२२ - २८ भदाै २०७६ | 8 - 14 Sep 2019

जग्गा अभावमा गुमेको हकी मैदान

Share:
  
- निरञ्जन राजवंशी
आसन्न १३औं सागका लागि बाह्य सहयोगमा अन्तर्राष्ट्रिय मापदण्डको हकी मैदान बनाइदिने प्रस्ताव आए पनि उपयुक्त ठाउँमा जग्गा नभेटिंदा योजना अवरुद्घ हुन पुग्यो।

थाइल्याण्डमा हालै सम्पन्न एशियन इनडोर हकी प्रतियोगितामा भाग लिन जानुअघि त्रिपुरेश्वरको कभर्ड हलमा भएको छनोट खेल । तस्वीरः निरञ्जन राजवंशी
आउँदो १५–२४ मंसीरमा नेपालमा आयोजना हुने १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को अन्तिम तयारी यतिबेला रफ्तारमा भइरहेको छ । थुप्रै देशको चाहना हुँदाहुँदै यस संस्करणको सागबाट हकी खेल हटाइयो । कारण, रबरबाट बन्ने कृत्रिम घाँसे मैदान अर्थात् टर्फ नेपालमा थिएन ।

भारतसँगै पाकिस्तान र बाङ्लादेश साग खेलको सूचीमा हकी खोजिरहेका थिए । भारतीय ओलम्पिक कमिटीका अध्यक्ष नरन्दिर ध्रुव बत्रा अन्तर्राष्ट्रिय हकी महासंघको समेत अध्यक्ष भएकोले उनी सागमा हकी खेलको निरन्तरता टुटाउन चाहँदैनथे । त्यसका लागि बत्राले सागअघि नै नेपालमा अन्तर्राष्ट्रिय मापदण्डको मैदान बनाउन सघाउने वाचा नेपाल हकी संघसँग गरेका थिए । संघले जग्गा उपलब्ध गराउने र त्यसमा महासंघले टर्फ ओछ्याइदिने सहमति भएको थियो । टर्फ पिच ओछ्याउन कम्तीमा रु.५ करोड लाग्छ ।

जग्गा खोजीमा जुटेको संघले सरकारसँग सहयोग माग्यो । सागको आयोजना स्थल काठमाडौं र पोखरा वरपर जग्गा भए सहज हुने सोच सहित संघका पदाधिकारीहरू केन्द्रित भए । तर संघले ती स्थानमा नभई धरान नगरपालिकाबाट जग्गा पाउने आश्वासन पायो । सोचेको ठाउँमा जग्गा नपाएपछि मैदान बनाउने प्रक्रिया रोकिएको हकीका पूर्व प्रमुख प्रशिक्षक बाबुराम नेपाल बताउँछन् । “विदेशी र स्वदेशी पदाधिकारीहरूको चाहना काठमाडौं र पोखरा भएकाले थप प्रक्रिया अगाडि बढेन”, उनी भन्छन् ।

पदाधिकारीहरूले काठमाडौं र पोखरा वरपर रङ्गशाला निर्माण गर्न खोज्नुको कारण साग आयोजना स्थल भएकाले मात्र थिएन, भविष्यमा पनि त्यसको सदुपयोग होस् भन्ने चाहना थियो । पूर्व मुख्य प्रशिक्षक नेपाल भन्छन्, “पर्याप्त पर्यटकीय पूर्वाधार भएका काठमाडौं वा पोखरामा रङ्गशाला बन्न सके भविष्यमा हामीले भारत र पाकिस्तानको खेल ‘न्युट्रल भेन्यु’ को रुपमा खेलाउन सक्दथ्यौं । त्यसमा भारतीय र पाकिस्तानी दर्शक आउँदा हुने आम्दानीबाट संघ सशक्त रूपमा अगाडि बढ्न सक्थ्यो ।”

दुःखी खेलाडी र पदाधिकारी

आफ्नै देशमा हुने दक्षिण एशियाली प्रतियोगितामै हकी हटाइँदा खेलाडीहरू दुःखी छन् । थाइल्याण्डमा भर्खरै सम्पन्न इन्डोर हकी प्रतियोगिता खेलेर फर्केकी राष्ट्रिय टोलीकी कप्तान कुश्मा रानामगर विदेशमा हुने सागमा खेल्न पाइए पनि आफ्नै देशमा हुने प्रतियोगितामा खेल्न नपाउनु विडम्बना भएको बताउँछिन् । दुःख यस कारण पनि कि साग हकीमा नेपाली महिला टोली रजत पदकको दाबेदारमा पर्छ ।

“पुरुष टोलीमा हामी भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्न सक्ने हैसियतमा छैनौं । तर म दाबीका साथ भन्न सक्छु, महिला टोलीले सागमा रजत पदक जित्न सक्छ”, पूर्व मुख्य प्रशिक्षक नेपाल भन्छन् ।

मैदान नभएरै सागमा हकी नराखिंदा अन्य देशसामु नेपाली हकीको छवि खस्किएको खेलाडीहरू बताउँछन् । तीन वर्षअघि भारतमा भएको सागको १२औं संस्करण खेलेकी महिला हकी टोलीकी उपकप्तान विमला भट्ट हकी खेलाडीहरूले सागमा खेल्न नपाउने अवस्था आउनु लज्जास्पद भएको टिप्पणी गर्छिन् ।

पोखरा रङ्गशाला । तस्वीरः काठमाठौ हकी क्लब
हकीका पदाधिकारीहरू पनि उत्तिकै पीडामा छन् । तर उनीहरूले हकी मैदान बनाउने योजना र सोच भने त्यागेका छैनन् । नेपाल हकी संघका महासचिव सुनिलबहादुर प्रधान यस पटक साग खेलाउन आफूहरू चुके पनि मैदान बनाउने अभियान भने नतुहिएको बताउँछन् ।

२०११ सालमा गठन भएको हकी संघ नेपाली खेलकुदको जेठो संघहरूमध्ये पर्छ । टर्फ पिच नबने पनि ६ दशकको इतिहासमा हकीको पुरुषतर्फ १६औं राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसकेका छन् । यस्तै, महिलाहरूको तेस्रो राष्ट्रिय संस्करण गत वैशाखमा नेपालगञ्जमा आयोजित आठौं बृहत् राष्ट्रिय खेलकुदमा भएको थियो । हकीको टर्फ नहुँदा सबै खेलहरू घाँसे मैदानमै हुँदै आएका छन् ।

केही दर्शक समेत अट्ने गरी हकी रङ्गशाला बनाउन कम्तीमा २६ रोपनी जग्गा आवश्यक पर्छ । अन्तर्राष्ट्रिय मैदान बनाउन आधिकारिक पहल थालिसकिएको संघका महासचिव प्रधान बताउँछन् । यसका लागि संघले उपाध्यक्ष मनीष झाको संयोजकत्वमा जग्गा खोज्ने अभियान जारी राखेको छ । उपाध्यक्ष झा अब बल्ल जग्गा प्राप्तिको नजिक पुगेको बताउँछन् । “काठमाडौंको बूढानीलकण्ठमा जग्गा पाइएको छ”, उनी भन्छन् । तर प्रक्रिया बाँकी नै छ ।

संघका अनुसार, रङ्गशाला निर्माणको अन्य पहल समेत अगाडि बढाइएको छ । भर्खरै संघका अध्यक्ष उमेशलाल श्रेष्ठ र वरिष्ठ उपाध्यक्ष अनिल शर्माले अन्तर्राष्ट्रिय हकी महासंघका अध्यक्ष बत्रालाई भारतमा भेटेका थिए । वरिष्ठ उपाध्यक्ष शर्माका अनुसार नेपालको परराष्ट्र र खेलकुद मन्त्रालय मार्फत भारतीय दूतावासमा पहल गरे भारत सरकारले अन्य देशमा झैं नेपालमा पनि टर्फ पिच बनाइदिन सक्छ ।

टर्फ मैदान बनाउन सके नेपाली हकीको मुहार फेर्न सकिने वि श्वासमा हकी पदाधिकारीहरू देखिन्छन् ।

comments powered by Disqus

रमझम