२२ - २८ भदाै २०७६ | 8 - 14 Sep 2019

तथ्याङ्कको तागत

Share:
  
- मनिष झा
तथ्याङ्कको प्रयोग र वैज्ञानिक विश्लेषणबाट तय गरिएको समृद्घिको खाकाले मात्र परिवर्तन सम्भव छ।

केही महीनाअघि संसदमा गरेको सम्बोधनमा प्रधानमन्त्री केपी ओलीले उखान टुक्कासँगै केही यस्ता तथ्याङ्क पनि प्रयोग गरे जसको धेरैले ख्याल गरे । ओलीले आफ्नो कार्यकालमा कति किमी सडक कालोपत्रे भयो, कति वटा पुल बने भन्ने तथ्याङ्क प्रस्तुत गरेका थिए । आफ्नो सरकारको उपलब्धिबारे तथ्याङ्कबाट जानकारी दिंदा त्यो उखान टुक्काभन्दा प्रभावकारी बन्यो ।

तथ्याङ्क शिक्षाका अभियन्ता जोर्डन मोरो भन्छन्, “यो मानव सभ्यताको लागि नयाँ इन्धन हो, तर जसरी कच्चा इन्धन प्रयोग गर्नुभन्दा पहिले प्रशोधन गर्नुपर्छ, त्यसरी नै तथ्याङ्कलाई पनि प्रशोधन गरेर प्रयोगको लागि तयार गर्नुपर्छ ।” कुनै पनि निर्णय लिन सूचना र अख्तियारी चाहिन्छ । अख्तियारी भएर पनि सूचना छैन भने गलत निर्णय गर्ने सम्भावना रहन्छ । नेपालमा गलत मनसायले भन्दा अपर्याप्त सूचनाले अनुचित निर्णय भइरहेको पाउँछौं ।

अनुभव, जानकारी, अभ्यास र विश्लेषण पनि सूचनाको एक अङ्ग हो । तर, हामीले ती सूचना सार्वजनिक प्रयोगको लागि उपलब्ध गराए मात्र खुला तथ्याङ्क (ओपन डाटा) हुन्छ । खुला तथ्याङ्कलाई सार्वजनिक प्रयोग गर्न सकिन्छ । तथ्याङ्कको प्रयोगले अभिव्यक्ति विश्वसनीय हुन्छ ।

नयाँ संरचना, पुराना तथ्याङ्क

हामी नयाँ संविधान र नयाँ संरचनाको अभ्यासमा छौं । नयाँ परिस्थितिमा हामीसँग के र कति स्रोत–साधन छ, तिनको प्रयोग कुन स्तरमा भएको छ भन्ने जानकारी हुनुपर्छ । सबै प्रदेशका सूचक हेर्दा प्रदेश–३ स्रोतसाधन परिचालन र विकासमा अगाडि छ । कर्णाली धेरै सूचकमा पछाडि छ । आगामी दिनमा मार्ने फड्कोमा पनि प्रदेश–३ र कर्णालीको क्षमता तथा सम्भावना दुवै फरक छन् ।

परिवर्तनका लागि गरिने हरेक प्रयासमा तथ्याङ्कको महत्व हुन्छ । त्यसैले तथ्याङ्क खुला हुनुपर्छ । जबसम्म खुला तथ्याङ्क र त्यसको अभ्यास गर्ने संस्कार बस्दैन तबसम्म हाम्रो परिवर्तनको प्रयास जोखिममा पर्छन् । यस्ता प्रयास महँगो पर्छ ।

हाम्रो तथ्याङ्कको संस्कार निकै कमजोर छ । बोल्ने वेला तथ्याङ्कको सहजै प्रयोग गछौं तर सही प्रयोग गर्दैनौं । जस्तै, एक दशकदेखि हामी ‘तीन करोड नेपाली’ भनिरहेका छौं । तर, यथार्थमा जनसंख्या तीन करोड पुगेकै छैन । केन्द्रीय तथ्याङ्क विभागको पछिल्लो तथ्याङ्क अनुसार नेपालको जनसंख्या दुई करोड ९६ लाख मात्र छ ।

काठमाडौं उपत्यकाको जनसंख्या कति छ भनेर कसैले सोध्यो भने, ‘३०–४० लाख होला’ भन्छौं । ३० देखि ४० लाखमा २५ प्रतिशतको भिन्नता छ । यो तथ्याङ्कलाई आधार मानेर कुनै पनि निकायले बजारबारे निर्णय गर्न सक्दैन ।

तथ्याङ्कको मूल्य

अन्तर्राष्ट्रिय तथ्याङ्क सम्बन्धी संस्था मेकेन्जीले हालै प्रकाशन गरेको प्रतिवेदन अनुसार विश्वबजारमा तथ्याङ्कको महत्व करीब तीन खर्ब अमेरिकन डलर बराबरको छ । डेलोइटका अनुसार लण्डनको सार्वजनिक यातायातमा मात्र १३ करोड पाउन्ड बराबरको तथ्याङ्क छ । युरोपियन तथ्याङ्क बजारको अध्ययन अनुसार २०२० सम्ममा त्यहाँ ७३९ अर्ब बराबरको तथ्याङ्क हुनेछ ।

यस्तो पनि हैन कि तथ्याङ्क केवल बजारको लागि हुन्छ । तथ्याङ्कले लोकतन्त्र र सामाजिक सभ्यतामा पनि सघाउँछ । सामाजिक विकासमा लागेको संस्थाले तथ्याङ्कको प्रयोग गरेर अभियानहरू संचालन गरेको पाइन्छ । शिक्षा क्षेत्रमा पनि तथ्याङ्क, अनुसन्धान र विश्लेषण सम्भावनाको विषयका रूपमा अध्यापन गराइन्छ ।

हामी परिवर्तनको अभ्यासमा छौं, नयाँ–नयाँ प्रयोग र उपलब्धि चाहन्छौं । तर तथ्याङ्कको प्रयोग र त्यसको अभ्यासमा सुधार नल्याएसम्म र सामान्य तथ्याङ्कमा समेत स्पष्टता नआएसम्म समृद्धिको आधार तयार हुँदैन ।

comments powered by Disqus

रमझम