१९-२५ साउन २०७६ | 4-10 August 2019

घरैमा अत्यावश्यक औषधी र उपकरण

Share:
  
- डा. मुकुल ढकाल

हरेक स्वास्थ्य समस्यामा चिकित्सककै सल्लाह अन्तिम हुने गर्छ । तर, कतिपय यस्ता सामान्य समस्या हुन्छन्, जसको उपचार घरैबाट गर्न सकिन्छ । यहाँ केही औषधि र उपकरण सिफारिस गरिएका छन्, जसलाई नियमित रुपमा घरमा राख्न सके बिरामीको स्वास्थ्य तत्काल सुध्रनुका साथै तनाव र समयको समेत बचत हुन्छ ।

ज्वरो र दुखाइ कम गर्ने औषधि

‘पारासिटामोल’, ‘आइबुप्रोफिन’ लगायत ज्वरो र दुखाइमा प्रयोग हुने सामान्य औषधि, महिनावारीको दुखाइ कम गर्ने औषधि, जीवनजल लगायत सामान्य औषधि घरमा टुटाउनुहुन्न । तर, यी औषधि अलि बढी परिमाणमा सेवन गर्नुपर्ने भएमा चिकित्सकको सल्लाह अनिवार्य मानिन्छ ।

ढाड दुखाइ लगायत मांसपेशीको समस्यामा ‘हट ब्याग’ राख्नु उपयुक्त हुन्छ । घाउ–चोट लगायत थुप्रै रोगमा ‘आइस प्याक’ प्रयोगले धेरै मद्दत गर्छ ।

डिजिटल थर्मोमीटर

ज्वरोको मापनका लागि थर्मोमीटर आवश्यक पर्छ । विगतमा मर्करीयुक्त थर्मोमीटर प्रचलनमा रहे पनि अहिले विश्व स्वास्थ्य संगठनले नै यसको प्रयोगमा बन्देज लगाएको छ । र, प्रयोगमा आएको छ, डिजिटल थर्माेमीटर ज्वरो आएको बेला अधिकतम तापक्रम रेकर्ड गर्न सकिए यसले रोग पहिचान र व्यवस्थापनमा धेरै मद्दत गर्छ ।

ब्लड प्रेसर सेट

उच्च रक्तचाप वा न्यून रक्तचाप नेपाली घरपरिवारको परिचित समस्या हो । स्वास्थ्यका लागि रक्तचाप ठीक हुनु अति आवश्यक छ । तसर्थ यसलाई घरमै नाप्न मुख्यतः दुई उपकरण स्फिग्नोमानोमीटर र स्टेथोस्कोप आवश्यक पर्छ । यी दुई उपकरणको सहायताले रक्तचाप नाप्न स्वास्थ्यकर्मीसँग सिक्नुपर्छ । तर, अहिले बजारमा डिजिटल ब्लड प्रेसर सेट पनि उपलब्ध छ, जुन प्रयोग गर्न विशेष सीप आवश्यक पर्दैन । तर, यो उपकरणको विश्वसनीयतामा ढुक्क हुन तीन वा ६ महीनामा स्वास्थ्यकर्मीबाट समेत उच्च रक्तचाप मापन गरी तुलनात्मक अध्ययन गर्न सकिन्छ ।

वेइङ स्केल

न्यून वा अधिक तौल शरीरका लागि राम्रो होइन । तौल एक्कासि घट्नु वा बढ्नुमा पनि गम्भीर प्रकृतिका रोगका सङ्केत हुन सक्छन् । क्षयरोग, क्यान्सर, हाइपरथाइरोइड लगायतमा तौल घट्न सक्छ भने, हाइपोथाइरोइड लगायतमा तौल बढ्न सक्छ । तीन महीनाको अन्तरालमा विना कुनै प्रयास (व्यायाम वा खानपिन परिवर्तन) १० प्रतिशत भन्दा बढी तौलमा परिवर्तन आए, चिकित्सकीय परामर्श आवश्यक हुन्छ ।

तौल नाप्ने वेइङ स्केल मेसिनबाट नियमित रुपमा तौलबारे जानकारी लिन सकिन्छ । गम्भीर प्रकृतिका रोगले विकराल रूप लिनु अगावै बच्न सकिन्छ । बालबालिकामा त उमेर अनुसार तौल र उँचाइ दुवै नापिरहनु जरूरी हुन्छ । यसका लागि घरमा उँचाइ नाप्ने आवश्यक टेप वा उपकरण राख्नु उत्तम हुन्छ ।

प्राथमिक उपचार किट

सामान्य औषधि बाहेक प्राथमिक उपचार किट घरमा हुनु आवश्यक छ । साथै यसको प्रयोगका लागि कम्तिमा घरमा एकजनाले आवश्यक तालिम लिनुपर्छ । यो किटमा घाउचोट लाग्दा प्रयोग हुने ब्यान्डेज, गज, कटन, एन्टिसेप्टिक (डेटोल) लगायत सामग्री राख्न जरुरी हुन्छ ।

ग्लुकोमीटर

विशेषतः मधुमेहका (प्रचलित भाषामा सुगर) का बिरामी भएको घरमा ग्लुकोमीटर राखी रगतमा सुगरको मात्रा जाँच्न सकिन्छ । यसबाट डायबिटिजसँगै अन्य रोगको जोखिमबारे समेत सतर्कता अपनाउन सकिन्छ ।

अक्सिजन कन्सन्ट्रेटर र नेबुलाइजर

घरमा दमका बिरामी भएमा अक्सिजन कन्सन्ट्रेटर वा अक्सिजन सिलिण्डर राख्दा राम्रो हुन्छ । सिलिण्डरभन्दा कन्सन्ट्रेटर अलि महङ्गो विकल्प हो । साथै नेबुलाइजर राख्न सके बिरामी घरमै गम्भीर भइहाले व्यवस्थापन गर्न सकिन्छ ।

हेल्थ रेकर्ड फाइल

आफ्नो र परिवारको सम्पूर्ण स्वास्थ्य विवरणको अलग–अलग फाइल बनाएर राख्न सके राम्रो मानिन्छ । यसरी रेकर्डहरू राख्दा मिति अनुसार फाइलिङ गर्नुपर्छ । यस्तो फाइलको रेकर्ड अनलाइन वा इलेक्ट्रोनिक माध्यममा राख्दा झनै सुरक्षित र भरपर्दो हुन्छ ।

आपतकालीन सम्पर्क सूची

नजिकको एम्बुलेन्स, अस्पताल, वारूण यन्त्र, प्रहरी कार्यालय (१००), ब्लड ब्याङ्क तथा अन्य आवश्यक कार्यालय एवं स्थानको सम्पर्क फोन नम्बर सबैले देख्ने ठाउँमा सुरक्षित राख्नुपर्छ । साथै, आफ्नो र परिवारका सदस्यहरूको रक्त समूह पत्ता लगाई, सोही रक्त समूहका पाँचदेखि १० जनाको फोन नम्बर पनि सुरक्षित राख्नु बुद्धिमानी हुन्छ । यी सम्पर्कहरूले सञ्जीवनीको काम गर्न सक्छ ।

comments powered by Disqus

रमझम