१-७ भदाै २०७६ | 18-24 Aug 2019

घरमै सुरक्षा गार्ड

Share:
  
दिउँसोको जागिर, लामो विदा र आवश्यक परे अन्य समयमा पनि घरको सुरक्षा गर्न व्यावसायिक सुरक्षा कम्पनी तयार छन्।

कौशलता राई । तस्वीरः बाज सेक्युरिटी
लामो विदामा कतै घुम्ने योजना बनाइरहँदा घरको सुरक्षा चिन्ता अक्सर बाधक बन्ने गर्छ । खासगरी यहीवेला काठमाडौं उपत्यकामा हुने चोरीका घटनाले घरधनीलाई यसबारे सोच्न बाध्य तुल्याउँछ । र, यस्तो चिन्ता पुख्र्यैली घर अन्तै भई काठमाडौंमा बसिरहेकाहरूलाई बढी पर्छ ।

त्यसो त पछिल्लो समय दम्पती नै काममा जाने चलनले घरको असुरक्षा झनै बढेको छ । पहिले राति मात्र चोरीका घटना भएको सुनिन्थ्यो, हिजोआज दिउँसै चोरी भएको सुनिन थालेको छ ।

प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार, आर्थिक वर्ष २०७५–७६ मा २ हजार ६४६ वटा चोरीका घटना दर्ता भएका छन् । जबकि अघिल्लो वर्ष यो संख्या १ हजार ६२८ मा सीमित थियो । चोरीका घटना पनि सबैभन्दा बढी काठमाडौंमै हुने गरेका छन् । गएको आवमा भएका चोरीका घटनामध्ये ३७ प्रतिशत काठमाडौं उपत्यकामै भएका थिए ।

“पछिल्लो समय दिउँसै चोरीका घटना बढेका छन्”, नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेल भन्छन्, “दशैं, तिहार जस्ता चाडपर्वमा चोरीका उजुरी झन् बढी आउँछन् ।”

व्यस्त शहरी जीवनशैली, कामको चापका कारण घरको सुरक्षा मानिसको प्राथमिकतामा पर्न थालेको छ । मागका आधारमा आपूर्ति भनेझैं घरको सुरक्षामा व्यावसायिक संस्थाको पनि ध्यान जान थालेको छ । व्यावसायिक प्रतिष्ठानमा सेवा प्रदान गरिरहेका सेक्युरिटी कम्पनीहरूले पछिल्लो समय निजी घरमा पनि सुरक्षा प्रदान गर्न थालेका छन् ।

व्यावसायिक सुरक्षा

देशमा श्रम तथा रोजगारजन्य सुरक्षा विभागबाट अनुमति लिएका सेक्युरिटी आपूर्तिकर्ता कम्पनीको संख्या २५० जति छ । यस्तै एक कम्पनी केटीएम सेक्युरिटीज्का प्रबन्ध निर्देशक तथा श्रमिक आपूर्तिकर्ता संघका अध्यक्ष रामेश्वर साहका अनुसार सबै कम्पनीमा गरी करीब एक लाख व्यक्ति सुरक्षा गार्डका रुपमा विभिन्न स्थानमा खटिएका छन् ।

साहका अनुसार पछिल्लो समय व्यावसायिक प्रतिष्ठान, कार्यालयहरू बाहेक घरमा पनि सुरक्षा गार्डको माग बढेको छ । जसका लागि कम्पनीहरूले प्रतिघण्टा रु.९० देखि १०० सम्म लिने गरेका छन् । त्यसमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर पनि जोडिन्छ ।

गरुड सेक्युरिटीज्का मनोहर कोइराला भने कम्पनीमा सुरक्षा गार्ड राख्ने व्यक्तिहरू घरको सुरक्षामा भने अझै संवेदनशील हुन नसकेको बताउँछन् । यस्ता कम्पनीले घर मात्र होइन, टोल सुरक्षा समेत गर्छन् । राति गस्तीको सेवा पनि दिइरहेका छन् । घरमा रातभर सुरक्षा गार्ड राख्नुभन्दा गस्ती सेवा सस्तो हुने सेक्युरिटी कम्पनीका अधिकारीहरू बताउँछन् । प्रायः राति १२ देखि ३ बजेसम्म चोरीका घटना धेरै हुने भएकाले गस्ती सेवा उपलब्ध गराइएको केटीएम सेक्युरिटीज्का साह बताउँछन् ।

सुरक्षा गार्ड राख्नुअघि सम्पत्तिको बीमा गर्नु उपयुक्त मानिन्छ । गार्ड राख्नुअघि बीमाको क्षेत्र र कहाँ कस्तो सुरक्षा दिने भन्ने यकिन गर्नुपर्छ । त्यसबाहेक सेक्युरिटी गार्ड आपूर्तिकर्ता कम्पनी श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा दर्ता छ÷छैन, श्रमिकलाई श्रम ऐन अनुसार सेवा–सुविधा दिएको छ/छैन भन्ने कुरामा पनि ध्यान पुर्‍याउनुपर्छ ।

comments powered by Disqus

रमझम