२२ - २८ भदाै २०७६ | 8 - 14 Sep 2019

माटो मैयाँ

Share:
  
- लक्ष्मी बस्नेत
करबलले माटो विभागकी जागिरे बनेकी दिव्यलक्ष्मी वज्राचार्य कालान्तरमा ‘नेपालकै पहिलो महिला माटो वैज्ञानिक’ बनिन्। ८२ वर्षे यो उमेरमा पनि उनी माटोको उर्वराशक्ति बढाउने नयाँ विधिको अनुसन्धानमा खटिएकी छिन्।

तस्वीरहरु:बिक्रम राई
नेपालको पहिलो महिला माटो वैज्ञानिक दिव्यलक्ष्मी वज्राचार्य त्रिभुवन विश्वविद्यालय रसायन शास्त्र अन्तर्गत स्नातकोत्तर तहको पहिलो ब्याचको विद्यार्थी थिइन् । कक्षामा तीन छात्रा सहित ९ विद्यार्थी थिए । कात्तिक २०२४ मा स्नातकोत्तर अन्तिम वर्षको नतिजा आएको भोलिपल्ट साथीहरूसँग सिनेमा हेर्ने योजना थियो । न्यूरोडस्थित जनसेवा सिनेमा हल (हाल विशालबजार भएको ठाउँ) मा हिन्दी सिनेमा चल्थ्यो । दिउँसो ३ बजेको शो हेर्न जान तयार हुँदै गर्दा कृषि विभागका कर्मचारी घरैमा आए ।

ती कर्मचारी जागिरका लागि दिव्यलक्ष्मीलाई लिन आएका रहेछन् । उनीहरूले तत्काल विभाग हिंड्न आग्रह गरे । उनले जागिर नखाने निर्णय सुनाइन् । तर, कर्मचारीले धेरै अनुरोध गरेपछि साथीहरूलाई आकस्मिक काम परेको बहाना बनाएर विभागतिर लागिन् । त्यहाँ विभागकै माटो विज्ञान शाखा प्रमुख विदुरकुमार थापासँग भेट भयो । दिव्यलक्ष्मीले जागिर खान मन नभएको दोहोर्‍याइन् । तर, थापाले जागिरका लागि निवेदन लेख्न आग्रह गरे । उनले निवेदन लेख्न नआउने बहाना बनाइन् । निवेदन पनि शाखा प्रमुख थापाले नै लेखिदिए र हस्ताक्षर गर्न भने । अनि उनलाई भने, “भोलिदेखि साडी लगाएर कार्यालय आउनू ।”

माटो शाखा प्रमुख थापा उनको बुबाको साथी थिए । दिव्यलक्ष्मीले रसायनशास्त्र पढिरहेको थाहा पाएका रहेछन् । बुबासँगको सल्लाहमा नै जागिरका लागि बोलाएका रहेछन् । तर, उनले त्यतिवेलासम्म साडी लगाएकै थिइनन् । उनीसँग साडीसँग लगाउने ब्लाउज पनि थिएन । भोलिपल्ट साडी र टिसर्ट लगाएर कार्यालय पुगिन् । कात्तिक २०२४ बाट कृषि विभागको माटो विज्ञान शाखामा अधिकृतस्तरको माटो विज्ञ भएर जागिर शुरु गरिन् । अनि शुरू भयो माटो जाँच्ने काम । सबैभन्दा पहिला उनले माटो विज्ञान शाखामा पहिलो पटक माटो प्रयोगशाला स्थापना गरिन् । त्यसपछि तत्कालीन पाँचै विकास क्षेत्रमा प्रयोगशाला स्थापना गराइन् ।

जागिर शुरू गरेको दुई वर्षपछि उनले अमेरिकाको नर्थ क्यारोलिना स्टेट युनिभर्सिटीबाट माटो विज्ञानमै स्नातकोत्तर अध्ययनको छात्रवृत्ति पाइन् । पढाइपछि त्यहीं उनलाई राम्रो सेवासुविधा सहित काम गर्ने प्रस्ताव आयो । घर, गाडी मात्र होइन कामका लागि उनकै मातहतमा हुने गरी हेलिकप्टर दिने प्रस्ताव पनि थियो । उनी नेपालै फर्किएर माटो जाँच गर्ने नयाँ र सजिलो प्रविधिको विकासमा लागिन् । किसानहरू आफैंले माटो जाँच गर्न सक्ने उपायको अनुसन्धान गरिन् । ठाउँ–ठाउँमा माटो जाँच्दै हिंड्न थालेपछि उनका साथीले ‘माटो मैयाँ’ भनेर जिस्क्याउँथे ।

संघर्षशील जीवन

उनी काठमाडौं, लगनटोलका कविराज डा.पञ्चरत्न वज्राचार्य र आमा गंगामायाकी जेठी छोरी हुन् । संयुक्त परिवारमा ५२ जना थिए । ठूलो परिवार भएकाले छोरीलाई पढ्न समस्या हुने ठानेर आमाले पाँच वर्षको हुँदा नै उनलाई मामाघर राखिन् । उनी काठमाडौंको मरुहिटीस्थित मामाघर नजिकको शान्ति निकुञ्ज विद्यालय जान थालिन् ।

दिव्यलक्ष्मी १२ वर्षकी हुँदा आमाको निधन भयो । उनका एक दाजु, दुई भाइ र एक बहिनी थिए । जेठी छोरी भएकाले भाइ–बहिनीको हेरचाह उनैले गर्नुपर्‍यो । तर पढाइ भने छोडिनन् ।

१० कक्षाको ‘टेष्ट’ परीक्षाको बेला आँखामा संक्रमण भयो । परीक्षा दिन पाइनन् । तर, शिक्षकहरूले एक वर्ष खेर जान नदिन प्राइभेट एसएलसी दिने व्यवस्था गरिदिए । उनले पद्मोदय माध्यमिक विद्यालयबाट २०१४ सालमा द्वितीय श्रेणीमा एसएलसी उत्तीर्ण गरिन् । पब्लिक (हालको अमृत) साइन्स क्याम्पसमा पढ्न थालिन् । बीएससीको परीक्षा पटना विश्वविद्यालयबाट दिइन् । स्नातकोत्तर अध्ययन गर्दा भने त्रिभुवन विश्वविद्यालयबाटै परीक्षा दिन पाइने भयो । नतिजा आएकै दिन जागिरे भइन् ।

भाइबहिनीको लागि आमाको भूमिका निर्वाह गर्नुपरेकै कारण उनले बिहे गरिनन् । बिहेबारे कहिल्यै सोच्दै नसोचेको बताउँछिन् । “बुबा, आफन्तले मात्र होइन साथीभाइले पनि विवाहको कुरा गर्थे तर विवाह नगर्ने निर्णय सुनाएपछि भन्नै छाडे”, उनी भन्छिन् ।

उनको जागिरबाट अवकाश भने सुखद भएन । २०५० सालमा कामकै सिलसिलामा विदेश गएकी थिइन् । उनलाई फर्किएपछि बिदाको निवेदन नदिई विदेश गएको बहानामा हाजिर हुन दिइएन । तर आफूले दिएको बिदाको निवेदन नै गायब बनाइदिएको उनको भनाइ छ । त्यही बहानामा अवकाश दिइँदा उनी वरिष्ठ माटो वैज्ञानिक पदमा थिइन् ।

माटोको माया

रासायनिक मलको प्रयोगले माटोमा अम्लीयपन बढ्दै गएको छ । यसले माटोलाई उत्पादनशील बनाउने फोस्फोरस र पोटासियमको मात्रा कम गर्दै लैजान्छ । विभिन्न १६ वटा तत्व हराउँदै गएका छन् । अम्लीयपनले माटोमा हुनुपर्ने सूक्ष्म जीवाणुहरूलाई पनि मार्दिन्छ । त्यसैले कस्तो माटोमा र कुन उत्पादनका लागि कति मात्रामा रासायनिक मल प्रयोग गर्ने ध्यान दिनुपर्छ ।

भर्खर जागिर खाएका बेला माटो जाँच गर्दा पोटासियम, फोस्फोरसको मात्रा धेरै हुन्थ्यो” उनी भन्छिन्, “अहिले माटो कक्रक्क र साह्रो हुँदै गएको छ, यसले उत्पादकत्व घटेको छ ।” ४०/५० वर्षअघि एक जनाले काम गर्न सक्ने ठाउँमा अहिले तीन जनासम्म लाग्ने उनी बताउँछिन् ।

उनलाई माटोप्रति मोह छ । माटो बिग्रिंदै गएकोमा चिन्ता छ । माटो सम्बन्धी परीक्षण गर्न पाउँदा आनन्द लाग्ने बताउँछिन् । अहिले पनि उनी दैनिक ८/९ घण्टा माटो परीक्षण र अध्ययन गरेरै बिताउँछिन् । आफूलाई माटोको ‘सानो कीरा’ भन्छिन् ।

सरकारी जागिरबाट अवकाश पाएपछि उनी आफैंले २०५० सालमा स्थापना गरेको एग्रिकल्चर टेक्नोलोजी सेन्टरमा काम गर्छिन् । ललितपुर ज्वागलमा रहेको प्रयोगशालामा देशका विभिन्न ठाउँको माटो परीक्षण हुन्छ । विदेशका विभिन्न विश्वविद्यालयका अनुसन्धानकर्ता, कृषिसँग सम्बन्धित सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि तथा माटो वैज्ञानिकहरू अध्ययन अवलोकनका लागि यहाँ आउँछन् ।

यो प्रयोगशाला माटो जाँच गर्ने निजीस्तरको पहिलो र अहिले एक मात्र सुविधासम्पन्न भएको उनी बताउँछिन् । ल्याबका केही कोठामा विभिन्न प्रदेशका नमूना माटो छन् । केहीमा बालीनाली, फलफूल, ठूलाठूला रुखहरू लगाउन विभिन्न ठाउँका कृषकले ल्याएको माटो पनि त्यहाँ छ । कार्यालयका कोठा माटो र जाँच गर्ने उपकरणले भरिएका छन् । उनी अहिले माटोको उर्वराशक्ति बढाउने नयाँ विधिको अनुसन्धानमा छिन् । विशेषतः हावामा भएको नाइट्रोजनलाई सोसेर जम्मा गरी माटोमा हाल्न मिल्ने प्रविधिबारे अनुसन्धान गरिरहेकी छिन् । जसले बिग्रिंदै गएको माटोको उर्वराशक्ति बढ्ने उनको भनाइ छ ।

काठमाडौंमा जन्मेकी उनले दर्जनौं जिल्ला पुगेर माटो जाँच गरेकी छिन् । धेरै ठाउँको माटो मगाएर पनि जाँच गरिदिएकी छिन् । उनी संयुक्त राष्ट्रसंघको स्वयंसेवक भएर विभिन्न देशमा माटो जाँच गर्न पनि पुगिन् । बोत्स्वाना र ओमानमा तीन–तीन वर्ष बसेर ती देशको माटो ‘एट्लस’ नै बनाइदिएकी थिइन् ।

माटो जाँच्ने प्रविधिको विकास

दिव्यलक्ष्मीले किसान आफैंले माटो जाँच गर्न सक्ने प्रविधिको विकास गरेकी छिन् । उनले बनाएको माटो जाँच्ने ‘किट बाकस’ मा २३ प्रकारका उपकरण राखिएको छ । ती उपकरण प्रयोग गरी माटो जाँच्न सक्ने निर्देशिका पनि बनाएकी छिन् । उक्त बाकस भएपछि सामान्य पढालेखा जोसुकैले ‘माटो जाँच्ने निर्देशिका’ हेर्दै माटो परीक्षण गर्न सक्ने उनी बताउँछिन् ।

निर्देशिकामा माटोको नमूना लिने तरिकादेखि माटोमा नभई नहुने नाइट्रोजन, फोस्फोरस र पोटासियम तथा विभिन्न बोटबिरुवालाई आवश्यक पर्ने क्याल्सियम, म्याग्नेसियम र सल्फरको मात्रा थाहा पाउन सकिने विधि उल्लेख छ । सबै किसानलाई यो किट बाकस आवश्यक हुने उनी बताउँछिन् ।

comments powered by Disqus

रमझम