२२ - २८ भदाै २०७६ | 8 - 14 Sep 2019

बेढङ्गका बुद्घ मूर्ति

Share:
  
- बसन्त महर्जन
पर्यटक आकर्षित गर्न हरेकजसो डाँडामा ठड्याइन थालेका बुद्घ मूर्तिमा शिल्प र संस्कारको ठूलो विरोधाभास पाइन्छ।

तस्वीर: बसन्त महर्जन
धुलिखेल नगरपालिकाको गौखुरेश्वर मन्दिरभन्दा माथि निर्मित ‘शान्ति वन’ मा बुद्धको विशाल मूर्ति बनाएर पर्यटकीय आकर्षण बढाउन खोजिएको छ । गएको साता त्यहाँ पुग्दा बुद्ध मूर्ति देखेर मन खिन्न भयो । आँखामै बिझयो ।

बुद्ध, बौद्ध दर्शन तथा कलाको इतिहासबारे पटक्कै ज्ञान नभएका सिकारु कलाकारले बनाए झैं देखिने उक्त मूर्ति त्यस स्थानमा निर्माण गर्नुको प्रयोजन पनि खुल्दैन । प्रायशः मूर्तिको निर्माण प्रवेशद्वार सम्मुख बनाइन्छ तर यहाँ प्रवेशद्वारबाट मूर्तिको पीठ देखिन्छ । प्रदक्षिणा गर्न जाँदा मात्रै मूर्तिको मुहार देखिन्छ । ध्यान मुद्रामा बनाइएको उक्त मूर्तिको अनुहार मुस्कुराइरहेको देखिन्छ । जबकि यो मुद्रामा बनाइने मूर्ति ध्यान मग्न र आधा आँखा चिम्म गरेर अनुहार अलि झकेको हुने गर्दछ ।

नेपालका हरिया डाँडामाथि गौतम बुद्धका विशाल मूर्ति निर्माण गर्ने लहड नै चलेको छ । यी निर्माण कार्यको अन्तर्य बुद्ध र बौद्ध धर्मसँग नभएर पर्यटन उद्योगसँग सम्बन्धित छ । पर्यटकीय आकर्षण बढाउने र बुद्धको मूर्ति राख्ने भनेपछि सजिलै स्वीकृति पाइने र चन्दा बटुल्न पनि सजिलो हुने भएकाले यो लहडले तीव्रता पाएको हो ।

स्वयम्भू लगायतका बौद्ध धार्मिक स्थलहरूमा बुद्धका मूर्ति हुनु स्वाभाविक हो । नयाँ बनेका पार्क तथा अन्य क्षेत्रमा बुद्धको मूर्ति स्थापना गरेर ‘ब्राण्ड’ बनाउने प्रयास त गरिन्छ तर ती स्थानमा हुने बौद्ध भावना तथा आचरण विपरीतका गतिविधिले नकारात्मक सन्देश दिइरहेको छ । सम्बन्धित संघ–संस्थाले आयोजना गर्ने कार्यक्रममा बुद्धको नाम वा मूर्ति प्रयोग गरी सञ्चालित त्यस्ता स्थानबाट प्राप्त हुने आम्दानी खानपान एवं मदिराजन्य पेयपदार्थ खरीद गर्न खर्चनु विकृतिको चरम नमूना हुन् ।

पर्यटन प्रवद्र्धन गर्ने ध्येयले स्थापित अधिकांश बुद्ध मूर्तिले नेपाली कला र संस्कृतिको प्रतिनिधित्व भने गर्दैनन् । यद्यपि थाइल्याण्ड तथा अन्यत्रबाट आयात वा सहयोगस्वरुप प्राप्त मूर्तिमा विदेशी कला तथा शिल्प झ्ल्किनु स्वाभाविक छ ।

आफ्नो छुट्टै पहिचान बनाइसकेको नेपाली मूर्तिकलाको इतिहास हेर्ने हो भने अहिले बनाइएका मूर्तिले त्यो भारा थाम्न सक्दैनन् । रङ्ग न ढङ्गका मूर्तिहरूको निर्माण यसका ज्वलन्त उदाहरण हुन् ।

परम्परागत नेपाली कलाको शिल्प–कौशल नवप्रवेशीले भेउ नपाउँदा यस्तो हुनु स्वाभाविक छ । बुझनुपर्ने कुरा, बौद्ध कलाको सिर्जनामा ध्यान दिनुपर्ने गहन पक्ष सर्जक विशुद्ध कलाकार मात्रै नभएर स्वयं साधक नै हुन् ।

चित्र तथा मूर्ति बुद्धको जीवन कालमा नै बन्न थालेको भए पनि महापरिनिर्वाण (इ.पू. ४८३) पछि स्वयं बौद्ध समाजले नै बनाउन छाडेको कुरा बौद्ध वाङ्मयबाट थाहा हुन्छ । बुद्धको अनुपस्थितिमा दुरुस्त प्रतिकृति उतार्न नसकिने र यसबाट उचित सम्मान नपुग्ने भयले बुद्धको आकृति नबनाई विभिन्न प्रतीकको प्रयोग गरी बुद्ध दर्शाउने गरिन्थ्यो । यही कुराको भरमा बुद्धलाई ‘मूर्ति विरोधी’ वा ‘मूर्ति नबनाउनु भनेको’ भन्ने कल्पना गरेर बुद्ध र बौद्ध धर्मदर्शन बुझ्न्नि । दुईहजार वर्षअघि कुषाण राजा कनिष्कको शासनकालमा कश्मीरमा भएको बौद्ध सङ्गायन पश्चात् बुद्धको मूर्ति बनाउने परम्परा पुनः थालनी भएको हो ।

बुद्धको चित्र वा मूर्ति कुन आकृतिको आधारमा बनाउने भन्ने सवालमा बौद्धहरू स्पष्ट छन्, बौद्ध वाङ्मयमा वर्णित ३२ लक्षणले युक्त बनाई आफ्नो समाज, संस्कृति अनुरूप मूर्ति तथा चित्रकलाको सिर्जना गर्ने । बौद्धहरू बुद्धमूर्तिलाई आलम्बन (सहारा) का रूपमा मात्रै लिन्छन् र यसको प्रमुख प्रयोजन विभिन्न मुद्रा हुन् । दुईहजार वर्षदेखि बौद्ध मूर्तिकला यसरी नै अगाडि बढिरहेको छ ।

विभिन्न उद्देश्यले पार्क र त्यसमा बुद्धको मूर्ति स्थापना गरेर आकर्षणको विषय बनाउने लहडमा रोक लगाउन त नसकिएला तर मूर्ति बनाउँदा ध्यान दिन आग्रह चाहिं गर्न सकिन्छ । बनाइसकेका मूर्तिको मर्मत तथा परिमार्जन गर्न सकिन्छ वा फेर्दा पनि हुन्छ । पछिल्लो समय विभिन्न ठाउँमा राखिएका बुद्ध मूर्तिहरूमा पनि सम्पादन वा प्रतिस्थापना गर्नु नितान्त आवश्यक छ ।

comments powered by Disqus

रमझम