१९-२५ साउन २०७६ | 4-10 August 2019

प्रश्न गर्ने वेला

Share:
  
- निरञ्जन राजवंशी
१८ महीना अघि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको नेपाली क्रिकेट टोली टी–२० विश्वकपको प्रारम्भिक छनोटमै रोकिंदा निराशा र असन्तुष्टिसँगै थुप्रै प्रश्न उब्जिएका छन्।

सिंगापुरमा भएको टी–२० विश्वकपको ग्लोबल छनोटका लागि १० साउनमा कुवेत विरुद्ध खेल्नुअघि नेपाली टोली । तस्वीर साभारः क्रिकेटिङनेपाल
एउटा अपत्यारिलो घटना भयो । आफूभन्दा कमजोर मानिंदै आएको कतार र सिंगापुरसँग नेपाल हा‌र्‍यो । र, टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन सकेन ।

शायद त्यस्तो कसैले सोचेका थिएनन् । खेलाडीहरू त ढुक्कै थिए । समर्थकहरू पनि ग्लोबल क्वालिफायरका प्रतिद्वन्द्वी विरुद्ध कस्तो खेल होला भनेर सोच्दै थिए ।

नसोचुन् पनि किन ? नेपाल टी–२० विश्वको ११औं वरियताको राष्ट्र हो । टोलीसँग एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता छ । सन् २०१४ मा नै टी–२० विश्वकप खेलिसकेको छ । स्तरीय खेलाडी छन् । तर स्थिति विपरीत देखियो । गएको १ चैतमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई) राष्ट्रको मान्यता पाएको नेपाली टोली त्यसको १८ महीनापछि टी–२० विश्वकप यात्राको छनोटको दोस्रो चरणमै पराजित हुनपुग्यो । टोली तेस्रो स्थानको लागि मात्र योग्य भयो । नेपाली टोलीमा ठूला नाम छन् । उनीहरूले विगतमा क्षमता देखाएकै हुन् ।

एकदिवसीयसम्मको यात्रामा खेलाडीहरूले गरेको मिहिनेत र संघर्षबाट अन्तर्राष्ट्रिय क्रिकेट समुदाय कायल छ । तर यसपालि नेपाली टोलीलाई के भयो ? क्रिकेट समुदाय छक्क परेका छन् । नेपालको कमजोर प्रदर्शन सहितको बहिर्गमनले धेरै प्रश्न उब्जिएका छन् ।

स्तरहीन ब्याटिङ

नेपाली टोलीको ब्याटिङ फेरि पनि कप्तान पारस खड्कामा मात्र केन्द्रित हुनपुग्यो । ज्ञानेन्द्र मल्ल र शरद भेषावकरको प्रयास ग्लोबल क्वालिफायर स्तरको थिएन ।

निर्णायक मानिएको सिंगापुरसँगको खेलमा यी तीन खेलाडी आउट हुँदा स्कोर ६३–३ को स्थितिमा पुगिसकेको थियो । अर्थात् खेल नेपालको हातबाट करीब करीब फुस्किसकेको थियो ।

यसले जन्माएको अर्को प्रश्न हो, मध्यक्रमका ब्याट्सम्यान माथि देखिएको अविश्वास । के नेपाली ब्याटिङ अझै पारस, ज्ञानेन्द्र र शरदमै आश्रित छ ? दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी वा रोहित पौडेल मध्यक्रममा भरोसायोग्य छैनन् ? युवा खेलाडीहरूलाई मौका दिनुपर्ने बारम्बारको आवाज पुष्टि हुने वेला नभएकै हो ? प्रश्नहरू उठेका छन् ।

शुरुआती मुख्य खेलाडीहरू बाहिरिसकेको अवस्थामा मध्यक्रमले गरेको ‘एमेच्योर शो’ झनै गैरजिम्मेवार थियो । लाग्थ्यो, जिम्मेवारी लिंदै इनिङ सम्हाल्नेतिर कसैले सोचेकै छैनन् । उनीहरूलाई छक्का, चौका हान्ने हतारो थियो । तर, विकेट भने जोगाउन सकिरहेका छैनन् ।

शरदलाई बाउन्ड्री लाइनमा लिएको एकहाते उत्कृष्ट क्याच वा विनोद भण्डारीको क्याचमा बलरको प्रशंसा गर्न सकिन्छ । तर त्यही विषयले उनीहरूले आलोचनाको छुट भने पाउँदैनन् ।

१० नम्बरमा आएर क्यानाडा विरुद्ध ३१ बलमा ४२ रन बनाएर नेपाललाई एकदिवसीय मान्यता दिलाउने खेलाडी करण केसी वा अन्तिम ब्याट्सम्यानका रुपमा २० ओभरको खेलमा कीर्तिमान रचेका सोमपाल कामीको प्रदर्शन पनि स्तरहीन थियो । नेपाली खेलाडीमा न परिपक्वता देखियो, न ल्याकत र दूरदर्शिता ।

फितलो बलिङ

बलिङ सधैं नै नेपाली टोलीको शक्ति रहँदै आएको थियो । नेपाली बलरहरूले विपक्षीलाई खुलेर खेल्नै दिंदैनथे । फिल्डिङ पनि चुस्त मानिन्थ्यो । तर, यसपटक त्यस्तो केही देखिएन ।

नेपाल विरुद्ध २० ओभरको खेलमा १९१ रन यसअघि कुनै टोलीले बनाउन सकेको थिएन । सिंगापुरले आरामसँग बनायो ।

बसन्त रेग्मीको अफ स्पिनमा तागत देखिएन । ४–५४ शायद उनको अहिलेसम्मकै खराब प्रदर्शन गनिएला । जल्दाबल्दा स्टार लेग स्पिनर सन्दीप लामिछाने पनि निर्णायक बन्न सकेनन् । सन्दीप पनि ३–३४ को आँकडामा थिए ।

के विश्व क्रिकेटका ठूला स्टारहरूलाई आच्छुआच्छु पार्ने फ्रेञ्चाइजी क्रिकेटका स्टार सन्दीप लामिछानेबाट नेपालले गर्ने अपेक्षा यत्ति हो त ? सिंगापुरका रोहन रंगराजन, टिम डेभिडले कसरी उनको बलमा सहजै बाउन्ड्री प्रहार गर्न सके । थाहा हुँदैछ, लामिछाने त सिंगापुरसँग खेल्नु अगाडिको अभ्यासमा समेत अनुपस्थित रहेछन् । खेलाडीहरूले आफ्नो जिम्मेवारी गहन रुपमा लिएनन्, लिन चाहेनन् ।

पछिल्ला दिनहरूमा बलिङको धार स्पिनरबाट तेज बलिङतिर स्थानान्तरण हुन खोजे जस्तो पनि देखिएको छ । तर सोमपाल, अविनाश बोहोरा, ललितनारायण राजवंशीको बलमा पनि खेल उल्ट्याउने दम देखिएन, कम्तीमा सिंगापुरसँगको खेलमा ।

त्यसैले होला, नेपालका नयाँ प्रशिक्षक उमेश पटवालले टिप्पणी नै गरे– “नेपालको प्रदर्शन ग्लोबल क्वालिफायरका लागि योग्य नै थिएन ।”

कतिपय आलोचकको भनाइमा नेपाली खेलाडी अति आत्मविश्वासीको शिकार भए, विपक्षीलाई कमजोर आँके । टोलीमा निश्चित रणनीति नै देखिएन । विपक्षीको समीक्षा भएन ।

विपरीत सिंगापुरले नेपाली खेलाडीहरूको क्षमता र कमजोरीको गहन अध्ययन गर्‍यो र त्यही अनुरुपको रणनीति रच्यो ।

प्रश्नैप्रश्न

समग्रमा भन्ने हो भने नेपाली सबै खेलाडीले औसत भन्दा निकै कम प्रदर्शन गरे, जबकि उनीहरूको क्षमता अब्बल थियो । यसले विभिन्न प्रश्नहरूलाई बल दिएको छ ।

के नेपाली खेलाडीहरूको स्तर खस्किंदै गएको हो ? निकै बलियो मानिने खेलाडीहरूको ‘टीम भावना’ कमजोर हुन थालेको हो ? प्रशिक्षक कमजोर भएका हुन् ? वा विपक्षीहरू बलियो हुँदै आएका हुन् ? तत्काल जवाफ खोजिनुपर्छ ।

हुन त कप्तान पारस खड्काले सिंगापुर यात्रालाई नमीठो प्रदर्शन भन्दै २० ओभरको अनिश्चिततामा जे पनि हुनसक्ने भनेका छन् । त्रिभुवन विमानस्थलमा उनले भनेका थिए, “यसमा म जिम्मेवार छु । सबै जिम्मेवार छौं । हामी यो प्रतियोगिता बिर्सन चाहन्छौं र अब हुने एकदिवसीय टुरमा केन्द्रित भएर आफूलाई सुधार्ने छौं ।”

पारसले भने जस्तै यदि सिंगापुर यात्रा ‘दुस्वप्न’ हो र खेलका वेला आउने उतारचढावको एउटा भाग मात्रै हो भने माफ गर्न सकिएला ! तर, त्यसको पुष्टि टोलीले नेपालबाटै शुरु हुने एकदिवसीय यात्राबाट गर्नुपर्नेछ ।

सन् २०२० को फेब्रुअरीमा नेपाल, अमेरिका र ओमानबीच काठमाडौंमा आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखला शुरु हुँदैछ । अहिलेका लागि त्यो प्रतियोगिता नेपाली टीमको असली परीक्षा हुनेछ, जसले नेपाली क्रिकेटमा अहिलेसम्म नगरिएका थप प्रश्न र पहलकदमीका लागि सबैलाई गम्भीर बनाउनेछ ।

comments powered by Disqus

रमझम