१९-२५ साउन २०७६ | 4-10 August 2019

बुद्घ बुझाउने हतारो

Share:
  
- वसन्त महर्जन
गौतम बुद्घ जन्मभूमिको बासिन्दाका हैसियतले हाम्रो कर्तव्य ‘बुद्घ नेपालमा जन्मिएका थिए’ भन्ने तथ्यलाई बारम्बार दोहोर्‍याउनु होइन, बुद्घ शिक्षा बुझ्नु र बुझाउनु हो।

GlobalTimesBiz Twitter
‘बुद्ध वाज वर्न इन् नेपाल (बुद्ध नेपालमा जन्मिएका थिए)’ नारा सहितका गतिविधि हुनु सामान्य जस्तो भइसक्यो । बुद्धका स–साना मूर्ति, तस्वीर, स्टिकर, टिसर्ट, ब्यानर, पोस्टर लगायतका सामग्री सहित केही चिनिएका अनुहारहरू यो अभियानमा पस्किने सम्मका कुरा भएको छ । यसको आवश्यकता र उपादेयता कति छ ? अन्तर्य कत्तिको पवित्र छ ? यसबारे समयक्रममा थप प्रष्ट हुने नै छ ।

हालै मात्र प्रभावशाली धर्मगुरु छ्योकी निमा रिम्पोचेले एक सार्वजनिक कार्यक्रममा यो भीडबारे बडो सटिक अभिव्यक्ति दिएका छन् । “बौद्धधर्म सम्बन्धी आयोजित कार्यक्रमहरूमा भाग लिन म पनि विश्वका विभिन्न ठाउँ पुगिरहेको हुन्छु । उनीहरूलाई बुद्ध नेपालमा जन्मिएको बारे थाहा छ तर बुद्ध शिक्षाबारे थाहा छैन” रिम्पोचेको भनाइ थियो, “विश्वले खोजिरहेको त बुद्धको शिक्षा हो, यसो गर्न सके नेपाल ठूलो बौद्ध–तीर्थयात्रा बन्न सक्छ ।”

यदाकदा देखिन्छ, गौतम बुद्ध जन्मेको देशका नागरिक भएको नाताले हामी बुद्ध बुझनु भन्दा बुझाउन हतारिइरहेका हुन्छौं । यसक्रममा बुद्धबारे सतही जानकारी, बढाइचढाइ हावी हुने जोखिम हुन्छ । भ्रम फैलने सम्भावना रहन्छ ।

बौद्ध धर्मदर्शन एकै भए पनि समयक्रममा विकसित सम्प्रदाय तथा उप–सम्प्रदायहरूले भिन्नाभिन्नै दृष्टिकोण र साधनापद्धति अपनाएका छन् । यसबारे ज्ञान नहुँदा कहिलेकाहीं अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ने हुन्छ । केही वर्षअघि नेपालको प्रतिनिधित्व गर्दै जापानको एक बौद्ध सम्मेलनमा सहभागी हुन पुगेका एक नामी प्राध्यापकले समेत गौतम अमिदा (अमिताभ बुद्ध) लाई पनि गौतम बुद्ध नै भन्ठानेर नेपालमै जन्मिएको अडान कसेका थिए । अमिताभ बुद्ध मानुषी नभएर ध्यानी बुद्ध हुन् । थेरवादी बौद्ध सम्प्रदायमा ध्यानी बुद्धहरूको प्रसङ्ग नै आउँदैन । तर महायान–बज्रयानमा भने उनीहरूको महत्वपूर्ण स्थान हुन्छ । त्यसबेला आयोजक स्वयंले ती प्राध्यापकलाई अमिताभ बुद्ध नेपालमा जन्मिएका होइनन् भन्ने तथ्य सम्झउनु परेको थियो ।

कतिपय पढेलेखेका, बौद्ध शिक्षण संस्थामै काम गरेकाहरू समेत ‘भगवान बुद्ध’ भनेकै लुम्बिनीमा जन्मिएका गौतम बुद्ध मात्रै हुन् भनी बुझ्ने भ्रमबाट अद्यापि ग्रस्त छन् । गौतम बुद्ध बाहेक अरू पनि थुप्रै बुद्ध छन् भन्ने नबुझ्ने बौद्ध धर्मदर्शनको सामान्य ज्ञान नै नहुनु हो । विज्ञ र जिम्मेवार भनिएकाहरूले नै बौद्ध धर्मदर्शन र बौद्ध समाज बुझ्न चासो नदिनुकै परिणाम हो, नेपालमा बौद्ध धर्मदर्शनसँग सम्बन्धित गुरुयोजना र नीतिनिर्माण कार्यान्वयनमा आशातित सफलता हासिल हुन नसकेको, लुम्बिनी लगायतका स्थल, बौद्ध स्मारकहरू पर्यटकीय गन्तव्य बन्न नसकेको ।

उदाहरण; काठमाडौं उपत्यका र मुलुकका उत्तरी भेकमा रहेका बौद्ध तीर्थहरू श्रीलंका, थाइल्यान्ड, म्यान्मार जस्ता बौद्ध राष्ट्रहरूका लागि खासै चासोमा नपर्न सक्छन् । बरु थेरवादी ती तीर्थयात्रीका लागि लुम्बिनी उपयुक्त गन्तव्य हुन्छ । फरक सम्प्रदायका बौद्धमार्गीबारे हाम्रा पर्यटक पथप्रदर्शकलाई समेत हेक्का नहुँदा पर्यटन उद्योग पनि अपेक्षाकृत फस्टाइरहेको छैन ।

बुझ्नैपर्ने अर्को कुरा के पनि हो भने, लुम्बिनी गौतम बुद्धको जन्मस्थल हुँदैमा विश्वभरका बौद्धहरू पुग्नैपर्छ भन्ने छैन । महापरिनिर्वाणअघि स्वयं बुद्धले जन्मस्थल पनि बौद्धमार्गीका लागि एउटा संवेजनीय स्थल भएको बताएका मात्र हुन् । यस्ता तथ्य मनन गरेर मुलुकभित्रका बौद्ध–तीर्थहरूमा पर्यटक कसरी आकर्षित गर्न सकिन्छ भन्ने योजना बुन्नु नीतिनिर्माताको काम हो ।

हो, विश्वको ध्यान आकर्षित गर्न, पर्यटक भित्र्याउन नेपाललाई बुद्ध–ब्रान्डिङ चाहिएको छ । तर, ‘बुद्ध वाज वर्न इन नेपाल’ भनेर नारा फलाक्दैमा ‘ब्रान्डिङ’ हुँदैन । कसरी हुन्छ त ब्रान्डिङ ? यसबारे ध्यान दिनुपर्छ । यसका लागि लुम्बिनी मात्रलाई नभई यसलाई केन्द्रविन्दु बनाएर अन्य बौद्ध स्थललाई प्रवद्र्धन गर्न सकिन्छ । यस क्रममा बौद्ध सम्पदा तथा संस्कृतिले भरिपूर्ण पूरै हिमाली क्षेत्रलाई नियाल्नुपर्ने देखिन्छ । पहाड र तराईका बौद्ध पर्यटकीय क्षेत्र पहिचान र विकास गर्न सकिन्छ । यसका साथै प्राकृतिक सम्पदालाई पनि बौद्ध दर्शनसँग जोड्न सकिन्छ । सम्प्रदाय अनुसार उपयुक्त स्थान र प्रवद्र्धन गर्न सकिन्छ ।

वास्तविक अभियानको खाँचो यतातिर छ । यसो नगरी प्रचार र लोकप्रियताका लागि बुद्ध भजाउनु सही अर्थमा बुद्धको सम्मान नभई अपमान हो ।

comments powered by Disqus

रमझम