१-७ भदाै २०७६ | 18-24 Aug 2019

नेपाली बौद्ध वज्रयान

Share:
  
- बसन्त महर्जन
नेपालको छुट्टै पहिचान दिने हैसियत राख्ने काठमाडौं उपत्यकामा प्रचलित वज्रयानी बौद्ध धर्मलाई ‘नेपाली बौद्ध धर्म’ का रूपमा प्रचारप्रसार गर्न ढिला भइसकेको छ।

विभिन्न धर्मदर्शनको विकासका क्रममा अनेकौं सम्प्रदाय देखा पर्नु र सोही अनुसार अभ्यास हुनु स्वाभाविक हो । बौद्ध धर्मदर्शन पनि यसबाट अछुतो छैन । यसबाहेक स्थान वा समुदाय विशेषसँग सम्बन्धित भएर पनि बौद्ध धर्मले बेग्लै पहिचान बनाएको छ ।

चारित्रिक विशेषतालाई ध्यानमा राखेर पाश्चात्य जगत्ले राखिदिएको नाम ‘नेवार बुद्धिज्म’ नेवार समाजमै पाच्य भएको छैन । उनीहरू ‘नेपालमण्डलको बौद्ध धर्म’ राख्न सुझउँछन् । बरु यसैलाई ‘नेपाली बौद्ध धर्म’ भनेर अगाडि बढ्दा युक्तिसङ्गत हुने देखिन्छ ।

बौद्ध धर्मलाई नेपाली, चिनियाँ, जापानी, कोरियाली भनेर बेग्लाबेग्लै रूपमा लिन नहुने र जहाँ पुग्यो त्यहींको नाम दिएर चिनाउँदै जानुको औचित्य छैन भनेर असहमति जनाउनेहरू पनि छन् । यद्यपि समग्र बौद्ध धर्म र यसको विकासक्रमलाई अध्ययन गर्दा त्यसमा आपत्ति जनाउनुपर्ने कारण भने केही देखिंदैन ।

सामान्यतः धर्म र संस्कृति एउटै हो भन्ने बुझइ छ तर बौद्ध धर्मको सन्दर्भमा ‘धर्म’ र ‘संस्कृति’ बेग्लाबेग्लै रूपमा अगाडि बढ्ने गरेको छ । गौतम बुद्धले धर्मोपदेश दिंदा त्यसको पालना गर्नमा मात्रै जोड दिए तर निश्चित विधिविधान अनुसार नै पालना गर्नुपर्छ भनेर निर्दिष्ट गरेनन् । जसरी बौद्ध धर्मका लागि निर्दिष्ट भाषा तय गरिएको छैन त्यसरी नै संस्कृतिका रूपमा रहेका विधिविधान तथा रीतिरिवाज तय नगरिनु पनि बौद्ध धर्मको उल्लेखनीय विशेषता हो । समाज, समुदाय, भूगोल लगायत वातावरण अनुकूलको बौद्ध धर्म दर्शनको अभ्यास गर्ने स्वतन्त्रताले गर्दा पनि यो विश्वमा फैलन सकेको हो ।

एउटै बाटो भई बौद्ध र हिन्दू धर्म भारतबाट चीनतर्फ प्रवेश गरेको भए पनि भारतीय रीतिरिवाज तथा अन्य कुरा चिनियाँ भूगोलमा उपयुक्त नहुँदा हिन्दू धर्म विस्तार हुन सकेन । तर स्थानीय वातावरण अनुसार फैलने स्वतन्त्रता भएकै कारण बौद्ध धर्म सम्पूर्ण भारतको भन्दा विस्तृत भूक्षेत्र भएको चीनमा फैलियो ।

बौद्ध धर्म चीनमा

इस्वी संवतको शुरूतिर चीन पुगेको बौद्ध धर्मले त्यहाँबाट कोरिया पुग्दा धेरै विरोधको सामना गर्नु परे पनि इ.सं. ५२८ सम्ममा सर्वस्वीकार्य भइसकेको थियो । यसरी नै बौद्ध धर्म कोरियाबाट जापानमा इस्वीको छैटौं शताब्दीको मध्यतिर मात्रै पुग्यो । यात्राको क्रममा बौद्ध धर्मले स्थानीय विरोध र थुप्रै अवरोध सामना गर्नु परेको थियो । ती ठाउँहरूमा सर्वस्वीकार्य हुन लामो समय कुर्नुपरेको चाहिँ देखिंदैन । यसो हुनाको खास कारण स्थानीय सांस्कृतिक परिवेशमा घुलमिल हुन सक्ने यो धर्मदर्शनको लचिलोपन वा उदारता नै हो ।

जापानमा परम्परागत शिन्तो र तिब्बतमा बोन संस्कृतिसँग भिजेर बौद्ध धर्मले आफ्नो जरा गाड्न सक्यो । यस अनुसार चिनियाँ, जापानी, कोरियाली, तिब्बती, थाई, श्रीलङ्कन आदि नामको बौद्ध धर्म भूगोलसँग नभएर संस्कृतिसँग सम्बन्धित हुन पुग्यो र प्रत्येकले आआफ्नै पहिचान प्रस्तुत गर्न सके ।

भौगोलिक अवस्थिति, बौद्ध साहित्य र ऐतिहासिक प्रमाणलाई आधार मान्दा बौद्ध धर्म गौतम बुद्धको जीवनकालमै काठमाडौं उपत्यका प्रवेश भइसकेको मान्न कर लाग्छ । त्यो वेलाको काठमाडौं उपत्यका व्यापारिक केन्द्र त थियो नै अनेकौं धर्म–संस्कृतिको सङ्गमस्थलका रूपमा पनि विकसित भइरहेको थियो ।

लामो समयदेखि सभ्यता र संस्कृतिले निरन्तरता पाउँदै आएका थोरै भूक्षेत्र मध्ये काठमाडौं उपत्यका पनि हो, जहाँ विविधता र विशिष्टता स्वाभाविक रूपमा पाइन्छ । बौद्ध दर्शनको क्षेत्रमा देखिएका ‘महासांघिक’ लगायतका सम्प्रदायहरू काठमाडौं उपत्यकामा पनि पाइन्छन् । परम्परागत बौद्ध धर्म भनेर यहाँ वज्रयानी बौद्ध धर्मलाई अगाडि सारिन्छ । अन्यत्रको वज्रयानीमा भन्दा केही थप विशेषता यहाँ छ । यही विशेषतालाई ध्यानमा राखेर त्यसलाई ‘नेपाली बौद्ध धर्म’ भनी चिनाउन सकिन्छ ।

यसको आधार ‘स्वयम्भू महाचैत्य’ लाई लिन सकिन्छ, जसले धर्म, दर्शन, कला र संंस्कृति लगायतका कुरामा विशिष्टता प्रस्तुत गर्दछ । पुरोहित (वज्राचार्य) र जजमान दुवै नेवार भएकै कारण यसलाई नेवार बौद्ध धर्म भनेको हो भने यसले सीमित अर्थ दिन्छ र विस्तारको संभावनालाई रोक्ने खतरा पनि उत्तिकै रहन्छ ।

उत्तरी नेपाल (हिमाली क्षेत्र) मा प्रचलित बौद्ध धर्म वज्रयानी नै भए पनि यसले तिब्बती बौद्ध धर्मको पहिचान बोक्दछ । ‘थेरवादी’ बौद्ध सम्प्रदायले नेपालमा पछिल्लो दशकमा जरा गाडे पनि यो नेपालीकरण नभई मुख्य रूपमा श्रीलङ्कन, थाई र म्यानमारको संस्कार संस्कृति अनुसार चलेको छ । यसक्रममा जापान, कोरिया लगायतका देशले आजभोलि बौद्ध धर्मसम्बद्ध संघसंस्थाहरू स्थापना गर्न थालेका छन् ।

नेपालको छुट्टै पहिचान दिने हैसियत राख्ने काठमाडौं उपत्यकामा प्रचलित वज्रयानी बौद्ध धर्मलाई ‘नेपाली बौद्ध धर्म’ का रूपमा प्रचारप्रसार गर्न ढिला भइसकेको छ । त्रिभुवन विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयमा यसको अध्यापन ‘नेपालमण्डलको बौद्ध धर्म’ विषयका रूपमा हुँदै आए पनि कतिपय प्राध्यापकहरू यो विषय हटाउनुपर्ने वा ‘क्रेडिट आवर’ छोट्याउनुपर्ने विचार औपचारिक रूपमा प्रकट गर्दछन् । यसलाई नेवार समुदायसँग मात्रै जोडेर हेर्नु वा त्यसरी व्यवहार गर्नु संकुचित दृष्टिकोण हो ।

comments powered by Disqus

रमझम