२२ - २८ भदाै २०७६ | 8 - 14 Sep 2019

बिटुलिएको तीज

Share:
  
- रघु पन्त
पञ्चायतकालमा महिला रूपान्तरणको मञ्च बनेको तीज अहिले नवधनाढ्यको तुजुक देखाउने अवसर बनिरहेको छ।

तस्वीर: मोनिका देउपाला
पञ्चायतकालमा भूमिगत वामपन्थी दलहरूले राजनीतिक उद्देश्य पूरा गर्ने सहयोगीको रूपमा सामाजिक सुधारका आन्दोलन पनि अघि बढाएका थिए । तीज– उनीहरूका लागि महिला समानता र हकहितको कुरा गर्ने एउटा मञ्च थियो ।

तीजको वेला पशुपति मन्दिरमा ठूलो संख्यामा महिला भेला हुन्थे । वामपन्थी दल सम्बद्ध महिला सङ्गठनहरूले सांस्कृतिक कार्यक्रम गर्न महीनौंदेखि तयारी गर्थे । राजनीतिक र सांस्कृतिक चेतनाले भरिएका गीतहरू गाएर र तिनै गीतमा नाचेर उनीहरू महिलालाई उत्प्रेरित गर्थे । सम्पर्क–सम्बन्ध बढाउँथे र आ–आफ्नो सङ्गठनमा तान्थे । कुनै समयमा यसरी नै सङ्गठनसँग जोडिएका महिलाहरू अहिले विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता बनेका छन् ।

रूपान्तरणको प्रयत्न

तीजलाई अधिकांश नेपाली महिला आफ्नो विशेष चाड मान्छन् । पहिले ग्रामीण जीवनका दुःख, अप्ठ्यारा, असमानता, घरायसी पीरदेखि माइतीसँगको सम्बन्धका दुःख–सुख जस्ता कुरा तीज गीतका विशेषता हुन्थे । अहिले पनि ग्रामीण महिलाहरूले रचेका गीतमा यी विषय पाइन्छन् । तर, राजनीतिक चेत भएका महिलाहरूको प्रवेशपछि तीज गीतमा परिवर्तन आउन थाल्यो ।

लोकतन्त्र, महिला हक–हित र बराबरीका पक्षमा रचिएका त्यस्ता गीतहरूले ग्रामीण महिलासम्म राजनीतिक चेतना पुर्‍याउन र केही हदसम्म भए पनि रूपान्तरण गर्ने कार्यमा योगदान पुर्‍यायो । महिला सङ्गठनहरूलाई देशव्यापी फैलन पनि तीजले महत्वपूर्ण सहयोग गर्‍यो ।

विकृतिको प्रवेश

पञ्चायतको पराजय र बहुदलीय व्यवस्थाको स्थापनासँगै नेपाली समाज राजनीतिक रूपमा खुला भयो । राजनीतिक स्वतन्त्रताले आर्थिक र सामाजिक क्षेत्रमा खुलापन ल्यायो । माओवादी हिंसाका कारण शहर पस्नेको संख्यामा अप्रत्याशित वृद्धि भयो । शहरमा आर्थिक गतिविधि बढ्न थाल्यो । दोहोरी रेस्टुराँहरू भटाभट देखा पर्न थाले । पार्टी प्यालेस जताततै खुल्न थाले । पूँजीवाद र बजार अर्थतन्त्रले तीजलाई पनि समात्यो । तीज पूँजीको पञ्जामा पर्‍यो ।

सुनका सक्कली, नक्कली गहना, मोटामोटा तिलहरी र नयाँ–नयाँ सारी लगाएर पार्टी प्यालेसमा महीनौं अघिदेखि दर खाने र नाच्ने प्रचलन बढ्यो । शपिङ मल, बजार र गहना पसलहरूको आयोजनामा तीजका मेला लाग्न थाले । सञ्चारका माध्यमहरूमा भइरहेको ‘क्रान्ति’ ले तीज र तीजका गीतहरूको पनि व्यापारीकरण गर्‍यो । हुने, नहुने बीचको आर्थिक खाडल गहिरो गरी देखिन थाल्यो ।

करीब डेढ दशकदेखि तीज र तीजका गीत–सङ्गीतमा देखिएको भाँडभैलो नेपाली समाजले कहिले छक्क पर्दै, कहिले रमाइलो मान्दै, कहिले दिक्क हुँदै हेरिरह्यो । विरोध गर्नेहरूले पनि विरोध जारी राखे ।

वास्तवमा तीजको शैली र सङ्गीतमा देखिएको भद्दापन, छाडापन र पैसाको आडमा भइरहेको अश्लील प्रदर्शन नवधनाढ्य र भुइँफुट्टा वर्गको भ्रष्ट आय आर्जनको करामत हो । राजनीतिक, प्रशासनिक र आर्थिक क्षेत्रको भ्रष्टाचारबाट उदाएको नवधनाढ्य वर्गको अवैध आर्जनकै कारण तीज विकृत बन्दो छ ।

तीज जस्तो सामाजिक र लाखौं महिला सामेल हुने चाडलाई पूँजी र बजारले आफ्नो प्रभाव तथा स्वार्थमा प्रयोग गर्न खोज्नु अस्वाभाविक थिएन । विडम्बना चाहिं, तीजलाई विकृतिको भासबाट जोगाउने कोही भएन । सामाजिक–सांस्कृतिक सुधार र रूपान्तरणको कार्यलाई राजनीतिक दलहरूले गएको डेढ–दुई दशक पूरै बेवास्ता गरे । कतिपय अवस्थामा त जानी–नजानी यही हूलमा सामेल भए । ‘कुहिरोको काग’ जस्तो रुमल्लिइरहे ।

अब के त ?

त्यसो त तीज पहिलेकै जस्तो होस् भनेर पनि हुँदैन । समयसँगै हाम्रो जीवन र हामीले प्रयोग गर्ने माध्यमहरूमा जसरी परिवर्तन आउँछ, तीज लगायत हाम्रा अन्य चाडवाड पनि प्रभावित हुन्छन् । आज संसारको जुनसुकै कुनामा रहेका छोरी–चेलीसँग माइतीले मोबाइल फोनबाटै प्रत्यक्ष संवाद गर्न सक्छन् । भेटघाट र कुराकानीका लागि तीज पर्खिरहनु पर्दैन ।

तडकभडक नगरिकन सामूहिक रूपले पार्टी प्यालेसमा तीज मनाउनुलाई पनि अन्यथा भन्नुपर्छ जस्तो लाग्दैन । महिलाहरूको यो चाडलाई सामूहिक र सामुदायिक रूपमा मनाउने कुरालाई प्रोत्साहित नै गर्नुपर्छ सँगसँगै यसको पारिवारिक महत्व, निजीपन र विशिष्टतालाई जोगाउनु पनि पर्छ । सम्पन्न र गरीब महिला बीच भेदभाव, असमानता, सामाजिक द्वन्द्व बढाउने होइन, फेरि पनि समानता, न्याय, मित्रता र हकको चाडकै रूपमा तीजलाई अगाडि बढाउनुपर्छ, सम्पन्नताको अहंकारले छोपिन दिनुहुँदैन ।

तीजलाई विकृतिबाट मुक्त गर्ने अभियानमा अहिले अचेतावस्थामा रहेका महिला संघ–सङ्गठनहरू हिजो जसरी नै सक्रिय हुनु आवश्यक छ । तीजमा मात्र होइन महिलासँग सम्बन्धित हरेक विषयमा महिला संघ–सङ्गठनको क्रियाशीलता जरूरी छ तर अचेल यी संघ–सङ्गठन स्वयंमा मूच्र्छा परेको अवस्थामा छन् । अबको तीजमा यी संस्थाहरू ब्युँझेको हेर्ने इच्छा छ ।

comments powered by Disqus

रमझम