२२ - २८ भदाै २०७६ | 8 - 14 Sep 2019

कवितामा कथा

Share:
  
- प्रकाश गुरागाईं
कवितामा आख्यान बोकेर पाठकमाझ आएका छन्, राजन मुकारुङ। तर ती कविता होइनन् भनेर कसैले प्रश्न उठाउन सक्दैनन्।

ओहाङ्दिमा किराती ! तिमी हाटबाट सुरक्षित फर्कियौ ? तिमीले भिरेको खुर्पा कम्मरबाट निकाल्नु पर्‍यो कि परेन ? तिमीले अघि–अघि भरेका हाटका अनुभूति पढेर जीउ नै सिरिङ्ग भयो । तिम्रो एक पेरुङ्गो सपनाको निगुरो र च्याउ सिडिओ अफिसमा पुग्यो कि पुगेन ? भन्ज्याङमा भेटेर सिपाहीले मोमोको डल्लामा तिम्रो बैंस किन्यो कि ? चुरा लाइदिएर लिम्बू काकाले ‘जिन्दगीभर छाड्दिनँ’ पनि भने कि ? तिम्रो शरीरमा नीलडाम छैनन् भन्ने विश्वासमा छु, म ।

तिमीले भोगेको द्वन्द्व र शोषणको कथा धेरैले भोगे । एउटा प्रतिनिधि पात्र हौ हाङ्दिमा तिमी । के तिमी हाटबाट सुरक्षित फर्कियौ ?

कवि राजन मुकारुङ आख्यानतिर पसेका थिए । तिम्रो कथा बोकेर १५ वर्षपछि कवितामा फर्किए । तर, कवितामा आख्यानको चरित्र छाडेनन् । हाङ्दिमा, तिम्रो भोगाइ उपन्यास नै हुनसक्छ । नाटक लेखिनसक्छ वा फिल्म बन्न सक्छ । राजनले कविता लेखे ।

oo

कवि आहुतिले बताए अनुसार उनका कवितालाई कुनै वेला रघु पन्तले ‘कविता नभएर कथा हुन्’ भनेका थिए । तर, पारिजातले भारतीय कवि सर्वेश्वरदयाल सक्सेनाको ‘लु सुनलाई गाउँ घुमाउँदा’ कविताको सन्दर्भ दिएर भनेकी थिइन् रे, ‘आहुतिको चाहिं किन कविता नहुने ?’ कवितामा कथा आउँदा कविता नहुने भए महाकाव्य विधा नै नहुने पारिजातको तर्क थियो ।

मुकारुङले पनि कवितामा कथा बुनेका छन् । उनको नयाँ किताब ‘हाटा जाने अघिल्लो रात’ मा २८ कविता र ११ गीत छन् । सात वटा कविता चार पृष्ठ वा त्यसभन्दा पनि लामा छन् । ती सबैमा कथा छ । उनका छोटा केही कविता पनि कथानक छन् । ‘धूलो’, ‘धनु’, ‘नाक’ लगायत कविताले लघुकथाको झल्को दिन्छन् ।

संग्रहका कतिपय कविताको अन्त्य अप्रत्याशित लाग्छ । तिनले पाठकलाई झट्का दिन्छन् । पहिलो कविता ‘अनुरोध’ को अन्त्यमा बाढीभन्दा सरकारसँग जोगिन गरिएको आग्रह प्रभावशाली छ । तेस्रो अनुच्छेदमा बाढीले छाप्रोहरू मात्र बगाउने बिम्ब भने पुरानै हो । यहाँ प्रयोग भएको बिम्ब २२औं कविता ‘बाढी’ मा पनि दोहोरिन्छन् । अन्य केही कवितामा पनि यस्तै समस्या छ ।

केही कविता सामान्य विषयमा, सजिलोसँग लेखिएका छन् । ती कविता शक्तिशाली पनि छन् । जस्तो, ‘त्यहाँ’ शीर्षकको कविता उनले ‘त्यहाँ’ र ‘कोही’ को परिभाषा भन्दाभन्दै सकेका छन् । अन्ततः त्यहाँ अर्थात् हामी उभिएको ठाउँमा कोही अर्थात् सरकारको नियन्त्रणकारी, शंकास्पद र भयानक उपस्थितिलाई चित्रण गरिएको छ ।

मुकारुङका कविताको सबैभन्दा बलियो पक्ष पूर्वेली लवज हो, मुन्दुमका परिवेश र पात्र हुन् । ती विषयको जानकारी नहुने पाठकका लागि भने बिम्ब बुझ्न सजिलो हुँदैन । जस्तो, बुकिफूल, अँगेनो लगायत बिम्ब उनले मुन्दुमबाट लिएका हुन् ।

मुकारुङको कविताको अर्को विशेषता ‘पहिचान’ हो । यसपटक उनले दलित समुदाय र सर्वहारा वर्गका विषय उठाएका छन् । ‘माया बिकको चोलो’ कविता मार्फत न्यायमा देखिएको वर्ग विभेद उजागर गरेका छन् । तर केही कविता भने तत्कालीन घटनाको प्रतिक्रिया हुन् । ‘राजीनामा’, ‘बाढी’, ‘पिलर’ लगायत केही कविता कमजोर छन् ।

अन्तिम कविता ‘गोरो सम्मान’ मा मुकारुङ सम्मान थाप्न अमेरिकाको ह्वाइट हाउसको रातो कार्पेटमा उभिएका छन् । र त्यहींबाट अमेरिकालाई चुनौती दिइरहेका छन् । अश्वेत जातिका राष्ट्रपति बराक ओबामामा बिल क्लिन्टन र जर्ज डब्लु बुशको छायाँ देखिरहेका छन् ।

उनी केही कवितामा ‘माक्र्सवादी’ मुहार बोकेर आएका छन् । उनले ‘माइला लामा’ बारे पनि कविता लेखेका छन् । ‘हट नायिकाको कन्फेसन्स्’ लेखेर पूँजीवादी चरित्रलाई प्रहार गरेका छन् । ‘शिल्पी चरोः एक महाकथा’ मा दलित समुदायले इतिहासदेखि दिएको योगदानको चर्चा गरेका छन् । पुस्तकको गीतखण्डमा भने कतै–कतै विचारबाट चिप्लिएर परम्परावादी देखिएका छन् ।

comments powered by Disqus

रमझम