैलेश राईले अर्की लिएर घर छाड्दा सविनाको काखमा पाँच महीनाको नाबालक छोरा थियो । विस्तारै सासू–ससुराले पनि वास्ता गर्न छाडे । पाँच वर्षसम्म पनि शैलेश नफर्केपछि उनी धनकुटाबाट धरानस्थित माइत गइन् । छोरा कक्षा चढ्न थालेसँगै खर्च पनि बढ्दै गयो । बुढेसकालका बाबु–आमा हेर्ने जिम्मेवारी पनि थपियो ।

त्यही क्रममा २८ वर्षीया सविनाको भेट झापाका पासिङ राईसँग भयो । पासिङले सविनालाई खाडी मुलुक कुवेतमा महीनाको ४० हजारसम्म कमाइने र त्यसका लागि आफूले सहयोग गर्ने बताए । पासिङले भने बमोजिम दुर्गा गुरुङ र राज गुरुङले सविना र पाँचथरकी माया लावती (३९) लाई २२ फागुन २०७५ मा काँकडभिट्टा नाकासम्म पुर्‍याए । नयाँदिल्लीसम्मको रेल चढाइदिए, भारतीय सिमकार्डसहित मोबाइल फोन पनि दिए । “उनीहरूले भनेको ठाउँ खोज्दै दिल्लीको किसनगढको एउटा कोठामा पुग्दा नेपालबाटै पुगेका अरु आठजना महिला पनि भेटिए, धादिङकी निता सुनार (३४) र रश्मी तामाङ (२२), पाँचथरकी गौमाया थामहाङ (४३), झापाकी रीता लिम्बू (३६), सुनसरीकी गीता चौधरी (३५), माया लिम्बू (४१), कपिलवस्तुकी गोमा भण्डारी (३५) र अर्की एक महिला ।

किसनगढको त्यो कोठामा खाँदिएका यी महिलाका घर, थर फरक भए पनि कथा र सपना भने उही थिए । उनीहरू सबै घरेलु हिंसा, अपहेलनाका कारण विदेशिन बाध्य भएका थिए । भारत हुँदै कुवेत पुग्न सजिलो छैन भन्ने त उनीहरूलाई थाहा थियो, तर घरभित्रको पीडा त्योभन्दा कयौं गुणा असह्य ।

त्यही कोठामा बस्दाबस्दै यी महिलाले आफ्ना व्यथा साट्न भ्याए । जस्तो कि, धरानकी माया लिम्बू श्रीमान्बाट मात्र होइन, छोरा–बुहारीसमेतको व्यवहार सहन नसकी घर छाड्ने निष्कर्षमा पुगेकी रहिछिन् । श्रीमानको कुटपिट, अत्यधिक मादक पदार्थ सेवनबाट दिक्क रश्मी तामाङ विदेशको कमाइले एकमात्र छोरालाई राम्ररी पढाउन चाहन्थिन् ।

मलेसियामा पाँच वर्ष दुःख गरेर नीता सुनारले १२ लाख जति कमाइन् । तर, घर फर्कंदा पो थाहा पाइन् । श्रीमान्ले त त्यो पैसा रक्सी र मोजमस्तीमै सिध्याइसकेका रहेछन् । घर बनाउने र चार सन्तानको भविष्य राम्रो बनाउने उही पुरानै सपना बोकेर नीता फेरि विदेशिने निष्कर्षमा पुगेकी रहिछिन् ।

‘ट्रान्जिट’ दिल्ली

मेडिकल जाँचका लागि पालो कुर्दै दिल्लीको सफदरजंग हस्पिटलमा पालो कुर्दै भारत–म्यानमार सीमामा समातिएका महिलालाहरु ।
दलालहरूले दिल्लीस्थित विमानस्थलबाट महिलाहरूलाई कुवेत पठाउन असम्भव देखे । पछिल्लो समय भारतको विमानस्थल हुँदै खाडी मुलुकमा महिला पठाउने गरेको खुलेपछि दूतावासबाट ‘नो अब्जेक्शन सर्टिफिकेट’ (एनओसी) अनिवार्य गरिएको थियो । दलालहरूले अर्को बाटो रोजे र ती महिलाहरूलाई दिल्लीबाट आसामको गुहाटी ओह्राले । उनीहरू बंगलादेशको सुमानगञ्ज नाका हुँदै त्यहाँबाट कुवेत उडाउन चाहन्थे । तर, नाका कटाउन असहज देखेपछि दलालहरू एकाएक गायब भए ।

अलपत्र महिलाहरू त्यहाँबाट जसोतसो फेरि गुवाहटी पुगे र पहिले राखिएकै होटलमा पुगे । नेपाली भाषा बुझ्ने होटल सञ्चालकले उनीहरूलाई दिल्ली पठाउने प्रबन्ध मिलाए । अन्यत्रको केही पत्तो नपाएका उनीहरू सोझै किसनगढस्थित पुरानै कोठामा पुगे । र, गत २४ वैशाखमा दिल्ली महिला आयोगको सहयोगमा बेचबिखन विरुद्ध कार्यरत संस्था ‘आफन्त नेपाल’ले महिलाहरूलाई उद्धार गरेर कपिलवस्तु नाका हुँदै नेपाल फर्कायो ।

हिंसामाथि हिंसा

सन् २०१८ को राष्ट्रिय मानव अधिकार आयोगको मानव बेचबिखन सम्बन्धी वार्षिक प्रतिवेदनमा महिलाहरू घरेलु कामका लागि खाडी मुलुक जानुको कारण ‘घरेलु हिंसा’ भएको उल्लेख छ । प्रतिवेदनमा वैदेशिक रोजगारीमा जाने महिलामध्ये ८० प्रतिशत श्रीमान् र परिवारबाट पीडित भएको बताइएको छ । श्रीमान्ले खान÷लगाउन नदिने, कुटपिट गर्ने, छोराछोरीलाई नहेर्ने भएकाले छोराछोरीको भविष्यका लागि दलालहरूले ‘चोरबाटो’ बाट पठाउँदैछन् भन्ने थाहा हुँदाहुँदै पनि महिलाहरू विदेश जान तयार भएको प्रतिवेदनमा भनिएको छ । शक्ति समूहकी संस्थापक सुनिता दनुवार पनि परिवारको हिंसा र सन्तानको जिम्मेवारीका कारण जोखिम मोलेरै भए पनि महिलाहरू विदेशिने गरेको बताउँछिन् । “कति महिलालाई त सरकारको प्रतिबन्धबारे पनि थाहा छैन, कि प्रतिबन्ध फुकुवा गरेर श्रम सम्झौता गर्नुपर्‍यो कि स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्‍यो”, उनी भन्छिन् ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलिया पनि घरेलु हिंसाबाट पीडित महिला नै ‘दलाल’को प्राथमिकतामा परिरहेको बताउँछन् । “हिंसाबाट छुटकारा पाउने र पैसा कमाउने लोभले झन् ठूलो जोखिम निम्तिन सक्ने कुरामा महिलाहरू चनाखो हुनुपर्छ”, उनी भन्छन् ।

चोरबाटोको ‘सेटिङ’

पछिल्लो पटक २०७२ सालमा नेपाली महिलालाई घरेलु कामदारका रूपमा खाडी मुलुक जान रोक लगाइएपछि दलालहरूले ‘चोरबाटो’ समातेका हुन् । त्यसो त नेपाल–भारतबीच स्थलमार्गबाट आवतजावत गर्दा राहदानीलगायत परिचय नखोजिने भएकाले पनि नेपाली महिला र किशोरीलाई विभिन्न बहानामा भारत पुर्‍याउन कुनै अप्ठेरो छैन । सीमापार हुने बित्तिकै दलालमार्फत उनीहरूलाई नयाँदिल्ली पुर्‍याइन्छ ।

आफन्त नेपालका कार्यकारी निर्देशक इन्द्रराज भट्टराईका अनुसार नेपाली महिलालाई भारतको कुनै ठाउँमा राखेर खाडीको कुन मुलुकमा, कहिले र कसरी पठाउने भन्ने ‘सेटिङ’ हुने गरेको छ । दलालहरूले दिल्लीलाई नै ‘ट्रान्जिट प्वाइट’ बनाउँदै आएका छन् ।

भारतीय विमानस्थलमा एनओसी माग्न थालिएपछि अप्ठेरोमा परेका दलालहरूले बंगलादेश, म्यानमार र कतिपयले धार्मिक पर्यटकका रूपमा श्रीलंका हुँदै खाडीलगायत अन्य मुलुक पुर्‍याउने गरेका भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्याय बताउँछन् ।

वैदेशिक रोजगार विभागका अनुसार, २०५०/५१ सालदेखि २०७६ असार मसान्तसम्म २ लाख १८ हजार २ सय ७३ महिला श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका छन्, जसमध्ये अधिकांश खाडी मुलुकहरू साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, बहराइन, कतारमा छन् । अफगानिस्तान, इजरायल लगायतमा पनि नेपाली महिला कार्यरत् छन् । विभागका महानिर्देशक भिष्मकुमार भुसाल यी महिलाहरूले केयर टेकर, क्लिनर, सेल्स, क्याटेरिङ, हाउस मेड, सेक्युरिटी गार्डलगायतका काम गरिरहेको बताउँछन् ।

घट्यो उजुरी

कानूनी जटिलता, बेचबिखनमा आफन्तकै संलग्नता, अशिक्षा र अज्ञानता जस्ता कारण बेचबिखनका मुद्दा कमैमात्र प्रहरीसमक्ष पुग्ने गरेका छन् । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा गत आर्थिक वर्ष ०७५/०७६ मा बेचबिखनका १९० वटा मुद्दा मात्र दर्ता भएका थिए । यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ३८ प्रतिशत कम हो । (हे ग्राफ)

ब्यूरोका प्रवक्ता थपलिया धेरैजसो बेचबिखनमा संलग्न पीडित र पीडकबीच नातागोता वा चिनाजानी हुने भएकाले पीडित मुद्दा दर्ता गर्न हिच्किचाउँछन् । “अर्को चाहिँ पीडित राजीखुशीले विदेश गएकाले पनि मुद्दा दायर गर्दैनन् ।” जस्तो कि, गत ५ फागुन २०७५ मा भारतको मणिपुर र म्यानमार बीचको सीमा मौर्य र इम्फालबाट उद्धार गरिएका १४६ नेपाली महिलामध्ये कसैको पनि दलालविरुद्ध उजुरी परेन ।

ब्यूरोका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीका अनुसार ३३ जना पुरुष दलालको समूहले यी महिलाहरूलाई कुवेत, साउदी अरब, इराक, किर्गिस्तानलगायत मुलुकमा लैजाने तयारी गरिरहेका थिए ।

(पीडित सबै महिलाको नाम परिवर्तन गरिएको छ ।)

comments powered by Disqus

रमझम