२२ - २८ भदाै २०७६ | 8 - 14 Sep 2019

परिवार पात्रो

Share:
  
- शुष्मा बराली
परिवार पात्रोले समय व्यवस्थापन मात्रै होइन, घरायसी काम सहज र पारिवारिक वातावरण पनि सुमधुर बनाउन सघाउँछ ।

काम र फुर्सदबीचको तालमेल मिलाउन सकस हुने शहरिया जीवनमा ‘समय तालिका’ को विशेष भूमिका रहन्छ । व्यस्त जीवनशैली र अव्यवस्थित समय व्यवस्थापन शहरको पहिचान भनेर उम्कनु भन्दा परिवार पात्रो (फेमिली क्यालेन्डर) बनाएर उपयोग गरे लाभदायी हुन्छ ।

अधिकांश कामकाजी मानिसले आफ्नो दैनिकीको तालिका ‘क्यालेन्डर’ मा संकेत गरेको पाइन्छ । भित्तेपात्रोलाई नै परिवार पात्रोका रुपमा उपयोग गर्नेहरू पनि छन् । यस्तो पात्रोले परिवारका सदस्य र आफ्नो योजनाबारे पूर्व जानकारी लिन र दिन मद्दत पुग्ने बताउँछिन्, लेखक तथा प्रकाशक अर्चना थापा । थापा दिनभरिको कामपछि भोलिपल्ट गर्नुपर्ने कामको सूची, भेट्नुपर्नेको नामावली, उपस्थित हुनुपर्ने कार्यक्रमहरूको समय तालिका अघिल्लै दिन तयार गर्छिन् ।

“सुत्नुभन्दा अघि भोलिपल्ट गर्ने कामहरू टिपोट गर्छु, मोबाइल एप ‘डेट रिमाइन्डर’ पनि प्रयोग गर्छु, यसले कुन समयमा के छ भनेर सम्झाउन सहयोग गर्छ”, उनी भन्छिन् । यसबाहेक भित्तेपात्रोमा मिति अनुसार आफ्ना योजना संकेत गर्ने थापा व्यागमा ‘पकेट क्यालेन्डर’ पनि बोक्छिन् । त्यो पनि छुटेका बेला मोबाइलको ‘नोटप्याड’ मा मिति, समय र नाम टिपोट गर्ने गरेको बताउँछिन् ।

“समय तालिका बनाइयो भने आफूलाई आवश्यक पर्ने समय व्यवस्थापन गर्न सहज हुन्छ” थापा भन्छिन्, “व्यस्त जीवनशैलीले गर्दा शारीरिक र मानसिक थकान भइरहेका वेला सम्झने प्रयत्न गर्दागर्दै धेरै कुरा बिर्सिन सक्ने हुँदा समय तालिकाले दैनिकी सहज बनाउँछ ।”

विकास परामर्शदाता शारदा ज्ञवाली पनि परिवार पात्रो अहिलेको शहरी दैनिकीका लागि निकै उपयोगी हुने बताउँछिन् । छोराछोरी सानो हुँदा विद्यालयका विभिन्न कार्यक्रममा जान, घरभित्र र बाहिरको काम, परिवारलाई दिनुपर्ने समय व्यवस्थापन गर्न परेपछि परिवार पात्रो उपयोग गर्न थालेको ज्ञवाली बताउँछिन् । “कुनै कार्यक्रम नहुने भयो भने ‘डेटप्याड’ मै ‘क्रस’ गर्छु, यसले सम्झन सजिलो हुन्छ”, उनी भन्छिन् ।

खानाका परिकार बनाउन रुचि राख्ने उनी प्रत्येक वर्ष नयाँ योजना सहितको परिवार पात्रो भान्साको कुनामा झुण्ड्याउँछिन् । पात्रोमा जानुपर्ने ठाउँ, मिति र समय लेख्छिन् । ‘टेबल क्यालेन्डर’ पनि राखेकी छन् । भान्सामा सानो साइजको ‘ह्वाइटबोर्ड’ पनि राख्ने गरेको उनी बताउँछिन् । यसले भान्सामा आवश्यक खाद्य सामग्री टिपोट गर्न सजिलो भएको अनुभव उनको छ ।

“कहिले बिहानै निस्कनुपर्ने हुन्छ, घरमा कार्यरत सहयोगीसँग भेट हुँदैन, त्यस्तो बेलामा सहयोगीलाई अह्राउनुपर्ने काम लेख्ने गर्छु” उनी भन्छिन् ।

ट्राभल कन्सल्टेन्ट विनय शाक्य घरायसी कामदेखि पारिवारिक जमघट र अफिसको सबै काम ‘मोबाइल एप’ मा ‘सेट’ गरेर राख्छन् । पारिवारिक रमाइलो, ‘रि–फ्रेसमेन्ट’ को लागि हाइकिङ र ट्रेकिङ लगायतका सूचना एक महीना अघि सूचीबद्ध गर्ने गरेको उनी बताउँछन् । “परिवारका सबै सदस्यले मोबाइलमा ‘गुगल क्यालेन्डर’ राखेका छौं, त्यहींबाट जानकारी लिन्छौं । साताभरको योजना अगाडि नै थाहा हुन्छ”, उनले भने ।

‘परिवार पात्रो’ को प्रयोगले समय व्यवस्थापन मात्रै होइन घरायसी कामदेखि पारिवारिक वातावरण पनि सुमधुर बनाएको अनुभव प्रयोगकर्ताको छ । कार्यव्यस्तता र व्यक्तिगत जीवनमा रुमलिएको जीवनशैलीबाट बाहिर निस्किएर परिवारका सबै सदस्यलाई एक हुन सहज बनाएको छ ।

comments powered by Disqus

रमझम