२२ - २८ भदाै २०७६ | 8 - 14 Sep 2019

‘द युनिभर्सल गुड्नेस् अफ् म्यान्’

Share:
  
- कनकमणि दीक्षित
‘राष्ट्र राम्रो बनोस्; नियम–कानून पालना र समाज जागरुक होस्’ भनिरहने हामी नागरिक आफैं चाहिं कस्ता रहेछौं नि !

तस्वीरः रिपब्लिकाडटकम
तस्वीरः मोनिका देउपाला
भनिन्छ — नेपालीहरू अराजक छन्, नियम पालना गर्दैनन्, बसभाडा तिर्न रुचाउँदैनन्, नक्कली विद्यार्थी परिचय पत्र बोक्छन्, ‘क्यू’ मा बस्नेको खिलाफमा छन्, आदि ।

तर, मेरा एक मित्र छन्, जसको दर्शनको आधार नै छ — ‘द युनिभर्सल गुड्नेस् अफ् म्यान्’ । उनको भनाइमा, जनमानसमा फट्याइँ र दुष्ट्याइँ अपवाद हुन् । आम मानिस सहृदयी हुन्छन्, सह–अनुभूति राख्छन्, नियम पालना गर्न चाहन्छन् — जरिवाना र दण्डको डरले नभई मर्यादा, कर्तव्यपरायण र निष्ठा नै आम मानिसको परिचय हो ।

मलाई मित्रको मानव चरित्रबारे यो विश्वास जहिल्यै ‘उग्र रोम्यान्टिक’ लाग्थ्यो । कहाँ हुन्छ र त्यस्तो ? आखिर समाज अडेको त नियम कानून उल्लङ्घन गर्दा पाइने दण्डको डरले न हो । त्यसैले त प्रहरी प्रशासन छ, अदालत छ, कारागार छ ।

फोहोर फाल्ने, पुरुष बटुवाले पिसाब फेर्ने गरेको टोलको कुनामा एउटा भगवानको तस्वीर या मूर्ति राखेका हुन्छन् आजित स्थानीयले । (एक यस्तै ठाउँमा ठड्याइएको लम्बोदरलाई मेरा एक दाइ पर्नेले नामै दिएका थिए, ‘मुतुवा गणेश’ !) अक्सर त्यो ठाउँ रातो–दिन सफा भइदिन्छ, फोहोर अन्तै लगेर फालिन्छ, बटुवा पिसाब थामेर अलिपर लाग्छन् । तर भगवानले झटारो हान्देलान् भन्ने पीरले नियम पालना गर्नुलाई महान् सभ्यताको उदाहरण भन्न मिल्दैन, फेरि त्यो फोहोर वा मूत्र त स्थानान्तरण मात्र न भएको हो ।

तर तपाईं हामीलाई बेलाबखत नेपालीले पनि चकित तुल्याउँछन्, नियम कानून मात्र होइन सुझाव समेत विनम्र पालन गरेर, र यस्तो देख्दा, सुन्दा एकाएक पूरै मुलुकको भूगोल र भविष्यप्रति आश जागेर आउँछ ।

दुई उदाहरण पेश गर्दछु जसले नेपालीमा ‘नागरिक चेत’ राम्रै रहेको प्रमाणित गर्दछ । पहिलोः पर्चा पोस्टर नटाँस्नुहोला भनेर भित्तामा लेखिदिने हो भने आग्रहको अधिकांशले विनम्र पालना गर्छन् । जहाँ फिल्म पोस्टर र टुटोरिएल क्लास, कोरियन भाषा, फोटो कपी र पासपोर्ट फर्म भरिदिने सूचनाले भित्ता लतरपतर हुन्थ्यो, त्यहाँ भित्ता सफा मिल्छ ।

ललितपुर, झम्सिखेलको सेन्ट मेरिज् स्कूलको आधा किमी लामो पहेंलो भित्ता छ, जसले जो–कोही पोस्टर र ग्राफिटीवालालाई लोभ्याउँछ — तर एउटै पर्चा पोस्टर देखिंदैन त्यो पूरै लम्बाइमा । भित्तामा अंग्रेजीमा लेखिएको छ — ‘स्टिक नो बिल्स्’ (कृपया, केही नटाँस्नु) । वर्षौं भयो यो सन्देश — त्यो पनि अंग्रेजीमा — सबैले पालना गरेको देख्दा म चकित छु ।

दोस्रो प्रसङ्ग, ट्राफिक प्रहरीको ‘नो हर्न’ अभियान । १ वैशाख २०७४ मा प्रहरीले हर्न नबजाउन अनुरोध गर्दै अलि कडिकडाउ मात्र के गरेको थियो, देशभरिका सडक शान्त बन्न पुगे । पहिला हामीले भोग्दै आएको च्याँच्याँ र चुँचुँ, प्याँप्याँ र पुँपुँ एक्कासी विलीन भयो, र अपवादका रुपमा परेको बेला मात्र हर्न बजाइन थाले, त्यो पनि छोटो, बिप्–बिप्, प्वाँ–प्वाँ । शहरका बाटाघाटा सभ्य बनेका छन् । मेरी बहिनी हालै बनारसबाट उपत्यका (त्यो पनि बीच काठमाडौंको बागबजार !) फर्कंदा कान नै शान्त भए भन्दै थिइन् ।

हर्न निषेध अभियान चलेको अहिले दुई वर्ष भयो, चलिरहेकै छ । शहरमा हर्न प्रयोग शायद दक्षिणएशियाकै सबैभन्दा कम नेपालमा छ ।

प्रहरीको अर्को सफल अभियान हो ‘मापसे’, तर यसलाई ‘नो हर्न’ अभियानसँग दाँज्न मिल्दैन किनकि मादक पदार्थ सेवन गरेर चलाउँदा समातिएमा दण्ड जरिवाना, सचेतना कक्षा र लाइसेन्समा प्वाल पार्ने डर हुन्छ । यो ‘प्यूनिटिभ् एक्शन्’ मार्फत चलेको अभियान हो, जसको कारण समाज अनगिन्ती ट्राफिक दुर्घटनाबाट बचेको छ ।

माथिका दुई उदाहरणले एकहदसम्म प्रमाणित गर्दछ कि नागरिकले सरकार र समाजबाट आश मात्र गरेका छैनन्, स्वयं जिम्मेवार छन्, नराम्रो नगर्न, सह–अनुभूति दर्शाउन स्वभावतः तयार छन् । यी उदाहरण कुनै समाजशास्त्रीका लागि अध्ययनको विषय पनि बन्ला ।

मैले भने धेरै वर्षदेखि ‘द युनिभर्सल गुड्नेस् अफ् म्यान्’ को भनाइको खिल्ली उडाएको यही दिन देख्नलाई रहेछ !

comments powered by Disqus

रमझम