२२ - २८ भदाै २०७६ | 8 - 14 Sep 2019

छलाङ मार्दै नेपाली कफी

Share:
  
- तुलसी गौतम
आठ दशकअघि बर्माबाट फर्केका हीरा गिरीले पहिलो पटक भित्र्याएको कफी अहिले यूरोप र अमेरिका निर्यात हुन थालेको छ।

तस्वीरः लेकाली कफी स्टेड
देशको राजधानी र केही शहरी क्षेत्रमा कफीका ‘पारखी’ बढ्दै गएका छन् । उच्च र मध्यम आय भएका उपभोक्ताको स्तर ख्याल गरेर तह–तहका कफी ‘क्याफे’ शप खुलेका छन् । उपभोक्ताको रुचि कफीमा बढ्दै गएको देखेर कफीशपको संख्या अहिले ६–७ हजारसम्म पुगेको अनुमान छ । यीमध्ये धेरैले नेस्क्याफे, म्याक कफी लगायत विदेशी ब्राण्डका कफी बिक्री गर्छन् ।

ललितपुरको झम्सिखेलमा खुलेको ‘हिमालयन जाभा कफी’ र सानेपाको ‘ब्यूटीफूल कफी नेपाल’ को कफीशपमा विभिन्न प्रकार र स्वादका नेपाली कफी चाख्न पाइन्छ । हिमालयन जाभाले त काठमाडौं, पोखरा लगायतका शहरमा आफ्नै ब्राण्डका कफीशप खोलिसकेको छ । त्यस्तै ब्यूटीफूल कफीले सानेपामा ‘कफी कपिङ ल्याब’ राखेर नेपालको प्राङ्गारिक कफी छानी–छानी चखाउने गरेको छ । काठमाडौंको बालुवाटार, ठमेल, दरबारमार्ग र पोखराको लेकसाइड जस्ता ठाउँमा खुलेका स्तरीय कफीशप नेपाली प्राङ्गारिक कफी चाख्ने उपयुक्त स्थल बनेका छन् । सुपर स्टोरहरूमा विदेशी र नेपाली ब्राण्डका कफी पाइनुले कफीका सौखिनहरू नेपालको शहरी क्षेत्रमा बढ्दै गएको सङ्केत पाइन्छ ।

नेपालमा कफी

आठ दशकअघि (विक्रम संवत् १९९५) बर्माबाट नेपाल फर्किएका हीरा गिरीले ल्याएको कफीको बिरुवाबाट गुल्मीको आँपचौरमा कफी खेतीको श्रीगणेश गरेका थिए । अहिले कफी खेती मध्यपहाडका ४१ जिल्लामा विस्तार भइसकेको छ । विश्व बजारमा नेपाली प्राङ्गारिक कफीको माग बढ्दै गएको छ ।

नेपालको पहाडी क्षेत्र (७००–२००० मिटर उँचाइ) अराविका कफी उत्पादन गर्न उपयुक्त थलो मानिन्छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार वि.सं. २०७४/७५ मा यसको क्षेत्रफल २६५० हेक्टर र उत्पादन ५१३ टन थियो । आव २०५१/५२ मा कफीको क्षेत्रफल १३६ हेक्टर र उत्पादन १३ टन थियो । यसको अर्थ कफी लगाउनेको संख्या वर्षेनि बढ्दै छ । पहिले ‘कृषक तह’ मा सीमित कफी खेती अहिले संयुक्त लगानीको ‘व्यावसायिक तह’ मा हुन थालेको छ । बोर्डका अनुसार यो संख्या ३३ हजारको हाराहारीमा पुगेको छ । क्षेत्रफलका हिसाबले अहिले स्याङ्जा (३१६ हेक्टर), पाँचथर (२७१ हेक्टर) र काभ्रे (१९३ हेक्टर) अगाडि छन् । उत्पादनका आधारमा स्याङ्जा (४४ टन), गुल्मी (३५ टन) र पाल्पा (३२ टन) पहिलो, दोस्रो र तेस्रो स्थानमा पर्दछन् ।

सामान्यतः कफी रोपेको चार–पाँच वर्षदेखि मात्र उत्पादन हुन थाल्छ । पचासौं वर्षसम्म उत्पादन भइरहने हुनाले कफी खेती कृषक र लगानीकर्ताका लागि वरदान साबित हुन सक्छ । अन्न बाली त्यति नहुने सेपिलो ठाउँ, भिरालो र खोल्साखोल्सीमा समेत यसको खेती गर्न सकिने भएकाले पनि कफी खेतीप्रति कृषक र लगानीकर्ताको रुचि बढ्दै गएको हो ।

देशभर हालसम्म करीब अढाइ दर्जन जति सहकारी र प्रालि संस्थाहरू कफीको उत्पादन, प्रशोधन र बजारीकरणमा संलग्न छन् । यी संस्थाहरूले आ–आफ्नो ब्राण्ड बनाई आन्तरिक तथा बाह्य बजारमा कफी निर्यात गरिरहेका छन् । माग अनुसार उत्पादन हुन नसक्दा अस्वस्थ प्रतिस्पर्धा र नेपाली कफीको नाममा छिमेकी देशको उत्पादन मिसिन सक्ने जोखिम पनि उत्तिकै छ । नेपाली कफीले विश्व बजारमा अहिले पाएको ख्याति कायम राख्न सरकारी तहबाट नेपाली कफीको गुणस्तर निगरानी गरिरहनु आवश्यक छ ।

चिया तथा कफी विकास बोर्डका उपनिर्देशक लक्ष्मण पोखरेल स्वदेश तथा विदेशमा नेपाली कफीको माग वर्षेनि १४–१५ हजार टन भएकोले १२ लाख हेक्टरसम्म कफी खेती विस्तार गर्न सकिने बताउँछन् । उनी भन्छन्, “मोरङ, उदयपुर, कैलाली जस्ता जिल्लाको पहाडी भूभागमा पनि कफी खेती गर्न सकिन्छ ।”

प्राङ्गारिक पहिचान र सरकारी प्रयास

बर्माबाट ल्याएर गुल्मीको आँपचौरमा रोपेको कफीको बिरुवा झङ्गिदै गयो; लाहुरबाट आएकाले ‘कफीको बोट’ भनेपछि स्थानीयवासीले पत्तो पाए । खाने कसरी थाहै थिएन, पछि कसैले सिकाए । बोक्रा फालेर ढिकीमा कुट्यो, हाँडीमा भुट्यो अनि जाँतोमा पिंधेर धूलो बनाएर करीब दश मिनेट उमालेपछि चियाको साटो पिउन दिइन्थ्यो । यो पंक्तिकार खेती/व्यवसायको अध्ययन/अनुगमन गर्न २०४१ सालमा आँपचौर गएका वेला त्यसैगरी पकाइएको कफीको ‘झेल’ नौलो मानेर खाएको थियो ।

नेपाली ब्राण्डका कफीहरु ।
नेपालमा पनि कफी उत्पादन हुने सुनेर ५ माघ २०४१ मा राजा वीरेन्द्र रानी सहित गुल्मीको आँपचौर पुगेका थिए । उनले त्यसवेला पाराश्वर र शेषकान्त खरेलको ‘कफी बगैंचा’ निरीक्षण गरे । पाराश्वर खरेलको घरमा कफी पिए । राजा प्रभावित भए । किसानले सिंचाइ माग गरेपछि राजाले कुलो बनाउन हुकुम दिए । कुलो बन्यो । कफी विकास केन्द्र स्थापना भयो । सिंचाइ सुविधा पाएपछि भने कृषकले कफीको बोट मासेर वर्षमा तीन बाली भित्याउन मिल्ने धान, मकै, आलु र तोरी खेती गर्न थाले ।

स्थानीय कुलानन्द खरेल भन्छन्, “कफी खेतीबाट आम्दानी लिन चार–पाँच वर्ष कुर्नुपर्ने भयो; बजार सुनिश्चित थिएन । कफीका बोटमा रोग लाग्न थाल्यो । किसानले धैर्य गर्ने स्थिति नै रहेन ।”

किसानलाई कफीको भविष्य देखाउन न त्यस वेलाको सरकारले सक्यो न त निजी तहका उद्यमीले नै राष्ट्रिय/अन्तर्राष्ट्रिय बजार सुनिश्चित गर्न सघाए । यो अवस्था गुल्मीमा मात्र रहेको होइन । सिन्धुपाल्चोकको तालामाराङ्मा पनि सन् १९८५–८६ तिर कफीका बोट काटिए । त्यस वेला बजार र भाउ दुवै नपाएर कफीका दाना फ्याकिदिएको स्थानीय खिलबहादुर देउजा बताउँछन् ।

सरकारले कफी खेती ब्युँताउन २०७० सालमा गुल्मीकै भण्डारी डाँडामा ‘कफी अनुसन्धान कार्यक्रम’ शुरू गर्‍यो । स्थानीय सरकार बनेपछि गुल्मीको मुसिकोट नगरपालिका आफैंले आँपचौरको पहिचान जोगाइराख्न आँपचौर र वरिपरिको जग्गा समेत भाडामा लिएर कफी खेती शुरू गरेको छ । नगरपालिकाले इच्छुक किसानलाई प्रतिबोट रु.१०० अनुदान पनि दिने गरेको छ ।

स्रोतः राष्ट्रिय चिया तथा कफी विकास बोर्ड
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार २०७५ सालमा ५१३ टन ग्रीन बीन उत्पादन भएकोमा ८३ टन अर्थात् करीब साढे नौ करोड रुपैयाँ बराबरको कफी कोरिया, जापान, अमेरिका, बेलायत र भारत लगायतका देशमा निर्यात भएको थियो । यसैगरी त्यस वर्ष नेपालमा गैर प्राङ्गारिक कफी १६३ टन आयात भएको थियो । आयातित कफीको भन्सार मूल्य करीब साढे ६ करोड थियो । नेपालबाट निर्यात हुने एक केजी ग्रीन बीन कफीको भन्सार मूल्य रु.११४५ पर्छ भने आयातित तयारी कफी रु.३९९ भन्दा कममा पाइने हिसाब निस्कन्छ । आयातित कफी कमसल हुने भएकैले सस्तो भएको बोर्डका उपनिर्देशक पोखरेल बताउँछन् ।

“हाल आन्तरिक र विश्व बजारमा गरेर १४–१५ हजार मेट्रिक टन नेपाली कफी खपत हुन सक्छ तर नेपालमा कफीको उत्पादन ५१३ टन मात्र हुने गरेको छ” पोखरेल भन्छन्, “उत्पादन गर्न सके बजारको समस्या छैन ।”

गैरसरकारी प्रयास

कफीको उत्पादन, प्रवद्र्धन र विकासमा संलग्न गैरसरकारी संस्था हेल्भेटासले सन् २००३ देखि २०१७ सम्म प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरेको थियो । तत्कालीन कफी परियोजनाका प्रमुख एवं हाल ब्यूटीफूल कफी नेपालका अध्यक्ष प्रचण्डमान श्रेष्ठ भन्छन्, “गुल्मी, पाल्पा, स्याङ्जा, ललितपुर, सिन्धुपाल्चोक र काभ्रे लगायतका नौ जिल्लामा प्राङ्गारिक कफी उत्पादन गर्न हेल्भेटास परियोजनाले निकै सघाउ पुर्‍यायो ।”

सन् २०१४ मा ललितपुरमा ‘ब्यूटीफूल कफी नेपाल’ को स्थापना भयो । यसले अहिले ‘ब्यूटीफूल कफी कोरिया’ को समन्वय र द कोरिया इन्टरनेशनल को–अपरेसन एजेन्सी (कोइका) को आर्थिक अनुदानमा सिन्धुपाल्चोक र ललितपुर जिल्लामा प्राङ्गारिक कफी उत्पादन तथा गुणस्तर सुधार र बजार प्रवद्र्धन कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । पछिल्लो पटक सन् २०२० का लागि सञ्चालन गरिएको परियोजनाले कफी सहकारी संघको सशक्तीकरण, ब्यूटीफूल कफी कोरियासँग बजार सम्बन्धन र उत्पादक सहकारीहरूलाई कफी संघमा आबद्ध गरी संस्थागत गर्ने प्रयास गरेको छ । परियोजनाले कफीको गुणस्तर सुधार गर्न आन्तरिक नियन्त्रण प्रणाली विकास गरिदिएको छ ।

प्राङ्गारिक प्रमाणीकरण गर्न कफी बगैंचा व्यवस्थापन गर्नु सबैभन्दा महत्वपूर्ण छ । कफीको दाना, बोट/बिरुवा र माटोमा रासायनिक पदार्थ प्रयोग भएको हुनुहुँदैन । रासायनिक पदार्थको प्रयोग भए–नभएको जाँच गर्न ‘ब्यूटीफूल कफी नेपाल’ ले कफी उत्पादक सहकारीलाई आवश्यक प्राविधिक सहयोग गर्ने गरेको छ । सिन्धुपाल्चोकमा जस्तै गुणस्तरीय कफी उत्पादन र प्राङ्गारिक प्रमाणीकरण गर्ने आन्तरिक नियन्त्रण प्रणाली अन्य जिल्लाहरूमा पनि अनिवार्य शर्त हुने गरी नीतिगत व्यवस्था गरेर लागू गर्न सके नेपालको कफीले राम्रै फट्को मार्ने छ ।

कफीको उत्पादन बढाउन ७०० देखि २००० मिटर उँचाइ भएका नेपाली भूभागमा १२ लाख हेक्टर क्षेत्रफलमा विस्तार गर्न सकिने अनुमान बोर्डले गरेको छ । तथ्यहरूले प्राङ्गारिक कफीको भविष्य उज्ज्वल रहेको देखाउँछ । संघीय, प्रदेश र स्थानीय सरकारले स्थानीय कृषकमा ‘प्रोत्साहन प्याकेज’ ल्याउनुपर्छ ।


बरिष्टा गुरु ‘गुरुङ’

काठमाडौंको बालाजु बस्ने किसन गुरुङले सन् २०१० मा १२ कक्षा पास गरेर हिमालयन जाभा कफीमा काम गर्न थाल्दा साथीहरूबाटै हेपिएको महसूस गरे । त्यहाँ कमाएको पैसाले सिङ्गापुरमा ‘स्पेशियालिटी कफी एशोसिएसन’ मा कफी बनाउने दुईहप्ते तालिम लिए । ब्यूटीफूल कफी नेपालले कोरिया गएर एकहप्ते ‘कफी रोष्टिङ’ तालिम लिने अवसर दियो । सन् २०१६ मा थाइल्यान्ड गएर कफीमा दूध चुहाएर थरीथरीका बुट्टा निकाल्ने कला ‘लाते आर्ट’ सिके । नेपालमा लाते आर्ट शुरु गर्ने पहिलो व्यक्ति उनै गुरुङ हुन् ।

त्यसपछि गुरुङ ‘बरिष्टा’ कफी बनाउन सिकाउने तालिममा स्रोत व्यक्ति बने । अहिले गुरुङ स्विट्जरल्याण्ड, इटली, फ्रान्स, जर्मनी, चीन, मलेशिया लगायतका देश घुमेर कफी संस्कृति बुझिरहेका छन् । “नेपालको कफी तीतो मात्र होइन भौगोलिक अवस्थाको कारणले पनि हुन सक्छ, उच्चस्तरको छ”, गुरुङ भन्छन् ।

comments powered by Disqus

रमझम