१९-२५ साउन २०७६ | 4-10 August 2019

काशी गोत्रे लिम्बूको वास्तविकता

Share:
  
- कमल मादेन
मुन्धुममा काशी गोत्रे भनिएको लिम्बू भारतको काशी नभई चीनको काशीबाट नेपाल पसेको दाबी तथ्यको नजिक देखिन्छ।

चीनको सिन्जियाङ प्रान्तस्थित काश्गर ।
२०६८ सालको जनगणना अनुसार, नेपालमा लिम्बू जातिको जनसंख्या ३ लाख ८७ हजार ३०० छ । यो संख्याको आधारमा मुलुकमा बढी जनसंख्या भएको जातिमा लिम्बू १४औं स्थानमा पर्छ । 

तर, यति संख्यामा भए पनि लिम्बू शब्द प्रयोगको अभिलेख १८३१ सालअघि भने पाइन्न । राजा पृथ्वीनारायण शाहले जारी गरेको कागजातमा यो शब्द पहिलो पटक लेखिएको जानकारी छ । सेन कालमा भने लिम्बूलाई राय भनिएको छ ।  दशकयता लिम्बू जातिबारे थुप्रै लेख, पुस्तक प्रकाशित भएका छन् । तीमध्ये अधिकांशमा लिम्बूको इतिहास, मुन्धुम आदिको चर्चा गरिएको छ । मुन्धुममा लिम्बूलाई आर्य जातिलाई जस्तै ल्हासा गोत्रे र काशी गोत्रे भनिएको छ ।

लिम्बूका पुजारीले पनि ल्हासातिरबाट आएका पूर्वजलाई ल्हासा गोत्रे र काशीतिरबाट आउनेलाई काशी गोत्रे भनिएको हो भनेर अथ्र्याउँदै आएका थिए ।  लिम्बू ल्हासा (तिब्बत, चीन) तिरबाट आएका हुन् भन्नेमा विवाद छैन । तर, काशी (भारत) बाट पनि पसेको कुरामा अधिकांशको विमति छ । किनभने, दक्षिणबाट त आर्य, हिन्दू धर्मावलम्बी प्रवेश गरेका हुन् । त्यसो त मुन्धुममा गोत्रको परिभाषा पनि गलत रुपमा गरिएको छ । 

प्रयोगात्मक नेपाली शब्दकोश अनुसार गोत्रले वंशका प्रवर्तक ऋषिको नामबाट चलिआएको पुख्र्यौली भन्ने जनाउँछ । आर्य समुदायको अधिकांशजसो वंश प्रवर्तक ऋषिहरू मानिन्छन् । गोत्र खास विशिष्ट व्यक्तिको नामबाट चलेको कुल वा पुख्र्यौली भनेर पनि अर्थ लगाइन्छ । तर, लिम्बू समुदायमा गोत्रले वंश प्रवर्तक नजनाई स्थानविशेष भएर आएको ठाउँलाई इङ्गित गरेको बुझिन्छ । गोत्र अर्थ अनुसार एक पूर्वजको सन्तान एकै गोत्री हुन्, उनीहरूबीचका सन्तानबीच बिहेबारी चल्दैन । तर, लिम्बूको विवाहमा गोत्रको चर्चै गरिन्न । यसबाट पनि लिम्बू समुदायमा गोत्रको अर्थ फरक रहेको बुझिन्छ । 

एक वर्षअघि भगिराज इङनाम लिखित पुस्तक लिम्बू जातिको इतिहास ले भने लिम्बू गोत्र भनिएका ल्हासा र काशीबारे फरक तर्क बाहिर ल्याएको छ । पुस्तकका अनुसार, मुन्धुममा भनिएको काशी भारतको काशी अर्थात् बनारस नभई चीनको सुदूरपश्चिमको उपत्यका सिन्चियाङ प्रान्तस्थित काश्गर÷खाश्गर हो भनिएको छ । चिनियाँ अभिलेखमा काश्गरलाई काशी लेखिएको पाइन्छ ।  चीनको काश्गर (काशी) उईगुर भनिने मुश्लिम समुदायको थलो हो । उनीहरू मूलतः तुर्किज मूलका मानिन्छन् । तर, उनीहरुमा ककेसियन र मंगोलियन वंशाणु मिश्रण भएको बताइन्छ ।     रिस्ले र चेम्जोङको अपव्याख्या

लिम्बू महिला । तस्वीरः हिमाल आर्काइभ
किरात इतिहासकार इमानसिंह चेम्जोङले आफ्नो किरात इतिहास पुस्तकमा लिम्बू ल्हासा र काशीबाटै आएको कुरा लेखेका छन् । तर, यो उनको मौलिक अध्ययन थिएन । उनले सन् १८९२ मा नृवंशशास्त्री हर्बट होप रिस्ले लिखित ‘द गजेटर अफ सिक्किम’ कै अनुसरण गरेका थिए, जहाँ मुन्धुमलाई नै उद्धृत गर्दै उही ‘लिम्बू ल्हासा गोत्रे र काशी गोत्रे हुन्छन्’ भनी लेखिएको छ । 

तर, अर्जुनबाबु माबुहाङले भने लिम्बू जातिको मुन्धुम र इतिहास पुस्तकमा रिस्लेले मुन्धुममा उल्लिखित काशी गोत्रे शब्दावलीलाई अपव्याख्या गरेको बताएका छन् । पुस्तकमा रिस्लेले भारतस्थित काशीहुँदै लिम्बू पूर्वी नेपाल र सिक्किम पुगेको गलत चर्चा र चेम्जोङले त्यसैलाई सत्य ठान्ने भ्रम गरेको पनि भनिएको छ । 

चेम्जोङको तर्कलाई सत्य मान्ने कतिपय लिम्बूहरू अझै पनि लिम्बूको एक समूह उत्तर र अर्को दक्षिणबाट आएको बुझ्दै, बुझाउँदै आएका छन् । स्वयं कतिपय मानवशास्त्रीहरू समेत दिग्भ्रमित छन् । 

मुन्धुममा लिम्बू 

लिम्बूको आध्यात्मिक कुराहरूको सँगालो हो, मुन्धुम । तर, यसमा लिखित नभई श्रुति–परम्पराको इतिहास छ । लिम्बू समुदायमा पुजारीहरू येबा, येमा, साम्बा, फेदाङ्मा र तुम्याङ (सामाजिक संस्कार विज्ञ) हरूले हजारौं वर्षदेखि सन्तान, दरसन्तान मुन्धुम सुनाउँदै आएका छन् ।  

अर्जुनबाबु माबुहाङ लिखित पुस्तकमा लिम्बू जातिको उद्भव तमोर नदी र फक्ताङलुङ (कुम्भकर्ण) आसपासका ठाउँमा भएको अनुमान गरिएको छ । किनभने, लेलेप, इखाबु, घुन्सा खोला, हेल्लोक, तापेथोक आदि ठाउँमा पूर्वज बसोबास गरेको मुन्धुममा उल्लेख हुन्छ । पूर्वजहरू विभिन्न झुण्डमा ओडारमा बसेको प्रसंग पनि मुन्धुममा आउँछ । तर, ओडारमा बस्न आउनुअघि लिम्बू कहाँ थिए ? यो भने अस्पष्ट नै छ । 

वस्त्र बनाउने, कृषिको आविष्कार, बसोबास स्थायित्व, पशुपालन विकास, वन्चारे निर्माण जस्ता कुराहरू पनि परेकाले मुन्धुमी कुरालाई नवपाषण युगको मान्न सकिन्छ । यो युगलाई खेतीपातीको शुरुआती युग मानिन्छ । पूर्वी एशियाका विभिन्न ठाउँमा ८ हजारदेखि ४ हजार वर्ष पहिले खेतीपाती शुरु भएको अनुमान गरिन्छ । 

मानव ममीको अध्ययन

चीनको काशीस्थित तारिम नदी नजिक करीब दुईदेखि चार हजार वर्ष पुराना २९ वटा ममी (नसड्ने गरी सुरक्षित राखिएको मानव शव) पाइएका छन, जसलाई तारिम मम्मीज् भनिन्छ । ती ममीमध्ये २१ वटा मंगोलियन र बाँकी ककेसियन मूलका ठहर गरिएको छ ।

एकताका चीनबाट पूर्वी एशिया, दक्षिणपूर्व एशिया, मध्य एशिया, पश्चिम एशिया, पूर्वी अफ्रिका, दक्षिण युरोपसम्म स्थलमार्ग जोडिएका थिए, जसलाई रेसमी मार्ग (सिल्क रोड) भनिन्थ्यो । यो मार्ग हुँदै सातौं शताब्दीमै नै बौद्ध धर्मग्रन्थ खोज्दै चिनियाँ यात्री हुयान साङ नेपाल आइपुगेका थिए । 

त्यसो त तारिम नदीताकाकै ममी नेपालको मुक्तिनाथ उपत्यकामा पनि पाइएको एक अनुसन्धानात्मक लेखमा उल्लेख छ । इतिहासकार शुक्रसागर श्रेष्ठले मार्टिन चौतारीद्वारा प्रकाशित ‘समाज अध्ययन’ जर्नल (अंक ११, २०७३) मा ‘नेपालको पहिलो ममीभूत अवशेष’ शीर्षक लेखमा मुस्ताङको झोङ गाउँको मेब्राक भन्ने पाखाको गुफामा करीब ३० वटा मानव कंकाल भेटिएको बारे लेखेका छन् । 

यसबाट चीनको काशीतिरैबाट आएका ककेसियन मूलका मानिस मुस्ताङ आएका र उनीहरूले नै ममी बनाएको अनुमान गर्न सकिन्छ । यसैगरी मंगोलियन मूलका काशीवासी पूर्वी नेपालतर्फ आएको र उनीहरू नै आजका लिम्बू भएको आकलन गरिएको छ । यस अर्थमा, लिम्बू चीनको काशी र ल्हासातिरबाट आएका मंगोलियन मूलका नश्ल हुन् । 

comments powered by Disqus

रमझम