१९-२५ साउन २०७६ | 4-10 August 2019

याज्ञवल्क्य जस्ता डेरिडा

Share:
  
- टीका ढकाल
‘महर्षियाज्ञवल्क्यः’ नाटक पढिरहँदा, अक्षर अर्थात् क्षय नहुने रचनाको अविनाशत्वका बारेमा याज्ञवल्क्यको सिद्घान्त हाम्रो समयका दार्शनिक ज्याक डेरिडाको व्याख्या जस्तो लाग्दछ।

शताब्दीपुरुष सत्यमोहन जोशी चिनाइरहनुपर्ने नाम होइन । सत्यसँग आकर्षक सम्मोहन हुन्छ, जसले शायद सत्यमोहन पैदा गर्छ । सत्यमोहनको कलमले चाहिं निरन्तर आश्चर्य पैदा गरिरहन्छ । पंक्तिकारले अनुभव गरेको त्यस्तै पछिल्लो आश्चर्यमाथि यहाँ थोरै चर्चा गर्ने प्रयास छ, त्यो पनि निकै बल गरेर जुटाएको ।
करीब दुई साताअघि भारतको दशदिने यात्राबाट फर्किनासाथ काठमाडौंमा सत्यमोहन जोशीको नयाँ पुस्तक हात लाग्यो, संस्कृत भाषामा लेखिएको ।

संस्कृत भाषाबारेको पंक्तिकारको जम्माजम्मी ज्ञान भनेको पारिवारिक विरासतमा प्राप्त करीब पैंतीस वर्षअघिको दुईवर्षे प्राथमिक अध्ययन हो, जो नेपाली र अंग्रेजीका कारण करीब करीब विस्मृतिमा पुगेको छ । कनिकुथी एकाध पृष्ठ बुझ्ने चेष्टामा १३४ पृष्ठको यो कृति छिचोल्न करीब दश दिन लाग्यो । पुस्तक थियो नाटक ‘महर्षियाज्ञवल्क्यः’ ।

पुस्तकः महर्षियाज्ञवल्क्यः

लेखकः सत्यमोहन जोशी

अनुवादः रोहिणीराज तिमिल्सिना

प्रकाशकः नेपाल प्रज्ञा–प्रतिष्ठान

पृष्ठः १३४+३२

मूल्यः रु.३१२

यस नाटकले कुनै पनि जिज्ञासुलाई दुई कारणले प्रारम्भिक रूपमा आकर्षित गर्छ । पहिलो, नेपाली भाषामा उपलब्ध संस्कृत ग्रन्थका अनुवादहरूमध्ये कुन कृति मूल पाठबाट सोझै र कुनचाहिं हिन्दी अनुवादबाट साभार हुन् भन्ने छुट्याउन सकिंदैन । अधिकांश कृतिहरू कर्मकाण्डलाई सघाउन संस्कृतबाट नेपालीमा अनूदित छन् । दोस्रो, नेपाली भाषाबाट संस्कृतमा अनुवाद हुने रचनाहरू अत्यन्त थोरै छन् जसमध्ये ‘महर्षियाज्ञवल्क्यः’ नाटक एक हुन गएको छ । यसरी ‘उल्टो गङ्गा’ सफलतापूर्वक बगाएकै कारण यो पुस्तकले खिचेको हो भन्न संकोच मान्नु पर्दैन ।

२०२८ सालतिर वागमती किनारको पचलीघाटमा काजी हंसमान सिंहको उपस्थितिमा पण्डित जयदेव पौड्यालले ‘आत्मपुराण’ विषयमा दिएको प्रवचन सुनेर प्रभावित भई ‘दैलाको बत्ती’ शीर्षकमा पूर्णाङ्की नाटक लेखेको र त्यसैको सुधारिएको स्वरूपमा यो नाटक तयार गरिएको लेखकले आफ्नो भूमिकामा स्पष्ट गरेका छन् । नेपाली स्वरुपबाट संस्कृत भाषामा अनुवाद गर्ने दुरुह कार्यचाहिं संस्कृतका विद्वान रोहिणीराज तिमिल्सिनाले गरेका हुन् ।

नेपालसँग जोडिएका प्राचीन ऋषिहरूलाई सम्झ्ँदा याज्ञवल्क्यको नाम अग्रपंक्तिमा उल्लेख गर्नैपर्छ । उनको जन्म कहाँ भएको थियो भन्नेमा एकभन्दा बढी मत भए पनि याज्ञवल्क्य स्मृतिमा उल्लिखित ‘मिथिलास्थः स योगीन्द्रः क्षणं ध्यात्वा वचोव्रवीत्’ (मिथिलालाई कर्मक्षेत्र बनाई ध्यान गर्ने योगी) भन्ने श्लोकले उनको कर्मथलो मिथिला रहेको प्रष्ट हुन्छ । यद्यपि नाटकले भने उनको जन्मभूमि पनि जनकपुर आसपास रहेको आभास दिन्छ ।

फरक फरक वैदिक साहित्य र कालखण्डमा याज्ञवल्क्य नामको उल्लेख भएबाट केही अन्योल पनि हुनसक्छ । शुक्लयजुर्वेदको शतपथब्राह्मण लेख्ने प्रथम याज्ञवल्क्य थिए । भारतीय विद्वान बालगंगाधर तिलकको ‘वेदकाल निर्णय’ पुस्तकका अनुसार शुक्लयजुर्वेदको समय करीब ४६०० वर्षअघि हुनुपर्छ, जसलाई खुट्याउन उनले अनेक दृष्टान्त प्रस्तुत गरेका छन् । त्यसपछिका ग्रन्थहरूमा जनकपुर बसेर ‘बृहदारण्यकोपनिषद्’ लेख्ने मिथिलाकालीन याज्ञवल्क्यको उल्लेख छ । जोशीको नाटकका नायक यिनै याज्ञवल्क्य हुन् । तेस्रा याज्ञवल्क्य महाभारतकालीन देखिन्छन् । प्रत्येक कृतिका बीचमा कम्तीमा करीब एक हजार वर्षको फरक भएकाले यी तीन याज्ञवल्क्य पृथक् व्यक्ति थिए भनी मान्नुपर्ने हुन्छ ।

दार्शनिक–सभा

कमला नदीको किनारमा अवस्थित आश्रममा सपरिवार बसोबास गरिरहेका महर्षि याज्ञवल्क्यका पिता देवरात आफूले बनाएको दूरदर्शन यन्त्रको परीक्षण गर्दैगर्दा नाटकको पहिलो दृश्य खुल्छ । आधुनिक ज्ञानले इसापूर्व पाँचौं शताब्दीका ग्रीसेली गणितज्ञ थेलिजलाई पहिलो प्रामाणिक वैज्ञानिक मान्छ । वैदिक मिथकले चाहिं उनीभन्दा करीब ३०० वर्षअघि नै याज्ञवल्क्यका शिक्षक ऋषि ‘उद्दालक आरुणी’ ले दूरबिन आविष्कार गरेको मत प्रस्तुत गर्दछ । मिथकीय सत्य र तार्किक सत्य (ग्रीसेली जडशब्द– मिथोस र लोगोस) बीचको फरक एवम् सन्निकटता बारे पश्चिमका दार्शनिकहरू बट्रेन्ड रसेलदेखि जोन्स होस्पर्स र पूर्वका विवेकानन्ददेखि स्वामी प्रपन्नाचार्यसम्मका व्याख्यान छन् । फरक विषयको छोटो लेखमा सबैको चर्चा सम्भव छैन । कतिचाहिं सारमा भन्नुपर्छ भने आधुनिक दर्शनशास्त्रले मिथकमा विद्यमान सत्यापनको सम्भावनालाई खारेज गर्दैन । श्रुति परम्पराबाट सुरक्षित भएकाले सबैतिरका मिथकमा अतिशयोक्तिको तत्व हुन्छ, जसलाई घटाएर रहने शेषबाट सत्यसम्म पुग्न सकिन्छ ।

खगोल विज्ञानमा रुचि राख्ने देवरात पत्नी सुरुपा र छोरा याज्ञवल्क्यलाई यन्त्रबाट ध्रुवतारा र सप्तऋषिमण्डल देखाउँदै भन्छन्— ‘आउँदो माघमा लाग्ने सूर्यग्रहण हेर्न बनाएको यन्त्र हो । त्यसबेला हामी सबै जना कमला नदीको मुहान भएको महाभारत पहाडतिर जाउँला र ग्रहण अवलोकन गरौंला ।’

प्रत्युत्तरमा याज्ञवल्क्यले झनै चकित बनाउँछन्– ‘म चाहिं आत्मावलोकन यन्त्र अर्थात् मनुष्यको सूक्ष्म आत्मालाई हेर्न सकिने यन्त्र बनाउन चाहन्छु । यति टाढा अन्तरिक्षमा रहेका पिण्डहरू यन्त्रको सहायताले सुस्पष्ट हेर्न सकिन्छ भने आफैंभित्रको सूक्ष्मात्मा हेर्न मिल्ने यन्त्र बनाउन कसो सम्भव नहोला त ?’ यही महत्वाकांक्षाबाट उनको ज्ञानमीमांसा प्रारम्भ हुन्छ ।

नाटकले प्राचीन मिथिला नगरी र नेपाल उपत्यकाबीचको मित्रवत् एवं धार्मिक–सांस्कृतिक सम्बन्धमाथि प्रकाश पार्छ । हलोले जोतेर होइन, कोदालोले खनेर कृषिकार्य गर्ने मानिसहरू बस्ने, पशुपतिनाथको मन्दिर रहेको नगरका रूपमा देवरातले आफ्ना छोरा याज्ञवल्क्यलाई नेपालमण्डलको परिचय गराएका छन् । दोस्रो दृश्यमा गुरु वैशम्पायनसँगको मतभेदपछि याज्ञवल्क्यले सूर्यको उपासनाबाट ज्ञान आर्जन गर्दछन् । तेस्रो दृश्यमा राजा जनकको महीनौं लामो आध्यात्मिक यात्रा कालीगण्डकी, मुक्तिक्षेत्र, गोसाइँकुण्ड हुँदै पशुपतिनाथबाट सिन्धुलीगढीको बाटो झरेर जनकपुरसम्म हुने र त्यसपछि दरबारमा विशेष शास्त्रार्थ हुने जानकारी छ । यही दृश्यमा जीवात्मा र परमात्माबीचको भिन्नता वा एकरूपताबारे राजा जनकलाई याज्ञवल्क्यको उपदेश छ ।

याज्ञवल्क्यसँग जोडिएका अनेक मिथकीय प्रसंगलाई आकर्षक संवादमा प्रस्तुत गरिएको नाटकको चौथो दृश्य सबैभन्दा महत्वपूर्ण छ, जसमा राजा जनकको दरबारमा अनेकौं ज्ञानीहरूलाई शास्त्रार्थका लागि आमन्त्रण गरिएको छ । ब्रह्मसभा भनिएको भेलामा राजर्षिको निम्तो स्वीकारेर छिमेकी देशहरू कुरू, पाञ्चाल, कोशल, अयोध्या लगायतबाट विद्वानहरू उपस्थित छन् । सभामा वादविवादद्वारा आफूलाई श्रेष्ठ सावित गर्ने विद्वानलाई सिङमा सुन जडित गहनाले सजाइएका एक हजार गाई पुरस्कारको व्यवस्था छ । पुरस्कारमाथि शुरूमा नै दाबी पेश गर्दै याज्ञवल्क्य अन्य विद्वानलाई प्रश्नका लागि उक्साउँछन् ।

महाविवाद शुरू हुन्छ । राजगुरु अश्वल पहिलो प्रश्न गर्छन् । जवाफसँगै प्रश्नको बाढी आउँछ । भुज्यु, उद्दालक, जारत्कारव, उशस्त, चाक्रायण, कहोल, गार्गी, शाकल्य, प्रियदत्त, विपीत, सोमश्रवा– एक से एक विद्वान उपस्थित छन् र सबैका प्रश्न दार्शनिक तथा गहन छन् ।

उपशीर्षक ‘दार्शनिक नाटक’ राखिएको कृतिको यस दृश्यमा अत्यन्त उच्चस्तरको बहस छ । आजको विज्ञानले पनि खुट्याउन सकेको छैन कि सृष्टिको प्रारम्भ पदार्थबाट भयो वा चेतनाबाट । सिद्धान्त र व्यवहारबीचको द्वन्द्व मानव सभ्यताको शुरूआतदेखि नै उपस्थित छ । आर्तभागसँगको संवादमा ग्रह र अतिग्रह बारेको बहस छ जुन विस्तारै शरीरका अंगहरूको काम अर्थात् आजको विज्ञानले भन्ने ‘एनाटोमी’ सम्म पुग्छ । त्यही संवादको बृहत्तर अंश व्याख्या गर्ने बृहदारण्यकोपनिषद्मा पृथ्वी पानीमय रहेको याज्ञवल्क्यले उल्लेख गरेका छन् । हुन पनि पृथ्वीमा दुईतिहाइ त पानी नै छ ।

शून्यको सत्ता

याज्ञवल्क्यको सबैभन्दा रोचक संवाद गार्गीसँग छ । गार्गी प्रश्न गर्छिन्– देव र पृथ्वीलोकबीचको जगत केमा व्याप्त (अडिएको) छ ?

‘आकाश, अर्थात् शून्यमा अर्थात् अन्तरिक्षमा ।’

‘त्यो आकाशचाहिं केमा व्याप्त छ ?

‘आकाश (शून्य) मा अविनाशी तत्व छ । त्यसको प्रशासन र नियमका अक्षरले सूर्य, चन्द्र आदि ग्रहलाई व्याप्त गर्दछ । त्यस शून्यको एउटा सूक्ष्म अंश मानवमा विद्यमान हुने चेतना हो । मानिसको मृत्युपछि त्यो चेतना त्यही शून्यमा विलीन हुन्छ ।’

मानव विज्ञानले गुरुत्वाकर्षण वा सापेक्षतावादको सिद्धान्तलाई धेरैपछि अन्वेषण र नामकरण गर्न सक्यो । याज्ञवल्क्यले गार्गीलाई दिएको यो जवाफमा आधुनिक सिद्धान्त निकटको व्याख्यान पाइन्छ । नाटकको शुरूआतमा प्रस्तुत खगोलविज्ञानप्रतिको चासोलाई चौथो दृश्यका अनेकानेक दार्शनिक प्रश्नोत्तरले पुनर्पुष्टि गरिदिएका छन् ।

गार्गीलाई याज्ञवल्क्यले प्रश्न गर्न रोकेको बृहदारण्यकोपनिषद्मा उल्लिखित प्रसंगलाई आजका धेरै लेखकले प्रयोग गर्छन् । तर त्यो आधा यथार्थ मात्रै हो । थप के हो भने गार्गीका अप्ठ्यारा प्रश्नले दिमाग चक्कराउन थालेपछि उम्किन याज्ञवल्क्यले प्रयोग गरेको चतुर्‍याईंलाई बुझेर गार्गी फेरि विद्वत् सभासँग दुई प्रश्न सोध्ने अनुमति माग्छिन् । सभाले अनुमति दिन्छ । त्यसबाट पनि पुरुष सत्ताले गार्गीलाई प्रश्न गर्नबाट रोकेको मान्न सकिने आधार छैन । बरु प्राचीन समाजमा लैंगिक वा जातीय विभेद थिएन भन्ने तथ्यलाई नाटकले स्थापित गर्छ, जसको स्रोत फेरि पनि बृहदारण्यकोपनिषद् हो ।

अक्षर अर्थात् क्षय नहुने रचनाको अविनाशत्वका बारेमा याज्ञवल्क्य सिद्धान्त हाम्रो समयका दार्शनिक ज्याक डेरिडाको व्याख्या जस्तो लाग्दछ । शून्यमा लेखिने अक्षर नै अमर र अविनाशी सत्य हो भन्ने विषयमा प्राध्यापक अभि सुवेदीले ‘जन्तरे दाजु र डेरिडा’ शीर्षकको लेख मार्फत २०६० सालमै डेरिडाको विनिर्माणवाद बुझाइसकेका हुन् ।

नाटकमा जम्मा सात दृश्य छन् । याज्ञवल्क्यको किशोरावस्थाबाट शुरू भएर संन्यास आश्रम प्रस्थानमा नाटक समाप्त हुन्छ । नेपाली भूगोल र संस्कृतिका अनेक पक्ष पौराणिकतासँग जोडिएकाले नाटकको महत्व थप स्थापित हुन्छ । याज्ञवल्क्य जस्तै नेपाली भूगोलसँग जोडिएका धेरै दार्शनिकहरूको बारे लेखिनै बाँकी छ । तर, इतिहासको गाथाले मात्र भविष्य निर्माण हुन सक्दैन । हाम्रो ज्ञान परम्पराले सिकाएको आदर्श र नैतिकतालाई आजको व्यावहारिकतासँग जोड्न सक्नु आजको समयको सबैभन्दा ठूलो चुनौती हो ।

संस्कृतमा अनूदित कृतिमा नेपाली मूलपाठ समेत राखिएको भए जिज्ञासु पाठकका लागि पुस्तक सहज हुन्थ्यो । मिथक र पौरस्त्य चिन्तनमा चासो राख्ने सबैका लागि नाटक संग्रहणीय छ । शताब्दीपुरुष जोशीको १००औं जन्मदिनका अवसरमा गएको ३० वैशाखमा नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रकाशित गरेको कृति आफैंमा ऐतिहासिक छ ।

comments powered by Disqus

रमझम