१-७ भदाै २०७६ | 18-24 Aug 2019

वाङ्मयका शिखरपुरुष (मदनमणि दीक्षित)

Share:
  
- रघु पन्त
उच्चस्तरको बौद्घिक चेत र दर्शनको गहिराइ बुझेर साहित्य सिर्जना गर्ने समकालीनमा मदनमणिको कद सबैभन्दा उँचो थियो।

भानु भट्टराई
गएको ६ फागुनमा मदनमणि दीक्षितको ९६औं जन्मोत्सव मनाइँदै थियो । कान निकै कम सुन्न थाले पनि हिंडाइ, बोलाइमा शिथिलता थिएन । रचनात्मक क्रियाशीलता पनि उस्तै थियो । ‘माड्साप, शतायु पार गरेर दीर्घकालसम्म रचनात्मक जीवन बाँचिरहनुहोस्’, उहाँलाई देखेर सन्तोष मानेर मैले यही कामना गरेको थिएँ ।
तर जीवनको के ठेगान रहेछ र ! त्यसो त उमेरलाई आधार मान्ने हो भने मदनमणि आम नेपालीको तुलनामा लामै आयु बाँच्नुभयो । तर, नेपाली साहित्यका लागि उहाँको अवसान असामयिक बन्यो । किनकि मृत्युका लागि हरदम तयार भएर पनि उहाँमा उत्साह थियो । लेखनकै लागि जिजीविषा थियो ।

प्रतिभाशाली र प्रखर पत्रकार

मदनमणिसँग मेरो झण्डै ३५ वर्ष लामो चिनजान थियो । त्यस अवधिका अनेकन् भेटघाट, बहस र कुराकानीका संस्मरण छन् । राजनीतिक चिन्तक र कार्यकर्ता, पत्रकार, फोटोग्राफर, दर्शनशास्त्रका ज्ञाता, साहित्यकार अर्थात् मदनमणिका व्यक्तित्वका अनेकौं पाटा छन् ।

जीवनको लामो कालखण्ड प्रतिभाशाली, प्रखर र विलक्षण पत्रकार–सम्पादकको रुपमा विताए पनि मदनमणिको उत्तराद्र्धको व्यक्तित्व भने विशिष्ट साहित्यकारको रुपमा प्रतिष्ठित रह्यो । उहाँको दार्शनिक चेत, राजनीतिक ज्ञान र साहित्यिक क्षमताका कारण पत्रकारिताले नेपाली भाषाको प्रयोगमा विशिष्ट र प्रचुर समृद्धि प्राप्त गर्‍यो ।

पञ्चायती व्यवस्थामा उहाँले पत्रकारिताकै कारण पाएको दुःख वर्णन गरिसाध्य छैन । पञ्चायत विरोधी राजनीतिक भावना र विचारलाई जीवन्त राख्ने प्रमुख पत्रिका थियो ‘समीक्षा’ साप्ताहिक । र, त्यसको आधारस्तम्भ हुनुहुन्थ्यो, मदनमणि । चक्रपाणि नाममा ‘समीक्षा’ मा लेख्नुभएका उहाँका सामयिक चर्चाहरूको सङ्ग्रह ‘लाखौं शिशु लिफ्ट मागिरहेछन्’ र ‘मेरी आमाको प्रश्नलाई अझै जवाफ चाहिएको छ’ आफ्नो समयका चर्चित रचना थिए । भाषा विन्यास, रसिलो र तर्कपूर्ण लेखन, आकर्षक प्रस्तुतिमा मदनमणि अब्बल हुनुहुन्थ्यो । त्यसैले उहाँको पत्रकारिताले मुलुकलाई बारम्बार तरङ्गित पारिरह्यो ।

गज्जबका फोटोग्राफर

न्यूरोडको खिचापोखरीतिर डेरामा बस्दा जीविकोपार्जनका लागि मदनमणिले केही समय फोटोग्राफी पनि गर्नुभयो । त्यतिवेला भर्खरै काठमाडौंमा बिहेवारीमा दुलाहा–दुलही बन्ने केटा–केटीको फोटो परिवारमा आदान–प्रदानको चलन शुरु भएको रहेछ । स्वयं मदनमणिले एक भेटमा मलाई रमाइलो मान्दै सुनाउनुभएको थियो, “बाबुआमाहरू आफ्ना छोरीहरू लिएर आउँथे र विवाहको लागि हो यसको चिटिक्क परेको राम्रो तस्वीर निकालिदिनुपर्‍यो भन्थे ।”

सामान्य रुपरङ्ग भएका धेरै युवतीको फोटो विभिन्न पोजबाट खिचेर आकर्षक प्रिन्ट बनाएर दिएकै कारणले कतिपयको विवाह भएको कुरा बडो रोचक ढङ्गले सुनाउनुभएको हिजै जस्तो लाग्छ । प्रसिद्ध हलिउड अभिनेत्री एलिजावेथ टेलरका फोटोहरू संकलन गरिएको एउटा फोटो किताब मलाई दिंदै भन्नुभएको थियो, “तपाईं सिनेमामा पनि रुचि राख्ने मान्छे, कुनैवेला काम लाग्न सक्छ । राख्नुहोस् ।”

हिन्दी सिनेमा र सिनेमा हेर्दाका रोचक प्रसङ्ग पनि रमाइला थिए, उहाँका । दर्शन, राजनीति, संस्कृति, धर्म, साहित्य र सिनेमा लगायत अनेकौं विषयका ज्ञान र लेखनले उहाँको सम्पादक एवं पत्रकारको व्यक्तित्व प्रभावशाली बनेको थियो ।

विराट साहित्यिक व्यक्तित्व

साहित्यमा मदनमणिको कुन व्यक्तित्व निर्णायक हो ? उत्तर सजिलो छैन । उपन्यासकार, कथाकार, निबन्धकार, वैदिककालीन समाज, दर्शन र चिन्तनका व्याख्याता, डायरी लेखन एवं वैदिक साहित्य र समाजका समालोचक अर्थात् मदनमणिलाई साहित्यको कुनै एउटा विधामा सीमित गरेर मूल्याङ्कन गर्न सकिंदैन ।

‘त्यो युग’, ‘ऋग्वेदः केही प्रमुख सूत्र’, ‘ऋग्वैदिक नारी चरित्र’, ‘हिन्दू संस्कृतिको परिशीलन’, ‘दौपदी र सीता’, ‘विदुषी गार्गी’, ‘हाम्रा प्राचीन नारी’ जस्ता कृतिहरू उबेलै उहाँ बाहेक कसले लेख्न सक्थे होलान् ! नेपाली साहित्यमा पूर्वीय र पश्चिमी दर्शन दुवैको मूलमा पुगेर चिन्तन र विवेचना गर्न सक्ने आफ्नो समयका उहाँ एक मात्र व्यक्तित्व हुनुहुन्थ्यो । हेगेलदेखि माक्र्ससम्म आइपुगेको द्वन्द्वात्मक भौतिकवाद र वशिष्ठ, विश्वामित्र र याज्ञवल्क्य लगायत वैदिक ऋषिहरूका सूत्रहरूको गहिरो र तर्कपूर्ण व्याख्या गर्न सक्ने मदनमणिमा विलक्षण क्षमता थियो । यिनै क्षमताले उहाँका प्रत्येक कृति गहन बनाएको छ ।

यसो पनि भन्न सकिन्छ कि वैदिक दर्शन, साहित्य र समाजबारे आफ्नो जीवनको मध्याह्नकालबाटै कलम चलाउन थालेको भए उहाँबाट अझ धेरै महत्वपूर्ण रचना जन्मन सक्थे । जीवनको प्रौढ अवस्थासम्म उहाँले साहित्यभन्दा पत्रकारिता र राजनीतिलाई बढी समय दिनुभयो । तर आफ्नो साहित्य लेखनको आरम्भका कथाहरू (जुन ‘कसले जित्यो कसले हार्‍यो’ र ‘ग्यास च्याम्बरको मृत्यु’ मा संग्रहित छन्) पनि नेपाली साहित्यका श्रेष्ठ कथाहरूमा पर्छन् । उहाँका पछिल्ला कथा संग्रह ‘श्वेतकाली’ र ‘जेण्डा’ ले पनि उहाँको लेखनको माधुर्य र विशेषता दर्शाउँछ । मेलवादेवीको गायनको विशिष्टता, चन्द्रशमशेरको उनीप्रतिको आसक्ति र दरबारप्रतिको मेलवादेवीको विरक्तिलाई मदनमणिले विभिन्न सन्दर्भमा मीठो शैलीमा लेख्नुभएको कुरा मलाई अझै ताजै छ ।

‘माधवी’ र ‘मेरी नीलिमा’

मदनमणिले ‘मेरी नीलिमा’ कृतिलाई एकालाप भन्नुभएको छ । निबन्धको रुपमा थालेर उपन्यासको शैलीमा परिणत भएको यो कृति नेपाली साहित्यको महत्वपूर्ण उपलब्धि हो । ‘मेरी नीलिमा’ नेपाली साहित्यमै मदनमणिको विशिष्ट प्रयोग हो । र उहाँकै लागि पनि ‘माधवी’ पछिको दोस्रो प्रिय सृजना । उपन्यासमा गहन चिन्तन, भोगाइ र दृष्टिकोण जति गहिरो छ त्यति नै आकर्षक लालित्यपूर्ण लेखन, प्रकृतिसँगको तादात्म्य र वर्णन शैली लाग्दछ ।

‘माधवी’ यस्तो औपन्यासिक कृति हो जसमा आएर नेपाली उपन्यास लेखनले एउटा उँचाइ र प्राप्ति हासिल गरेको छ । ‘माधवी’ विना नेपाली साहित्यको इतिहास अपुरो हुन्छ । वास्तवमा ‘माधवी’ विश्व साहित्यकै लागि अमूल्य रचना हो ।

मदनमणिको नहुनु नेपाली बौद्धिक–साहित्यिक क्षेत्रका लागि धेरै थोक नहुनु हो । यतिवेला हामी एउटा शून्यता र अभावको अनुभूत गरिरहेका छौं । ‘माड्साप’ भनेर अब कसलाई सम्बोधन गर्ने ?

comments powered by Disqus

रमझम